सुरक्षा कोष र आइएमईबीच सम्झौता

Read Time = 3 mins

काठमाडौं । सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलन सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै आइएमई तथा साझेदारमार्फत् वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदानबापतको रकम कोषमा जम्मा गर्न सक्ने कम्पनीले जनाएको छ ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौँ नेपालीलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरी सम्झौताअनुसार छिट्टै व्यवस्था मिलाइने जानकारी गराउनुभयो । कोषका कार्यकारी निर्देशक ज्ञवालीले आइएमई तथा साझेदारहरूको विश्वव्यापी सञ्जाल भएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदान गर्नेलाई रकम पठाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा कोषका निर्देशक रोशन कोजू र आइएमईका बिजनेस डेभलपमेन्ट म्यानेजर श्यामकृष्ण खकुरेलको पनि उपस्थिति रहेको थियो ।

कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजनाअन्तर्गत कम्तीमा सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम दुई हजार दुई मासिकरूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?