सहयोग अनुदानबाट अध्यापन गराउँदै आएका दुई शिक्षिका तलबमा ठगिए , फरक– फरक दुई भरपाई !

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । पाल्पाको एक विद्यालयका दुई शिक्षिका तलबमा ढगिएका छन् । जिल्लाको तानसेन नगरपालिका–११ रानीपोखरी बन्दीपोखरामा रहेको गार्गी माध्यमिक विद्यालयमा शिक्षण सहयोग अनुदानबाट अध्यापन गराउँदै आएका दुई शिक्षिका तलबमा ठगिएका हुन् ।

मावि लेखा विषय शिक्षिका मीना भाट र अंग्रेजी विषय शिक्षिका पार्वती सुन्दौलीले शिक्षण सहयोग अनुदान कोटामा अध्यापन गराउँदै आउनुभएको छ तर विद्यालयले उहाँहरुलाई अनुदानबापत प्राप्त भएको रकम नदिएर कर कट्टी गरी मासिक १४ हजार ८ सय ५० रुपैयाँ मात्र दिंदै आएको छ । मावि तहको लागि अनुदान रकम अनुसार ३७ हजार ९ सय ९० मासिक तलब हुनुपर्ने हो, तर विद्यालयले ति शिक्षिकाहरुलाई १४ हजार ८ सय ५० मात्र दिंदै आएको छ ।

विद्यालयका प्रधानाध्यापक यादव घिमिरे र व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेको मिलेमतोमा दुुई छुट्टाछुट्टै भरपाईमा हस्ताक्षर गर्न लगाएर तलबमा ढग्दै आएको खुलासा भएको हो । संघीय र स्थानीय सरकारबाट प्राप्त भएको शिक्षण सहयोग अनुदानबापतको १३ लाख ४१ हजार ९ सय २९ रुपैयाँ रकम अनियमिता भएको छ । विद्यालयले आर्थिक अनियमिता मात्र गरेको छैन शिक्षिकाहरुको श्रममा समेत शोषण गरेको प्रष्ट हुन्छ ।

२०७८/११/२७ मा ससर्त बजेट अन्तर्गतको अनुदान दिने गरी पार्वती सुन्दौलीलाई नियुक्त गरिएको थियो । उहाँलाई आर्थिक वर्ष २०७८/०७९ मा मासिक ३५ हजार ९ सय ९० अनुसार ४ लाख ३१ हजार ८ सय ८० दिनुपर्नेमा विद्यालयले ५५ हजार ३ सय ८० मात्र भुक्तानी गरेको छ । यस्तै सुन्दौलीलाई आर्थिक वर्ष २०७९/०८० मा अनुदान घटेर आएकाले विद्यालयलले २०७९/१०/२२ मा पुनः निमाविको नियुक्ती दिएको थियो । उक्त अवधिमा पनि विद्यालयले मासिक १४ हजार ८ सय ५० नै दियो । यस्तै २०७६/१०/२१ मा निसर्त बजेट अन्तर्गतको अनुदान दिने गरी शिक्षिका मीना भाटलाई मावि तहमा नियुक्त गरिएको थियो । उहाँलाई पनि मासिक ३७ हजार ९ सय ९० अनुसार ४ लाख ५५ हजार ८ सय ८० दिनुपर्नेमा आर्थिक वर्ष २०७९/०८० मा २ लाख ५ हजार मात्र भुक्तानी दिइएको छ । शिक्षिका भाटले नियुक्ती भएदेखि १६ लाख १९ हजार ७ सय ६० बराबर भुक्तानी पाउनु पर्नेमा ७ लाख मात्र पाएको देखिन्छ । उहाँको ९ लाख १९ हजार ७ सय ६० रुपैयाँ विद्यालयले अनियमिता गरेको छ । यस्तै शिक्षिका सुन्दौलीले पनि पाउनुपर्ने ४ लाख २२ हजार १ सय ६९ पाउनुभएको छैन् ।

प्रधानाध्यापक यादव घिमिरे भने विद्यालयको बचाउ गर्दै शिक्षिकाहरुसँगको आपसी समझदारीमा तलब दिर्दै आएको बताउनुुभयो । अनुदानमा आएको रकममा आपसी समझदारी गर्न नमिल्ने व्यवस्था भए पनि उनले मौखिक समझदारी गरेको दावी गर्नुभयो । घिमिरेले बाँकी रकम अनियमिता नगरेको तर विद्यालयको मर्मत सम्भार र मसलन्दमा खर्च गरेको बताउनुुभयो ।

जुन शीर्षकका लागि आएको रकम हो त्यो भन्दा बाहिर गएर खर्च गर्न नपाइने व्यवस्था भए पनि विद्यालयले सम्बन्धित शीर्षक भन्दा बाहिर गएर खर्च गर्नुले पनि अनुदानमा अनियमिता भएको प्रष्ट हुन्छ । २०७६ माघदेखि अध्यापन गराउँदै आउनु भएकाे शिक्षिका मिना भाटले पहिले आफ्नो तलब यति धेरै हुन्छ भन्ने थाहा नै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नियुक्ति दिँदा तपाईको तलब १५ हजार हुन्छ मात्रै भन्नुभयो, दुई/चार पैसा भए पनि आम्दानी हुने घरपाई मिलेको जागिर भनेर पढाउन थालेँ ।’ दुई वटा तलवी भरपाईमा सिग्नेचर गर्नुपर्ने भाटले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीलाई विद्यालयमा राख्ने भरपाईमा १४ हजार ८ सय ५० र नगरपालिकालाई बुझाउनुपर्नेमा ३७ हजार ९ सय ९० को तलबी भरपाईमा सिग्नेचर गर्न लगाईन्छ, हामीले पनि नबुझेर सही गर्दै आयौंँ।’ अहिले नगरपालिकाबाटै फोन गरेर कति तलब बुझ्नु भएको छ भनेर सोधेपछि मात्र थाहा पाएको उहाँले सुनाउनुभयो ।

२०७८ देखि अध्यापन गराउँदै आउनु भएकी अर्की शिक्षिका पार्वती सुन्दौलीले नियुक्ति लिँदा व्यवस्थापन समितिले १५ हजार तलब हुन्छ भनेको बताउनुभयो । उहाँले भन्नुभयो ‘जसोतसो जागिर पाइएको छ । हुन्छ थोरै भएपनि गर्छु भनेर पढाउन थालेकी हुँ, तर हाम्रा नाममा यत्रो तलब हुन्छ भन्ने नै थाहा भएन ।’ अहिले दुवै जना पीडितले पुरा तलब उपलब्ध गराउन माग गर्दै तानसेन नगर सरकारको शिक्षा शाखामा निवदेन समेत दिएका छन् ।

नगर शिक्षा शाखामा बुझाउने भरपाईमा भने वास्तविक तलबमा नै हस्ताक्षर गरेर पठाइएको शिक्षा शाखा अधिकृत कोपिला न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘विद्यालयले नगरमा पेशको गरेको भरपाईमा तलब सहि दिएको प्रमाण पेश भएको छ तर विद्यालयको भरपाईमा भने १५ हजार भुक्तानी दिइएको पाइयो, यो नियम विपरीतको कार्य हो ।’ शिक्षण सहयोग अनुदानमा अनियमिता भएको थाहा पाउन साथ नगर शिक्षा शाखाबाट स्थलगत अनुगमन समेत गरिएको शिक्षा अधिकृत न्यौपानेले बताउनुभयो ।

प्रतिवेदन तयार पछि आवश्यक प्रक्रिया अगाडि बढाइने उहाँको भनाई छ । वडा अध्यक्ष यादव सिं कार्कीले अनुदानमा पठाइएको रकममा अनियमिता हुनु दुखद् भएको बताउनुभयो । उहाँले भन्नुभयो‘ जुन शिर्षकका लागि रकम आएको हो त्यही शिर्षकमा खर्च नगरी शिक्षिकाको तलब अनियमिता गर्नु गलत हो । यस विषयमा सत्य तथ्य बुझेर आवश्यक प्रक्रिया बढ्ने वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?