कुइने ठूलोखोला जलविद्युत् आयोजनाको ‘टनेल ब्रेक थ्रु’

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१.३ मेगावाट क्षमताको कुइने ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ब्रेक थ्रु’ भएको छ ।

इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) निर्माण गरेको हो ।

संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा २०७८ मङ्सिरदेखि टनेल निर्माण शुरु भएर शनिबार टनेल ब्रेक थ्रु गरेको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमाली क्षेत्र र प्राकृतिक प्रकोपलगायत कारण आयोजनामा करिब २० महिना मात्रै नियमितरूपमा काम भएको छ । ‘आयोजनाको सबैभन्दा कठिन मानिने टनेल जोड्ने काम सकिएको छ, ‘ड्याम साइड’ र विद्युत् गृहमा समेत धमाधम काम भइरहेको छ’, उहाँले भन्नुभयो ।

७० प्रतिशत निर्माण सम्पन्न भएको यो आयोजनामा आगामी आठ महिनाभित्र निर्माण सकेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।
रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने यो आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनामा ६०० मिटर पेनस्टक टनेल रहनेछ । ४९५ मिटर पेनस्टक टनेल खनिसकिएको छ भने एक सय मिटर भर्टिकल पेनस्टक टनेलमध्ये ५० मिटर खन्न बाँकी छ ।

यो आयोजनामा अहिले २२५ कामदारले नियमितरूपमा काम गर्दै आएका छन् । गैरआवासीय नेपाली र नेपालीको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ। यो आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ ।

यस आयोजनामा गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पुर्याएपछि आयोजनको निर्माणकार्य केही पछि धकेलिएको हो। आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर/त्रिपल एस जेभीले आवश्यक जनशक्ति र मेसिन उपकरण परिचालन गरेर आयोजनालाई थप गरिएको लक्ष्यमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।

आयोजना सम्पन्न गर्न करिब ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्न२३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको चरणमा छ ।

म्याग्दीमा हाल तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । विद्युत् विकास विभागका अनुसार ६३ मेगावाट क्षमताका चारवटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७०० मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।

कूल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन्। त्यस्तै ८३.५ मेगावाट क्षमताका तीन वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन्। जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा रहेका विद्युत विकास विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?