कोशीमा सानो मन्त्रिमण्डल गठन

सभामुखबाट राजीनामा दिनुभएका गौतमलाई ‘मन्त्री उपहार’

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । थापा मंगलबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिपरिषद्समेत बनाउनुभएको छ । जसमा निवर्तमान सभामुख तथा माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त हुनुभएको छ । सभामुखबाट मंगलबार राजीनामा दिनुभएका गौतमलाई बुधबार ‘मन्त्री उपहार’ दिइएको हो । गौतमसहित तीन मन्त्रीले बुधबार नै मन्त्री पदको शपथ लिएका छन् ।

आर्थिक मामिलामा गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिनुभएको हो । माओवादीभित्र मन्त्री छनोटमा भएको ढिलाइ र मन्त्रिपरिषद्को कार्यविभाजनमा समय अपुग भएको भन्दै बिहान १० बजेका लागि तोकिएको मुख्यमन्त्री र मन्त्रीको शपथग्रहण कार्यक्रम साँझ ५ बजेका लागि सारिएको थियो । मुख्यमन्त्री थापालाई समर्थन जनाएको जनता समाजवादी पार्टी भने सरकारमा सहभागी नहुने भएको छ । प्रदेश पुनः नामकरणको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जसपाले जनाएको छ ।

गत असार २१ गते तत्कालीन सभामुख गौतमसहितको हस्ताक्षरमा थापा मुख्यमन्त्री बन्नुभएको थियो । तर, सर्वोच्च अदालतले सभामुख गौतमको हस्ताक्षर असंवैधानिक ठहर गर्दै थापाको नियुक्ति बदर गरिदिएपछि थापा मुख्यमन्त्री बनेको २२ दिनमै पदमुक्त हुनुभएको थियो । सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको एकसाता नबित्दै मंगलबार थापा पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले पुनः थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । गत असार २१ गते प्रदेशसभा सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गर्नुभएका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो । सभामुखको हस्ताक्षरलाई सर्वोच्चले असंवैधानिक मानेपछि गठबन्धनले सभामुख गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पु¥याएको छ । ९३ सदस्यीय कोशीमा बहुमत पुर्‍याउन ४७ सांसदको समर्थन चाहिन्छ । थापाले ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक व्यवस्था छ । गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक गरी ४७ सांसद छन् । एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् ।

निवर्तमान मुख्यमन्त्रीको प्रतिक्रिया- ‘अधिनायकवादतर्फको यात्रा’
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समारोह बहिष्कार गर्नुभएको छ । आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै उहाँले शपथ समारोह बहिष्कार गर्नुभएको हो । ‘शपथ समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुन्छ, शपथ ग्रहणपछि मुख्यमन्त्रीलाई बधाई दिएर सिट छोड्ने प्रचलन हुन्छ’ उहाँले भन्नुभयो, ‘म आजबाट निवर्तमान मुख्यमन्त्री भएको हुँ, तर उहाँ (प्रदेश प्रमुख)ले सिट राख्नुभएन, त्यसकारण मैले यहाँ बस्नु उपयुक्त ठानिनँ ।’
प्रदेश प्रमुखले संविधानको सर्वोच्चता, प्रदेशमा विगतमा गरिएको अभ्यास र सर्वोच्चको फैसलालाई समेत लत्याएको कार्कीले आरोप लगाउनुभयो । कार्कीले सत्तारूढ दलहरू अधिनायकवादतर्फ गएको प्रतिक्रिया दिनुभयो । ‘निर्लज्जताको पराकाष्ठा, के यो अधिनायकवादतर्फको यात्रा ः कोशी प्रदेश प्रमुख कार्यालयद्वारा नयाँ मुख्यमन्त्रीको शपथग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीलाई स्वीकार गरेनन्,’ उहाँले भन्नुभएको छ, ‘यस घटनाबाट संविधानको सर्वोच्चता, कानुनी राजको उपहास मात्रै गरेनन्, सर्वोच्च अदालतको फैसला र हाम्रा अभ्यासहरूलाई कुल्चिएर स्वेच्छाचारिताको नमुना पेस गरेका छन् ।’

सुदूरपश्चिममा सरकार बनेको साढे पाँच महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पायो
यता, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिनुभएको छ । शाहले बुधबार कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । यस्तै, नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरूले बुधबार नै शपथग्रहण गरेका छन् । माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिनुभएको हो ।

मन्त्री छनोटलाई लिएर नागरिक उन्मुक्तिभित्र असन्तुष्टि
सुदूरपश्चिम प्रदेशमा मन्त्री नियुक्तिको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्र असन्तुष्टि देखिएको छ । नाउपा संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई मन्त्री बनाउने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको हो । संसदीय दलको निर्णयमा प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाउनुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत् आफ्नो असन्तुष्ट व्यक्त गर्नुभएको छ । ‘यार गद्दार निकला ! राजनीतिक पाखण्डवाजको घनघोर भत्र्सना गरौँ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँ मन्त्रीको आकांक्षी हुनुहुन्थ्यो । पार्टीले गत वैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी हेरफेर गरेको थियो । नागरिक उन्मुक्तिका रामेश्वरलाई भूमि व्यवस्था कृषि तथा सहकारी र कैलाशलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?