काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको तेस्रो र राष्ट्रिय सभाको १५औँ अधिवेशन सुरु भएको हो । प्रतिनिधि सभामा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । प्रतिनिधि सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नुभएको छ । यस्तै, सोमबार बसेको अधिवेशनको पहिलो बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नुभएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्नुभएको छ ।
विद्युतीय हाजिरी सुरु
प्रतिनिधि सभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ । सभामुख घिमिरेले सांसदहरू संसद् बैठकमा उपस्थित हुन छाडेको भनेर हुने टिप्पणीको अन्त्य गर्नका लागि दैनिक रूपमा हाजिरी सार्वजनिक गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । सोमबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयमा भनिएको छ, ‘आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू गर्ने । विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने ।’ संसद्का यसअघिका बैठक गणपूरक संख्या नपुगेर पटक–पटक स्थगित गर्नुपरेको थियो । सांसदहरू हाजिरी गरेर संसद् बैठकबाट बाहिरिने गर्दा कुनै प्रस्ताव, प्रश्न निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेर रोकिने गरेका थिए ।
प्रतिनिधि सभाको क्यालेण्डर स्वीकृत
प्रतिनिधि सभाले १५ फागुनसम्मको क्यालेण्डर स्वीकृत गरेको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसद्मा छलफल गरिने विषयसहितको क्यालेण्डर स्वीकृत गरेको हो । उक्त क्यालेण्डरअनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्नेछ । त्यसपछि फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक बस्ने दिनमा हुने छलफलको विषय पनि सार्वजनिक गरेको छ । सभामुख देवराज घिमिरेले संसद्को यसै अधिवेशनबाट कार्यतालिका लागू हुने जानकारी दिनुभयो । उहाँले कार्यतालिका लागू हुने भएपछि सांसदहरूलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर संसदीय कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको बताउनुभयो ।
राष्ट्रका साझा मुद्दामा संसद्का दलहरू एक हुनुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको बताउनुभएको छ । सोमबारदेखि सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै उहाँले राष्ट्रका साझा मुद्दाहरूमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले एकतालाई निरन्तरता दिनुपर्ने पनि बताउनुभयो । लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने उल्लेख गर्नुभएका घिमिरेले जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात गरेर आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘विगतका दुई अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगत समितिहरूले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको छु । ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा पर्याप्त गृहकार्य भएका छन् ।’ उहाँले संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन सामूहिक प्रतिबद्धतामा जोड दिनुभएको छ ।
फागुन ६ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रत्येक अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा शीर्ष नेताले सम्बोधन गर्ने अभ्यास थियो । योपटक पहिलो बैठकमा सम्बोधन राखिएन । राजनीतिक दलका तर्फबाट सम्बोधन यही माघ २४ गतेको बैठकमा गर्ने तय छ । माघ २४ को बैठकमा शून्य समयसमेत राखिनेछ । आउँदो बुधबार बस्ने उक्त बैठकमा शून्य समय, दलीय आधारमा मन्तव्य राख्ने, सम्पत्ति शुद्धीकरण, (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने प्रस्ताव पेस गरिनेछ । त्यही दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तरको मिति निश्चित गर्ने पनि कार्यतालिका छ । त्यसपछिको बैठक आउँदो फागुन ६ गते बस्ने तय छ । ६ गते बस्ने तेस्रो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यतालिका छ ।
अध्यक्षताका लागि सात सांसद चयन
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आफू र उपसभामुखको अनुपस्थितिको अवस्थामा बैठकको अध्यक्षता गर्न सातजना सदस्यहरूको मनोनयन गर्नुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा सभामुख घिमिरेले सांसदहरू ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ र रामकृष्ण यादवलाई मनोनयन गर्नुभएको हो । उनीहरूलाई प्रतिनिधिसभा नियमावली,२०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरिएको सभामुख घिमिरेले जानकारी दिनुभयो । प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बिहान ११ बजे बस्ने गरी स्थगित गर्नुभएको छ ।
राम्रो वातावरणमा संसद् अधिवेशन सुरु भएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो वातावरणमा हिउँदे अधिवेशन सुरु भएको भन्दै यो अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण गर्ने बताउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा सुरु भएको छ अब अगाडि बढ्छ ।’
संसद्को महासचिवमा राष्ट्रपतिले चलखेल गरे : दाहाल
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसद्को महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाउनुभएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा उहाँले अधिवशेन सुरु भइसक्दा पनि संघीय संसद् कार्यवाहक महासचिवबाट चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? भन्दै प्रश्न गर्नुभयो । राष्ट्रपतिले अहिलेसम्म महासचिव नियुक्तिको पत्र रोकेको प्रति आपत्ति जनाउँदै एमाले सांसद दाहालले भन्नुभयो, ‘यो अधिवशेन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? एउटा संसद्को महासचिवमा तपाईँको चलखेल किन ? हामीलाई कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्ब दिइयोस् । मलाई विश्वास छ, आगामी बैठकहरूमा हामीले सम्माननीय राष्ट्रपतिको बारेमा अलि कडा शब्द प्रयोग गर्नुपर्ने छैन ।’
सरकारबाहिर हुँदा एमाले छट्पटिएको छ : रायमाझी
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारबाहिर बस्नुपर्दा एमाले छट्पटिएको टिप्पणी गर्नुभएको छ । आफूसहित गठबन्धन बनाएर सरकार गठन गरेमा पवित्र हुने र अरू दलहरू मिलेर गठबन्धन गरी सरकार बनाएमा अपवित्र गठबन्धन हुने भन्ने भ्रमबाट एमाले नेताहरू मुक्त हुनुपर्ने उहाँको भनाइ छ । राष्ट्रिय सभाको सोमबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै कांग्रेस दलका नेता रायमाझीले भन्नुभयो, ‘एमाले हरेक सरकारमा छिरेको पार्टी हो । अल्पमतको सरकार बनाएको बेलामा हमीले समर्थन गरेर नौ महिनासम्म टिकाइदिएको पार्टी हो । त्यो पार्टी आज केही समयदेखि सरकारबाहिर भएपछि छट्पटिएको छ ।’
गृहमन्त्रीले ‘स्टण्टबाजी’ गरेको सांसदको आरोप
नेपाली कांग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ । सोमबारबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्नो धारणा राख्दै उहाँले अहिले सरकारले स्टण्टबाजी गरिरहेको भन्दै स्टण्टबाजी गर्ने बेला नभएको बताउनुभयो । नेता रायमाझीले सरकारमा बस्ने मानिसहरूले काम गर्नुपर्ने भए पनि स्टण्टबाजी गरिरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्टण्टबाजी गर्ने काम गरेको आरोपसमेत लगाउनुभयो । उहाँले सरकार नौटंकी गर्ने ठाउँ नभएको जिकिर गर्नुभयो ।
सवारी दुर्घटनासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
राष्ट्रिय सभामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । एमाले सांसद दिलकुमारी रावल थापा ‘पार्वती’ प्रस्तावक रहेको प्रस्तावको समर्थकमा सांसदहरू कांग्रेसकी अनिता देवकोटा, नेकपा एमालेका भैरवसुन्दर श्रेष्ठ, माओवादी केन्द्रका गोपीबहादुर सार्की (अछामी), एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा), जनता समाजवादीका मोहम्मद खालिद, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा, स्वतन्त्र सांसद खिमलाल देवकोटा र मनोनीत सांसद विमला राई पौडेल रहनुभएको छ । प्रस्तावकले प्रस्ताव पेस गर्नुपर्ने कारणहरूमा १०औँ पटक संशोधन भएर पनि समस्यालाई सम्बोधन गर्न नसकेको प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई पुनरावलोकन गरी सडक सुरक्षा र सवारीसाधन सञ्चालन, यातायात सूचनासम्बन्धी प्रभावकारी व्यवस्थासहितको स्तरीय संरचना अनुरूपको वर्तमान समस्या र चुनौती सम्बोधन गर्ने विधेयक तत्काल संसद्मा पेस गर्न माग गरेका छन् ।
सवारीचालक अनुमति पत्र प्राप्ति अघि अनिवार्य रूपमा सवारी सञ्चालनसम्बन्धी पर्याप्त जानकारी उपलब्ध गराउनुका साथै चालक र सहचालकलाई आवधिक रूपमा सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्न, सडक सुरक्षा सावधानीसहित सडक निर्माणसम्बन्धी स्पष्ट मापदण्ड तय गरी तहगत रूपमा तीनै तहका निकायबाट निर्माण गरिने सडकको न्यूनतम मापदण्डमा एकरूपता कायम गर्न भनिएको छ । सडक दुर्घटनामा परी घाइते भएका नागरिकको उपचारको विषयलाई स्वास्थ्य बिमाको अंगका रूपमा व्यवस्था मिलाउन र दुर्घटनामा परी अपांगता भएका नागरिकको जीवन निर्वाहका लागि रोजगारीमा प्राथमिकता तथा आर्थिक वृत्तिको प्रबन्ध गर्न भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच