![संसद्मा एकमतका साथ प्रस्तुत हुने सत्तापक्षीय दलको निर्णय](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/satta-rudh.jpg)
पछिल्लो समयमा देशैभरि सुरुङ र केबलकारको विकास भइरहेको छ । केही ठाउँमा यस्ता कार्यले त्यहाँको प्रकृति, धार्मिक आस्था, मान्यता र विद्यमानतामा नकारात्मक प्रभाव पर्छ भनेर त्यसको विरोध पनि हुने गरेको छ । हालै ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकारको विरोध भयो, त्यसमा अवरोध गर्न खोज्नेहरू र प्रहरीबीच झडप भयो । दुबैतर्फका केही मानिस घाइते भए । प्रकारको विकास त्यस्तो ठाउँमा आवश्यक हो कि होइन भन्ने प्रश्न सिर्जना भएको छ । विकासको पूर्वाधारका रूपमा प्रारम्भिक चरणमा सडकहरू प्राथमिकतामा थिए । सडकहरूको विकासभन्दा पहिले गोरेटो घोडेटो बनाउनुलाई विकास मनिन्थ्यो । समय सँगसँगै हालका दिनहरूमा यस्तै केबलकार तथा सुरुङ मार्ग प्राथमिकतामा परिरहेका छन् ।
यसलाई स्वाभाविक मान्नै पर्छ किनभने मानिसको चाहना, देशको विकासको प्राथमिकता र प्रविधिको नवीनतम् विकासले गर्दा हिजोको विकासका संशाधन नमुनाहरू आजका दिनमा पुराना हुँदै गइरहेका छन् । सडक यातायात आवागमनको सबैभन्दा नवीनतम् स्वरूप मान्दामान्दै अबका दिनमा विकल्प खोजिँदैछ । हवाई यातायात नेपाल जस्तो पहाडी भू-भाग भएको देशका लागि अत्यन्त आवश्यक, भीरपाखा, जमिनको स्वरूप नखल्बल्याई निर्माण गर्न सकिने विकासको एउटा नमुना मानिन्थ्यो । तीसदेखि पचासको दशकसम्म पनि हवाई यातायातको आकर्षण थियो । हवाई मैदानबाहेक यसको यात्रामार्ग निर्माण गर्नु नपर्ने भएको हुँदा वातावरणीय दृष्टिकोणबाट हवाई यातायात सबैभन्दा भरपर्दो माध्यम थियो तर हाल पहाडी क्षेत्रमा सडक यातायातको सञ्जाल पुगिसकेकोे हुँदा हवाई मैदानहरू गौचरनमा परिणत भइरहेका छन् ।
सडक पुग्न बाँकी ठाउँमा मात्र अहिले हवाई यातायात सञ्चालनमा छन् नत्र वर्तमान अवस्थामा नेपालका अधिकांश हवाई मैदान बन्द जस्तै छन् । यसलाई विस्थापित गर्नेमा केबलकारभन्दा सडक यातायात प्रमुख रहेको छ । सडक यातायातलाई दूरी छोट्याउन र जलविद्युत् आयोजनामा पानीको बहाव तीव्र बनाउन सुरुङ बनाउने कार्यले प्राथमिकता पाउँदै आएको छ । कतिपय ठाउँमा सुरुङ अति आवश्यक छन्, हालैमात्रै सिद्धबाबा सुरुङ वारपार भएको छ । यो अति आवश्यक ठाउँमा बनेको छ । यस ठाउँमा सधैं पहिरो गएर बाटो अवरोध भइरहनेमात्र होइन यातायातका साधन, यात्रीहरूको जिउधनसमेत जोखिममा परिरहन्थ्यो । काठमाडौंको नागढुंगा-नौबीसे सुरुङले दूरी छोट्याउनुका साथ यातायातको जामलाई कम गर्नेछ ।
यी केही दृष्टान्तमात्रै हुन् । यस्ता अनेकौं ठाउँमा अनेकौं सुरुङको आवश्यकता छ । यस्ता योजना आवश्यक छन् भनेरमात्र हुँदैन, नेता-नेतृत्वले आफ्नो पहुँचको भरमा यस्ता योजना आफ्नो निर्वाचन क्षेत्रमा पार्न सक्छन् । यसो गर्दा कम आवश्यक भएका ठाउँमा योजना पर्ने र बढी आवश्यक पर्ने ठाउँमा नपर्ने अवस्था आइपर्न सक्छ । योजना बाँडफाँड गर्ने निकाय, व्यक्ति तथा राजनीतिक दलले ध्यान पुर्याउनुपर्ने हुन्छ । केबलकारहरूको अवस्था यस्तै हो । विकास हुनु नराम्रो होइन, केबलकारले वातावरणीय क्षति सडक यातायातका तुलनामा कम गराउँछ । यात्राको अवधि कम गराउँछ, जोखिम कम हुन्छ । सबैभन्दा पहिले नेपालमा मनकामना केबलकार सञ्चालनमा आएको थियो ।
हालसम्म आधा दर्जन केबलकार सञ्चालनमा आइसकेका छन् । अन्य धेरै बन्ने तयारीमा छन् । अहिलेसम्म बनेका केबलकार हेर्दा धार्मिक आध्यात्मिक स्थलमा तीर्थयात्रा गर्न, केही ठाउँमा पर्यटकीय दृष्टिकोण राखेर केबुलकारको विकास गरिएको छ । यात्रीहरूले यात्रा गर्ने प्रयोजनका लागि गाडीको विकल्प हुनेगरी केबलकार बन्नसक्ने हो भने यात्रीहरूलाई सजिलो हुनसक्थ्यो तर त्यसको भाडा महँगो हुने भएकाले निकटसम्म स्थल यातायात पुगेको ठाउँमा गाडी चढेर जाने र नपुगेको ठाउँमा हिँडेरै जाने भएकाले स्थल यातायातको विकल्प केबलकार हुन नसक्ने यथार्थलाई ध्यानमा राखेर धार्मिक स्थलमा र केही पर्यटकीय स्थलमा मात्र केबलकार निर्माण र प्रस्तावित भएका हुन् ।
राणाकालमा हेटौंडाबाट काठमाडौंसम्म सामान ओसारपसार गर्न रोपवे सञ्चालनमा आएको थियो । बोलीचालीमा रज्जुमार्ग भनिने हाल त्यो सञ्चालनमा छैन । त्यसैको विकसित र मानिससमेत यात्रा गर्न मिल्ने गरी बनाइएको साधान हो केबलकार । हाल मनकामना, चन्द्रगिरि, कालिञ्चोक, मौलाकालिका, अन्नपूर्ण, बन्दिपुर र लुम्बिनी केबलकार सञ्चालनमा छन् । यसमा ठूलो लगानी हुनेभएको हुँदा यसको सेवा लिनेहरूले छोटो समयमा बढी भाडा तिर्नुपर्छ । जसले गर्दा बसयात्रा जस्तो सहज यो हुन सक्दैन ।
तीर्थयात्री र पर्यटकलाई मात्र सेवा दिँदैआएका केबलकारको जस्तै प्रविधिमा यात्रीहरूका लागि सेवा दिने गरी विश्वका केही मुलुकहरूमा सफल परीक्षणपछि पोडवे सञ्चालनमा आउन थालेको छ । नेपालमा यसको सञ्चालन गर्नुपर्छ भनेर केही व्यक्तिहरूले आवाज उठाइरहेका छन् । ठाउँठाउँमा यात्री चढ्ने र ओर्लने स्टेसन बनाइने हुनाले यो चाहिँ यात्री केन्द्रित यातायातको साधन हो । भोलिका दिनमा नेपालमा पनि पोडवे बन्नसक्ने सम्भावनालाई नकार्न मिल्दैन । नयाँनयाँ प्रविधिले संसारमा व्यापकता पाउने र समयको माग तथा आफ्नो आर्थिक हैसियत अनुसार राष्ट्रले यस प्रकारको सेवा भित्र्याउन सक्ने कुरा स्वाभाविक हो ।
यस्ता योजनाको स्थापना, विकास गर्दा आवश्यकता र सामथ्र्यलाई विचार गर्नैपर्छ । निश्चित ठाउँमा ती योजना कत्तिको आवश्यक छन् ? भोलि तिनले के कस्तो आर्थिक उपार्जन गर्न सक्छन्, त्यसबाट राष्ट्रलाई सहयोग पुग्नसक्छ सक्दैन भन्नेतर्फ ध्यान पुर्याउनुपर्छ । विभिन्न आस्था समूहको मान्यतामा आँच नआउने गरी स्थापना गर्नु र विकासका कार्यलाई अवरोध नपुर्याई अगाडि बढाउनु उचित हुन्छ । यसबाट प्रत्यक्ष रोजगारी, आश्रित रोजगारीसमेत प्राप्त हुने र निर्माण भइसकेपछि पहिलेको भन्दा बढी तीर्थयात्री आउने यथार्थतालाई नकार्न मिल्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच