प्रतिस्पर्धात्मक होइन, करुणा जगाउने शिक्षा आजको आवश्यकता

Read Time = 16 mins

-कृष्णप्रसाद सुवेदी
एक हुल शिक्षक हातमा फूलको बुके, माला बोकेर शिक्षामन्त्रालय जाँदै थिए । केही शिक्षकसँग यस पंक्तिकारको भेट भयो । ‘पहिलेको शिक्षक अहिले शिक्षामन्त्री हुनुभएको छ । बधाई दिन हिँडेको । शिक्षक शिक्षामन्त्री जस्तो उच्च पदमा पुग्नु भनेको हामी सबै शिक्षकको सम्मान हो, गौरव हो,’ यति भन्दै ती शिक्षक हतारिँदै दगुरे । शिक्षण पेशा छोडेर मन्त्री बन्दा शिक्षकको सम्मान कसरी भयो ? बरू अपमान भएन र ? शिक्षामन्त्रीको पद खुस्किएपछि मन्त्रीले गर्वका साथ पुनः शिक्षण पेशा अँगाले पो शिक्षक पेशा सम्मानित हुने होइन र ? मेरो मनमा यस्तै प्रश्नहरू उब्जिए ।

भारतीय वैज्ञानिक एपीजे अब्दुल कलाम सन् २००२ देखि ०७ सम्म भारतका राष्ट्रपति बने । पदावधि सकिएपछि भारतका दूरदराजका विद्यालयहरूमा पढाउँदै हिँडे । विद्यार्थीहरूले सोधेको प्रायः सबैजसो जिज्ञासाको उनी इमेलबाट जवाफ दिन्थे भन्ने विश्वास गर्छन् भारतीय नागरिक । ८३ वर्षको उमेरमा सन् २०१५ मा इण्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, सिलोङमा विद्यार्थीलाई पढाइरहेका बेला नै उनी परमात्मामा लिन भए ।

विद्यालय जाने उमेर समूहका बालबालिकाको भर्नादर ९७ प्रतिशतभन्दा बढी छ तर दश कक्षामा पुग्दा भर्ना भएकामध्ये करिब चार लाख जतिमात्र बाँकी हुन्छन् । छ लाख जति बालबालिका बीचैमा विद्यालय छोड्न बाध्य छन् । हाम्रा विद्यालय बालबालिकालाई आकर्षण गर्ने थलो किन हुनसकेका छैनन् त ? के गरिबीमात्रै हो कारण ? बालबालिकालाई केका लागि पढाउने ? भाषा फरक पर्ला तर उत्तरको सार भनेको सहज तथा इज्जतिलो जीवन बाँच्न भन्ने नै हुन्छ । पढेपछि राम्रो जागिर पाइन्छ । व्यवसाय गर्न सकिन्छ । धन आर्जन हुन्छ । नाम, इज्जत प्रतिष्ठा बढ्छ । सबैले मान्छन् । धेरै कमाउन तथा मान–सम्मानका लागि शिक्षामा अब्बल हुनुपर्छ भन्ने आमधारणा बनेको छ । त्यसैले सबैलाई पछार्दै कसरी प्रथम बन्ने भनी सिकाउँछौं हामी । शिक्षामा प्रतिस्पर्धा गर्न सिकाउँदैछौं ।

प्रतिस्पर्धामा महत्वकांक्षा हुन्छ । इस्र्या हुन्छ । द्वेष हुन्छ । अहंकार हुन्छ । घृणा हुन्छ । जब बालमष्तिस्कमा शिक्षाको नाममा इष्र्या, घृणा तथा महत्वकांक्षाको विष घुसाउँछौं भने यसको परिणाम के होला ? फलतः कसैको भौतिक सम्पत्तिमा वृद्धि त होला तर धनी र गरिबबीचको खाडल झनै बढ्छ । साथै, आत्मिक शान्ति तथा मानवताको चीरहरण त्यही रफ्तारमा बढ्नेछ । अहंकारी तथा विवेकहीन जमात बढाउँदै छौं हामी शिक्षित बनाउने नाममा ।

प्रतिस्पर्धाको नाममा त्रास, भय सिर्जना गरिरहेका छौं हामी । अरूलाई पछारेर आफू कसरी प्रथम हुने भन्ने दौडमा छौं । जबसम्म मानिस–मानिसबीच तुलना गरिन्छ, मानव गरिमाको सम्मान हुन सक्दैन । प्रत्येक व्यक्ति अद्भूत हुन्छ । व्यक्तिपिच्छे फरक क्षमता हुन्छ ।

यस प्रतिस्पर्धी शिक्षाको दुनियाँमा असफल व्यक्तिको कुनै गुञ्जायस छैन । सफल हुनै पर्दछ । जसरी भए पनि आफू उत्कृष्ट भए पुग्छ । सफल भएपछि सबै दोष माफ हुन्छ । समाजले इज्जत, सम्मान गरिहाल्छ । यही सोच्छौं हामी । जब हाम्रो शिक्षाले केवल सफलतालाई मूल्यांकनको प्रमुख आधार मान्छ, त्यहाँ जालझेल, बेइमानी हुर्कन्छ । समाजमा नैतिकमूल्य–मान्यता हराउन थाल्छ ।

शिक्षित बनाउने नाममा भय–त्रास र दबाब थोपर्नु हुँदैन । बाल–मस्तिष्कमा पास तथा फेल हुने भय–त्रास के हामीले नै लादेका होइनौं ? पासमात्र भएर भएन, कसरी प्रथम हुने भन्ने दबबा । कक्षामा प्रथम भएर भएन, विद्यालयमा सबैभन्दा उत्कृष्ट कसरी हुने दबाब । त्यत्तिले पुग्दैन, कतिलाई कसरी जिल्ला फष्ट, प्रदेशमा फष्ट हुने तथा कसरी नेपाल टप हुने भन्ने दबाब । नेपालमा मात्र टप भएर भएन । एसियामा कसरी टप हुने ? यतिले पुगेन, विश्वमा कसरी टप हुने ? एउटा विषयमा मात्र टप भएर भएन धेरैवटा विषयमा कसरी टप गर्ने ? दौडको अन्तहीन यात्रा । प्रतिस्पर्धा, प्रतिस्पर्धा, केवल प्रतिस्पर्धा मात्र !

प्रतिस्पर्धाको नाममा त्रास, भय सिर्जना गरिरहेका छौं हामी । अरूलाई पछारेर आफू कसरी प्रथम हुने भन्ने दौडमा छौं । जबसम्म मानिस–मानिसबीच तुलना गरिन्छ, मानव गरिमाको सम्मान हुन सक्दैन । प्रत्येक व्यक्ति अद्भूत हुन्छ । व्यक्तिपिच्छे फरक क्षमता हुन्छ । यो सत्य हो । सत्यलाई आत्मसात गर्न सक्नुपर्छ । हामी सबैले अब्राहम लिंकनको नाम सुनेकै छौं । उनका बुबा मोची थिए । जुत्ता सिलाउँथे । उनी गरिब परिवारमा जन्मे, हुर्के । उनले जीवनमा धेरै असफलता भोगे । आठ पटक चुनाव हारेका थिए । अनि व्यवसाय सुरु गरे । दुई–दुई पल्ट टाट पल्टे । साथीभाइसँग लिएको ऋण सत्र वर्ष लगाएर तिरे ।

जीवन साथीसँग बिहे गर्ने पक्का भएपछि उनी बितिन् । यसले लिंकन गम्भीर बिरामी परे । ६ महिना थला नै परे । बल्लबल्ल बाँचे । तर, उनले हिम्मत कहिल्यै हारेनन् । लिंकन सन् १८६० मा राष्ट्रपति बने । मोचीको छोरो राष्ट्रपति भएकोमा इष्र्या हुने नै भयो । अमेरिकी सिनेटमा पहिलो भाषण गर्दै थिए । सिनेटका केही सदस्यलाई असैहृय भयो । मोचीको छोरोको यस्तो फूर्ती ! मन–मनै भन्दै थिए तर ओकल्न सकेका थिएनन् । सिनेटको एउटा सदस्यले आफूलाई सम्हाल्नै सकेनन् । उठेर भने, ‘बढी फूईं नदेखाऊ, तिम्रा बाउ जुत्ता सिलाउँथे ! थाहा छ कि छैन ?’ जुत्ता प्रायः सबैले लगाउँछन् । जुत्ता नलगाउनेलाई भन्दा लगाउनेलाई नै सम्मान गरिन्छ । जुत्ता लगाउनु राम्रो तर जुत्ता सिलाउनु घटिया काम ! कस्तो विडम्बना !

शिक्षामा प्रतिस्पर्धा होइन, करुणाभाव प्रेरित गर्नुपर्दछ । असहिष्णुता होइन, सहिष्णुता हुर्काउन प्रोत्साहन गर्नुपर्दछ । सहानुभूति प्रकट गर्नसक्ने बनाउनुपर्दछ । घृणा होइन, प्रेम प्रष्फुटन हुने वातावरण बनाउनुपर्छ । विश्वास जगाउन मद्धत गर्नुपर्दछ । एकको सफलता होइन सहअस्तित्वको अंकुरण हुनुपर्दछ ।

लिंकनले के जवाफ फर्काए त ? उनी बुद्धिमान थिए । उनमा करुणा थियो । सद्भाव थियो । उनी प्रतिस्पर्धा होइन, सह–अस्तित्वमा विश्वास गर्थे । लिंकनले भने, ‘तपाईंले भनेको सही हो । मेरा बुबा जुत्ता सिलाउनुहुन्थ्यो । मलाई अझै सम्झना छ उहाँ मन लगाएर जुत्ता बनाउनुहुन्थ्यो । त्यसैमा रमाउनुहुन्थ्यो । त्यसैले उहाँले बनाएका जुत्ता गतिला र आरामदायी हुन्थे । तपाईं महाशयले मेरो बुबाले बनाएको जुत्ता सायद लगाउनु भएकै होला । तपाईंले ठीक समयमा मेरो बुबाको सम्झना गराउनुभयो । अहिले म सोच्दै छु मेरा बुबा जसरी दक्ष मोची बन्न सक्नुभयो के त्यसैगरी म राष्ट्रपति बन्न सकूँला त ? मेरो चिन्ता यसैमा छ ।’

सन् २०१५ मा अमेरिकन पोलिटिकल साइन्स एसोसिएसनले राजनीतिशास्त्रका विद्धानहरूबीच गरेको सर्वेक्षणले यिनै लिंकनलाई अहिलेसम्मको अमेरिकाको इतिहासमा लोकप्रिय राष्ट्रपति देखाएको थियो । सन् २०१८ तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि नाम समावेश गरिएको फलोअप सर्भेक्षणमा ट्रम्प लोकप्रियताका हिसाबले सबैभन्दा पुछारमा परेका थिए ।

कुन देशमा छ त उत्कृष्ट शिक्षा ? विश्वमा गरिएका सर्भेक्षणले फिनल्याण्डकोे शिक्षालाई विश्वको उत्कृष्ट मानेको छ । करिब ४५ वर्षअगाडि देशलाई कसरी आर्थिक रूपमा सम्मुनत बनाउने भनेर योजना बनाइँदा कस्तो शिक्षानीति अँगाल्ने भन्ने छलफल भएको थियो । त्यहाँ योजना बनाउने सामान्य व्यक्ति नै थिए । विश्वमा नाम कहलिएका विज्ञहरू थिएनन् तर अहिले विश्वको उत्कृष्ट शिक्षा प्रणाली भएको देश मानिन्छ फिनल्यान्ड । हेलसिन्की कम्प्रिहेन्सिभ स्कुलका प्रिन्सिपल अर्जारिता भन्छन्, ‘फिनल्याण्डको शिक्षा विश्वमै उत्कृष्ट छ भन्ने मलाई विश्वासै लाग्दैन ।’

उनीहरूले कहिल्यै विश्वमा एक नम्बर हुने सोचेनन् । कसरी बालबालिकालाई उपयुक्त शिक्षा दिने भन्नेमा नै केन्द्रित भए । प्रथम बन्ने होडमा होइन बरू कसरी सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर सिर्जना गर्न सकिन्छ भनेर लागे तिनीहरू । फिनल्याण्डका विद्यालयमा प्रतिस्पर्धा होइन सहकार्य गर्न सिकाइन्छ । वास्तविक विजेताले कहिल्यै प्रतिस्पर्धा गर्दैन भन्ने मान्यतामा विश्वास गर्दछन् फिनिसहरू । शिक्षालाई समाजमा भएका असमानता हटाउने औजारको रूपमा लिएका छन् उनीहरूले । बालबालिका सात वर्षको भएपछि मात्र विद्यालयमा भर्ना गरिन्छ । जब बालबालिका सिक्न सक्ने हुन्छन् अनि विद्यालय आउँछन् । बालक वा बालिकाले बालापनमा रमाउनुपर्छ भन्ने मान्यता राख्छन् त्यहाँका शिक्षक र अभिभावक ।

फिनल्याण्डका विद्यालयमा विद्यार्थीको जाँच लिने चलन नै छैन । प्राथमिक र माध्यामिक विद्यालयमा पढुन्जेल नौ वर्षमा जम्मा एक पटक मात्र विद्यार्थीले जाँच दिनुपर्दछ । जाँच पनि कति नम्बर वा प्रतिशत ल्याउने भनेर होइन । यो जाँचले त फिनिस समाजको लागि एक शिक्षित तथा परिपक्व व्यक्ति निर्माण भयो या हुन बाँकी रहेको छ भनेर हेर्छ । माथिल्लो तहको अध्ययन गर्नका लागि मार्ग प्रशस्त गर्छ । एक फिनिस शिक्षक भन्छन्–परीक्षाले विद्यार्थीको योग्यता जाँच्न सक्दैन । को विद्यार्थीको कस्तो क्षमताको छ हामी शिक्षकले राम्ररी बताउन सक्छौं । फिनल्याण्डमा शिक्षा पेशालाई अत्यन्त सम्मानित रूपमा लिइन्छ ।

हाम्रो शिक्षा कस्तो हुनुपर्दछ ? शिक्षामा प्रतिस्पर्धा होइन, करुणाभाव प्रेरित गर्नुपर्दछ । असहिष्णुता होइन, सहिष्णुता हुर्काउन प्रोत्साहन गर्नुपर्दछ । सहानुभूति प्रकट गर्नसक्ने बनाउनुपर्दछ । घृणा होइन, प्रेम प्रष्फुटन हुने वातावरण बनाउनुपर्छ । विश्वास जगाउन मद्दत गर्नुपर्दछ । एकको सफलता होइन सहअस्तित्वको अंकुरण हुनुपर्दछ । सूचनामात्र होइन ज्ञान र विवेक जगाउन प्रोत्साहन पाउनुपर्दछ । सिर्जनात्मक सोच्न, मनन् गर्न प्रेरित गरिनुपर्दछ ।

जबसम्म पेशा तथा श्रमलाई राम्रो, नराम्रो वा सानो–ठूलो भन्ने गरिन्छ तबसम्म प्रतिस्पर्धा कायमै रहन्छ । प्रतिस्पर्धा होइन, सद्भाव, पे्रम, सहकार्य, करुणा र सहअस्तित्व सिकाउने शिक्षानीति आजको आवश्यकता हो । यसो गरेमा देश मात्र होइन सबै नागरिक सम्मुनत हुन्छन् । समृद्ध हुन्छन् । सबैले एक अर्काको पेशालाई सम्मान गर्छन् । आदर गर्दछन् । नैतिकमूल्य–मान्यताको जग बलियो बन्दछ । अनि त्यहाँ प्रतिस्पर्धाको, दौडको कुनै गुञ्जायसै हुँदैन । यसलाई नै शिक्षामा ‘क्रान्ति’ भनिन्छ । यस्तो क्रान्तिले मात्र ल्याउँदछ शिक्षामा आमूल परिवर्तन । सर्वे भवन्तु सुखिनः ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?