
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी उपाध्यक्ष मनोनीत गर्ने नेकपा माओवादी केन्द्रको निर्णयले नेकपा एमालेमा हलचल ल्याएको छ । पूर्वउपराष्ट्रपति पुन औपचारिक रूपमा पार्टी राजनीतिमा फर्किनुभएको हो । विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा उपराष्ट्रपति रहनुभएका पुन यसअघि नै सक्रिय राजनीतिमा फर्किने उद्देश्यका साथ पार्टीका बैठक र कार्यक्रमहरूमा सक्रिय हुनुभएको थियो । पुनलाई यही चैत १९ र २० गते बसेको पार्टीको पदाधिकारी बैठकले स्थायी कमिटी सदस्य मनोनीत गरेर पार्टीको उपाध्यक्षसमेत बनाएको हो । माओवादीको पार्टी विधानअनुसार पदाधिकारी हुन स्थायी कमिटी सदस्य अनिवार्य भएपछि उहाँलाई पहिला स्थायी कमिटी सदस्य बनाएपछि उपाध्यक्षमा मनोनीत गरिएको हो । पुनलाई सक्रिय जिम्मेवारीसमेत दिने तयारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको छ । माओवादी केन्द्र र सार्वजनिक रूपमा राज्यको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कनु स्वाभाविक नहुने भन्दै आलोचना भइरहेका बेला माओवादीले पुनलाई उपाध्यक्ष नै बनाएको हो ।
पूर्वउपराष्ट्रपति पुनलाई सक्रिय राजनीतिमा ल्याउने नेकपा माओवादी केन्द्रको निर्णयले मुलुकको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा एमालेमा भने हलचल उत्पन्न भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा रहनुभएको छ । भण्डारीले सक्रिय राजनीतिमा फर्कने तयारीस्वरूप एमालेको पार्टी सदस्यता गत वैशाखमा नवीकरण गर्नुभएको थियो । त्यसयता हुने सक्रिय राजनीतिमा फर्कनका लागि विभिन्न प्रदेश तहको भ्रमण गर्दै त्यहाँका नेता कार्यकर्तासँग भेटघाट र अन्तरक्रियामा भण्डारी व्यस्त रहनुभएको छ । आफ्नै कार्यकालमा उपराष्ट्रपति रहेका नन्दबहादुरको सक्रिय राजनीतिमा फर्कने निर्णयले भण्डारीलाई एमालेको राजनीतिमा फर्कने थप सहज भएको छ । भण्डारी शीतल निवासबाट बिदा भएपछि सक्रिय राजनीतिमा फर्किने आन्तरिक गृहकार्यमा जुटिरहेका बेला त्यसलाई माओवादीका अध्यक्ष प्रचण्डले सहज बनाइदिनुभएको छ । पूर्वउपराष्ट्रपति पुनलाई पार्टी उपाध्यक्ष बनाएर प्रचण्डले भण्डारीलाई पनि राजनीतिमा फर्काउने बाटो खोलिदिनु भएको हो ।
भण्डारी राष्ट्रपति हुनुअघि एमालेकी उपाध्यक्ष हुनुहुन्थ्यो । अहिले उहाँ एमालेभित्र आफ्नो स्पेस खोजिरहनु भएको छ । कतिपयले भण्डारीलाई एमालेको अबको निर्विकल्प नेतृत्वको रूपमा लिने गरेका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी महाधिवेशनबाट एमाले अध्यक्षमा दोहोरिने रणनीतिमै हुनुहुन्छ । परिस्थिति हेरेर ओलीकै प्रस्तावमा विद्या भण्डारीले एमालेको नेतृत्व सम्हाल्ने सम्भावना पनि उत्तिकै छ ।
भण्डारी अहिले जिल्लाजिल्ला पुगेर पार्टी नेता कार्यकर्तासँग बेग्लाबेग्लै भेटेर आफ्नो पक्षमा माहोल बनाउनमा केन्द्रित रहनुभएको छ । भण्डारीलाई नेतृत्वमा फर्काउन सके कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्न सकिने कतिपय नेताहरूको बुझाइ छ । प्रचण्डले पनि भण्डारी एमाले नेतृत्वमा आए कम्युनिष्ट एकताको आधार बन्ने रणनीति बुनेर पुन कार्ड खेलेको राजनीतिक वृत्तमा चर्चा छ । तर, एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने कि नल्याउने भन्ने दुई धार छ । अब एमालेको ११औँ महाधिवेशनसम्म पुग्दा भण्डारी ओलीकै सहमतिमा एमालेमा पुनरागमन हुने कतिपयको दाबी छ । तर, विद्या भण्डारी एमालेको नेतृत्वमा फर्किने कुरा अध्यक्ष ओलीको चाहनाबेगर सम्भव छैन । ओलीले चाहेरै भण्डारी एमालेको अध्यक्ष र देशको पहिलो महिला प्रधानमन्त्री बन्ने हो । ओलीसँग प्रतिस्पर्धा गर्नका लागि विद्या भण्डारी एमालेको राजनीतिमा फर्किने होइन भन्नेमा एमालेको राजनीति बुझेकाहरू विश्वस्त छन् । किनकि भेट्न जाने पार्टीका नेताहरूलाई पनि भण्डारीले अहिले एमाले पार्टी र यसको मूल नेतृत्वविरुद्ध घेराबन्दी भएकाले कतिपय असन्तुष्टि भए पनि बाहिर नलैजान आग्रह गर्ने गर्नुभएको छ ।
पार्टीमा प्रतिस्पर्धा गर्न आउनुहुन्न : राई
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विश्वासपात्र एमाले स्थायी कमिटी सदस्य एवं कोशीका इञ्चार्ज शेरधन राईले पूर्वराष्ट्रपतिको कमब्याकबारे पार्टीमा औपचारिक छलफल नभएको दाबी गर्नुभएको छ । भण्डारी पार्टी राजनीतिमा आउँदा पनि अध्यक्ष ओलीकै सहमतिमा आउने स्पष्ट पार्दै राईले भन्नुभयो, ‘राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले देशको विकास र समृद्धिमा चासो राखेर देखाएको सक्रियतालाई धेरै सकारात्मक रूपमा लिनुपर्छ । मैदानमा भिडेर, केपी ओलीको काउण्टरमा उभिएर आउने भन्ने कुरामा कुनै अर्थ छैन । उहाँ सक्रिय राजनीतिमा आउनुभयो भने पार्टीको प्रस्तावमा आउनुहुन्छ ।’ भण्डारी फर्किँदा प्रचण्ड-माधवसहितको नेकपा बन्नसक्ने तर्कलाई पूर्वमन्त्रीसमेत रहनुभएका राईले बेतुकको प्रसंग भएको टिप्पणी गर्नुभयो ।
काम गर्छु भनेपछि जिम्मेवारी दिइयो : पोखरेल
नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी सेवा सुविधा नलिएर बसेका हुनाले व्यक्तिगत इच्छामा राजनीतिमा फर्किनु स्वाभाविक भएको दाबी गर्नुभएको छ । पुनले पार्टीमा बसेर काम गर्छु भनेपछि जिम्मेवारी दिएको जिकिर गर्दै पोखरेलले भन्नुभयो, ‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनुहुन्छ हुँदैन, त्यो उहाँको आफ्नो कुरा हो । पूर्वउपराष्ट्रपतिले सरकारी सेवासुविधा नलिएको स्थितिमा उहाँ एउटा नागरिकको रूपमा रहनुभएको छ । सेवासुविधा लिएको भए त्यो उपयुक्त हुँदैनथ्यो । आमनागरिकको रूपमा रहेपछि राजनीतिमा सक्रिय हुने कुरा उहाँको अधिकारको कुरा पनि हो । पार्टीमा काम गर्छु भनेपछि जिम्मेवारी दिइयो ।’
पूर्वराष्ट्रपति र उपराष्ट्रपति गलत : नेपाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपति पार्टीगत सक्रिय राजनीतिमा आउनु गलत भएको टिप्पणी गर्नुभएको छ । राजनीतिमा फर्किएको खण्डमा सेवा सुविधाबारे फरक ढंगले सोच्नुपर्ने जिकिर गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आइसकेपछि त अर्को ढंगले सोच्नुपर्छ । पूर्वराष्ट्रपति राजनीतिमा नलाग्दाखेरी दिने सुविधा र राजनीतिमा लागिसकेपछि दिने सुविधामा फरक हुनुपर्छ ।’ पछिल्लो समय पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको राजनीतिमा फर्किएको सन्दर्भमा अध्यक्ष नेपालले भन्नुभयो, ‘राष्ट्रपति बन्न आएको प्रस्तावलाई त्यही भएर मैले स्वीकार नगरेको हो । त्यो व्यक्ति र पार्टीमा पनि भर पर्छ ।’
प्रथम राष्ट्रपति र उपराष्ट्रपति भने सक्रिय राजनीतिबाट टाढा
मुलुकको प्रथम राष्ट्रपति डा.रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा सक्रिय राजनीतिबाट टाढै रहनुभएको छ । यादवले अवकाशयताको दिनचर्या ललितपुरको भैँसेपाटीस्थित सरकारी निवासमा र झाले सप्तरीस्थित आफ्नै निवासमा बिताइरहनु भएको छ । पूर्वराष्ट्रपति यादवका समय–समयका अभिव्यक्ति संविधान र राष्ट्रपतिको भूमिकामा केन्द्रित हुने गरेको देखिन्छ । लामो समय कांग्रेसको राजनीति गर्नुभएका यादव अहिले पार्टी गतिविधिमा देखिनुभएको छैन । उहाँले सक्रिय राजनीतिमा फर्किने योजना पनि बनाउनुभएको छैन । पहिलो राष्ट्रपतिका रूपमा यादवले ८ साउन ०६५ देखि ११ कात्तिक ०७२ सम्म भूमिका निर्वाह गर्नुभएको थियो । यादवकै कार्यकालमा संविधानसभामार्फत संविधान जारी भएको थियो । ३ असोज ०७२ मा राष्ट्रपतिका रूपमा यादवले नै संविधान प्रमाणीकरण गर्ने सौभाग्य पाउनुभएको थियो । प्रथम उपराष्ट्रपति परमानन्द झाको कुनै पार्टीसँग सम्पर्क छैन । संविधानसभाको चौथो दल मधेसी जनअधिकार फोरमबाट ४ साउन ०६५ मा झा उपराष्ट्रपति निर्वाचित हुनुभएको थियो । कांग्रेस, एमाले र फोरमको साझा उम्मेदवार बन्नुभएका झाले माओवादी उम्मेदवार शान्ता श्रेष्ठलाई पराजित गर्नुभएको थियो । पूर्वउपराष्ट्रपति झा गृहजिल्ला सप्तरीमै बसिरहनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच