अध्यक्षलाई हातपात गरेको आरोपमा गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष भण्डारी प्रहरी नियन्त्रणमा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढालाई कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपाध्यक्ष भण्डारी पालिकादेखि जिल्ला प्रहरी कार्यालयमा आफै पुगेकी थिइन् । बजेट निर्माणमा मनपरी गरेको भन्दै उपाध्यक्ष भण्डारीले अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको आरोप लागेको छ । गाउँपालिका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गरेकी थिइन् । गाउँपालिका अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएको गाउँपालिका प्रवक्ता महताराले जानकारी दिनुभयो ।

कार्यालय समय सकिएकोले आइतबार जाहेरी दर्ता हुन सकेन । सोमबार बिदा परेकोले मंगलबार कार्यालय खुल्नेबित्तिकै जाहेरी दर्ता हुने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले बताउनुभयो ।

अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका कामकारबाही चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताउनुभयो । अध्यक्ष बुढा नेपाली कांग्रेस र उपाध्यक्ष भण्डारी एकीकृत समाजवादी पार्टीबाट विजयी भएका हुन् ।

अध्यक्ष बुढाले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको उपाध्यक्ष भण्डारीले बताउनुभयो । कार्यपालिकाको बैठकले घटनाप्रति दुःख व्यक्त गरेको गरेको छ ।गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ। गाउँपालिका प्रवक्ता अर्जुन महताराले भन्नुभयो, 'वडाहरूको सिलिङ हेर्न खोज्दै हुनुहुन्थ्यो। साना वडालाई ४६ लाख र ठूलालाई ६० लाख पर्ने गरेर ८ करोड बजेट छुट्ट्याइएको छ। संघको अनुदान १ करोड ८५ लाख भएकाले गाउँपालिकाको दायित्व १ करोड ५० लाख छ । बजेटमा असहमति हुन्थ्यो भने कार्यपालिका बैठकमै राखेको भए हुन्थ्यो। भौतिक आक्रमणमै उत्रिएपछि घटनाको निन्दा गर्नुबाहेक हामीसँग विकल्प छैन।' अघिल्लो वर्ष माओवादी र कांग्रेस मिलेर बजेट पारित गरिएकामा यसपटक पनि दुई दल नै मिलेर अनुमोदन गरेको र एकीकृत समाजवादी बाहिरै रहेको प्रवक्ता महताराको भनाइ छ ।

घटनाबारे उपाध्यक्ष भण्डारीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?