अन्न मानवका निम्ति प्राण हो । खानका निम्ति योग्य अन्नलाई खाद्यान्न भनिन्छ । खाद्यवस्तुको प्रयोग कसरी गर्नुपर्दछ ? कस्ता अन्न खानु हुँदैन, कस्तो अन्नको प्रयोग हाम्रा लागि उपयुक्त हुन्छ भन्ने बारेमा पनि शास्त्रीय परिचर्चा पाइन्छन् । यसका साथै उपयुक्त खाद्यान्न, निर्माण गरिने परिकार र परिकार पस्किने विधिका बारेमा पनि शास्त्रीय दिशानिर्देश पाइन्छ । भोजन गर्दा, अन्नको प्रयोग गर्दा विचारणीय विषयवस्तुका बारेमा पनि शास्त्रमा चर्चा गरिएको छ । शास्त्रले निर्दिष्ट गरेका खाद्य वस्तु, कस्ता वस्तु खानु उपयुक्त हुन्छ ? कस्ता हानिकारक हुन्छन् यसका साथै कस्ता वस्तुलाई शुद्ध पवित्र र कस्तालाई अशुद्ध एवं अपवित्र मानिन्छ भन्ने विषयमा शास्त्रीय मतको विवेचना यस आलेखमा गरिनेछ ।
केश परेको खाद्यवस्तु विकृत रहने भएका कारण यस्तो निर्देश भएको हुनुपर्दछ । यसका साथै खाद्यवस्तु उपयुक्त भएरमात्र हुँदैन । दिने व्यक्तिको भावनामा पनि पवित्रता रहनुपर्दछ भनिएको छ । अनादरपूर्वक दिइएको भोजन पनि उपयुक्त हुँदैन भन्ने पौराणिक मान्यता रहेको छ ।
खाद्य वस्तु शुद्ध हुनुपर्दछ यो सबैले जाने बुझको नै कुरा हो । कस्तालाई शुद्ध वा उपयुक्त अनि कस्तालाई अनुपयुक्त भनिन्छ भन्ने बारेमा शास्त्रीय चिन्तन एवं भोजन निर्देश हाम्रा ऋषि महर्षिले गरेका छन् । केश र किराले युक्त खानेकुरा भोजनका निम्ति उपयुक्त हुँदैनन् । यसैगरी खाने व्यक्तिमा अन्नप्ृर्ति दूषित भावना जागृत भएको छ भने पनि भोज गर्नुहुँदैन भनिएको छ ।
यसका साथै कुकुरले सँुघेको अन्न, पुनः पकाएको खानेकुरा, गाईले सुँघेको अन्न, अनादरपूर्वक प्राप्त अन्न, अन्यायपूर्वक प्राप्त अन्नलाई ग्रहण गर्नुहुँदैन भनी बताइएको छ ।
‘केशकीटावपन्नं च सहृयल्लेखं च नित्यशः ।
श्वाघ्रातं च पुनः सिद्धं चण्डालावेक्षितं तथा ।।
उदक्यया च पतितैर्गवाचाघ्रातमेव च ।
अनर्चितं पर्युषितं पर्यायान्नं च नित्यशः ।।
काककुक्कुटसंस्पृष्टं कृमिभिश्चैव संयुतम् ।
मनुष्येरप्यवघ्रातं कुष्ठिना स्पृष्टमेव च ।
न रजस्वलया दत्तं न पुंश्चल्या सरोषया ।
मलवद्वाससा वापि परवासोद्रथ वर्जयेत् ।।’
(कूर्मपुराण, उख १७।२६-२९) यसरी केश परेको खाद्यवस्तु विकृत रहने भएका कारण यस्तो निर्देश भएको हुनुपर्दछ । यसका साथै खाद्यवस्तु उपयुक्त भएरमात्र हुँदैन । दिने व्यक्तिको भावनामा पनि पवित्रता रहनुपर्दछ भनिएको छ । अनादारपूर्वक दिइएको भोजन पनि उपयुक्त हुँदैन भन्ने पौराणिक मान्यता रहेको छ ।
यसका साथै अन्यायपूर्वक दिइएको भोजन पनि ग्रहण गर्न उपयुक्त मानिएको छैन । गाई, कुकुर आदि पशुले सँुधेको खानेकुरालाई पनि नखानू भनिएको छ । यसैगरी काग वा कुखुराले छोएको अन्न, कीरायुक्त अन्न, मान्छेले सुँघेको अन्न, सङ्क्रमण हुने रोग लागेका व्यक्तिले छोएको अन्न, रजश्वलााले छोएको अन्न, मैला लुगा लगाएका व्यक्तिले दिएको अन्न पनि त्याग्नु भनिएको छ । यसैगरी लात्ती लागेका अन्न पनि अपवित्र मानिएको छ :
‘मत्तक्रुद्धातुराणां च न भुञ्जीत कदाचन ।
केशकीटावपन्नं च पदा पृष्टं च कामतः ।’
(मनुस्मृति, ४।२०७) यहाँ पाकेको खानेकुरालाई भनिएको हो । काँचोभन्दा पनि पाकेको भोज्यवस्तुको सन्दर्भमा नै यी कुरा आएका पाइन्छन् । कीरा परेको अन्न त सामान्य रूपमा पनि अनुपयुक्त नै हुन्छ । फोहोरी एवं रोगी व्यक्तिले दिएको खानेकुरा पनि नखानू भन्ने शास्त्र निर्देश पाइन्छ ।
पक्षीले जुठो पारेको अन्न पनि अशुद्ध मानिएको छ । (गौतमधर्मसूत्र, १।८।१०) चरा चुरुङ्गीले जुठो हालेका खानेकुर एक स्वस्थ व्यक्तिका निम्ति अनुपयुक्त रहने भएकाले पनि यस्तो शास्त्र निर्देश भएको हुनुपर्दछ । यसै गरी खाना खाँदा बायाँ हातको प्रयोग पनि निषिद्ध गरिएको छ भने बायाँ हातले दिएको खानेकुरा पनि नखानू भनिएको छ :
‘वामहस्ताहृतं चान्नं भक्तं पर्युषितं च यत् ।
सुरानुगतमुच्छिष्टमभोज्यं शेषितं च यत् ।।’
(महाभारत, शान्ति. ३६।३१-३२) अर्थात् वाँया हातले दिएको अन्न, बासी अन्न, शराव मिसिएको अन्न, जुठो अन्न, घरकालाई खान नदिई बचाएर राखेको अन्न खानयोग्य हँदैन ।
यसैगरी उन्मत्त, क्रोधी र दुःखबाट आतुर मनुष्यको अन्न पनि कहिल्यै खानु हुँदैन भनिएको छ :
‘मत्तक्रुद्धातुराणां च न भुञ्जीत कदाचन ।’
(अग्निपुराण, १६८।२) । झगडा गर्दै तयार गरिएको खाना नखानु भनिएको छ । (महाभारत, अनुशासनपर्व, २३।७।६) थुक परेको, किरा परेको, जुठो, कपाल परेको, तिरस्कारपूर्वक प्राप्त भएको, आँशु परेको वा अश्रुपात भएको आदि अन्नलाई राक्षसी मानिएकोे छ । यस्तो खाना पनि खानु हुँदैन भनिएको छ :
‘क्षुतं कीटावपन्नं च यच्चोच्छिष्टाचितं भवेत् ।
सकेशमवधूतं च रुदितोपहतं च यत् ।
श्वाभिः संसृष्टमन्नं च भागेद्रसौ रक्षसामिह ।
तस्माज्ज्ञात्वा सदा विद्वानेतान्यत्नाद् विवर्जयेत् ।’
(महाभारत, शल्यपर्व, ४३।२६-२८) पूजारी एवं पुरोहितको अन्न खानाले चान्द्रयणको व्रत गर्नुपर्दछ भनिएकोछ ः
‘कुण्डान्नं गोलकान्नं च देवलान्नं तथैव च ।
तथा पुरोहितस्यान्नं भुक्त्वा चान्द्रायणं चरेत् ।।’ (महाभारत, आश्व. ९२) ।
यसरी मन्दिरमा पूजा गर्ने व्यक्ति अनि दान दिने गुरुको अन्न पनि नखानू भन्ने शास्त्रीय निर्देशन पाइन्छ । आफूले दान गरेको वस्तु आफंैलाई प्राप्त हुनु दोषयुक्त रहन्छ । यसैले पनि यस्तो शास्त्रनिर्देश भएको हुनुपर्दछ । आशौचीको अन्न पनि खानुहुँदैन भनिएको छ । जननाशौच र मरणाशौच परेका व्यक्तिको अन्न पनि नखानु भनिएको छ :
‘मृतसूतकयोश्चान्नं भुक्त्वा चान्द्रायणं चरेत् ।।’ (महाभारत, आश्व. ९२) आशौचमा परेका व्यक्तिको अन्न खानेलाई पनि आशौच लाग्द भन्ने धर्मशास्त्रीय मान्यतालाई आधार मानी यस्तो शास्त्रनिर्देश गरिएको हो ।
मूलतः भोकले रन्थनिएको आपत्कालीन अवस्थामा परेको व्यक्तिका निमित यस्ता विषयवस्तुको निर्देश भएको होइन । आपत्कालको कुनै शास्त्रनिर्देश भएको छैन । प्राणरक्षार्थ भोजन लिनु नै पर्दछ । सामान्यतः स्वस्थ र उपयुक्त भोजनका निम्ति नै यी शास्त्रीय निर्देश व्यक्त भएका हुन् ।
यसैले भुलवश यस्तो भएको छ भने यसरी खाइएको छ भने चन्द्रायण व्रत गर्नुपर्दछ भनिएको छ । जुन एकप्रकारको कठिन व्रत हो । विना सत्कारपूर्वक दिएको खाना पनि नखानू भनिएको छ । पतित व्यक्तिको अन्न पनि नखानू भनी बताइएको छ । यसैगरी कृतघ्नको अन्न पनि उपयुक्त मानिएको छैन । झुटो बोल्ने व्यक्तिको अन्न पनि नखानू भनिएको छ । जबसम्म विवाहिता छोरीका सन्तान हुँदैनन् तबसम्म पिताले छोरीका घरको अन्न नखानू भन्ने शास्त्र निर्देश पाइन्छ :
‘स्वसुतान्नं च यो भुङ्ते स भुङ्क्ते पृथिवीमलम् ।
स्वसुता अप्रजा तावन्नाश्नीयत्तद्गृहे पिता ।
अन्नं भुङ्ते तु यो मोहात्पूयं स नरकं व्रजेत् ।।’ (अत्रिसंहिता, ३०१-३०३) प्रमादवश सन्तति नभएका छोरीका घरको अन्न खाए नरकको भोग गर्नुपर्दछ भनी बताइएको छ ।
घिउमा बनेका अन्न तेलमा पकाएको अन्न बासी भए पनि खानयोग्य हुन्छन् । यसैगरी गहुँ, जौ तथा गाईको दूधबाट बनेका वस्तु तेल घिउमा नबनेका भए पनि ग्राह्य हुन्छन् :
‘भोज्यमन्नं पर्युषितं स्नेहाक्तं चिरसम्भृतम् ।
अस्नेहश्चापि गोभूमयवगोरसविक्रियाः ।’ (मार्कण्डेयपुराण, ३५।१-२) यसै गरी यस्तै आशयको वचन वामन पुराणमा पनि पाइन्छ :
‘अस्नेहा व्रीहयः श्लक्ष्णा विकाराः पयसस्तथा ।
तद्वद् द्विदलकादीनि भोज्यानि मनुरब्रवीत् ।।’ (वामन पुराण, १४।५९-६०) नुन, घिउ, अन्न तथा सबै प्रकारका व्यञ्जन हातले नबाँड्नु भनिएको छ । डाडु, पन्यू वा कुनै पात्रले नै दिनु बाँड्नुपर्दछ । खाली हातले मात्र दिनु हुँदैन भनिएको छ :
‘लवणं व्यञ्जनं चैव घृतं तैलं तथैव च ।
लेहृयं पेयं च विविधं हस्तदत्तं न भक्षयेत् ।।’ (धर्मसिन्धु) यसरी भोजनका लागि योग्यायोग्य अन्नका साथै कसरी खानुपर्दछ भन्ने विषयमा समेत शास्त्रीय निर्देश पाइन्छ ।
मूलतः भोकले रन्थनिएको आपत्कालीन अवस्थामा परेको व्यक्तिका निमित यस्ता विषयवस्तुको निर्देश भएको होइन । आपत्कालको कुनै शास्त्रनिर्देश भएको छैन । प्राणरक्षार्थ भोजन लिनु नै पर्दछ । सामान्यतः स्वस्थ र उपयुक्त भोजनका निम्ति नै यी शास्त्रीय निर्देश व्यक्त भएका हुन् । सामान्यतः स्वस्थ आहारका निम्ति अझ भनौ मानव कल्याणका निम्ति नै यस्ता विधि व्यवस्था उल्लेख भएका हुन् । ऋषिप्रदत्त ज्ञान हाम्रा मार्गदर्शक हुन् । सर्वकल्याण्का निम्ति नै यस्ता व्यवस्था शास्त्रमा व्यक्त भएकाले पालन गर्नु मानव हितका निम्ति उपयोगी हुने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच