राजनीतिज्ञहरूका वाचा र आश्वासन !

हिमालय टाइम्स
Read Time = 7 mins

तुइनबाट खसेर नागरिकहरूको ज्यान जाने क्रम अझै रोकिएको छैन । समयको अन्तरालसँगै यस्ता घटनाहरू कम भएका होलान् तर समाप्त भएका छैनन् । राजनीतिज्ञहरूले भने बेला-बेलामा यस्ता वाचा गर्दै आएका छन् । राजनीति भनेकै जनतासामु वाचा गर्न र उनीहरूलाई आश्वासन दिन सक्नेले गर्ने हो । यो भनिरहनु पर्दैन राजनीतिज्ञहरूका व्यवहारले देखाइरहेको छ । समयले यसलाई पुष्टि गर्दै लगेको पनि पाइएको छ । पञ्चायतकालमा पनि जनतालाई फुस्ल्याएर राजनीतिको दुनो सोझ्याउनेहरू थिए । त्यस्ता नेताहरू अरूभन्दा टाठाबाठा वर्गमा पर्दथे । एकातिर राजालाई र अर्कातिर जनतालाई राखेर आफू बलवीर भएको देखाउथे । ‘मलाई कसैदेखि डर लाग्दैन, राजा र जनतासँग भने मलाई सधैं डर लाग्छ’ भनेर राजालाई पनि ठूलो देखाउँथे र जनतालाई पनि फुरुंग पार्थे । वास्तवमा भन्ने हो भने अहिलेसम्मको अवस्था पनि यस्तै छ ।

एक पटक छाउगोठरहित नेपाल बनाउने भनेर अभियान चलाइयो । छाउगोठहरू प्रहरी लगाएर भत्काइयो तर नागरिकहरूका मनमा रहेको भावनानका छाउगोठहरू भने कसैले पनि भत्काउन सकेन । भौतिक संरचनात्मक छाउगोठहरू जति भत्काए पनि छाउपडी प्रथा अझै कायमै छ र प्रहरीले भत्काएका ठाउँमा फेरि जनताले छाउगोठ बनाएका छन् । समाजमा जरा गाडेर बसेको रुढ परम्परा जसलाई भत्काउनु आवश्यक थियो । छाउ वा रजस्वला भएका बेला छाउगोठमा बसेका बेला अनेक कारणले केही नारीहरूले ज्यान गुमाएको यथार्थ सबैलाई विधित विषय हो । यसैगरी फुसाका छानाहरू विस्थापन गर्ने अभियान चलाइयो । फुसको सट्टा स्लेट ढुंगा वा जस्ता पाताले त्यसलाई विस्थापित गर्ने भनियो । यो सराहनीय कार्य थियो । फुसका छानाका कारण विशेषगरी आगलागीको जोखिम हुनेगथ्र्याे । ठाउँ-ठाउँमा यस्ता घटना भएका पनि थिए ।

यसबाट जनधनको क्षति व्यहोर्नुपरेको थियो । फुसको छानामा बस्नेहरू सधैं एक प्रकारको मानसिक त्रासमा बाँच्नु पथ्र्यो । त्यसको सट्टामा छानो फेरी ढुंगा वा जस्तापाता राख्न सक्ने हो भने आगलागीका घटनाको सम्भावना रहने थिएन भन्ने लागेका कारण फुसको छानो विस्थापित गर्ने भन्ने अभियान थालिएको थियो । तर, यसका लागि पहुँच र सामथ्र्यको आवश्यकता पथ्र्यो । फुस्को छाना प्रायः गरिबहरूकै हुने गर्छन् । उनीहरूको छानो फेर्न सक्ने सामथ्र्य भएको भए फुसको छानाको सट्टा जस्तापाता वा स्लेटढुंगाहरू पहिले नै राखिसकिएको हुन्थ्यो । पछि चलाइएको यस्तो अभियान राम्ररी सफल भएन ।

यसको कारण थियो ती गरिबहरूले आफैं छानो फेर्न नसक्ने, सरकार वा स्थानीय तहको सरकारले पनि त्यसो गर्न नसकेको हुँदा यसको आर्थिक स्रोत नै बन्न पुग्यो । यस्ता अभियान अरू पनि अनेकैं हुन सक्लान् । बालिघरे प्रथा, हलिया वा हरूवाचरुवा, कमलरी प्रथा धेरै छन् हाम्रो समाजमा विकृतिका रूपमा रहेका । तीमाथि कुनै न कुनै प्रकारले राजनीति भएकै छ । ती समस्यामाथि राजनीतिज्ञहरूका अनेकौं प्रतिबद्धता प्रकट भएका छन् । निर्वाचनको समयमा राजनीतिज्ञले सर्त राखेका हुन्छन् ‘यदि मैले जितेँ भने....’ भनेर । यसरी जनतालाई मतका लागि आकर्षित गरिन्छ तर जितेपछि नेताहरूसँग भेटघाट गर्न जनताका लागि दुरुह हुन्छ ।

तुहिन पनि जनतालाई सपना देखाउने एउटा विषय बन्दै आएको छ । तल रिँगटा लाग्ने खोला वा नदीहरू बगिरहेका हुन्छन् । माथि टाँगिएको एउटा तारको लठ्ठामा झुण्डिएर त्यो खोलो वा नदी तर्नुपर्ने हुन्छन् । त्यसैलाई तुइन वा घिर्लिङ भन्ने गरिन्छ । नेपाली जनताले यसरी तुइनमा झुण्डिएर नदी वारपार गर्ने गरेको धेरै दशक बितिसकेको छ । सानासाना नानीहरूले विद्यालय जाँदाआउँदा होस् वा महिलाहरूले घाँसको भारी बोकेर तुइनबाट नदी तर्ने गरेको देख्दा हेर्नेलाई समेत रिँगटा लाग्छ । बेलाबखत टेलिभिजनको पर्दामा पनि यस्ता कहाली लाग्ने दृश्यहरू प्रसारण गर्ने गरिन्छ । २०७४ को आमनिर्वाचनकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई तुइनरहित देश बनाउने वचनबद्धता प्रकट गर्नुभएको थियो ।

केही ठाउँका तुइनहरू हटाइयो पनि र ती ठाउँहरूमा पुल र झोलुङ्गेपुल निर्माण गरियो तर सबै ठाउँमा यसो हुन सकेको छैन । सीमा नदीहरूमा छिमेकी देशको समेत सहमति लिनुपर्ने हुन्छ । यस्तै कारण हुनसक्छ पश्चिम सीमा नदी महाकाली नदीमा अझै पनि तुइनकै भर पर्नुपरेको । परिणमतः दार्चुलाको सिङ्दलसिंह भण्डारीले पछिल्लो पटक ज्यान गुमाउनुपरेको छ । वर्तमान समयम सुहाउँदा यातायातका साधनहरूको विकास भइसकेको अवस्थामा पनि हामी परम्परागत संसाधनमै भर पर्नुपरेको अवस्था चिन्ताकै विषय हो । त्यसकारण जनताको ज्यान जोखिममा पारेर आवागमन गर्नुपर्ने यस्ता तुइनहरूलाई छिट्टै विस्थापित गरेर पुल, झोलुङ्गे पुल बनाएर उनीहरूलाई मुक्ति दिन बोलीले मात्र होइन व्यवहारले नै सिद्ध गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?