भत्किँदै किल्लाहरू कथासङ्ग्रहको लीलाबोधी विश्लेषण

डा. नारायण चालिसे
Read Time = 18 mins

परिचय :
दीनबन्धु शर्मा कथा र नाटक लेखकका रूपमा सुपरिचित नाम हो । शर्मा आधुनिक नेपाली कथा र नाटक विधामा पचासको दशकमा प्रवेश गर्ने र साठीको दशकमा राम्रा कथा र नाटकहरू (विशेषतः एकाङ्की) दिएका व्यक्ति हुन् । प्रयोगवादी लेखनलाई पछ्याएर शर्माले कथा र नाटकहरू लेखेका छन् । थोरै तर उच्चस्तरका उनका सिर्जनाहरूले नेपाली साहित्यलाई बौद्धिक उचाइ नाप्न मद्धत गरेका छन् । प्रयोगवादी शैलीका उच्च बौद्धिक कथाहरू लेख्ने शर्माका सपना र खण्डहरहरू कथासङ्ग्रह २०५५, निबन्धको फूलबारी २०६९ र भत्किँदै किल्लाहरू कथासङ्ग्रह २०७२ कृतिहरू हालसम्म प्रकाशित भएका छन् भने पत्रपत्रिकाहरूमा धेरै फुटकर रचनाहरू प्रकाशित छन् । यस सन्दर्भमा शर्माको २०७२ मा प्रकाशित भत्किँदै किल्लाहरू कथासङ्ग्रहलाई लीलाबोधी सिद्धान्तका आधारमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

कथाहरूको सारसमीक्षा र लीलाबोध :
भत्किँदै किल्लाहरू २०७२ भित्र लामा छोटा गरी एक्काइसवटा कथाहरू समाविष्ट छन् । यी कथाहरू विषयका दृष्टिले राजनीतिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं स्वैरकाल्पनिक किसिमका रहेका छन् । आधुनिक प्रविधि र नवीन शिल्प प्रयोगका यी कथाहरू केहीमात्र सरल र अभिधात्मक छन् भने अधिक कथाहरू केही बौद्धिक, जटिल, व्यङ्ग्यात्मक र सङ्केतात्मक रहेका छन् । समय, समाज, जीवन र जगत्कै केन्द्रीयतामा कथाहरू संरचित छन् । जुन गतिमा समय फड्को मार्दै अघि बढेको छ, के त्यही गतिमा हाम्रो जीवन र विचारको स्तर पनि अघि बढेकै हो त ? भन्ने प्रश्न कथाहरूले गरेका छन् । हामी हिँड्यौं भनेका छौं, तर कहाँ पुग्न सकेका छौं ? हाम्रो धरातल के थियो र हामी अहिले कहाँ छौं भनेका छौं ?
त्यसको उत्तर कथाहरूले खोजेका छन् । घोर परम्परावादी हाम्रो मानसिक तहमा अघोर नयाँ विचारको मिश्रणबाट उत्पन्न भएको प्रतिक्रिया कस्तो हुन सक्छ ? भन्ने सङ्केत कथाहरूले गरेका छन् । हाम्रा मूल्य र मान्यताहरूको संरक्षण आवश्यक छ तर हामीले मानेका, ठानेका र बनाएका धारणाहरू कति सत्य र जीवनोपयोगी छन् भन्ने बुझ्न आवश्यक छ । स्थिर भन्ने कुनै कुरा छ कि छैन ? सत्यहरू सापेक्ष छन् कि निरपेक्ष छन् ? के हामीले पाएको ज्ञान नै पूर्ण ज्ञान हुन सम्भव छ ? वा भ्रान्तिमा विश्वासको धरहरा उभ्याएर हामी डग्मगाइरहेका छौं ? भन्ने कुरालाई बुझ्न आफूभित्र पसेर आफैं गहिरो गरी सोच्न आवश्यक छ भन्ने सङ्केत कथाहरूले गरेका छन् ।

एकपटक बनाएका धारणाहरू कालजयी हुँदैनन्, समयको नयाँ डाँकोसहित हामीले आफ्ना विचारमा र क्रियामा परिवर्तन स्वीकार्न आवश्यक छ । हामी धेरै किसिमले कठपुतली छौँ तर कर्ताबोधको भ्रान्तिमा हामी छौँ । जीवन नाटकहरूमा अभिनित छ, धेरै प्रकारका भिन्न रङ्गले हामी रङ्गिएका छौं भन्ने कुरा कथाबाट व्यक्त भएको छ । सबैतिरका हाम्रा मान्यताका किल्लाहरू भत्किएका छन् भन्ने विचारको मूल मियोको वरपर प्रायः कथाहरू घुमेका छन् । सबै कथाहरूले कुनै न कुनै रूपको किल्ला भत्किएको सङ्केत गरेका छन् ।

एकपटक बनाएका धारणाहरू कालजयी हुँदैनन्, समयको नयाँ डाँकोसहित हामीले आफ्ना विचारमा र क्रियामा परिवर्तन स्वीकार्न आवश्यक छ । हामी धेरै किसिमले कठपुतली छौँ तर कर्ताबोधको भ्रान्तिमा हामी छौँ । जीवन नाटकहरूमा अभिनित छ ।

सोही आधारमा सङ्ग्रहको नाम भत्किंदै किल्लाहरू राखिएको छ जुन सांकेतिक र सार्थक छ । केन्द्रभङ्ग, रूपलीला, भ्रान्तिबोध, विनिर्माण, अनिश्चितता, अनिर्धार्यता, अकर्ताबोध, नाटकीयता, विश्वासको मृत्यु, नयाँ विश्वासको जन्म, धारणाहरूको पुनव्र्याख्या प्रायः कथाहरूमा भएको छ । सङ्ग्रहमा समाविष्ट कथाहरूको सारबोध यसप्रकार रहेको छ ।

भत्किँदै किल्लाहरू :
मान्यता एकातिर स्थिर जस्तै भएर मानिसमा बसेको हुनाले मानिसले एउटा निर्णय दिन तम्सिन्छ र दिन्छ पनि तर मान्यताहरू समयसँगै फेरिंदै जान्छन् र मानिसले आफ्ना निर्णयहरू पनि सच्याउँदै, नयाँ निर्णय दिँदै, पुराना मान्यतासँग जोडिएका निर्णयहरूलाई भत्काउँदै नयाँ मान्यता स्थापना गर्दै नयाँ निर्णयहरूलाई स्थापना गर्दै जान्छ । त्यसपछि पनि निर्णयहरू स्थिर भएर बस्न मान्दैनन् । मान्यताका, सभ्यता, संस्कृति र समाजले बनाएका किल्लाहरू भत्किंदै जान्छन् ।
मानिसले नयाँ किल्लाहरू खडा गर्दै र धारणाहरू बनाउँदै जान्छ । त्यसैले पुरानो नासिँदो र नयाँ बन्दोमा जीवन चल्दै जान्छ, किल्ला खडा गर्दै भत्काउँदै, नयाँ बनाउँदै जाने भएकाले कुनै स्थिर विचारमा उभिन र धारणाहरूलाई स्थिर राख्न नसक्ने संचरणशील विचार र दृष्टिकोणको खेल चलिरहन्छ भन्ने चिन्तनमा यो कथा केन्द्रित छ ।

‘सहर जान्छौ त ?’ भन्ने प्रश्नमा, ‘जान्न भाइ’ (पृ. १८) भनेर निर्धक्क भन्ने र पुर्खाको थातथलोलाई बज्र समान ठानेर बस्न रुचाउने काभ्रापाटे, छोराजस्तो छोरी हुँदै हुन्न भनेर पुर्खाको पालादेखि दृढ रूपले पालन गर्दै आएको उसले, बाह्र वर्षपछि खोला पनि फर्किने अर्थात् किल्ला भत्किने कुरामा विश्वस्त भएर भोलिपल्टै ‘अब लैजान्छस् भने सहर जान्छु भाइ होइन भने आसामरुझैँ एउटी छोरी लिएर बस्छु’ (पृ.२४) भनेर पुर्खाको थलो, छोराप्रतिको अघोर आस्था र भरोसा, अनि अरू धेरै सामाजिक मान्यताहरूलाई भत्काएर सहर जान राजी भयो । निरन्तर प्रवाहमा छ सब पुरानो नासिँदो र नयाँ बन्दोमा (लीलासूत्र ४ग) यहाँ अभिव्यक्त भएको छ ।

सत्यको भ्रान्ति यो बाँचौं एउटा खेल । सांसारिक र परासांसारिकको योगले अवतारहरूको लीला छ । जीवन र जगत्को कर्मभूमिमा लीलानुसारी संघर्षमा रत रहौँ । लीलाक्षेत्रमा छौँ तर खेलौँ बाँच्ने खेल भन्ने राई, लीला प्रस्तावना । यो कथामा यही विचार चरितार्थ भएको छ ।

समय कहिले धनजीतेको बाली, गुमानेको गोरु बनेको छ भने कहिले धनजीतेको गोरु र गुमानेको बाली बनेको छ । सधैँ धनजीतेको बाली र गुमानेको गोरु भन्ने स्थायी ज्ञान भत्कियो, धारणा फेरियो, खोलो फर्कियो । धारणा र विश्वासहरूको किल्ला भत्कियो, नयाँ किल्लाहरू निर्माण हुँदै गए । ती पनि भत्किने र बन्ने क्रम जारी छ ।

परिवर्तनशीलता, गतिशीलता पुनर्निर्माण, रूपहरूको नयाँ खेल, अनि सबै सत्य जस्तै लागेका हिजोका मान्यताहरू भ्रमपूर्ण भएर नयाँ धारणामा विश्वास थमाउनु परेको अवस्था, वस्तु र जगत्को क्षणिकता बोध, आफ्ना सबै मान्यताको जिम्मा आफैंले लिन नसकी आफू त केवल निमित्त बनेको अवस्थालाई यो कथाले सङ्केत गरेको छ (धरावासी (सम्पा.) २०५९, पृ.४, ५, ६) । भगवान्का मूर्तिहरू भत्किए, देवताहरूप्रतिको विश्वास भत्कियो र सबै परिवर्तनशील छ । त्यसैले धारणा फेरिएका छन्, किल्ला भत्किएका छन् । सीमाहरू विगठन भइरहेका छन् भन्ने (उप्रेती २०६८, पृ.१३०) मान्यता यहाँ चरितार्थ भएको छ ।

मोहिनीसँग स्वप्नलोकको यात्रा :
सबैलाई आफ्नो विचार जायज हो भन्ने लाग्दछ । जायज नाजायज छुट्याउने कसले ?(पृ. २६), सुरक्षाको भ्रान्ति दिने यसले (पृ.२७) । स्वप्न यथार्थ कि भ्रम ?छ्या ! यी उपमाहरू कति थोत्रा थाङ्लिएका ?शब्दहरू कति थोरै ! बोलिसकिएका सबै । नयाँ जन्मनेका निम्ति नयाँ शब्द खै ? (पृ.२७) । यी कथामा व्यक्त विचारहरू हुन् ।

यो कथा सङ्केतात्मक छ । प्रतीकको रूपमा मोहिनी स्वप्न सुन्दरी आएकी छन् । उनले दिएको प्रेम विपनाको भन्दा प्रिय छ, त्यसले विपनालाई दुःखमय बनाइदिएको छ । त्यो लोक वास्तविक जीवनको लोकभन्दा सुन्दर र आकर्षक छ, त्यसले वास्तविक लोकको सौन्दर्य र शोभालाई तुच्छ बनाइदिएको छ ।

ती मोहिनी अलौकिक छन् तर तिनी मायाको रूप हुन् । औपनिषदिक माया, अर्थात् लोकवत्तु लीला कैवल्यम्को (धरावासी (सम्पा.), २०५९, पृ.४, ५) सङ्केतक हुन् । सबै हुन् भनेकी तिनी केही पनि हुन सकिनन्, आफ्नी हुन सकिनन् र सम्भवतः कसैकी पनि हुन सक्दिन्, तिनी केवल आकर्षण हुन्, छाम्दा प्राप्त गर्न नसक्ने माया हुन् । यथार्थजस्तो लागेर यथार्थ हुन नसक्ने छाया हुन्, सत्यजस्तै सत्यको भ्रान्ति हुन् जसमाथि हाम्रो विश्वास अडेको छ । त्यस्तो मोहबाट मुक्ति, मोहभङ्ग आवश्यक छ । प्रतीकात्मक रूपमा आजको राजनीतिको मोहिनी रूप, जहाँ सबै कुराको आभास दिलाइन्छ तर वास्तविकतामा त्यो मानिसलाई मोहित पार्ने मायाको खेल हो ।

सत्यको भ्रान्ति यो बाँचौं एउटा खेल । सांसारिक र परासांसारिकको योगले अवतारहरूको लीला छ । जीवन र जगत्को कर्मभूमिमा लीलानुसारी संघर्षमा रत रहौँ । लीलाक्षेत्रमा छौँ तर, र खेलौँ बाँच्ने खेल भन्ने (राई, लीला प्रस्तावना) । यही लीला विचार पूर्णरूपले यो कथामा चरितार्थ भएको छ । त्यस्तै यो युगीय मनोविज्ञानको अवचेतनाको मुक्तिको समकक्षीय छ, भन्ने मत अनुसार पनि लीलालेखनको शून्यपना अर्थात् त्यत्रो संसार घुमेर अन्त्यमा म पात्र शून्य मनमा पुगेर लीलाबोध गर्ने अवस्था सिर्जना भएको छ । यो स्वप्न र यथार्थको भ्रान्तिलाई पर्गेल्ने सशक्त कथा बन्न पुगेको छ । नेपालको वर्तमान राजनीतिलाई यस कथाले कटाक्ष गरेको छ । हाम्रा भावना, विचारणा, क्रिया लीला छन् भन्ने ललासूत्र यहाँ चरितार्थ भएको छ (धरावासी (सम्पा.) २०५९, पृ. ६) ।

क्लासिक लभ सङ :
अवतार लीलाबाट कथा प्रारम्भ भएको छ (धरावासी (सम्पा.) २०५९, पृ.७) । मोहिनीको पुनर्जन्म भएको छ । पुनः म पात्रलाई सम्मोहित गर्ने पुरानै क्रिया प्रारम्भ भएको छ । पृथक् भूमिकामा जीवनले गति लिएको भ्रान्ति छ । आफूलाई हेला गर्ने लोग्नेको फोटो बोकेर सडकमा दूधे बालक बोकेर माग्न बस्ने अवस्थाले प्रेमको चूडान्त अवस्थालाई एकातिर सङ्केत गरेको छ भने अर्कोतिर यो प्रेमको व्यर्थता बोधको सङ्केत हो । आफैँलाई उपेक्षा गरेर वृद्धाश्रम पठाउने छोराको मायाले ‘आलुको अचार राखेर बसेको, व्यर्थताबोध, घीनलाग्दो सम्बन्ध’ (पृ.३६) ।

यहाँ देश बनाउनका लागि छलफल भइरहेको छ, तर त्यहाँ अनगिन्ती निस्तेज मानिसहरू बसिरहेका थिए (पृ.२६), चार महापुरुषहरू... । सडकमा भेडाबाख्राहरूको बथान छ (पृ.३६) । जीवनको व्यर्थताबोध छ, आर्यघाटमा युवक चितामा पसारिएको छ, जीवनको सङ्घर्षमय कोलाहलबाट मुक्त (पृ.३७) । जीवन एउटा नाटक नै हो, कतै संवेदना, कतै संवेदनाहीन लाशमा सौदाबाजी, भूतपूर्व मानिस, लाश जीवित छँदाकी आमा, रुनुपर्ने परम्परा, आज मलाई सुगन्ध र दुर्गन्धमा भेद छैन, मात्र गन्ध छ (पृ.३८) ।

अस्पष्ट, निरुद्देश्यमात्र हलचल, बाँच्नुले सिर्जिएका हलचलहरू, बाँचेका प्रमाणहरू । मैले जीवित मान्छेलाई प्रेम गर्न खोजेकी थिएँ, मैले लाशहरूलाई घृणा गर्न चाहेकी थिएँ (पृ.३९) । यी भूतपूर्व मान्छेहरू कति सफा (पृ.४०), कुरूप जिन्दगी, सानदार मृत्यु (पृ.४०), आफ्नै कथाका पात्रलाई प्रेम गर्न थालिरहेको छु (पृ.४०) । मृत्यु अनिवार्य छ, जीवन अनिवार्य छैन (पृ.४०) । जीवन कति सुन्दर पनि रहेछ (पृ.४३) ।

तिमी मृत्युका निम्ति तयार भयौ, म जीवनका निम्ति (पृ.४३) । यी कथाभित्रका केही दृष्टान्तहरू हुन् । यो जीवनबोध गरिएको कथा हो, जीवनमा प्रेमको पूर्णताको निम्ति मृत्युको बोध हुन आवश्यक छ । मृत्यु स्वीकार गरेपछिको प्रेम सुन्दर हुन्छ । हाम्रो समाज, हाम्रा सम्बन्ध, हाम्रो राजनीति, सबै विकृतिले भरिएको प्रति व्यङ्ग्य गरिएको छ । जीवनको नश्वरता, अनिश्चितता, क्षणिकता र शून्यताको दार्शनिक चिन्तन घनीभूत भएको छ (धरावासी (सम्पा.) २०५९, पृ.१९, २०) । जीवनको बीभत्स अवस्था, मृत्युको निश्चितताका बारेमा चिन्तन गरिएको छ । जीवनमा बाँच्ने खेल र यसको सारन तारनका बारेमा चर्चा गरिएको छ ।

सबैभन्दा महत्वपूर्ण नाटकीयता रहेको छ, आफ्नै कथाका पात्रहरूसँग प्रेम गरेर जुन कुरा होइन त्यही हो जस्तो बन्न पुगेको छ । नाटकका नक्कली पात्रहरू सक्कली जस्ता लागेका छन् । स्वप्न मोहिनी मधु वास्तविक जीवनमा हो जस्ती भएर जीवन र प्रेमको परिभाषा सिकाएकी छ । नाटकीय जीवनमा जीवनको भ्रम छ, प्रेमको भ्रम छ । जीवन र जगत्को कर्मभूमिमा लीलानुसारी संघर्षमा रत छौं । खेलौँ बाँच्ने खेल (राई, लीलासूत्र १७) यहाँ चरितार्थ भएको छ ।

क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?