राष्ट्रपति निर्वाचनको जटिल अभ्यास

हिमालय टाइम्स
Read Time = 7 mins

पाँच वर्षका लागि हुने संसदीय निर्वाचन कार्य सम्पन्न भए पनि नयाँ सरकार बनेको पनि दुई महिना बितिसकेको छ । यो अवधि विना कुनै जटिलता सम्पन्न हुन सकेन । सरकार नै ‘टालाटुली बटुली कति राम्री पुतली’ जस्तो बन्न पुग्यो । धेरैवटा दलहरूको गठबन्धनबाट वर्तनाम सरकार बन्यो । त्यसलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीमा समस्या आयो । पार्टी अध्यक्ष रवि लामिछानेको नागरिकता विवादका कारण सरकारबाट हट्नु पर्‍यो । अदालतले उहाँले नेपालको नागरिकता पुनः लिनुपर्ने निर्णय गर्‍यो । यसका साथै उहाँको सांसद पद खारेजीमा पर्‍यो ।

त्यसैले उहाँ आफू सरकारबाट बाध्यताबस हट्टनु पर्‍यो । पार्टीले उक्त पार्टीबाट मन्त्री बनेकालाई फिर्ता बोलायो तर पार्टीले सरकरालाई दिएको समर्थन भने कायमै राख्यो र छ । निकट भविष्यमा हुने राष्ट्रपतिको निर्वाचनमा उहाँहरूको मत कसका पक्षमा पर्छ त्यो निर्णय उहाँहरूबाट भएको छैन, निर्णय गर्ने बेला बाँकी छ । रास्वपाको मतको अपेक्षा सबैले गर्छन् नै किनभने बहुमत पुर्‍याउन उक्त पार्टीको मत आवश्यक पर्छ । अब राष्ट्रपतिका लागि निर्वाचन नजिकिँदै छ । जति-जति त्यो दिन नजिकिँदै आइरहेको छ त्यति–त्यति नै पार्टीहरू यसका लागि अनेक थरि अभ्यासमा तल्लीन छन् । जे जसरी भए पनि आफ्नो पार्टीको उम्मेदवारलाई विजयी बनाउन मरिमेट्ने नै भए ।

नेपाली कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठूलो पार्टी हो तर उसको मात्र दलको मतले कांग्रेसको विजय सम्भव छैन । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले आश्वासन दिनु भएबमोजिम उहाँको पार्टीको मत नेपाली कांग्रेसले पाउने त निश्चत जस्तै छ, तैपनि त्यतिले मात्र कांग्रेसको पक्षमा बहुमत पुग्न सक्दैन । त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीको समेत सहयोग आवश्यक पर्छ । कांग्रेस इतरको उम्मेदवारका लागि पनि रास्वपाको समर्थन चाहिन्छ । एमाले र अन्य केही साना दलहरू मिलेर बन्ने गठबन्धनका लागि पनि रास्वपा चाहिने हुन्छ ।

नेपाली कांग्रेस र माओवादी एक पक्षमा उभिँदा पनि रास्वपाको समर्थन चाहिने अवस्था रहेको हुँदा आफ्नो पक्षमा बहुमत पुर्‍याउन दुवैथरीले रास्वपाको समर्थन पाउनुपर्छ र यसरी निर्णायक शक्तिका रूपमा रहेको रास्वपाले भोलिका दिनमा राष्ट्रपति पदका लागि हुने निर्वाचानमा कसको पक्ष लेला त्यो चासोको विषय बनेको छ । निर्विवाद रूपमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । त्यसैले उसको मतभार पनि बढी हुनु अस्वाभाविक होइन तर आफैँमा विजयका लागि आवश्यक संख्या नभएकाले नै सबैभन्दा ठूलो दल भएर पनि सरकारबाट बाहिर रहनु परेको छ । नेपाली कांग्रेसका नेताहरू कांग्रेस राष्ट्रपति पदका लागि उम्मेदवारी दिनबाट पछि नहट्ने अभिव्यक्ति दिइरहनु भएको छ ।

अहिले माओवदी केन्द्रले नेपाली कांग्रेस पक्षीय उम्मेदवारलाई समर्थन गर्ने भएकाले एमालेले एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रेरित गरिरहेको समाचार बाहिर आएको छ, तर स्वयं माधव नेपालले भने यस कुरालाई स्वीकार वा अस्वीकार केही गर्नुभएको छैन । अहिले यस कुरालाई पर्दापछाडि नै रहन दिऊँमात्र भन्नुभएको छ । यसबाट राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव आए बन्ने मनसाय हो कि भन्न जस्तो देखिन्छ र अर्को ढंगले होइन भनेको हो कि भन्ने अर्थ गर्न पनि सकिन्छ । उता उहाँकै पार्टीका एक नेता मेटमणि चौधरीले भने आफ्नो पार्टीका नेता माधव नेपाललाई राष्ट्रपतिका लागि कतैबाट प्रस्ताव नआएको बताउनु भएको छ ।

अर्कातिर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने प्रधानमन्त्रीसँग भेटघाट गरी उक्त पार्टीका नेता महन्त ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेको छ । सबै पार्टी र व्यक्तिका आ-आफ्ना चाहना हुनु अस्वाभाविक होइन तर राष्ट्रपति पदका लागि निर्विवाद व्यक्तित्व र विजयको सुनिश्चितता भएको व्यक्तिलाई उम्मेदवार बनाउनु उपयुक्त हुन्छ । यो कुनै एक पार्टीले मात्र अपनाउनुपर्ने नीति होइन । अरूको योजना बिथोल्ने मात्र रणनीति बनाउने हो भने फरक कुरा हो । त्यसो होइन देश बनाउने हो भने सबैले सकारात्मक सोचका साथ अगाडि बढ्नु आवश्यक छ । यसका लागि वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेजस्तो राष्ट्रिय सहमतिका साथ अगाडि बढ्नु उपयुक्त हुन्छ । यसले गर्दा पार्टीहरूबीचको वैमनस्यता कम भएर जान्छ र शक्तिसन्तुलनको सिद्धान्त पनि स्थापित हुन पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?