
पौरस्त्यदर्शनहरू भौतिकवादी र अध्यात्मवादी दुवै रहेकाले र दर्शनको उद्देश्य सत्यदर्शनको तार्किक प्रयत्न हो भन्ने बुझेपछि केही भ्रमहरू भेटिन्छन् । फेरि आध्यात्मिक नभइकन पनि पौरस्त्य चिन्तक हुन सकिन्छ । त्यसमाथि आध्यात्मिक वा भौतिक हुनुभनेको मानिसको भाववृत्ति हो । भौतिकता अध्यात्मनिरपेक्ष र आध्यात्मिकता भौतिकता निरपेक्ष कुरा पनि होइन । अध्यात्मको पनि चिन्तनको आधार भौतिक जीवन र जगत् नै हो । यस अर्थमा कोरा आध्यात्मिकता र कोरा भौतिकता आफैंमा पूर्ण चिन्तन होइन । अध्यात्मको उपासना, अभ्यास र विश्वास भएन भने सबै मानिस भौतिकमात्रै हुन्छ । जात, धर्म, लिंग, वर्ण र वंश परम्पराले कसैको वैचारिकी मापन हुँदैन ।
कुनै खास सिद्धान्तको व्याख्याता बन्दैमा मानिसभित्रको भाव वृत्ति र विश्वास फेरिनु पर्छ भन्ने पनि छैन । अन्तः प्रेरणाले मानिसलाई वस्तुगत मात्रै रहन दिँदैन । तार्किक विचार र भावगत विश्वास दुबैको समन्वयमा जीवन र जगत्सम्बन्धी धारणा र दृष्टिकोणहरू बनेका हुन्छन् । जीवन के हो ? जगत् के हो ? मानिसको कर्तव्य, उद्देश्य र दायित्व के हो ? जीवनका दुःखहरूबाट कसरी छुट्कारा पाइन्छ ? सुखको प्राप्ति कसरी हुन्छ ? जस्ता मूल प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न नै आजसम्मको पौरस्त्यदार्शनिक चिन्तन हो । जीवन र जगत्लाई हेर्ने पूर्वीय आँखाहरू पश्चिमी आँखाहरूभन्दा धेरै पुराना छन् र बढी गहिरा छन् । प्रत्यक्ष वस्तुको पहिचान केवल भौतिक प्रमाणहरूले मात्र पनि गराउन सकेको अवस्था छैन । ज्यादै वस्तुवादी भएर पनि जीवन र जगत्को पहिचान हुन सकेको छैन ।
अध्यात्मवादको प्रतिपक्ष विचार नै भौतिकवाद हो । पक्ष र प्रतिपक्ष विचारको संयोग पौरस्त्यदर्शनहरू हुन् । एउटाको अनुपस्थितिमा अर्को विचारले निखार पाउन नसक्ने हुनाले यी दुई विचारहरू एक अर्काका परिपूरक विचारहरू पनि हुन् ।
कठोपनिषद्मा नचिकेता र यमको संवाद भएको प्रसङ्ग उल्लेख गर्दै राधाकृष्णन्ले भनेका छन् । जीवन दुःखमय छ, साथै अनित्य पनि छ । संसारका पदार्थहरूले हामीलाई आकर्षित त गर्दछन् तर तिनले दुःख मात्र दिन्छन् । हामी भौतिकवादी बनेर संसारी आकर्षणलाई सर्वेसर्वा ठानेर त्यसको महत्तागानमा पनि लागौंला र अध्यात्मको विश्वासवादी बाटोका विपक्षमा उभिउँला त्यो पनि ठीकै छ । हामीहरूले सुन्दर युवतीहरू, घोडाहरू, धनसम्पत्ति र राज्यसत्ता नै प्राप्त गरौंला र भोग पनि गरौंला तर जब हामीले तिमी अर्थात् अवश्यम्भावी मृत्युलाई सामुन्नेमा देखौंला, के हामी सुखी र खुशी बन्न सकौंला ? भनेर जीवनको अनित्यता र दुःखमयताका विषयमा गम्भीर तर्क प्रस्तुत गरेका छन् ।
यसपछि जन्ममृत्युको निरन्तर क्रमलाई आध्यात्मिक दृष्टिले हेरेर पूर्वजन्म र पुनर्जन्मको शृङ्खला जोड्नतिर नलाग्ने हो भने जीवन र जगत्सम्बन्धी यो पौरस्त्य चिन्तन जीवनबोधको निम्ति पर्याप्त छैन त ? अर्थात् वेद, उपनिषद्, दर्शनको यही क्रमबद्ध चिन्तन नै भौतिकताबोधको पनि आधार हो । यो युगमा प्रादुर्भाव भएका हरेक सम्प्र्रदायहरूले जीवन र जगत्को अनिन्यततासम्बन्धी भावलाई अङ्गीकार गरे । त्यसपछि योजगत्लाई जगत्व्यापार, संसार, व्यवहार, प्रपञ्च आदि नाम दिन थालियो । भनिन्छ त्यसपछि कर्मवाद वा कर्म सिद्धान्त जोअध्यात्मलाई नमानेर जीवन र जगत्को व्याख्या गर्ने नयाँ आधार प्राप्त भयो त्यसको सहज व्याख्या सम्भव भएको हो ।
भौतिकवाद पनि हाम्रै ऋग्वेद आदि वाङ्मय ग्रन्थहरूलाई नै आधार बनाएर सँगसँगै विकास भएको हो । अर्को अर्थमा अध्यात्मवादको प्रतिपक्ष विचार नै भौतिकवाद हो । पक्ष र प्रतिपक्ष विचारको संयोग पौरस्त्यदर्शनहरू हुन् । एउटाको अनुपस्थितिमा अर्को विचारले निखार पाउन नसक्ने हुनाले यी दुई विचारहरू एक अर्काका परिपूरक विचारहरू पनि हुन् । त्यसैले पनि भौतिकवाद निरपेक्ष अध्यात्मवाद र अध्यात्मवाद निरपेक्ष भौतिकवाद पनि आपूmमा पूर्ण बन्न सक्दैनन् । मानिस यिनै दुई विचार, दर्शन र व्यवहारको संयुक्त रूप भएकाले पनि अविभाज्य छ, विश्लेष्य छ, व्याख्येय छ । भनिन्छ भारतीय (पौरस्त्य) दर्शनहरूमा व्याख्येय भौतिकवाद अर्थात् अनीश्वरवाद पनि अध्यात्मवादसँग सङ्गति राख्दछ । अर्थात् भारतीय (पौरस्त्य) अनीश्वरवाद अध्यात्मवादकै पोषक वाद हो ।
भौतिकवाद पनि त्यत्तिकै पुरानो हो जति पुरानो दर्शनशास्त्र छ । ऋग्वेदमै पनि भौतिकवादी विचारका बीज पाइन्छन् । पछिल्लो समयमा अनेक प्रमाणहरूले बौद्धमतभन्दा पहिल्यै पनि भौतिकवादी विचारहरू अस्तित्वमा थिए र निरन्तर छन् भन्ने पुष्टि गरेका छन् । जब शरीरबाट प्राणतत्त्व निस्कन्छ त्यसपछि पृथ्वी, जल, अग्नि र वायुतत्त्वले बनेको शरीरका तत्त्वहरू ती ती तत्वमा विलय हुन पुग्दछन् । बुद्धिमान् होस् वा मूर्ख सबैको शरीर समान किसिमले नष्ट हुन्छ । त्यसपछि अघिल्लो सत्ता केही रहँदैन भन्ने भौतिकवादी मत यद्यपि अध्यात्मले मानेको पञ्चतत्वका ठाउँमा चारतत्त्वलाई आधार मानेर व्याख्यायित छ तर त्यो पौरस्त्यदर्शन नै हो ।
भनिन्छ धार्मिक एकाधिकारलाई अन्त्य गर्न अथवा धार्मिक विश्वासबाट पूर्ण स्वतन्त्र बन्नको निम्ति भौतिकवादीहरू अध्यात्मवादीहरू हिँडेको बाटोभन्दा विपरीत बाटोमा परैसम्म पुगेर सोचे । तिनका विचारहरूबाट जान्न सकिन्छ कि प्रत्येक बाधाहरूलाई हटाउँदै कतिसम्म स्वतन्त्र र पर पुग्न सकिन्छ । यो भनाइले भौतिकवादी विचार पनि त्यत्तिकै पुरानो, सशक्त र मार्गदर्शक बन्दै आइरहेको छ जति आध्यात्मिक विचार छ भन्ने कुरा र भौतिकवादी विचारको पनि आधार विचार आध्यात्मिक विचार हो भन्ने कुरालाई सँगै व्याख्या गरेको बुझ्न सकिन्छ । यसरी हेर्दा भौतिकवादी विचार अध्यात्मवादी विचारको निम्ति र अध्यात्मवादी विचार भौतिकवादी विचारको निम्ति पूरक विचार भएर आएको कुरा पनि त्यत्तिकै सान्दर्भिक हो भन्ने लाग्दछ ।
भौतिकवादी विचारलाई व्याख्या विवेचना गर्ने पौरस्त्यदर्शनहरूमा चार्वाक, बौद्ध र जैनलाई मुख्य मानिएको छ । त्यसो त आस्तिक भनिएका दर्शनहरू पनि सबै तत्वहरूमा पूर्ण सहमति पाइँदैन । वेदलाई प्रमाण मान्ने साङ्ख्यदर्शनले ईश्वरलाई सृष्टिको आधार मान्दैन, योगदर्शनले सृष्टिको निम्ति ईश्वर प्रेरक तत्त्व मात्र हो, ईश्वर स्वयं सृष्टिकर्ता होइन भन्ने मान्दछ, न्याय र वैशेषिक दर्शनले ईश्वरलाई नै सृष्टिकर्ता मान्दछन्, मीमांसा र वेदान्तदर्शनमा वेदलाई सर्वोपरि मानिएको छ । ईश्वरका विषयमा चर्चै गरिएको छैन । यस्तै धेरै मतान्तर हुँदाहुँदै पनि वेदलाई मानेका आधारमा यी दर्शनहरू आध्यात्मिक भएका छन् । भौतिकवादी दर्शनहरूले वेदको अपौरुषेयता र प्रामाणिकतालाई मानेका छैनन् ।
धर्म र परलोकलाई मान्ने बौद्ध र जैनदर्शनलाई सीमान्तीय भौतिक र चार्वाकलाई पूर्ण भौतिकदर्शन मानिएको छ । भौतिक र आध्यात्मिकदर्शनका केही विशिष्ट चिन्तनहरू जुन ज्यादै मननीय र ग्रहणीय पनि छन् । खास खास मुद्दाहरूमा देखिएका मतान्तरहरूले भौतिकवादी र अध्यात्मवादी दर्शनका बीचमा सीमारेखा कोरेका छन् र ती चिन्तनीय पनि छन् । तापनि दर्शनका अध्येताहरूले यी दर्शनका केही अनौठा पक्षहरूलाई जीवन र जगत्को निम्ति उपयोगी ठानेका छन् । साङ्ख्यको सत्कार्यवाद, न्यायको असत्कार्यवाद, योगको योगाभ्यास, वेदान्तको अद्वैतवाद, बौद्धको विपश्यना, जैनको स्याद्वाद र चार्वाकको भौतिकवाद यी सबै अनौठा सोचहरू हुन् भनेर पौरस्त्यदर्शनका विशिष्टताका बारेमा चर्चा गरिएको पाइन्छ ।
त्यतिमात्र होइन दार्शनिकहरूले भौतिक र आध्यात्मिक दुबै दर्शनहरू मिलेपछि मात्र पौरस्त्यदर्शन बन्दछ भनेका छन् । पौरस्त्यदर्शनमा कट्टरपन्थी अन्धानुकरणको स्वभाव नभई समन्वयात्मक स्वभाव देखिन्छ । परस्पर विरोधीजस्ता लाग्ने दर्शनमा पनि समन्वयका सङ्केत पाइन्छन्भन्ने बुझाइ पनि पौरस्त्यदर्शनका स्वभावहरूको अध्ययनपछि प्राप्त भएको हो । जीवन, जगत्, प्रेम, मृत्यु, निरसारता, सुख, दुःख, शून्य, महाशून्य, युद्ध, हिंसा, निरर्थकता, ईश्वरत्व, पाप, धर्म, स्वर्ग, मोक्ष आदि तत्त्वहरू नै पौरस्त्य दार्शनिक महत्वका विषयहरू हुन् । पौरस्त्य हुन् वा पाश्चात्य, भौतिक हुन् वा आध्यात्मिक, नास्तिक हुन् वा आस्तिक सबै दर्शनको चिन्तन यिनै शब्दहरूले व्यक्त गर्ने अर्थ र तात्पर्यमा केन्द्रित रहेको पाइन्छ ।
भौतिकदर्शनहरूले नाशवान् र क्षणिक वस्तुमा प्रेम गर किनकि ती छिट्टै नाश हुन सक्छन् । जीवन, मानिस जातिले प्राप्त गरेको सुन्दर उपहार हो । सुख र दुःख जीवनका स्वाभाविक वृत्तिहरू हुन् । जन्म र मृत्युलाई अतिरञ्जना नगर ।
संसारका सबै दर्शनहरू जीवन र जगत्लाई केन्द्रमा राखेर विकसित भएका छन् । जीवन के हो ? जगत् के हो ? भन्ने जिज्ञासाबाट थालिएको दर्शनको चिन्तन मृत्युसम्म मात्र पुग्दैन । मृत्युपछिको परासंसार र मोक्षसम्म पनि पुगेको पाइन्छ । आध्यात्मिक दर्शनहरूले जीवनलाई पूर्वजन्मको पुण्यकर्मको परिणाम मानेर जीवनका रहस्यहरूलाई बुझ्दै जान र अर्को-अर्को जन्मलाई समेत सार्थक पार्ने कर्म गर्न मानिसलाई सन्देश दिन्छन् । यो संसार दुःखको संसार हो, ससाना सुखका बीचमा ठूला ठूला दुःखहरूले व्यथित तुल्याउनु जीवनको स्वभाव हो ।
सकेसम्म दुःखको आत्यन्तिक निवृत्तिको मार्ग पछ्याउनुपर्छ । त्यो मार्ग मुक्तिको मार्ग हो । यो संसार क्षणिक र नाशवान् छ, मानिस मृत्युको नियति लिएर आएको हुन्छ । नचाहँदा नचाहँदै मर्नुपर्ने यो अनिश्चितता भित्रको निश्चितता मानिसको नियति हो ।
आफ्नो अधीनमा नरहेको जन्म र मृत्युको दोसाँधमा मानिस बाँच्न र कर्म गर्न विवश र बाध्य छ । यो बाध्यतालाई बुझेर जीवनलाई सार्थक पार्ने सत्कर्मतर्फ प्रेरित हुन आवश्यक छ । यो संसार युद्ध, हत्या, मारकाट, कोलाहल, अशान्ति, बेथिति र विसङ्गतिले भरिएको हुँदा यहाँ आफ्नो भन्ने, स्थिर भन्ने र सुखमय भन्ने वस्तु ज्यादै कम छन् र ती पनि दुःखका कारक नै हुन् । त्यसैले सांसारिक मोहभन्दा पर निस्पृह, निर्मोह बनेर आध्यात्मिक मार्गलाई अवलम्बन गरेर अघि बढ्न आवश्यक छ । यो संसारमा गरिने प्रेम क्षणिक प्रेम हो, कायिक प्रेम क्षणिक हुन्छ । आत्मिक प्रेम गर, स्थिर तत्त्वमा प्रेम गर । स्थिर तत्त्व भनेको ईश्वर, आत्मा वा परमात्मा तत्व हो ।
ती बाहेकका वस्तु निरर्थक छन् र निस्सार पनि छन् । यो जीवन सुख दुःखका भावमा रगमगिएर वास्तविक तत्त्वलाई नबुझेरै समाप्त हुन सक्छ । त्यसैले अस्थायी तत्त्वमा प्रेम नगर, नाशवान् तत्त्वप्रति आशक्त नहोऊ, त्यसप्रति पिर नगर, विषाद नगर भन्ने सन्देश गर्नतर्पm पौरस्त्यदर्शनहरू केन्द्रित रहेका छन् । यसको ठीकविपरीत भौतिकदर्शनहरूले नाशवान् र क्षणिक वस्तुमा प्रेम गर किनकि ती छिट्टै नाश हुन सक्छन् । जीवन, मानिस जातिले प्राप्त गरेको सुन्दर उपहार हो । सुख र दुःख जीवनका स्वाभाविक वृत्तिहरू हुन् । जन्म र मृत्युलाई अतिरञ्जना नगर । हो जीवन विवश, बाध्य र नाशवान् छ तापनि मानिसले आफ्ना मानवीय कर्महरू गर्दै बेथितिसँग लड्दै जानु पर्दछ ।
परलोक, स्वर्ग वा मोक्ष मानिसका इन्द्रियहरूले ज्ञान गर्न नसक्ने काल्पनिक तत्व हुन् । ईश्वरको कल्पना र विश्वासको पनि अर्थ छैन भन्ने जस्ता केही वस्तुवादी धारणाहरू अघि सारेको पाइन्छ । माटो, पानी, आगो र हावालाई मुख्य तत्त्व मान्नु, धर्तीभन्दा परको लोकमाथि विश्वास नगर्नु, इन्द्रियसम्बद्ध ज्ञानलाई मात्र मान्नु, प्रत्यक्षलाई मात्र प्रमाण मान्नु, धर्मलाई मूर्खतापूर्ण मतिभ्रम वा मानसिक रोग ठान्नु, धार्मिक अन्धविश्वास एवं ईश्वरीय कल्पना र सत्तामा भरोसा नगर्नु, पापपुण्यको भावबाट सर्वथा उदासीन रहनु, सुख र दुःखलाई जीवनका मुख्य सत्य मान्नु, जीवनभन्दा परको तत्वमा विश्वास नगर्नु आदि मूलभूत कुराहरू चार्वाकीय भौतिकवादका पहिचानका आधार हुन् ।
बौद्ध र जैनलाई पनि भौतिकवादी मान्दा माथिका विचारहरूमा केही परिवर्तन पनि पाइन्छ तर जीवन न त भौतिकवादीहरूले भनेको जस्तै वा अध्यात्मवादीले भनेको जस्तैमात्र छ ! जीवन भोगाइ ती सिद्धान्तभन्दा केही फरक छ । भोगाइ र अनुभूतिहरूको पूर्ण अनुकरण सिद्धान्तहरूले पनि गर्न सकेका छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच