त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट एकजना प्रतिभा अमिलो मन र गहभरि आँसु पार्दै मातापिता र जन्मभूमिको माटोलाई ढोगेर भारततर्फ प्रस्थान गर्दै थिइन् सोही विमानस्थलको अर्को प्रतीक्षालयमा नेपाल आमाका सयौँ अरू सन्तानहरूले पनि विमानको प्रतीक्षा गरिरहेका थिए । त्यसमध्ये एकथरि खाडी मुलुक जानेहरू थिए जसका साथमा बिदाइका हात हल्लाउनेहरू पनि सायद थिएनन् र अर्काथरि अमेरिका, क्यानडा र अष्ट्रेलिया जस्ता देशमा जानेहरू थिए जसका धेरै आफन्तहरू पनि साथमा थिए ।गलामा माला र खादाहरू लगाएर आफन्तहरूका माझमा उभिएर सामूहिक फोटो खिचाइरहेका थिए ।अनि लाखौँ रुपैयाँको लगानीमा भविष्यको खोजी गर्न विमान चढ्दै थिए ।
मन अमिलो त तिनीहरूको पनि हुँदाे हो तर उनीहरूले नयाँ सपनाको उज्यालोमा मनको अमिलोलाई लुकाएका थिए । उनीहरूका आँखामा जिज्ञासा र उत्साहका पनि रेखा थिए । कसै गरी भविष्य बनाउने उनीहरूका सपनाले अनुहारको मलिनतालाई छोपेको थियो । तिनै अहिले भविष्य बनाउन विदेश जान लागेकाहरू जस्तै केही वर्ष पहिले देवी प्रतिभा पनि भविष्य खोज्न र आफ्ना सपना पूरा गर्न त्यसरी नै माला लगाएर छिमेकी राष्ट्र भारततिर लागेकी थिइन् । अहिले प्रतिभा परिमार्जन गरेर भनौँ भविष्य भेट्टाएर मातृभूमि नेपाल आएकी थिइन् । तर आज तिनै प्रतिभा पुनः कर्मभूमि भारत जाँदै थिइन् र उनको अनुहार मलिन थियो ।
मलिन हुनुका धेरै कारणहरू होलान् तीमध्ये मातृभूमिप्रतिको आस्था, मातापिता र स्वजनसँगको विछोड अनि नेपाल आउँदा, बस्दा र भागवत प्रचन गर्दा पाएको सम्मान, प्रशंसा र केही मात्रामा उनीप्रति लक्षित गरेर सामाजिक सञ्जालहरूमा गरिएका टीकाटिप्पणी, अनर्गल कुराहरू पनि सायद उनको मलिन अनुहारका कारक थिए । प्रतिभासँगै त्यस दिन विदेश जान लागेका अन्य प्रतिभाहरू भविष्य खोज्ने, योग्यता बनाउने र पुनः आफ्नै देशमा फर्किएर केही गर्ने सपना सजाएर विदेश उड्न लागेका ती प्रतिभाहरूमध्ये धेरैजना त भविष्य बनाएपछि यता आउँदै आउँदैनन् । प्रतिभाको कदर यताभन्दा उतै हुन्छ ।
शास्त्रका सबै प्रकारका गाँठा फुकाउने क्षमता खोज्ने हामी ज्ञानको कुन तहमा छौँ ? हामीले आफूलाई कहिल्यै भित्र फर्केर हेरेका छौँ ? आफैँलाई सोधौँ । उनीसँग हजार कमजोरी होलान् हाम्रो काम उनका कमजोरी खोतलेर उनलाई खुइल्याउनु हो त ?
यता आउन खोजे भने देवी प्रतिभालाई जस्तो चुनौतीसँग जुध्ने काम यहाँ बढी हुन्छ । देवी प्रतिभा विशाल भारतमा आफ्नो प्रतिभाले परिचित छिन् र उनको प्रतिभाको कदर भएको छ । तर आफ्नो प्रतिभा प्रस्तुत गर्न सात दिनका लागि आफ्नो जन्मभूमि आउँदा उनको प्रतिभाको कदर गर्नेभन्दा झिनामसिना कुरा खोतलेर आलोचना गर्ने जुन नियत यहाँ देखियो त्यसले कुन प्रतिभालाई फेरि नेपाल आउन मन होला र ? देश बनाउने योजना लिएर स्वदेश फर्किने त्यस्ता प्रतिभालाई यहाँको सरकारले महावीर पुन बनाउँछ यस्तै केही बनाउँछ । वषौँपछि जन्मभूमि नेपाल आएकी उनी छिमेकी राष्ट्र भारतको वृन्दावनमा बस्छिन् र भारत अनि सनातनीहरू रहेका विश्वका विभिन्न स्थानमा गएर भागवत कथा वाचन गर्छिन् ।
सुने अनुसार उनी भारतका विशिष्ट कथावाचकमध्येमा पर्छिन् । यति सानो उमेरमा त्यति ठूलो क्षमता आर्जन गरेकी ती प्रतिभा नेपालकै प्रतिभा हुन् तर उनी अहिले चाहेर पनि नेपालकी मात्र हुन सकेकी छैनन् । उनी कुनै धार्मिक संस्थाको संयोजनमा भारतीय सुरक्षाकर्मीहरूको कडा सुरक्षा घेरामा रहेर आइन् र उनीहरूकै सेड्युलमा प्रस्थान गरिन् । सायद उनीमाथि आफ्नो स्वैच्छिक निर्णय छैन । उनको प्रतिभाले उनलाई अरू धेरैको बनाइसकेको छ । बजारमा जसको चर्चा छ भनेझैँ यस हप्ता सामाजिक सञ्जालका पानाहरू देवी प्रतिभाका नाममा सजिए कसैले प्रशंसा गरे कतिले आलोचना गरे । प्रशंसा र आलोचनाको यस द्वन्द्वमा देवी प्रतिभा भने प्रवचन र भेटघाटमै व्यस्त रहिन् र सप्ताहान्तमा कर्मभूमि भारततर्फ लागिन् ।
विमानस्थलको त्यो दृश्य हेरेर मन अमिलो पार्नेहरू पनि भए उनी जाँदा पनि आफ्नो आलोचनाको शृङ्खला समाप्त नगर्नेहरू पनि भए । अचम्म लाग्छ देशमा यति प्रकारका बेथितिमा रहेका हामी एउटी विदुषीलाई भेटेर पनि सकारात्मक हुन सकेनौँ । हाम्रो सोचाइको तह के रहेछ भन्ने कुरा पनि धेरैले यसपटक जाहेर गरे । अरू कुनै कुरा नपाएर देवी प्रतिभाको आलोचना गरेर दिन बिताउने हाम्रो क्षमतालाई सम्बोधन गर्ने अहिले मसँग शब्द छैनन् । छिद्रान्वेषीहरूका नाममा लेखेर शब्दकै अपमान गर्ने इच्छा पनि छैन । म यति भन्छु त्रिभुवन विमानस्थलमा जन्मभूमिलाई ढोगेर भावुक बनेकी प्रतिभाका विषयमा सकिन्छ भने सम्मानमा दुईचार शब्द खर्च गरौँ अन्यथा नबोलौँ ।
सनातनीहरूका आराध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा आयोजना गरिएको धर्मयज्ञमा सरिक भएर प्रतिभाले आफ्नो बिहेका कुरा गर्न मन पराइनन्, विवाहितहरूका डिभोर्सका कुरा गरिनन् । पतिपत्नी मिलेर बस्नुपर्छ भनिन् । पत्नीले पतिको सेवा गर्नुपर्छ पनि भनिन् तर पतिले पत्नीको सेवा गर्नुपर्छ भनिनन् । अनि नारी वा पुरुष अधिकारका कुरा पनि गरिनन् । शास्त्रलाई उपजीव्य बनाएर प्रवचन दिँदै हिँडेकी उनले आफूले जाने जति शास्त्रमा यस्तै लेखेको छ भनेर सनातन शास्त्रको पक्षमा बोलिन् ।
निश्चय पनि उनका कुरा पूर्ण नहुन सक्छन्, सबैलाई प्रिय नहुन सक्छन् तर विषयको प्रकृति, कार्यक्रमको स्वरूप र उद्देश्य, वक्ताको वाचनकला, ज्ञान र क्षमता धेरै कुराले प्रवचनलाई प्रभाव पार्छ । उनी शास्त्रको अधीनमा थिइन्, ज्ञानको सीमामा पनि थिइन् । विद्वान्हरूका हरेक प्रकारका प्रश्नहरूको उत्तर दिने ल्याकत उनीसँग थिएन । स्वाभाविक हुरा हो सर्वज्ञ कोही हुँदैन हरेक कुरालाई सापेक्षतामा हेर्नुपर्ने हुन्छ ।
यस्तोमा हामीलाई चाहिए जस्तो बोलिनन् भनेर आलोचना गर्ने विद्वान्हरू, महिला वा पुरुष अधिकारकर्मीहरूले आफ्नो इच्छाएको कुरा सुन्न त आफैँले त्यस्तो यज्ञको आयोजना गर्नुपर्छ । नारीका पक्षमा प्रवचन दिनका निम्ति भर्जिनिया उल्फका पुस्तक पढ्नुपर्छ, गायत्री स्पिभाक, कमला भासिन, अरुन्धती रोय, कमला दास, अनिता नैर, कविता कृशनन, गीता सेन, तसलिमा नसरिन आदिका विचार सुन्नुपर्छ, त्यस्तै सभाको आयोजना गर्नुपर्छ र त्यस्तै प्रतिभालाई ल्याउनुपर्छ । फेरि तिनका कुरा मन नपर्नेहरू पनि हुन्छन् । तिनको आलोचना सुन्न सक्ने धैर्य पनि रहनुपर्छ । यसरी भन्दै जाने हो भने यो शृङ्खला लामो हुन्छ ।
हामी कुनै टुङ्गोमा त्यसपछि पनि पुग्दैनौँ । अर्थात् यो क्रम चलिरहन्छ जसरी अहिले चलिरहेको छ । त्यसो गर्न पनि हामीलाई छुट छ । जसबाट जे कुरा आउन सक्छ त्यही कुराको अपेक्षा गर्ने हो । आँपको रूखमा स्याउ फलेन भनेर चिन्ता गर्ने होइन । उनले सबै कुरा हामीलाई चित्त बुझ्ने गरिनन् भने त्यसमा आफ्नो विमति सोही शास्त्रकै आडमा रहेर समाधान निकाल्न अलि गाह्रो पर्छ ।
वृन्दावनमा बसेर रामकृष्णका आदर्श र लीलाका कथा सुनेर हुर्केकी अनि तिनै पात्रलाई जीवनका आदर्श मानेकी र तिनैको भजनकीर्तन गरेर संसारभर सनातन धर्मको प्रचारप्रसार गर्दै हिँडेकी नारी प्रतिभाका मुखबाट आफूले चाहेको उत्तर पाएनौँ भनेर आलोचना गर्नेहरू हुन् वा धर्म र दर्शनका आधिकारिक विद्वान् हामीमात्रै हौँ, हामीविनाको यज्ञ अनुष्ठान वैधानिक पनि हुँदैन अनि शास्त्रसम्मत पनि हुँदैन भनेर आलोचना गर्नेहरू हुन् वा अन्य कुनै धर्म वा सम्प्रदायका अतिवादीहरू किन नहुन् सबैलाई पशुपतिमा कोटी होम गर्ने हक छ । एकमात्र होइन सकिन्छ भने सयौँ यज्ञ गर्ने पनि हक छ । सकिन्छ गरेरै देखाऊँ । विधिसम्मत छैन भने विधिसम्मत गरेर देखाऊँ, शास्त्रसम्मत छैन भने शास्त्रसम्मत पनि गरेर देखाऊँ कसैले रोकेको छैन तर केवल आलोचनाको खेती गरेर जनताको आस्था भड्काउने काममा सामेल नहोऊँ ।
देवी प्रतिभा कस्ती प्रतिभा हुन् ? सबै त हामीले बुझ्न पाएनौँ तर उनी साधारण कोटीबाट माथि उठेकी प्रतिभा हुन् । यस पटकको चर्चापछि उनका पुराना हिन्दी भाषामा गरिएका केही प्रवचन पनि मैले सुनेँ उनले हिन्दीमा अझ राम्रो गरी आफ्ना कुरा राख्न सकेको पाएँ । उनले यो उमेरमा जे जति गरेकी छन् यस मार्गमा उनले गर्न सक्ने यिनै कुराहरू हुन् र कुनै दिन यिनी नारी अधिकारकर्मी भइन् भने त्यो दिन पनि यिनले हामीले भन्दा सुन्दर तरिकाले विचार राख्न सक्नेछन् भन्ने लाग्यो ।
एकातिर हाम्रा सन्तति भविष्य खोज्न विदेशका गल्ली चाहार्ने अर्कोतिर आफ्नो क्षमता बनाएर आएका देवी प्रतिभा, चन्द्रकलाहरूलाई दुरुत्साहित गरेर पुनः उतै भासिन बाध्य पार्ने हाम्रो चेतना र प्रवृत्तिले कुनै दिन हाम्रो देश प्रतिभाहीनहरूको मरुभूमि नहोला भन्न सकिन्न ।
शास्त्रका सबै प्रकारका गाँठा फुकाउने क्षमता खोज्ने हामी ज्ञानको कुन तहमा छौँ ? हामीले आफूलाई कहिल्यै भित्र फर्केर हेरेका छौँ ? आफैँलाई सोधौँ । उनीसँग हजार कमजोरी होलान् हाम्रो काम उनका कमजोरी खोतलेर उनलाई खुइल्याउनु हो त ? यदि त्यसै हो भने त्यसको पनि बाटो होला तर आफू पनि नगर्ने गरेकालाई पनि देख्न नसक्ने हाम्रो अशिष्ट आचरणले गर्दा नै हामी अहिले आलोचित भइरहेका छौँ ।
प्रतिभा पलायनको यो शृङ्खलामा देवी प्रतिभा पनि थपिन सक्छिन् । उनको बोली, वचन, व्यवहार, संस्कार र संस्कृतिमा आएको स्वाभाविक परिवर्तन एकातिर छ यसरी नै उनको, आचरण, ज्ञान र सीपमा प्रश्न उठाइरहने प्रवृत्ति अर्कोतिर हुँदै जाने हो भने अहिलेसम्म म नेपालकी छोरी हुँ भन्दैछिन् कुनै दिन यिनी पनि ठूलै रुखको छहारी मन पराउने हुन सक्छिन् ।निश्चय पनि यस्ता घटना दुःखद् छन् । देवी प्रतिभा र अन्य यसरी नै विदेश ओइरिइरहेका अन्य प्रतिभाहरूको पलायनका पछाडि कता कता हामी अभिभावकको मनोविज्ञानले पनि काम गरेको त छैन ?
सन्तानलाई विदेश पठाउने क्षमता भएकाहरूमा यस्तै प्रकारको मनोविज्ञानले काम गरेको देखिन्छ । धेरैजसो आफन्त र छरछिमेकीका छोराछोरी विदेश जाँदा आफ्ना सन्तान यहीँ बसेको कताकता आफू नै कमजोर भएको जस्तो ठानेर पनि सन्तानलाई भविष्य बनाउने नाममा विदेश धकेल्दै त छैनौँ ? हुँदा हुँदा आफ्नो क्षमता नै नभएकाहरूले पनि देखासिखीमा यस्तो निर्णय लिँदै छन् । घरजग्गा लीलामीमा राखेर पनि सन्तानलाई बोइङ् चढाउने रहर गर्न थालेका छन् ।
यहाँ बसेर पचास साठी हजार महिनाको कमाएर के हुन्छ ? भन्ने अभिभावकहरूलाई मैले देखेको छु । पचास साठी हजार किन केही होइन ? हामीले बर्सौं आफ्नो सीप लगानी गरेर बल्लतल्ल त्यो रकमको नजिक पुगेका छौँ र हामीलाई त्यो रकमले पुगेको छ भने अबको पुस्तालाई एकैचोटि लाखौँलाख किन चाहिएको हो ? कतै हामी पनि महत्त्वाकाङ्क्षाको गम्भीर सिकार त बनिरहेका छैनौँ ? सन्तानलाई दाउमा राखेर आफ्ना रहर पूरा गर्ने अभिभावकहरू पनि सचेत हुने बेला आएको छ । जुन दिन गुँडबाट बच्चाले पखेटा फट्फटाउने छन् त्यही दिन हाम्रा हातबाट बचेरा टाढिएका हुनेछन् ।
भविष्य कहीँ कुनै ठाउँमा व्यक्ति कुरेर बस्ने अनि टपक्क टिपेर ल्याउने कुरा होइन । दुःख गरेर आर्जन गर्ने भविष्य यतै पनि आर्जन गर्न सक्दैनसकिने होइन । नेपालमा भविष्य छैन भन्ने भाष्य तयार गरेर योजनाबद्ध ढङ्गले प्रतिभालाई पलायन हुन बाध्य पार्ने योजनामा कतै हामी अभिभावकहरू पनि त लागेका छैनौँ ? त्यसो हो भने यो पनि दुःखकै कुरा हो ।
त्यस्ता सम्पन्न अभिभावकका सन्तानमा रहेको प्रतिभापलायनमा सहानुभूति राख्न पनि त्यति आवश्यक छ जस्तो लाग्दैन । एकातिर हाम्रा सन्तति भविष्य खोज्न विदेशका गल्ली चाहार्ने अर्कोतिर आफ्नो क्षमता बनाएर आएका देवी प्रतिभा, चन्द्रकलाहरूलाई दुरुत्साहित गरेर पुनः उतै भासिन बाध्य पार्ने हाम्रो चेतना र प्रवृत्तिले कुनै दिन हाम्रो देश प्रतिभाहीनहरूको मरुभूमि नहोला भन्न सकिन्न । अरूको निन्दोचर्चोमा आफ्नो समय खेर फाल्ने आफूले कुनै दिन जिम्मेवारीबोध नगर्ने हामीलाई पशुपतिनाथले कहिलेसम्म रक्षा गर्लान् ? जय मधु श्रावणी ! जय पशुपतिनाथ !!
आदरणीय सरको समसामयीक विषयमा लेखिएको यो लेख पढेपछि मलाई पनि मेरो विचार राख्न मन लाग्यो। लोकतन्त्रमा आफ्नो विचार राख्ने र प्रश्न गर्ने अधिकार सबैलाई छ। धार्मिक प्रवचन भन्दैमा तर्क नै गर्न नपाउने भन्ने छैन पनि। मेरो विचारमा उहाँको अतार्किक कुराको आलोचना भएको हो। उहाँले आगामी दिनमा यो आलोचनाबाट हतोत्साही नभई अझै ज्ञानको दायरा फराकिलो बनाई स्वदेश र विदेश जताततै सनातन धर्मको प्रचार गर्नुहुनेछ। म लगायत उहाँले सम्बन्ध बिच्छेदसम्बन्धी विषयमा व्यक्त गरेको विचारमाथि प्रश्न गर्ने जमातले हिन्दु धर्मशास्त्रमा महिला र पुरुषबीच विभेद छैन भन्ने विश्वास ग्रहण गरेर एवं उहाँजति शास्त्रको ज्ञाता नभएको हुनाले नै उहाँको व्याख्यामा तर्क खोज्दै जिज्ञासा मेटाउन खोजेको हो। आशा छ, उहाँले भविष्यमा अझै आफूलाई निखार्दै जानुहुनेछ। प्रश्न नै नगर्ने हो भने ज्ञानको ढोका बन्द हुन्छ।तर जब प्रश्न तेर्सिन्छ,तब ज्ञानको खोज र अनुसन्धान शुरु हुन्छ।
‘वादे वादे जायते तत्व बोध’