‘सरी मम’ को शीर्ष गीत सार्वजनिक

Read Time = 4 mins

काठमाडौं । चलचित्र ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको चलचित्र ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक भएको हो । महानायक राजेश हमालको उपस्थितिमा निर्माण टिमले चलचित्रमा समावेश पहिलो गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । यो चलचित्र आगामी मंसिर १५ मा सिनेमाघरमा आउने भएको छ ।

निर्माता विनोद लामाले चलचित्रलाई एक हप्तामात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बाग्मती प्रदेशमा मात्रै रिलिज गर्ने घोषणा गर्नुभयोे । हलमा सार्वजनिक प्रदर्शनपश्चात् चलचित्रलाई देशव्यापी रूपमा लक्षित वर्गसम्म पुर्‍याउने अभियान थाल्ने लामाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अभिनेता हमालले राज्यस्तरबाट सञ्चालन हुनुपर्ने अभियानसहित सोही विषयमा चलचित्र निर्माण गरेकोमा निर्माण टिमलाई बधाई दिनुभयो । प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपा थापाले स्कुल कलेजमा पढ्दै गरेका थुप्रै विद्यार्थीहरू कुलतको शिकार बनिरहेको भन्दै त्यो बाटो बन्द गर्न यो प्रकारको चलचित्रले सकारात्मक सञ्चार दिने बताउनुभयो ।

मुख्यतः किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको चलचित्रको प्रदर्शनी तथा च्यारेटीलाई सरकारीस्तरबाट प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरू प्याब्सन, एन–प्याब्स, हिसान, शिक्षक महासंघलगायतले सहकार्य गरिसकेका छन् । उल्लेखित संस्थाहरूको बलमा निर्माण टिमले जतिसक्दो लक्षित वर्गमा चलचित्र देखाउने उद्देश्य लिएको लामाले बताउनुुभयो ।

एनएफआई क्रियशनको व्यानरमा नवीन बोगटीको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, प्रवील कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी अभिनय छ । चलचित्रमा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष बुढाथोकी, सरोज पौडेलले लेखेको चलचित्रका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ हुनुहुन्छ । सार्वजनिक गीतमा प्रज्वल श्रेष्ठको स्वर छ भने शब्द, संगीत प्रज्वल श्रेष्ठ र नवीन बोगटीको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?