नेपालकै सबैभन्दा पुरानो ऐतिहासिक चन्द्रनहर र भवन खण्डहर बन्दै, संरचना कथामा मात्र सीमित हुँदै

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 7 mins

राजविराज । ऐतिहासिक सम्पदाको सूचीमा परेको नेपालकै सबैभन्दा पुरानो चन्द्रनहर सञ्चालनमा आएको एक शताब्दी पुग्न लाग्यो । मुलुककै धरोहरको रूपमा रहेको पहिलो सिँचाइ प्रणालीको अवस्था बेहाल भएको छ ।

विक्रम सम्वत् १९८० वाट निर्माण कार्य थालिएको चन्द्र नहर १९८५ बाट सञ्चालनमा आएको सप्तरीको सप्तकोसी नगरपालिका–१ स्थित फत्तेपुर बजार तथा उदयपुर जिल्लाको सिमाना भएर बग्ने त्रियुगा खोलाबाट निकालिएको चन्द्र नहरले ११ हजार हेक्टरमा सिँचाइ पु¥याउदै आएको थियो । तर हाल नहरको अवस्था जीर्ण बन्दै गएका कारण कुल कमान्ड एरियाको पचास प्रतिशत पनि सेवा पु-याउन सकिरहेको छैन ।

त्यतिबेला मुलुकमा ‘जहाँनियाँ राणा शासन व्यवस्था’ भए पनि यद्यपि ‘सुधारवादी’ राणा प्रधानमन्त्री चन्द्र शमशेर मुलुककै पहिलो सिँचाइ प्रणाली चन्द्र नहरको स्थापना गरेका हुन । भनिन्छन्, त्यतिबेला बेलायत भ्रमणबाट फर्किएका राणा प्रधानमन्त्री शमशेर भारतमा शासन गरिरहेका ‘इस्ट इन्डिया कम्पनी सरकार’ सँग समन्वय गरि त्यहाँबाट विज्ञ प्राविधिकहरूलाई बोलाएर चन्द्र नहर निर्माण कार्य थालेका थिए ।

चन्द्र नहर प्रणालीको लम्बाइ २९ कि.मि. तथा वहाव क्षमता १४.१५ घन मिटर प्रति सेकेन्ड रहेको छ । चन्द्र नहरमा ११ वटा शाखा नहर तथा ३८ वटा डाइरेक्ट आउटलेट, ५ वटा इनलेट, ४ वटा इस्केप छन् ।

चन्द्र नहरमा ८ वटा साइफन, १३ वटा लोकल ड्रेन साइफन, ३ वटा एक्वाडक्ट, २६ वटा भिलेज रोड ब्रिज, ६ वटा फुट ब्रिज तथा २ वटा वाटर फल रहेको छ । सप्तरी जिल्लामा साबिकमा रहेका ११४ वटा गाविसमध्ये २९ वटा गाविसमा चन्द्र नहरले सेवा उपलब्ध गराइरहेको छ ।
सप्तरीमा कुल ८३ हजार २३० हेक्टर खेतीयोग्य जमिन छ । जिल्लाका फत्तेपुर, ओद्राहा, कमलपुर, घोघनपुर, धरमपुर, बदगामा, रूपनगर, जगतपुर, कञ्चनपुर, भारदह, पोर्ताहा, मैनाकडेरी, डिमन, पकरी, महादेवा आदि चन्द्र नहरका कमान्ड एरियामा पर्दछन् ।

मुख्य नहरमा विभिन्न स्थानमा रहेका पुलमध्ये १५ वटा जीर्ण भइसकेको छ । नहर क्षेत्रमा पर्ने सुन्दरी, महुली, गंगाजली, कैली १, कैली २, टेंग्रा, पौडा र अमहा गरी ८ वटा नदीबाट नहरका संरचना जोगाउन बनाइएका क्यानल साइफन जीर्ण हुँदा बाढीले बर्सेनि संरचना भत्काउने गरेको छ । कतिपय शाखा नहरमा वर्षौँदेखि पानी पुग्न सकेको छैन । चन्द्र नहरको व्यवस्थापनका लागि सप्तरीको बरमझियामा स्थापना गरिएको कार्यालय २०४०/४१ मा राजविराजस्थित कोशी पम्प नहर डिभिजन कार्यालयमा गाभेर कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन कार्यालय बनाएको हो ।

चन्द्र नहर सिँचाइ उपभोक्ता अध्यक्ष बद्रीनारायण महात्मान बर्सेनि ४० रुपैयाँ प्रति बिघा सेवा शुल्क तोकिए पनि किसानबाट न्यून मात्र उठ्ने गरेको बताउँनुहुन्छ । तर, किसानहरू भने सिँचाइ सुविधाबाट सन्तुष्ट छैनन् । ‘१४–१५ वर्षदेखि नहरको पानी हेर्न पाएका छैनौँ,’ तिलाठी कोइलाडी–८ का वडाध्यक्ष सत्यनारायण यादवले गुनासो गर्नुभो ‘नहरको पानी पुछारसम्म आउँदैन, बरु उल्टै नहरले ठाउँ ओगटे जस्तो मात्र भइरहेको छ ।’

भवनहरू संरक्षणको अभावमा खण्डहर

प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्मित चन्द्र नहरको संरक्षणका लागि कर्मचारी बस्न बनाइएका सप्तरीका कलात्मक र ऐतिहासिक भवनहरू संरक्षणको अभावमा खण्डहर बनेका छन् ।

कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्था डिभिजन कार्यालय– २ को स्वामित्वमा रहेका ऐतिहासिक पृष्ठभूमि बोकेका फत्तेपुरस्थित आधा दर्जन जति भवन अहिले पनि संरक्षणको पर्खाइमा छन् । जसमध्ये एउटा भवन सशस्त्र प्रहरी बल बेस क्याम्पले प्रयोगमा ल्याएको छ । यस्तै, प्रहरी चौकीका रुपमा प्रयोग भएको एउटा भवन भने भत्काइएको छ ।

सप्तकोसी नगरपालिका वडा नं. १ का पूर्व वडाअध्यक्ष नारायण आचार्यका अनुसार भवनमा लगाइएका झ्याल, ढोका र सिँढीका काठ रेखदेखको अभावमा मक्किएका छन् भने केही काठ स्थानीयले आगो बाल्न प्रयोग गरिसकेको बताउँनुहुन्छ । पूर्व वडाअध्यक्ष आचार्य भन्नुहुन्छ, ‘अब पनि हेरेर मात्र बस्ने हो भने यी संरचना कथामा मात्र सीमित हुनेछन् ।’

कहिले सम्बन्धित निकायले हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन, नचलाउँ भन्छ त कहिले सार्वजनिक सम्पत्ति संरक्षणको विषयमा स्थानिय बासीमै भनाभन र कुटाकुट हुन्छ,’ पूर्व वडाअध्यक्ष आचार्यले सुनाउनुभयो ।

सम्बन्धित निकाय आफूले पनि संरक्षणमा चासो नलिने र स्थानीयलाई पनि जिम्मेवारी नदिने प्रवृत्तिले भएका ऐतिहासिक संरचना दिनदिनै जीर्ण बनेको स्थानीयवासी गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?