श्रेष्ठत्वको अहम् बोकेर !

डा. नारायण चालिसे

लक्ष्यमा राखेकाहरू सम्पर्कमा आउँछन् । आदर्श ठानेकाहरू सन्दर्भमा आउँछन् । केन्द्रीयतामा राख्नपर्नेहरू जीवनका प्रत्येक मोडमा आउँछन् । फड्केकिनाराका साक्षीहरू, देखी जान्नेहरू,भनी सुन्नेहरू सबैसबैको योगदान जीवनमा अनुमोदन गरिन्छ । जीवन बन्छ परिवेशको भूमिकामा । परिस्थितिका उत्ताल तरङ्गहरूमा गति लिन्छ समयले । क्षणक्षणमा इतिहास कोरिन्छ गतिशील क्रममा । यही बेला हो समयलाई हात लिनुपर्ने, नोट गरौँ समयलाई डायरीको पानामा सुरक्षित । समयबारे किंवदन्तीहरू छन् । जीवनबारे प्रतिक्रिया छन् तर कसैले पनि तथ्य बोलेन भन्ने सङ्गीन आरोप छ समयबारे, जीवनबारे ।

समय जीवनको सङ्गम परेको बेला जीवनमा केही गरिनुपथ्र्यो समयलाई साथ लिएर । तर समय आफ्नो गति छोडेर विधान मिचेर जीवनमाथि जाइलाग्यो र प्रतिकार गर्न नसकी जीवनलाई संझौतामा टुङ्ग्याइँदैछ भन्ने सुनिन्छ । भन्नेहरूले त अरू पनि धेरै भनेका छन् जीवनबारे, समयबारे । केही जीवनसम्बन्धी कुरा, श्रेष्ठताका कुरा र आदर्शका कुरा ।

पुराणहरूले जति नै अश्लील शैलीमा व्याख्या गरून् मानव जीवनको मार्गदर्शनको रूपमा अर्थ गरून्, घचेटून्, बाध्य पारून् । भन्नेहरूले भन्छन्, बुझ्नेहरूले एकै किसिमले बुझ्छन् । महर्षि पराशरको मत्स्यकन्याप्रतिको आग्रहले व्यासलाई जन्माएको हो । हाम्रो आदर्शको कुरा यहाँनेर विचाराधीन भई खडा हुन्छ ।

दर्शनहरूमा जीवनको नश्वरताको बयान र दैहिक जन्मलीला प्रसङ्ग सृष्टिको अनिवार्य क्रमको सुन्दर ढङ्गले व्याख्या गरिन्छ । नश्वर शरीरमाथि पनि मुक्तिमार्गको द्वार खुला रहने सांसारिक वैभव ‘तेनत्यक्तेन भुञ्जिथा..’द्रैष्टान्तित हुन्छ । राजर्षि जनकको सभामा याज्ञवल्क्यको उपस्थिति मुक्तिमार्गको शालीन नमुना हुनसक्छ । महर्षि याज्ञवल्क्यको नैष्ठिकता जनक सभामा ज्ञानगङ्गामा विचरण गर्छ । भावना कलुषित हुँदा तपस्या नष्ट हुन्छ । भावको पवित्रता सांसारिकताबाट पनि मुक्तिको निर्वाध मार्ग हुनसक्छ । मानव शरीर धारण गर्नु योनिहरूमा श्रेष्ठ योनि हो । एकातिर आध्यात्मिक मानव शरीरको उपस्थितिलाई यसरी विशिष्ट जन्म ठान्छ ।

मुक्तिमार्गीहरू, निर्गुण निराकारवादीहरू कलेवरमा दोषदृष्टि लगाउँछन् । वेदान्तीहरू जड शरीरमा चेतनतत्वको बास छ भन्छन् । अरू पनि आत्मज्ञानीहरू यस्तै अनेकौँ तर्क गर्छन् । चेतनाको कृडाभूमि जडको नश्वरतासँगै नासिएर जानुपर्ने । तर जडको विनाशपछि चेतनाको उपस्थितिलाई आध्यात्मिकता सत्य ठान्छ । शरीरबिना विचारको गर्भाधान कहाँनेर हुने ? विरागको व्याख्या विकारको केन्द्रीयतामा हुन्छ । हरेक जन्म विकारको परिणति हो । सापेक्ष रूपमा श्रेष्ठताको आग्रहमात्रै हो । अनुरागको मर्यादित रूप मानव जन्म हो । शरीर हो, जीवन हो । जीवन नरहे जगत्को अर्थ छैन । जीवन र जगत्बारेका तीतामिठा कुरा शरीरको केन्द्रीयतामा हुन्छन् ।

आत्मिक कुरा गर्न पनि भौतिक देह चाहिन्छ । अध्यात्मवादीहरूले भौतिक देहलाई त्याज्य मानेर जसरी आफू घोर अध्यात्मवादी भएको दाबी गर्छन् त्यो त्यति सहज कुरा होइन । सायद ग्राहृय कुरा पनि होइन । लोकप्रियताको रहरमा सत्यको घाँटी निमोठ्न अघि सर्नु हुँदैन । हामी भौतिक नभइकन आध्यात्मिक पनि हुन सक्दैनौँ । भौतिक देहलाई सम्मान र श्रद्धा गरेरै अध्यात्मको भित्री बाटो तय गर्ने हो ।
अब केही आदर्शका कुरा । पुराणहरूले जति नै श्लील शैलीमा व्याख्या गरून् मानव जीवनको मार्गदर्शनको रूपमा अर्थ गरून्, घचेटून्, बाध्य पारून् । भन्नेहरूले भन्छन्, बुझ्नेहरूले एकै किसिमले बुझ्छन् । महर्षि पराशरको मत्स्यकन्याप्रतिको आग्रहले व्यासलाई जन्माएको हो । हाम्रो आदर्शको कुरा यहाँनेर विचाराधीन भई खडा हुन्छ । पुराण, उपपुराण अन्य यावत् वाङ्मयिक कला हाम्रै वेदव्यासको अलौकिक दिव्यज्ञानमा गर्व गर्छौँ । मत्स्यकन्या र पराशरको अपारम्परिक भोगाचार वेदव्यासको प्राज्ञिक प्रकाशका सामु ओझेल पर्छ । विधिको विधान यसरी नै हुनुपर्ने थियो । हाम्रो आदर्श कवच बनेर छातीमा टाँसिन्छ ।

वेदव्यासको वधुगमनको परिणति, धृतराष्ट, पाण्डु र विदुर सत्यवतीको आज्ञाकारिता र सृष्टिको अपरिहार्य क्रमका सामु कुनै पनि प्रश्नको सम्भावनालाई मेटेर आइपुग्छ । कुन्तीको आदर्श पत्नीत्वलाई कसरी व्याख्या गर्ने ? नैतिकतामा कहाँनेर आस्था टिकाउने ? युधिष्ठिर, भीम र अर्जुन बनेर कुन्तीको सतित्वले प्रश्न गर्छ । हामी तत्क्षण समाधानको अपूर्व दृष्टान्त ‘अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी तथा..’ मा आफ्नो प्रज्ञाचक्षुले आदर्शित गछौँ । कुन्तीको यौवनिक अग्निहोमलाई । द्रौपदीको पातिव्रत्य पाँच पतिहरूमा रूपान्तरण भएर पनि आदर्श नै रहन्छ । यिनको सतित्व स्वर्वेश्याहरूका उत्तेजक कर्म हाम्रा जीवनका नैष्ठिक धरोहर बनेर उभिन्छन् ।

विश्वामित्रहरू मेनकाको गर्भबाट शकुन्तलाहरू जन्माइरहन्छन् । हाम्रो आदर्श शकुन्तलाहरूका अवैध जन्महरूलाई वैधानिकता प्रदान गर्दै जान्छ । विश्वामित्रको आर्ष गुण र मेनकाको रूपविधान सर्वोपरि सत्य हो । हाम्रो अहं युधिष्ठिरको सत्यनिष्ठा ‘नरो वा कुञ्जरो वा..’ स्खलित हुँदा पनि किञ्चित डग्मगाउन खोज्छ । तर प्रश्न गर्नुहुन्न आस्थाहरूमा वेदव्यास, कुन्ती, विश्वामित्र, द्रौपदीहरूमा । हामी व्युत्थितकर्म हुनुपर्दछ । तर कति बन्ने आस्थाको पुजारी ? कति गर्ने आदर्शको चाकरीमात्र हामीले ?

यस्तै केही श्रेष्ठताका कुरा । यसरी अलौकिकतामा श्रेष्ठत्व मापन अस्वाभाविक बन्यो । सत्यको धरातलीय ज्ञान उत्तिकै जटिल छ । जहाँ आस्था टिकाइन्छ त्यहीँ धर्ती भासिने गरी यथार्थले जिस्क्याउँछन् । सामाजिक प्रतिष्ठा नापौँ राजनीतिक खलनायकका घिनलाग्दा व्यवहारहरूले गाउँ शहर पीडित छ । विस्थापित मनस्थितिमा स्थिर विचारको कुरा आफैंमा हास्यास्पद लाग्दछ । प्राज्ञिक कलेवरमा मूर्ख कालिदासको आदिम स्वरूपले खिज्याउँछ । ठूलाठूला चिन्तनको पहेली गाउँदै राजनीतिको प्रतिगामी यात्राका मुक साक्षी बनेर ठाउँकुठाउँ प्राज्ञिकताले डस्न थाल्छ । व्यक्तित्व रित्तिएको खोक्रो आकृति भयानक त्रासदी आँखामा ताकिरहन्छ । खोज्ने कुरा धेरै थियो मुहारमा नशुद्धिने आशौच बनेर अस्थिरताले प्रवेश गरेको छ ।

सन्देह गर्नुु सिवाय आफन्तका अनुहारहरूमा, घृणा ओकेल्नुभन्दा छिमेकीसँग, इष्र्या पाल्नुभन्दा वान्धवहरूमा, डर राख्नुभन्दा रातहरूमा, जलन गर्नुभन्दा चन्द्रमाको शितलतामा, अविश्वास बढाउनुभन्दा आफ्नै कर्ममा, असफलता अनुमान गर्नुभन्दा आफ्नै यात्रामा समयले के नै दिएको छ र ? समयमाथि आफूलाई समर्पित गरौँ ? यस्तो विषम क्षण जताततैबाट सन्देहले तर्साइरहेको बेला श्रेष्ठताको मापन अहङ्कारको खोजी बनेर भित्रिन्छ मनहरूमा ।

ठूलाठूला चिन्तनको पहेली गाउँदै राजनीतिको प्रतिगामी यात्राका मुक साक्षी बनेर ठाउँकुठाउँ प्राज्ञिकताले डस्न थाल्छ । व्यक्तित्व रित्तिएको खोक्रो आकृति भयानक त्रासदी आँखामा ताकिरहन्छ । खोज्ने कुरा धेरै थियो मुहारमा नशुद्धिने आशौच बनेर अस्थिरताले प्रवेश गरेको छ ।

देशले नै अनिष्ट बेहोरेको छ यतिबेला । विचार उठ्न सकेको छैन । व्यवहार सुध्रिन सकेको छैन यतिबेला । चिन्तन मौलाउन सकेको छैन शुद्ध रूपले । इहलौकिक र पारलौकिकताको मध्यबिन्दुमा निर्मित हाम्रो पारम्परिक गति कतै जडसूत्रवादको आरोपमा, कतै प्रगतिवादको दर्शनमा, कतै लोकतान्त्रिकताको स्वतन्त्रतामा, कतै याथार्थिकताको निरावरण विकृतिमा कतै विसङ्गतिको अधोगमनमा, कतै समसामयिकताको बिप्लेँटोमा श्रेष्ठत्व र आदर्शको प्राञ्जल रूपहेर्न चाहन्छ । समयलाई हात लिएर जीवनमा केही गरेर देखाउने उच्चाकाङ्क्षा गतिशीलताको सुन्दर अभियान हो । फेरि पनि थाक्नुहुन्न आकाङ्क्षा पाल्न तर यसपालि पनि यस्तै भयो ।

दर्शनमा जीवन हेर्ने कि आँखाले, जीवनमा दर्शन हेर्ने कि आँखाले ? हेर्ने कुरा आँखामा धेरै थिए । लेकमा बुकी फुलेको नजरैभरि नअटाउने गरी पहाडमा गुराँसका गुच्छाहरूर तराईमा सुनाखरी । हत्केलामा कर्म र मुहारमा प्रसन्नता । शान्तिले ढुक्कसँग डाँडाको चौतारीमा भरिया दाइले पसिना पुछेको सबैसबै त आँखाले हेर्नै बाँकी छ । तर आस्थाले झुक्याइरहेको छ बेलाबेला । विश्वासले पनि धोका दिइरहेको छ समयसमयमा । आदर्शहरूको पछि लागेर शङ्का गरियो यथार्थहरूमा । बेहोर्ने त यथार्थ नै रहेछ तीतोपिरो, अमिलो जस्तो भए पनि घाँटीघाँटी आइपुग्दासम्म बेथितिको झुसिलो डकार । गरलपान गर्नु परिरहेछ वर्तमानको उपहार । अपच बनेर विचारको शृङ्खला यतिखेर श्रेष्ठत्वको खोजीमा रोइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?