
काठमाडौं । विगत साढे एक दशकदेखि हङ्कङलाई कर्मथलो बनाउँदै आउनुभएकी बागलुङकी कवि जुनु रानाको प्रथम कविताकृति ‘रातो नदी’को विमोचन गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठकवि तथा मुन्धुमविद् बैरागी काइँलाको प्रमुख आतिथ्यतमा उक्त कृतिको विमोचन गरिएको हो ।
कवि तथा प्राज्ञ शशी लुमुम्बुको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि काइँलाले सम्बोधन गर्दै पछिल्लो चेतनालाई पक्रेर कविता लेखिरहेका कविहरूका कवितामाथि चल्तीका भनिएका समालोचकहरूको आँखा नपुगेको बताउनुभयो । उहाँले रत्न पुस्तक भण्डारद्वारा प्रकाशित कवि रानाको कविताकृतिभित्र राम्रा र बलिया कविताहरू रहेको जिकिर गर्नुभयो ।
कवि तथा प्राज्ञ श्रवण मुकारुङले ‘कमन’ लागिरहेको विषयलाई कवि रानाले नयाँ कोणबाट प्रस्तुत गरेको बताउनुभयो । उहाँले कविता लेखिरहेका धेरै समकालीन कविहरूको भिडमा कवि रानाको कविताकृतिले नयाँ तरङ्ग ल्याउने दाबी गर्नुभयो । कार्यक्रममा कवि तथा समालोचक डा.विन्दु शर्मा, कवि तथा सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र कवि तथा आख्यानकार विना थिङले विमोचित कृतिमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्राज्ञ तथा कवि डा.विप्लव ढकाल, गीतकार संघ, नेपालका अध्यक्ष वसन्तवित्यासी थापा, संगीतकार वसन्त मुकारुङलगायतको उपस्थिति थियो ।
कार्यक्रममा कवि सीता तुम्खेवा, गायक यशकुमार र कलाकार अङ्कित खड्काले क्रमशः ‘रातो नदी’, ‘अनुपस्थिति’ र ‘जातको ब्रहृमाण्ड’ र तीनैजनाले संयुक्तरूपमा ‘म एक बेरङ रङ’ शीर्षकका कविता संगीतमा प्रस्तुत गर्नुभएको थियो । कविताको संगीत संयोजन गायिका झुमा लिम्बुको रहेको थियो । उक्त प्रस्तुतिमा मायजु आचार्य, आदिश्री ढुंगाना र अरुणा गन्धर्वले वाद्यववादनमा साथ दिनुभएको थियो । कलाकार यासेली योङहाङले सहजीकरण गरेको कार्यक्रममा नयाँ अनलाइनकी सहसम्पादक सिर्जना राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच