
काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य शहरको वायु प्रदूषण न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’को तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकंक (एक्युआई) एक सय आसपास आएको छ । वायु गुणस्तर सूचकांक (एक्युआई) गत साता दुई सय आसपास पुगेको थियो । डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षा नहुँदा बढिरहेको वन डढेलोको धुवाँका कारण वायु प्रदूषण पनि बढिरहेको भन्दै वर्षासँगै वन डढेलो र वायु प्रदूषण न्यूनीकरण भएको बताउनुभयो । वर्षा भइरहे अझै पनि वायु प्रदूषण न्यूनीकरण हुने उहाँको भनाइ छ ।
विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार शून्यदेखि एक्युआई ५० राम्रो मानिन्छ । ‘५१ देखि एक सय सम्मको एक्युआईलाई होसियार रहौँ अथवा पहेँलो संकेतले चिनिन्छ । यसैगरी, १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ,’ उहाँले भन्नुभयो, ‘१५१ देखि २०० सम्मको एक्युआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि तीन सयलाई धेरै अस्वस्थको रूपमा लिइन्छ र ३०१ देखि चार सयलाई खतरनाक र ४०१ देखि ५०० लाई धेरै खतरा मानिएको छ ।’
वन, बाली र वातावरणलाई राहत
लामो समयपछि भएको वर्षाले देशका विभिन्न ठाउँमा लागेको डढेलो नियन्त्रणमा आएको छ । देशभरका अधिकांश जंगलमा लागेको डढेलो पछिल्ला दुई/तीन दिनमा भएको वर्षाले नियन्त्रणमा आएको हो । दैनिक पाँच सय स्थानसम्म डढेलो लाग्दा वायु प्रदूषण बढ्नुका साथै वनजंगल र बस्तीमा समेत क्षति बढिरहेको थियो । तर, यही साता हरेक दिनजसो वर्षा हुँदा अधिकांश स्थानको डढेलो नियन्त्रणमा आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अहिले ठाउँ ठाउँमा लागेको डढेलो निभेको छ । आइतबारबाट वर्षा फैलिन थालेकामा बिहीबार र शुक्रबारसम्म पश्चिम तराईमा समेत वर्षा भएको थियो, जसकारण डढेलो घटेको हो । यसअघि गत फागुनदेखि चैत पहिलो सातासम्म पूर्वी भेगमा डढेलोले उच्च रूप लिएको थियो । तर, वर्षाले राहत दिएको छ ।
वर्षाका कारण डढेलोको प्रकोपबाट राहत मिलेको मौसमविद्हरू बताउँछन् । वैशाख अन्तिममा भएको वर्षाले डढेलो मात्रै निभाएको छैन, खडेरीको मारमा परेका किसानलाई पनि राहत मिलेको छ । खडेरीले बाली सुक्नै लागेका बेला पानी परेपछि किसान खुसी भएका हुन् । वर्षाले प्रदूषित वायु पनि सुधारिएको छ । केही दिनअघि देशको राजधानी काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा एक नम्बरमा परेको थियो ।
किसानलाई राहत
हिउँदभरिको खडेरीले आजित भएका किसानलाई वर्षा भएपछि थोरै भए पनि राहत मिलेको छ । देशका विभिन्न ठाउँमा गत आइतबारदेखि वर्षा हुन थालेपछि किसानलाई राहत महसुस भएको हो । मकै बाली लगाउने समयमा वर्षा नभएपछि किसान चिन्तित थिए । लामो खडेरीका कारण समयमा मकै बाली लगाउन नपाएका किसानले वर्षा हुन थालेपछि राहत महसुस गरेका छन् । हिउँदभर वर्षा नहुँदा अधिकांश किसानले मकै बाली लगाउन पाएका थिएनन् भने मकै रोपेको (छरेको) राम्ररी नउम्रेको र उम्रेको पनि सुक्न थालेको थियो । वर्षा हुन थालेपछि मकै खेतीलगायत हिउँदे बालीका लागि राहत मिलेको फुङ्लिङ नगरपालिका-५ का स्थानीय विक्रम लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार सामान्य भए पनि वर्षा भएकाले हिउँदे बालीलाई राहत पुगेको छ । पानीको पर्खाइमा मकै बाली लगाउन नपाई बसेका किसानलाई ठूलो राहत मिलेको उहाँले बताउनुभयो ।
धान खेती लगाउने खेत (जग्गा)मा मकै लगाउनलाई ढिलो भइसके पनि सामान्य वर्षा भएसँगै खुसी लागेको उहाँले बताउनुभयो । मकै खेती लगाउने मुख्य समय माघ र फागुन महिना भए पनि वर्षा नभएकाले अहिलेसम्म खेती लगाउन पाएका थिएनन् । पानीको पर्खाइमा रहेका अधिकांश किसानले सामान्य वर्षा हुनेबित्तिकै धमाधम मकै खेती लगाउन थालेका छन् । मकै खेती लगाउनलाई केही ढिलो भए पनि अहिले लगाएको बालीका लागि थप समय अनुकूल भई दिएमा उत्पादनमा खासै कमी नआउने किसानको भनाइ छ ।
यस्तै, अहिले भएको वर्षाले नगदेबाली अलैँची, फलफूल खेती लगायतका हिउँदे बालीलाई थोरै भए पनि राहत पुगेको किसान बताउँछन् । वर्षाले आकाशे पानीको भरमा पाखो बारीमा खेती गरिने मकै, अदुवा, पिँडालु, हलेदो र तरकारी खेतीलाई सहयोग पुर्याएको छ । मकै छर्न नभ्याएकाले छर्न पाएको र छरेको कृषकलाई खडेरीले सुकेको मकैलाई वर्षाले राहत मिलेको व्यास नगरपालिका-६ शिसाघाटस्थित न्यु अभियान कृषि उत्पादक कृषि सहकारीका अध्यक्ष निजावदिन मियाले जानकारी दिनुभयो । लामो समय समयसम्म खडेरी पर्दा समय घर्किने पीरमा परेका कृषकले हाल पानी परेपछि राहत महसुस गरेको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच