पाल्पालाई टुरिजमको हव बनाउँछौँ : मुख्यमन्त्री चौधरी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पालाई टुरिजमको रुपमा विकास गर्ने बताउनुभएको छ । पाल्पामा नेपाली काँग्रेसले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पाल्पा पर्यटनको सम्भावना भएकाले त्यसको विकास गरी टुरिजमको हव बनाउने बताउनु भएको हो ।

उहाँले पाल्पालाई टुरिजमको हव बनाउने कुरामा प्रदेश सरकार लागि परेको बताउनुभयो । मुख्यमन्त्री चौधरीले भन्नुभयो‘ पाल्पालाई कसरी चलायमान बनाउने भन्ने कुरामा म आफै चिन्तित छु, लुम्बिनीमा आउने पर्यटकहरुलाई पाल्पामा कसरी बसाई बसाल्न सकिन्छ भन्ने कुरामा जिल्लाका निजी क्षेत्रले पनि सोच्नुपर्छ ।’

उहाँले पाल्पाको ढाका र करुवाको विज्ञ टोलीमार्फत अध्ययन गरी त्यसको ‘ब्राण्डिङ’ गर्ने पनि बताउनुभएको छ । मुख्यमन्त्री चौधरीले करुवा र ढाकाको कसरी बजारिकरण गर्ने भन्ने कुरामा आफु अत्यन्त चिन्तित रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘यहाँका ढाका र करुवालाई उचित व्यवस्थापन गरी रोजगारीसँग जोड्ने कुरामा प्रदेश सरकार प्रतिवद्ध छ ।’ उहाँले करुवा र ढाका पहिले प्रदेश सरकारले नै किन्ने बताउनुभयो । मुख्यमन्त्री चौधरीले भन्नुभयो ‘बजारको कुनै समस्या हुँदैन,पहिले हामीले नै किनिदिन्छौं ।’ उहाँले करुवा र ढाकाको ‘ब्राण्डिङ’ गर्ने विषय क्याविनेटबाटै पारित गराउने समेत बताउनुुभयो । उहाँले करुवा र ढाकालाई रोजगारीसँग जोड्न सके आर्थिक विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री चौधरीले भारत, बंगलादेशबाट ढाका आयात भएकाले त्यसलाई विस्थापित गरी गाउँ–गाउँमा पाल्पाली ढाका पु¥याउनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरू जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताउनुभयो । ‘बाहिरबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ मगरको घरमा बनेको चाहिँ घोप्ट्याउनुपर्ने स्थिति छ,’ मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरू बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।’ स्वदेशी उत्पादनहरू धेरै राम्रा भए पनि मार्केटिङ गर्न नसकेको चौधरीको भनाइ छ । अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकता राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेश सरकारले आर्थिक विकासलाई पहिलो प्राथमिकता दिएर काम गरेको भन्दै मुख्यमन्त्री चौधरीले युवा र महिलालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाईने सेमत बताउनुभयो । उहाँले भन्नुभयो ‘व्यक्तिलाई पैसा कमाउने बाटो बनाउनु अहिलेको आवश्यकता रहेको छ, प्रदेश सरकारले सोही अनुसार योजना बनाएर आगाडि बढेको छ ।’ मुख्यमन्त्री चौधरीले प्रत्येक युवा र महिललाई कम्तीमा २५÷३० हजार कमाउने वातावरण प्रदेश सरकारले सिर्जना गर्ने गरी काम गरेको बताउनुुभयो । सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिर्दै उनले अबको १०÷१५ दिनमा प्रदेश सरकारले पूर्णता पाउने समेत बताउनुभयो । उहाँले गठबन्धन एक रहेकाले माओवादीले समर्थ फिर्ता लिने भन्ने हल्लामा कुनै सत्यता नभएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले शैक्षिक हवका रुपमा रहेको पाल्पा पछिल्लो समय खस्कदै गएको भन्दै यसतर्फ ध्यान दिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले पाल्पाको शैक्षिकस्तर उकास्न प्राविधिक शिक्षा सञ्चालनमा पहल गर्न मुख्यमन्त्री चौधरीलाई आग्रह गर्नुभयो ।

काँग्रेसका निवर्तमान जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सदस्य एवं पूर्वमन्त्री वीरबहादुर रानाले भगवती जात्रा राष्ट्रिय गौरवको पर्व रहेकाले प्रदेश सरकारले सोही अनुसार ध्यान दिएको बताउनुभयो । उहाँले संघीय सरकारले पनि यसतर्फ चासो देखाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद रानाले भगवती मन्दिरको छानो चुहिने भएकाले त्यसको मर्मत संभारका लागि प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको औल्याउनुभयो । उहाँले पाल्पा दरबार, रानीमहल, रम्भादेवी जस्ता पाल्पाका मुख्य पर्यटकीय क्षेत्रहरुको विकासमा लाग्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले संस्थागत रुपमा नहिड्ने हो भने पार्टी संस्थागत बन्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।

सभापति श्रेष्ठले पार्टीले ल्याएका संस्थागत योजनाका फाइलहरु कार्यान्वयनमा ध्यान दिन मुख्यमन्त्री चौधरीलाई आग्रह गर्नुभयो । काँग्रेस जिल्ला सचिव सन्तोषकुमार थापाले पाल्पाको विकासमा सबै मिलेर जानु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?