हालका दिनहरूमा प्राज्ञिक मर्यादाको उपहास भइरहेका अनेकौं दृष्टान्त अघि सार्न सकिन्छ । यसमा मुख्य रूपमा हालै चर्चामा रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको सन्दर्भ जल्दोबल्दो अवस्थामा छ । यसका लागि अनेकौं प्रयास र परामर्श भइरहेका छन् । पछिल्लो समयमा यस्ता बौद्धिक तथा प्राज्ञिक संस्थाहरू उपेक्षापूर्ण बन्दै आएका छन् । केही पहिले गठन गरिएको तीनवटा प्रज्ञाप्रतिष्ठानका प्राज्ञहरूको अवस्थालाई हेरे यसको पुष्टि हुन्छ । नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र नेपाल संगीत तथा नाट्याकला प्रज्ञाप्रतिष्ठानमा नियुक्ति पाएका प्राज्ञहरूलाई हेर्दा प्राज्ञहरूको मर्यादाको नै उपहास भएको देखिन्छ । हालको नेपाल प्रज्ञाप्रतिष्ठान प्रारम्भिक चरणमा विद्वान साहित्यकारहरू लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठलगायतका व्यक्तित्वहरू रहेर गठन भएको संस्था हो । अहिले त्यो संस्था कति फिक्का बन्न पुगेको छ त्यो भनिरहनै पर्दैन ।
यस्तै अर्को बौद्धिक र प्राज्ञिक थलो हो त्रिभुवन विश्वविद्यालय । अहिलेसम्म आउँदा त दर्जनभन्दा बढी विश्वविद्यालयहरू खुलिसकेका छन् तर चर्चामा रहेका चाहिँ तीमध्ये केहीमात्र छन् । त्रिभुवन विश्वविद्यालयलाई चाहिँ अझै विश्वविद्यालयहरूमध्येको मानक विश्वविद्यालय नै मानिन्छ तर यसको अवस्था भने दिनप्रतिदिन दयनीय बन्दै गइरहेको छ । यसका विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय कारण छन् तर मूल रूपमा यहाँ हुने गरेको अति राजनीतिको चपेटामा त्रिवि पर्दै आएको कारणलाई लिन सकिन्छ । विद्यार्थी वर्गबाट यस थलोमा रहेर राष्ट्रिय राजनीतिमा पुग्न अभ्यास गर्ने अथवा प्रशिक्षण लिने काम गरिन्छ ।
विभिन्न राजनीतिक पार्टीहरूका विद्यार्थी तहमा भ्रातृसंगठन खुल्ने गरेका छन् । तिनका बीच रचनात्मक सहयोग र पेशागत हकहितका कार्यको सट्टा भाँडभैलो गर्ने, अराजकता पैदा गर्ने, आपसी कलह सिर्जना गर्ने जस्ता काम हुँदै आएका छन् । विद्यार्थीको स्तरमा मात्र होइन प्राध्यापकहरू पनि राजनीतिमै लिप्त हुँदै आएका छन् । यसरी त्रिवि राजनीतिको अभ्यास गर्ने र प्रशिक्षण लिने थलोका रूपमा रहन पुगेको छ । हालसम्ममा त्रिविका धेरैजसो विभाग बन्द भइसकेका छन् । विद्यार्थीहरूको भर्ना शून्य भएपछि ती विभाग चल्नसक्ने कुरै भएन । नीतिगत रूपमै प्रमाणपत्र तह विस्थापन गरेपछि उक्त तहको शिक्षा निजी क्षेत्रलाई हस्तान्तरण गरेको जस्तो भएको छ । ११ र १२ को पढाइ अधिकांश रूपमा निजी क्षेत्रबाट हुनेगरेको छ ।
यसले गर्दा त्रिविलाई ठूलो क्षति हुनपुग्यो । अर्कातिर रोजगारीको अवसर यहाँ नपाएपछि अधिकांश युवाहरू वैदेशिक रोजगारीमा जानथाले । जसले गर्दा त्रिविका मानविकीअन्तर्गतका धेरैजसो विषयको अध्ययन गर्ने विद्यार्थीहरूको अभाव हुनगयो र ती विभाग बन्द हुनपुगे । त्रिविका स्थायी दरबन्दी भएका र राजनीतिक पहुँचका कारण करारमा भर्ना भएका प्राध्यापकहरूले हाजिर गरेर र कतिपयले त हप्तामा एक दुई-पटकमात्र हाजिर गर्न गएर पनि जागिर खाइरहेका छन् । विविधकारणले गर्दा त्रिविलाई आर्थिक रूपमा संकटपूर्ण अवस्थाको सामना गर्नुपरिरहेको छ । यति हुँदाहुँदै त्रिविको उपकुलपति बन्न धेरै विद्वान् प्राध्यापकहरूबीच ठूलो होडबाजी चलिरहेको छ ।
यसका लागि ठूलो परिमाणमा रकमको लेनदेका लागिसमेत होडबाजी हुने गरेको चर्चा छ । नियुक्ति पाइसकेपछि आपूmले त्यसका लागि गरेको खर्च पुनः त्यही त्रिविको दोहन गरेर तिनले असुलउपर गर्छन् भन्ने कुरा निर्विवाद हो । त्रिविको विभिन्न पदमा नियुक्ति पाएकाहरूले पनि त्रिविकै दोहन गर्ने र विद्यार्थी संसगठनहरूले पनि विश्वविद्यालयलाई दोहन गर्ने गरेको लामो परम्परा हालसम्म आउँदा पनि रोकिन सकेको छैन । विद्यार्थी संगठनहरूले विभिन्न माग राखेर बन्द र तालाबन्दी गर्ने गरेका छन् र त्यसको सुरक्षित अवतरणका लागि त्रिवि पदाधिकारी र ती विद्यार्थी संगठनहरूबीच भित्री रूपमा कुनै सम्झौता हुन्छ र देखावटी रूपमा सहमति भएको सूचना सार्वजनिक रूपमा जारी गरिन्छ ।
विभिन्न तह र तप्काबाट अनेक प्रकारले दोहन गर्दागर्दै हालको स्थितिमा त्रिवि पुगेको हो । तैपनि त्यसको उपकुलपतिलगायत पदाधिकारी नियुक्तिका लागि किन टाउको फोराफोर भइरहेको छ भन्ने प्रश्न महत्वपूर्ण छ । उपकुलपतिका लागि गरिएको खुला आवेदनमा ४३ जनाको आवेदन पर्नु र त्यसमा अधिकांश सरकारको गठबन्धनमा रहेका दल निकटका रहनुबाट यसमा पनि भागबण्डाको राजनीतिको प्रभाव पर्छ भन्ने प्रष्ट छ । विशुद्ध प्राज्ञिक तथा बौद्धिक थलोमा यस्तो हुनु वास्तवमा विडम्बना हो । प्रधानमन्त्री पुष्पकमल दाहालले यसमा ‘ब्रेक थु्र गर्दै छु’ भन्नुभएको छ तर परिणाम कस्तो आउँछ भनेर हेर्न भने तत् समयको प्रतीक्षा गर्नैपर्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच