खाटा बसेको घाउलाई हेर्दा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 29 mins

✍️ खेमनाथ दाहाल

सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको पहाडी जिल्ला अछामको पुल्लेतोला गाविस (हालको पञ्चदेवल नगरपालिका)को मोरेलीमा विसं २०३३ चैत ३ गते बुधबार पिता भक्तबहादुर रावल र माता धनीदेवी रावलका माहिलो सन्तानका रूपमा जन्मिएका जनक रावलले अध्ययनतर्फ स्नातक पत्रकारिता तथा आमसञ्चारमा र स्नातकोत्तर राजनीतिशास्त्र, इतिहासमा गरेको देखिन्छ । पुरातनवादी परिवेशमा हुर्किएका रावलकोे घरमा नाच्ने, गाउने काम केवल वादी, पातर (मनोरञ्जन दिलाउने समूह)को मात्र हो भन्ने पुरानो सामाजिक धारणाको प्रभावले अघोषित प्रतिबन्ध थियो  ।

आफूहरूले केवल पढ्नुपर्छ भन्ने अविभावकको आदेश र शिक्षाका बाबजुद जनक भने बाल्यकालदेखि नै रचना गर्ने, नाच्ने गाउने कार्यप्रति आकृष्ट भए । सुरु-सुरुमा उनी अविभावकले थाहा नपाउने गरी रचना गर्दथे र आफैं गुनगुनाउँथे र विद्यालयमा हुने कथा, कविता वाचन, खेलकुद आदिमा सहभागिता जनाउँथे । २०४६ सालको आन्दोलनताका गाउँघरमा चेतनाको प्रचारप्रसारको लागि हिँडेका उनले ख्याल ख्यालमै कुदेका यी शब्दहरू-
‘देश बनाउँछु भन्नेहरूको कुरा मात्र भयो
जनता हेर्‍यो भोक भोकै देश नाङ्गै भयो
देश बिग्रयो लौन हजुर
हुनुपर्‍यो जनता सचेत शासक इमानदार ।’
मादल, हार्मोनियममा सजाएर गीतका रूपमा जनताबीच प्रकट गराइदिएपछि उनले रातोरात गीतकार भएको महसुस गर्न थाले । रेडियो नेपालबाट २०४९ सालमा ‘कोखको पीडा’ नाटक प्रशारण भएपछि घरपरिवारको चाहनाविपरीत उनमा लेख्ने सोच झन् प्रवल हुँदै गयो । जहाँ इच्छा त्यहाँ उपाय अझै केही कालपर्यन्त उनले परिवारबाट लुकिछिपी लेखन कार्यलाई निरन्तरता दिइरहे । हुने बिरुवाका चिल्लापात भनेझँै विद्यालयमा हुने कविता प्रतियोगिताहरूमा उनले पहिलो, दोस्रो स्थान पाउन थाले । यसबेलासम्ममा उनको वकृत्वकलामा पनि निखार आइसकेको थियो ।

उच्च शिक्षाका लागि घर छोडेर काठमाडौं पुगेपछि आइएस्सी पढाइको क्रममा उनको लेखनले अझ मौलाउने अवसर पायो । त्यसकालमा सिर्जना गरेका गीतहरू उनका लागि दैनिक जोहो टार्ने माध्यम बन्न पुगे । उनले बेचेका कयौँ रचनाहरू अर्काको सिर्जनाको रूपमा निकै चर्चित भए अद्यापि संगीत जगत्मा गुञ्जिरहेका छन् भने उनका नाममा ‘गोठालो’, ‘सिमसिमे पानी’, ‘म माया लाउँदिन’, ‘धानको बाला’, ‘अचानो’, ‘पानी कुवाको’लगायत दर्जनौँ गीतहरू सञ्चामाध्यमका नियमित कार्यक्रम बने ।

कलाक्षेत्रमा केही चर्चित भएपछि उनी पत्रकारितामा हामफाले । एफएमका प्रस्तोता बनेँ । गीतसंगीत क्षेत्रका व्यक्तिहरूसँगको सामीप्यले त्यस कालखण्डको राष्ट्रिय नाचघरमा सुधार गरेर स्टेज कार्यक्रम गर्न थाले  । विविध क्षेत्रमा १२/१३ वर्षसम्म अहोरात्र काम गरे पनि पेट पाल्ने जोहो गर्न गाह्रो भएपछि गीतसंगीत, पत्रकारिता र चलचित्र क्षेत्रका थुप्रै व्यक्तित्वहरूसँग काम गरेको अनुभवलाई सम्पत्तिको रूपमा ग्रहण गर्दै पत्रकारिता क्षेत्रलाई बिदा गरे र अन्ततः एउटा निजी क्षेत्रको जागिरमा आफूलाई समाहित गरे । जनक व्यापारिक घरानाहरूको व्यापार व्यवसाय विस्तार र प्रवद्र्धन क्षेत्रमा काम गर्न थालेपछि हावाले समुद्रको छाललाई रोक्न खोजेझैँ, बादलको दिशा बदल्न खोजेझैँ उनलाई पनि व्यवसायले अल्मल्याउन थाल्यो  । केही कालपर्यन्त उनी निःशब्द रहेँ । नदीलाई विनानिकास थुने परिणाम के होला ? एउटा स्रष्टाको मनलाई व्यवसायका तगारोले कहाँ थुन्न सक्थ्यो र ! अन्ततः उनी पहिलो कृति ‘खाटा बसेको घाउ’ लिएर साहित्याकाशमा प्रकट भए ।

कृतिभित्र प्रवेश गर्दा !
उन्नाइस रचनाले उनिएको मलारूपी खाटा बसेको घाउ कृति मूलतः माओवादी द्वन्द्व, प्रेम, यात्रा, आत्मवृत्तान्तभित्र रूमलिएको कृति हो भन्दा अतिशयोक्ति नहोला । यस कृतिभित्रका कथालाई नियालेर हेर्दा विविध कालखण्डका आधारमा पनि अवलोकन गर्न सकिन्छ । कालका आधारमा विभाजन गर्न सकिने कथाहरूमा अधिकांश द्वन्द्वकालीन कथाहरू लिन सकिन्छ । प्रेमकथामा आधारित रचना
‘बिदाइ जिन्दगीको’, ‘अप्रत्यासित खोज’लगायत अन्य कथा समेटिएका छन् भने त्यसपछिका कथाहरूमा सशस्त्र द्वन्द्व र यायावरीय धारणका प्रतिनिधिका रूपमा प्रकट भएका देखिन्छन् ।

कथाकृति पढ्न सुरु गर्दा पहिलो कथाका रूपमा देखापर्ने ‘देवकी’ कथा द्वन्द्वभित्र रूमलिएको कथा हो । यो कथालाई लेखकले द्वन्द्वकालको अवस्थाबाट उष्ठान गरे पनि अन्ततः एउटी नारीको त्याग र तुष्टिको कथाबाट अन्त्य गरेका छन् । कथा प्रारभ्भ गर्दा लेखकले सशस्त्र द्वन्द्वकालीन अवस्थामा जनताको पीडालाई प्रकट गरेका छन् । एकातिर द्वन्द्वरत मिलिसियाको थिचोमिचो अर्कोतर्फ सेना र प्रहरीका बन्दुकका कुन्दाबाट बच्नुपर्ने जनताको निरीहता त्यसमाथि देश भुङ्ग्रोमा जलिरहेको तप्तकुण्ड, समग्रमा यही अवस्थालाई लेखकले सजीव उतारेका छन् ।

जनक व्यापारिक घरानाहरूको व्यापार व्यवसाय विस्तार र प्रवद्र्धन क्षेत्रमा काम गर्न थालेपछि हावाले समुद्रको छाललाई रोक्न खोजेझैँ, बादलको दिशा बदल्न खोजेझैँ उनलाई पनि व्यवसायले अल्मल्याउन थाल्यो  । केही कालपर्यन्त उनी निःशब्द रहेँ । अन्ततः उनी पहिलो कृति ‘खाटा बसेको घाउ’ लिएर साहित्याकाशमा प्रकट भए ।

लेखकले द्वन्द्व केका लागि ? भनेर प्रश्न गर्ने जिज्ञासु पाठकका लागि- ‘समाजको उन्मुक्ति, शासन र सत्ताबाटको उन्मुक्तिको प्रलोभनमा पारेर समाजको उन्मुक्ति, शासन र सत्ता उन्मुक्तिको प्रलोभन पारेर, लालसामा लागेर र रातारातको परिवर्तनका लागि अनौठो सपना बोकेर एउटा समूह सशक्त क्रान्तिमा होमिएको थियो । प्रजातन्त्रमा सहमति-विमति, समर्थन-विरोध गर्न पाइन्छ, जिन्दावाद-मूर्दावादका नारा लगाउन पाइन्छ, अधिकार र अवसरका लागि आन्दोलन गर्न पाइन्छ भन्ने कुरा सुनेको मात्र नभई पुस्तकहरूमा पढेको पनि थिएँ । क्रान्ति भन्नेबित्तिकै रक्तपातपूर्ण नै हुन्छ र रक्तपातपूर्ण क्रान्तिले मात्र परिवर्तन सम्भव हुन्छ भन्ने चाहिँ पहिलो पटक हाम्रै देशको सशस्त्र द्वन्द्वमा मात्र सुनेको थिएँ ।’ उत्तरसमेत दिएका छन् (रावल, पृष्ठ २) ।

लेखकले सुनेका कुरालाई यसरी प्रकट गरे पनि ग्रामीण सर्वसाधारणले बुझेको कुरालाई आमै देवकीमार्फत अझ सरल भावमा ‘खै बाबु ¤ मैले त केही बुझेकी छैन । तपाईंहरूकै लागि हो, हामीलाई के चाहिएको छ र ? खै के शासन, शासक, मुक्ति भन्छन् । याँ आफ्नो दुःखको भारी कसले बिसाइदेओस्, अरूको चासो लिएर के गर्नु ?’ भनेर व्यक्त गरेका छन् ।

यो कथाको दोस्रो पाटोमा कथाकारले नारीसंवेदनाको गाथा पोखेका छन्  । नारीभित्र चस्कने सौतारूपी काँडोको चस्को, पतिप्रतिको भरोसा, धर्मपरायणता र आमाको ममता यति धेरै विषयवस्तुलाई एउटा छोटो कथामाफर्त लेखकले प्रकट गरेका छन् । कथा ‘उकाली–ओह्राली, बिछोडपछि’ यो कथालाई लेखकले गाउँघरमा रहेको चरम गरिबी, त्यसबाट उत्पन्न विकृतिहरू, मुखियाको दमन, नारी शोषण र अन्ततः प्रतिशोधमा र समर्पणमा अन्त्य गराएका छन्  । देउकली र मोहनको प्रेम र समर्पणको मार्मिक कथा उन्दै ‘गरिबलाई ऐन, ठूलालाई चैन त जहाँ पनि हुँदोरहेछ  । नेपालको कानुन दैवले जानून् भनेको पनि यसैले त होला । गरिब जहाँ पनि गरिबै हुँदारहेछन्, बेसाहरा र टुहुरा हुँदारहेछन् ।’ भनेर देशको वर्तमान अवस्थाप्रति तीतो रोष प्रकट गरेका छन्  (रावल, पृष्ठ १७) ।

तेस्रो कथा ‘वेरोजगारी पीडा’ सीमान्तका युवाहरूले राजधानी आएर भोग्नुपरेका पीडायुक्त यो कथालाई व्यथाका रूपमा मननयोग्य हुनेगरी प्रकट गरेका छन् लेखकले  । जैमाने एक प्रतिनिधि पात्रका रूपमा भए पनि उसको यो पीडामा मलेसिया, अरब र विश्वका विभिन्न मुलुकमा पुगेका युवाको सुस्केरासमेत प्रतिविम्बित हुन्छ । बेराजगारी र विवशताभित्र उनेर विभत्सताको सेराफेरोमा लेखकले समाजले भोग्नुपरिरहेको महँगाइको मार, उद्योगीको क्रूरता र देशमा विद्यमान राजनीति अवस्था नेता र नैतिकतालाई एकै डालोमा राखेर पस्केका छन् । देशको वर्तमान राजनीतिलाई व्यंग्यका रूपमा रावले-‘उसले एउटा गुजारा गर्ने खालको सानै भए पनि काम खोज्यो । पुल्चोकदेखि बबरमहल, सिंहदरबारदेखि बालुवाटार, शीतलनिवासदेखि निर्मलनिवास, तर अहँ....उसले कतै केही पाउन सकेन । उसको कुनै दल भेटिएन, हेलो सरकारदेखि मधेशसम्म, अनि के केसम्म ! आफ्नो भन्ने नेता भेटिएन..., उसको कुनै आफ्नो भेटियो त केवल भोलिको एउटा अर्को काम, नयाँ काम अनि दिनभरिको बेफुर्सदिलो काम, उही एउटा सानो जागिर खोज्ने काम, बेरोजगारीको पीडा अनि भोको पेट र आशाको उदाउन नसकेको उज्यालो....।’ सटिक प्रहार गरेका छन् (रावल, पृष्ठ २४) ।

‘खाटा बसेको घाउ’ यो कथा माओवादी सशस्त्र युद्धको औचित्यमाथिको प्रश्नचिहृनका रूपमा लेखकले प्रस्तुत गरेका छन् । कथा छापामार योद्धाको बकपत्रको रूपमा अगाडि बढेको छ । ‘घात-प्रतिघात सहँदै, शोषण र उत्पीडनलाई समाजको प्रतिष्ठाको लागि दबाएर के पाएँ त मैले ?’ मलाई गहिरिएर घोच्दछ यो प्रश्नले बारम्बार, अनि छट्पटिएर उकुसमुकुस हुँदै निसासिन्छु म । ‘अपहेलना, तिरस्कार, लान्छना, कुण्ठा...! यस्तै यस्तै धेरै उत्तहरूको चाङ लाग्दछन्, मेराअगाडि ।’ (रावल, पृष्ठ २६) । शान्तिसम्झौता भएर यत्रो वर्ष बिते पनि हिजोका छापामार योद्धाले आफैँले गरेको युद्धमाथि गरेको प्रश्नोत्तर अति मननीय छ । यसरी योद्धामा वितृष्णा आउनु भनेको युद्ध औचित्यहीन थियो भन्ने सन्देश प्रवाह हुनु हो ।

यस कथाको एक प्रसंगा छापामार आफ्नी साथीलाई छापामार युवकहरूले गरेको पाशविक बलात्कारको स्वयम् योद्धाबाट यस प्रकार व्यक्त भएको छ-‘सबै लोग्नेमान्छे उस्तै हुँदारहेछन्, पाशविक ब्वाँसाजस्ता । नारीको भावना, संवेदनशीलता नबुझ्ने र शिकार सम्झेर लुछ्न तम्सिने र मौका मिल्यो आफ्नो प्यास मेटिहाल्ने कि आ ।’ (रावल, पृष्ठ ३७) । योद्धाको यो भनाइ माओवादीको नारा र कर्ममा कति पृथक्ता छ भन्ने बिम्बका रूपमा देखिन्छ । निरास योद्धाको ‘कति दिन टिक्ला र टाउको गिँडेर ल्याएको सत्ता ? मेरो मनले सोधेको प्रश्नको उत्तर त आगामी दिनमा भेटिने नै छ ।’ यो भनाइ अकल्पनीय लागे पनि लेखकले पुष्टिको लागि कथाको अन्त्यमा यो एउटा सत्य घटना भनेर लेखेपछि प्रश्न गर्ने ठाउँ पनि रहेन । ‘सम्झनाको अन्तिम सीमाभित्र’ कथामा लेखकले एक क्रन्तिकारीको त्याग स्वीकारोक्तिका अतिरिक्त क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीचको मनोभाव देखाएका छन् ।

‘कथा राजधानीका सडकको’ कथामा लेखकले सडकमा माग्न बस्नेहरूको पीडालाई, उनीहरूको व्यापार र शोषणलाई जस्ताको तस्तै प्रत्यक्षीकरण गरेका छन् । अपांग र माग्नेमाथि लेखेर पत्रकारीता चलाउने पत्रकार र फोटो खिचेर बेच्ने व्यापारीको अनैतिकताका बारेमा यी शब्दमार्फत ‘सोध्नुस् हजुर, हामी भन्छौँ । कति पत्रकार आउँछन्, हाम्रा कुरा लेखेर लिएर जान्छन् । कति विदेशीले हाम्रो फोटो खिचेर लान्छन् । सुनेको उनीहरूको देशमा हाम्रो फोटो बेच्दा धेरै पैसा आउँछ रे ! तपाईं लेख्ने हो कि फोटो खिच्ने हो
हजुर ?’ (रावल, पृष्ठ ५९) ।

वास्तवमा वर्षौँदेखि माग्नेहरूको बारेमा आवाज उठाए र लाखौँ डलर आए पनि सीमित एन.जि.ओ.को कमाइको माध्यम मात्र भयो । दिनभरि मागेको पैसा शक्तिशाली पुलिससम्मबाट लुटिएको पढ्नुपर्दा कस्को शीर नझुक्ला तर यथार्थमा यस्तै भइरहेको छ । आज सडक बालबालिका र माग्नेहरूको कुरा केवल गरिखाने भाँडाको रूपमा प्रयुक्त भएको छ । यी सब यावत् कुरालाई सूरुचिपूर्ण मार्मिक ढंगले प्रकट गेका छन् ।
‘आइमाईको आदेश’ यस कथामा कथाकारले द्वन्द्वकालमा कसरी जनताहरूलाई क्रन्तिकारी बनाइयो र अन्ततः परिणाम के भयो भन्ने विषयलाई उजागर गर्ने प्रयत्न गरेका छन् । मिलेर बसेका थारू र पहाडी समुदायलाई भड्काउन ‘हामी सर्वहाराको लागि लडनेछौँ । हामी क्रान्तिकारी हौँ नै वाद छरुनै सिद्धान्त छ, आफ्नो हाम्रो ।’ भनेर उल्काउने र “थारू र पहाडीबीचको युद्ध हो । कामदार र जमिन्दारबीचको युद्ध हो । शासक र जनताबीचको युद्ध हो । खेत भनेको जोत्नेको हुनुपर्दछ । हाम्रो क्रान्ति सफल भएमा धनी-गरिब सबै बराबर हुन्छन् ।

जमिन नभएकाले जमिन पाउने छन्, काम नभएकाले काम पाउने छन्, बास नभएकाले घर पाउने छन् नो जातीय पहिचानको राज्य हुनेछ आ-आफ्नो । यस वर्ष कसैले पनि पहाडियाहरूको खेतमा धान लगाउने छैनौं । यदि लगायौं भने त्यो जमिन हाम्रो बनाएर लगाउनेछाँै ।’ (रावल, पृष्ठ ७०) आदि इत्यादि भनेर भड्काउने काम भयो भन्ने कुरालाई सूक्ष्म तरिकाले मैयाँ थरूनीमार्फत प्रकट गरेका छन् । यसका अतिरिक्त नारी अस्मिताका कुरा, थारू जातिको रहनसहन बारेमा लेखेर यो कथालाई बहुआयामिक बनाउन प्रयत्न गरेका छन् । सपनाको क्रन्तिले मैयाँ थरूनीहरूको जीवन ‘बर्बाद’ मा लेखक क्षोभ प्रकट गर्दछन् ।

‘ओ सखी आऊ एकपल्ट सयर गरौँ’ यो कथामा लेखकले ‘अन्यायो पार्जितम् द्रव्यं दश वर्षाणि तिष्ठति’ यो उक्तिलाई आजका समाजका परिघटनाबाट परिपुष्टि गर्ने प्रयत्न गरेका छन् । यो व्यङ्ग्यात्मक कथामार्फत भ्रष्टाचारबाट गरेको कमाइले अन्ततः दुःख निम्त्याउँछ भन्ने सन्देश प्रवाह गरेका छन् । ‘उनको च्यातिएको इस्टकोट कथामा’ लेखकले यो देशमा एक सच्चा देशभक्तको कथालाई समेटेका छन् । कथा पढ्नेलाई के यो देश साँच्चिकै सतीको सरापले अझै प्रताडित छ त ? भन्ने विषयमा गौढ गर्न बाध्य बनाएका छन् । शहीद पिताले भिखारी बन्नुपर्ने, जनताको बोलीलाई काग कराएको संज्ञा दिने गाँस, बास, कपास, शिक्षा, स्वास्थ, रोजगारी जनताका अधिकार यी सबै भाषणमा सुनेर अघाउनुपर्ने हो भने हिजोको राजतन्त्र आजको प्रजातन्त्र, गणतन्त्र भन्दा बरू राम्रो थिएन ? भनेर यक्ष प्रश्न खडा गरेका छन् ।

‘अमर मिलन’ यो कथामार्फत लेखकले एक युवकका देश र समाजप्रतिका भावना अभिव्यक्त गरेका छन् भने कथा ‘मीठो आघातमा’ प्रेम र विछोडको अर्थात् अधुरो प्रेमको सच्चाईलाई उजागर गरेका छन् । लेखककै जीवनको घटनाझैँ प्रतीत हुने यो कथा विद्यार्थीकालमा प्रायशः हरेक पुस्तामा दोहोरिने कथा हो । ‘बर्बाद’ कथामा प्रेम असफलताको परिणती वेश्या बन्न पुगेकी युवती कमला युवक नरेन्द्रको असफल कथा आफैँमा शिक्षाप्रद कथा हो । यौवनको छालमा आफूलाई जोगाउन सकिएन भने जीवनको छालले सधैं चोट पुर्‍याउँछ । यही यथार्थता पस्किएका छन् कथाकारले ।

‘शुभकामना अमूर्त सपनाहरूलाई’ यस नियात्रात्मक कथामार्फत लेखकले हरेक नागरिकले वितृष्णमा बाँच्नुपरको आजको तीतो सत्यलाई रोचक बनाएका छन् । हरेक क्षेत्रका एउटा नागरिक किन प्रताडित छ यसको जवाफ स्वयं लेखकले ‘स्वप्नहरूको दुर्घटना परिवार र व्यक्तिगत जीवनमा मात्र हुँदैनन् । राष्ट्र र समाजको जिन्दगीमा पनि बारम्बार हुन्छन् ।’ (रावल, पृष्ठ १२१) भनेर व्यक्त गरेका छन् ।

‘ओशाकाको नांगो नाँच’ यो कथा राजधानीका डान्सबारको यथार्थ कथा हो  । आज पाश्चात्य संस्कृतिको आडमा हाम्रो धर्म र संस्कार कसरी विकारयुक्त बन्दैछ भन्ने कुरोको द्योतक हो । अशोकामा नाङ्गा युवति, यौन व्यापारी र यौनपिपासुहरूको ताण्डवलाई देखेर लेखक नतमस्तक हुन पुग्छन् र- ‘त्यो कोलाहलपूर्ण माहोल पनि मलाई शून्यमा महाशून्य लाग्यो । मनभित्र ज्वालामा महाज्वाला अग्निज्वाला दन्केर केही डढेजस्तो लागिरहेको थियो मलाई  । मान्छे सुमतीबाट कुमतीतिर लाग्दा चेतना र विवेक मरेर चेतनाशून्य-विवेकशून्य हुन्छ भन्ने सुनेको थिएँ, तर आज आफैँलाई त्यस्तै महसुस भएझैँ लागिरहेको थियो ।’ भन्छन् ।

प्रस्तुत कृति खाटा बसेको घाउमार्फत उदीयमान लेखक जनक राजवले माहुरीले विभिन्न फूलबाट रस लिएर मह बनाएझैँ सामाजभित्रका विविध पक्षलाई टपक्क टिपेर यो विविधतायुक्त कृति तयार पारेका छन् । यस कृतिमा विशेषतः सशस्त्र द्वन्द्व, प्रेम प्रसंग र सामाजिक विकृति आदिका विषयहरू प्रचुर मात्रामा पाइन्छन्  ।

आज देशमा सामाजिक विकृतिको विकराल रूपमा फैलिएका डान्सबारको संस्कारले हामी कसैको शिर ठाडो रहने अवस्था रहेन यही कुरालाई लेखक साक्षी बनेर यस प्रकार व्यक्त गर्छन्- ‘आर्थिक दूरावस्था भएका युवतीहरूमात्र नभई सम्पन्न परिवारका कुमारी र विवाहिताहरूसमेत ओशाकाहरूमा नाङ्गो नाच नाच्न, हेर्न र अर्काको अँगालोमा रात बिताउन व्यस्त भएको भेटेको थिएँ । दिउँसै अर्काको कारको सिटमा बसेर विदेशी पर्यटकहरूसँग राति र दिउँसै रङ्गीन साँझ बिताउने महिलाहरूको पनि कमी कहाँ थियो र ? राजधानीकै केटीहरू र घरधनीका छोरीबुहारीहरू नै पार्ट टाइम जबको रूपमा रेष्टुरेन्टमा यस्ता कार्य गरिरहेका मैले भेटेका ती क्याविनका सञ्चालकहरू आफैँले चिनाजानी गराउँदथे ।’ (रावल, पृष्ठट १३२) ।

‘नौली बज्यैको मैलो गाम्छा’ यो कथामा विभेदताले जकडिएको समाजमा कैडीमा पनि मिल्कन्छन् भिल्लका देशमा मणि’ भनेझैँ त्यागको महत्व हुँदैन भनेर लेखकले उदाहरणका रूपमा नौली बज्यैमार्फत् नारी पीडालाई अभिव्यक्त गरेका छन्  । सौताका छोराछोरी अन्त्यमा आफ्ना हुँदैनन् यो सामाजिक कथन झट्ट सुन्दा मनोगत लागे पनि यस कथामा लेखकले यही कुराको पुष्टि गर्न यत्न गरेका छन्  । नारीमाथिको शोषण, दमन र अत्याचारभित्र रूमलिएको यो कथामा बहुपत्नी प्रथाको नमुना प्रतुत गरेका छन् । जुहारीको हारजीतमा पतिपत्नी बन्नुपर्ने चलनको विकृत रूप देखाएका छन्  ।

रगतको बन्धन र साइनो केवल विवेकशीलका लागि मात्र हो । समाजले निःस्वार्थ भावले संथागत गरेको वृद्धाश्रम प्रथा निष्ठुर र विवेकहीनका साधनका रूपमा विकसित हुने प्रवृत्तिले समाज दूषित भएको आदि यावत् कुराको मार्मिक प्रस्तुति हो यो कथा  । यसका अतिरिक्त नौली बज्यैको यो कथन ‘एक्लै आएको हुँ र एक्लै जान्छु’ भनेर, तर यो संसारको रीत नै हो दुईजना कोही आउँदैनन् र चारजना बिनाकोही जान पनि सक्दैनन् । अत्यन्त मर्मस्पशी र संवेद्य अनुभूत हुन्छ ।

यस कृतिमा समावेश भएका अन्य कथामा ‘आफ्नै ठाउँमा विरानो’ मा द्वन्द्वकालको अवस्था, ‘मेरा दाजैको कथा’मा लेखक र गायक बुद्धिसागर लामिछानेको मित्रता र सामीप्यता, ‘अप्रत्यासित खोज’मा प्रेम पालुवामै तुषरापात भएकोमा एक प्रेमीको खिन्नता प्रकट भएको छ । कथा ‘बिदाइ जिन्दगिको’ एक अधुरो प्रेमकथा भए पनि नायक प्रेमको त्याग र समर्पण प्रतिशोध लिन खोज्नेहरूका लागि मननीय र ग्रहणीय छ ।

अन्त्यमा, प्रस्तुत कृति खाटा बसेको घाउमार्फत उदीयमान लेखक जनक राजवले माहुरीले विभिन्न फूलबाट रस लिएर मह बनाएझैँ सामाजभित्रका विविध पक्षलाई टपक्क टिपेर यो विविधतायुक्त कृति तयार पारेका छन् । यस कृतिमा विशेषतः सशस्त्र द्वन्द्व, प्रेम प्रसंग र सामाजिक विकृति आदिका विषय प्रचूर मात्रामा पाइन्छन्  । यस कृतिको सफलताको हार्दिक कामना गर्दै लेखकका प्रकाशोन्मुख अन्य कृतिहरू चाँडै प्रकाशनमा आउने अपेक्षा गर्दर्छु । khemdahal1@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?