चुनावी अभियानमा पार्टीहरू

हिमालय टाइम्स
Read Time = 6 mins

नेपाली कांग्रेस चुनावी अभियानमा लागिसकेको छ । हुन त अरू दलहरू पनि लागेकै छन् नलागेका होइनन् तर विगतको तीक्त अनुभूति बोकेको नेपाली कांग्रेसको अभियान निश्चय यसपटक अलिक फरक छ । नेपालको प्रजातान्त्रिक अभियानमा सबैभन्दा अहम् भूमिका भएको दल नेपाली कांग्रेस नै हो । विगतमा भएका आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले नै गर्दै आएको छ । तुलनात्मक रूपमा यसले प्रनातन्त्र आगमनपछिका निर्वाचनहरूमा विजय हासिल पनि गर्दै आएको छ तर एक दुई पटकका निर्वाचनमा आफ्नै कारणले यो पार्टी पछि परेको कुरा सबैलाई थाहा छ । यसको कारण र परिणाम यस दललाई थाहा नै होला । यसको विश्लेषण पार्टीमा भएकै होला ।

हाल सरकारका गठबन्धनमा रहेका पार्टीहरूले समेत नेपाली कांग्रेसलाई नै नेतृत्वको जिम्मा दिएकाले यसको औचित्य बाँकी नै छ भन्ने त्यसबाट देखिएको छ । त्यस हैसियतलाई समेत जोगाउन उसका लागि आवश्यक छ र यसलाई चुनौती ठानेर उक्त दल अगाडि बढिरहेको आभाष अहिले भइरहेको छ । यस क्रममा कतै पार्टीको निर्देशन र कार्ययोजनाबमोजिम त कतै अग्रपंक्तिका नेताहरूले आआफ्नै प्रकारले विभिन्न तह र तप्काका मतदातालाई समेट्ने प्रयास गरिरहेका छन् । महिला, युवा, पेशाकर्मी, बौद्धिक वर्ग आदि विभिन्न वर्ग विभाजन गरेर तिनलाई समेट्ने काम भइरहेको छ । यो अभियान मतदातालाई आकर्षण गर्नकै लागि हो । यो चुनावी अभियानै हो ।

अब भने पार्टीको निर्देशनबमोजिम ‘जनताको साथमा कांग्रेस अभियान’ सुरु गरेको छ । एकातिर गठबन्धनका सबै दलहरूसँग तालमेल गरेर जानुपर्ने त छँदैछ र त्यसको पनि प्रयास भइरहेको छ भने अर्कातिर आफ्नै दलभित्र सकेसम्म निर्विवाद रूपमा उम्मेदवारको छनोट गर्नुपर्ने जिम्मेवारी छ । पार्टीभित्र आकांक्षी धेरै हुन्छन् । यो स्वाभाविक हो भने अर्कातिर मेरो र तेरो पक्षको मानिस भनेर टिकट दिएरमात्र पनि हुने अवस्था छैन । यो पक्ष र त्यो पक्ष भनेर टिकट दिने हो भने जित्ने ठाउँमा पनि हार हुन सक्छ । त्यसैले व्यक्तिको पकड, पार्टीको पकड, कसको प्रभाव कस्तो छ त्यो सबै हेरेरमात्र टिकट बाँडफाँट गर्नुपर्ने आवश्यकता छ ।

यस्ता सैद्धान्तिक कुरालाई त नेतृत्वमा रहेका व्यक्तिहरूले मनन् गर्नुभएकै होला नत्र गठबन्धन गरेकै कारणले मात्र रिसाइरहेका मतदाताहरू टिकट वितरणमा सन्तुष्ट बन्न सक्ने अवस्था नदेख्दा मत खसाल्नै नजालान् कि भन्ने दोधारमा पर्न सक्छन् । यी यावत् कुरामा पार्टीले ध्यान दिनैपर्ने हुन्छ । जे शीर्षकमा जस्ता अभियान चनाए पनि त्यसको प्रभावकारिता भनेको मतदाताको मन जित्नु नै हो । नेपाली कांग्रेस इतिहासमा दुई प्रकारले प्रचारमा आउने गरेको पार्टी हो । एउटा नेपाली कांग्रेसलाई बद्नाम गर्न राष्ट्रिय गोर्खा परिषद्ले यस पार्टीको झण्डा बोकेर नेपाली कांग्रेसका कार्यकर्ता हौँ भन्दै गाउँ–गाउँमा गएर गरेको लुटपाटले गर्दा अहिलेसम्म यसलाई बदनाम गर्नेहरूका लागि मसला मिलेको छ ।

त्यो यथार्थ इतिहास होइन भनेर जान्नेहरू पनि बुझ पचाएर यसलाई बदनाम गर्छन् । नेपाली कांग्रेसले यस्ताहरूलाई पाखा लगाउन सक्नुपर्छ । अर्कातिर नेपाली कांग्रेसको इतिहास गौरवमय छ, त्यो वास्तविकता हो । यसलाई यही रूपमा जान्नेहरूको संख्या धेरै छ । त्यसलाई नेपाली कांग्रेसले भजाउन सक्नुपर्छ । आफ्नो गौरवमय इतिहास भएर पनि त्यसलाई प्रचार गर्न नसक्दा नेपाली कांग्रेस पछि परिरहेको छ । समय सन्दर्भअनुसार आफ्ना यस्ता कुराको प्रचार गर्न नसक्दा विभिन्न आयातीत सिद्धान्त, धारणा र पार्टीहरूले माकुराका बच्चाहरूले माउलाई खाए जसरी नेपाली कांग्रेसबाटै राजनीति सिकेर चर्चामा आएका पार्टीहरूले नै नेपाली कांग्रेसलाई सिध्याउने प्रयत्न गरिरहेका छन् ।

यस्तो अवस्थामा नेपाली कांग्रेस पार्टीले जे जस्ता अभियानहरू ल्याएको छ त्यो अनुपयुक्त हो त भन्नै मिल्दैन तर नेपाली कांग्रेसका प्रतिबद्ध मानिसलाई मात्र प्रशिक्षित गरिरहने अरूलाई आकर्षित गर्न नसक्ने हो भने त्यस्ता अभियानहरूको प्रभावकारिता नरहन सक्छ । त्यसैले तटस्थ र अरू पार्टीका मतदातालाई आकर्षित गर्न यस्ता अभियान सफल बन्न सक्नु पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?