सुर्खेत । कोहलपुर-सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तार गर्न रूख कटान प्रक्रिया बल्ल सुरु भएको छ । विद्युत् प्रसारण लाइन विस्तार गर्न लामो समयपछि रूख कटान प्रक्रिया सुरु भए पनि जग्गा विवाद प्रसंग भने अझै सुल्झिएको छैन । विद्युत् प्रसारण लाइन आयोजनाको कार्यालयका अनुसार रूख कटानका लागि छपान कार्य सकिएको छ । आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने ६ हजार २३६ वटा रूख काट्ने अनुमति पाएको हो । २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान आदेश दिएको थियो । सोही आदेशअनुरूप रूखमा छपान कार्य सकिएको छ ।
आयोजना प्रमुख रवि चौधरीका अनुसार विद्युत् विस्तारका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान गरिने भएको छ । रूख छपान सकिएको भन्दै अब कटानको फाइल प्रमाणित भएर आउनेबित्तिकै रूख काटिने उहाँ बताउनुहुन्छ । हाल सरकारले रूख कटानका लागि दिइएको अनुमति र आयोजनाले गरेको रूख छपानको विवरण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस गरिएको छ । ‘बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार ९१६ र बर्दिया राष्ट्रिय निकुञ्जका तीन हजार ३२० रूखहरूमा छपान गरिएको छ’ उहाँले भन्नुभयो, ‘सरकारले बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ६ हजार २३६ रूख कटान अनुमति दिएको हो ।’
उहाँका अनुसार अहिले ती रूखहरूमा छपान गरेर विभागमा विवरण पेस गरिएको छ । विवरण प्रमाणित भए अबको केही दिनमा रूख कटान हुनेछ । लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । आयोजनाको ७० प्रतिशत प्रगति हासिल भएको छ । अझै ३० प्रतिशत काम गर्न बाँकी छ । २०८० चैतमा आयोजनाको सम्झौता सकिँदै छ । तर, ६ महिना म्याद थप गरेर काम अघि बढाइने आयोजनाले जनाएको छ ।
विद्युत्को प्रसारणलाई विस्तारका लागि भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्का लिएको छ । उसले ७० करोड रुपैयाँमा ठेक्का पाएको आयोजनाको कार्यालयले जनाएको छ । हालसम्म आयोजनाले १०५ वटा फाउन्डेसन निर्माण गरेको छ भने दशवटा फाउन्डेसन निर्माण भइरहेका छन् । यस्तै २२ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सव-स्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यता, १३२ केभिए प्रसारण लाइन विस्तारका लागि सुर्खेत-दैलेख दोस्रो खण्डको पनि निर्माण कार्य सुरु भएको छ । दोस्रो खण्डअन्तर्गत सुर्खेतको सुब्बाकुनादेखि दैलेखको चुप्रासम्म विद्युत् विस्तारको काम सुरु गरिएको हो ।
आयोजना प्रमुख चौधरीका अनुसार दोस्रो खण्डमा डिजाइन, सर्वे, माटो परीक्षण लगायतको काम सम्पन्न भएको छ । २०८० वैशाखमा ठेक्का सम्झौता गरी दोस्रो खण्डको काम थालिएको उहाँ बताउनुहुन्छ । २०८२ वैशाखसम्म निर्माण सम्पन्न गर्नेगरी दोस्रो खण्डको काम थालिएको हो । दोस्रो खण्डको कामका लागि ७५ करोडमा ठेक्का सम्झौता गरिएको छ । डिजाइनको काम सकिएकाले अब फाउन्डेसन निर्माण कार्य सुरु गरिने आयोजनाले जनाएको छ ।
स्थानीयको अवरोध कायमै
आयोजनाको प्रसारण लाइन विस्तार क्षेत्रमा रहेका रूख कटान अनुमति पाए पनि जग्गा विवाद भने कायमै रहेको छ । सुर्खेतको वीरेन्द्रनगर-११ सुब्बाकुना र बाँकेको बैजनाथमा जग्गा विवाद समाधानका लागि सरोकारवालासँग छलफल पनि गरिएको थियो । तर, अहिलेसम्म विवाद समाधान हुन सकेको छैन । विद्युत् लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका स्थानीयले अवरोध गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नु पर्नेछ । तर, उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीयले आफ्नो खाली जग्गामा समेत पोल हाल्न नदिएका हुन् ।
पछिल्लोपटक विवाद समाधान गर्नका लागि प्रदेश तथा संघीय सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् । आयोजना कार्यालय उचित मुआब्जा दिएर विवाद समाधान गर्न तयार छ । तर, स्थानीयले नमानेका कारण समस्या भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच