अब श्रम स्वीकृति स्थानीय तहबाटै

Read Time = 3 mins

काठमाडौं । आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने भएको छ । हाल नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट भइरहेको छ । अनलाइनबाट आफैं श्रम स्वीकृतिका लागि आवेदन दिन नसक्नेले भने वैदेशिक रोजगार कार्यालय आसपास रहेका सेवा प्रदायकबाट शुल्क तिरेर सेवा लिँदै आएका छन् । तर, अब स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत् नै निःशुल्करूपमा आवेदन दिन सकिनेछ । सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा प्रदान गर्ने उद्देश्यअनुरूप स्थानीय तहबाट नै सेवा प्रवाह हुनु फलदायी हुने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरबाट बुधबार उक्त निर्णय गरिएको हो ।

मन्त्रालयका सहप्रवक्ता कविराज उप्रेतीले रोजगार सेवा केन्द्रबाटै श्रम स्वीकृतिका लागि आवेदन दिन सकिने भएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक लाभान्वित हुने बताउनुभएको छ । कागजपत्र लिने र स्क्यान गर्ने तर कुनै कागजपत्र श्रम स्वीकृति लिने प्रणालीमा अपलोड नगर्ने र सेवाग्राहीसँग कागजात पुगेन भन्दै बार्गेनिङ गर्ने प्रवृत्ति अन्त्य हुने बताइएको छ । सेवा केन्द्रबाट आवेदन दिँदा सम्बन्धित स्थानीय तहबाट कति श्रमिक वैदेशिक रोजगारीमा गए, कुन-कुन सीपयुक्त जनशक्ति बाहिरिए भनी तथ्यांक राख्न पनि सहयोग पुग्नेछ ।

चैतभित्रै रोजगार सेवा केन्द्रमा रहेका कर्मचारीलाई अभिमुखीकरण गर्ने र वैशाख १ देखि कार्यान्वयन गर्ने मन्त्रालयको तयारी छ । सरकारले सात सय ५३ स्थानीय तहमा रोजगारसम्बन्धी सेवा प्रवाहमा सहजीकरण गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गरेको छ भने केन्द्रहरूमा रोजगार संयोजक र रोजगार सहसंयोजक गरी दुई कर्मचारीको दरबन्दी उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?