
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटका महिलाले खेर गएको केराको थामलाई जिविकोपार्जनको माध्यम बनाउन सेनेटरी प्याड र कपडा बनाउन अग्रसर भएका छन् ।
बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम अन्तर्गत केराको थामबाट रेसा निकालेर सेनेटरी प्याड र कपडा बनाउने तालिममा ज्यामरुककोटका ५० जना बढी महिलाहरु सहभागि छन् ।बेनी नगरपालिका २ज्यामरुककोटका १४ ओटा आमा समूहका ५२ जना महिलाहरु सहभागि उक्त तालिम सात दिनसम्म संचालन हुने जनाइएको छ ।
तालिमपश्चात सहभागि महिलाहरुले सेनेटरी प्याडलाई आर्थिक उपार्जनको माध्यम बनाउनका लागि समूहसमेत गठन गर्ने र व्यवसायिक रुपमा नै उद्योग संचालन गर्ने जनाएका छन् ।बेनी नगरपालिकाको वडा नं २ मा पर्ने खबरा र बगरफाँट गाउँ केराको पकेट क्षेत्रका रुपमा रहेको छ । बाली दिने समय सकिएपछि किसानलाई केराको थाम व्यवस्थापनमा समेत झन्झट हुँदै आएको थियो ।
खेर गएको केराको थामबाट सेनेटरी प्याड बन्ने भएपछि किसानलाई पनि व्यवस्थापनमा सहज हुने भएको छ । तालिमका प्रशिक्षक सन्दिप सापकोटाका अनुसार सेनेटरी प्याड बनाउन सुरु चरणमा केराको थामलाई लामो रुपमा टुक्रा निकालेर सुकाइन्छ । दोस्रो चरणमा सुकेको टुक्रा चिरालाई मेसिनमा लगेर पेलेर फाइबर बनाइन्छ र फाइबरलाई पिउरीफाइ गरी सेनेटरी प्याड बनाइन्छ ।
केराको थामबाट फाइबर निकाल्ने चरणसम्म आउन चारदेखि पाँच दिन लाग्ने उहाँको भनाइ छ । केराको फाइबरबाहेक आवश्यक पर्ने अन्य कपडा बजारबाट खरिद गरेर ल्याइन्छ । फाइबर निकाल्ने मेसिन धेरै महंगो नहुने भएकाले पनि महिलाले समूह बनाएर व्यवसाय सुरु गर्न सक्ने उहाँले बताउनुभयो ।
तालिम लिएर समूह बनाई उद्योग संचालनगर्ने तालिममा सहभागि उषा घिमिरेले बताउनुभयो । “गाउँ घरमा खेर गएको केराको थामलाई पनि प्रयोग गरेर सामान बनाउन सकिने रहेछ । अब महिलाको समूह बनाएर आवश्यक पर्ने मेसिन उपलब्ध गराउन नगरपालिकासँग अनुरोध गर्छौं,” उहाँले भन्नुभयो ।
उद्योग संचालनका लागि धेरै महंगो पनि नपर्ने प्रशिक्षक सापकोटाको भनाइ छ । ठूलादेखि सामान्यरुपमा ४/५ लाखसम्मका मेसिनहरू पनि पाइन्छ । त्यसबाहेक कपडा सिउने मेसिन आवश्यक हुन्छ । त्यो पनि धेरै महंगो नहुने भएकाले यो पेशा थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ ” उहाँले भन्नुभयो ।
जिल्लाका पालिकाहरूले वार्षिक रु १५ लाखदेखि २० लाखसम्म सेनेटरी प्याडमा खर्च गर्दै आएका छन् । पालिकाहरूले विद्यालयमा सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउँदै आएका छन् । तालिम लिएका महिलाले सामूहिकरुपमा उद्यम सञ्चालन गर्न खोजे पालिकाले मेसिन र आवश्यक सामग्री खरिदको व्यवस्था गरिदिने बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले बताउनुभयो ।
“यो कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको छ । कार्यक्रम वडा २ र १० मा लागू भएको छ” उपमेयर लामिछानेले भन्नुभयो “आमा समूहलाई परिचालन गरेर महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु कार्यक्रममो लक्ष्य रहेको छ ।”

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच