नेपाल एयरलाइन्सको ६५ औँ वार्षिकोत्सव

Read Time = 2 mins

काठमाडौं । नेपाल वायुसेवा निगमले ६५औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको निगमको केन्द्रीय कार्यालयमा शनिबार वैदिक विधिअनुसार आकाश भैरवको पूजाआराधनाका साथै प्रभातफेरी आयोजना गरिएको निगमले जनाएको छ । प्रधान कार्यालय न्युरोडबाट सुरु भएको पैदल यात्रा वसन्तपुर, आकाश भैरव मन्दिर, असन, जमल, घण्टाघर, शहीदगेट हुँदै निगमको प्रांगणमै अनौपचारिक कार्यक्रममा परिणत भएको थियो ।

सो अवसरमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राख्दै निगमको हितमा काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । निगमले वार्षिकोत्सवका अवसरमा असार ८ गते केन्द्रीय कार्यालयमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा निगमका एक सय ७२ जना कर्मचारीले रक्तदान गरेका थिए भने असार १५ गते टेबलटेनिस प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ निगमका कामु उपनिर्देशक शैलेश कंसाकार पहिलो र निगमका अध्यक्ष युवराज अधिकारी दोस्रो हुनुभएको थियो भने महिलातर्फ उपनिर्देशक सविना शाक्य पहिलो र उपनिर्देशक प्रतिभा शर्मा दोस्रो हुनुभएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बैंग्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानका नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमको ऋण दायित्व करिब ४८ अर्ब पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?