
डा.माधव अधिकारी
हाम्रो देशको सन्दर्भमा विशिष्ट भौगोलिक बनोट, भौगर्भिक गतिशीलता, प्राकृतिक एवं मानवीय क्रियाकलापबाट सिर्जित साथै जलवायु परिवर्तनबाट परेको प्रतिकूल प्रभावका कारणले विपद्को दृष्टिकोणले उच्च जोखिममा रहेको बाढी, पहिरो, महामारी, आगलागी, शीतलहर र हिमताल विष्फोट, हिमपहिरो तथा विनाशकारी भूकम्पको जोखिममा रहेको विभिन्न अध्ययन अनुसन्धान र घटनाले देखाएको छ । विगतमा विपद् जोखिम व्यवस्थापनको सवालमा पूर्वतयारी तथा जोखिम न्यूनीकरण कार्यलाई विशेष महत्व नदिइँदा धनजनको ठूलो नोक्सानी भएको छ । विपद् जोखिम व्यवस्थापनलाई विकासका योजनासँग मूलप्रवाहीकरण गरी उत्पादनशील समुदाय, समाजको दायित्वभित्र पार्न आआफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक भएको छ ।
नेपालको राजधानी काठमाडौं उपत्यका साथै तराईका क्षेत्र तथा पहाडी भू-भागहरू प्राकृतिक प्रकोपको व्यवस्थापनको दृष्टिले एक अति सम्वेदनशील क्षेत्र मानिन्छ । घना आवादी बढ्दै जानु, कमजोर किसिमले आधारभूत संरचनाहरू निर्माण हुनु, जाडो याममा शीतलहर र आगलागी, वर्षायाममा चारैतिर ठूलो बाढीपहिरोका समस्याका कारण यहाँको प्रकोप संकटासन्न तथा जोखिमको स्तर बढ्दै गएको पाइन्छ । साथै, अव्यवस्थित रूपमा भइरहेको शहरीकरणसँगै भूकम्पीय दृष्टिले नगरक्षेत्रका भवन तथा भौतिक संरचनाहरू पनि जोखिमको अवस्थामा छन् ।
नेपालका विभिन्न क्षेत्रमा भूकम्प, बाढीपहिरो, विष्फोट, आगलागी, सुख्खा, आँधिबेरी, शीतलहर, चट्याङ, डढेलोजस्ता सम्भाव्य सबै प्रकारका विपद्जन्य अवस्थाहरूको पूर्वसूचना, संकटासन्न अवस्था तथा त्यस्ता क्षेत्रहरूमा रहेका जोखिम विवरण समुदाय र सरोकारवाला निकायलाई उपलब्ध गराई सम्भाव्य विपद्बाट बचाउन पूर्वतयारीका लागि संघ, प्रदेश र स्थानीय तहमा सो सम्बन्धी कार्य गर्न आवश्यक छ । राजनीति निकै अस्थिर भएकाले प्राकृतिक विपद् र वातावरण संरक्षणमा ध्यान जान सकेको थिएन ।
नेपाल बाढीपहिरो, भूकम्प, आगलागी, शीतलहर, सर्पको टोकाइ एवं जलवायु परिवर्तन जस्ता विविध प्रकृतिका प्रकोपका घटनाबाट संकटासन्न अवस्थामा रहेको छ । विपद् व्यवस्थापनको उचित पूर्वतयारी नहुँदा यस्ता विपद्लाई व्यवस्थापन गर्न कठिनाइ र लामो समय लाग्छ । जाडो याम बढेसँगै आगो ताप्न जथाभावी फोहोर जलाउने तथा आगो बाल्ने कारणले गर्दा पनि आगलागी तथा डढेलो जस्ता विपद्को सामना गर्नुपरेको छ । यसका अतिरिक्त विभिन्न प्रकृतिका महामारी, औद्योगिक दुर्घटना, विष्फोटन, सडक तथा हवाई दुर्घटना र विषालु पदार्थसँग सम्बन्धित विपद्का घटना हुनेगरेका छन् । नेपालले वर्षेनी प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनाको सामना गरिरहनुपरेको छ ।
केही तथ्य र तथ्यांकका आधारमा नेपाल विश्वमा विपद् जोखिमको नक्शांकनमा बीसौं स्थानमा रहेको छ भने नेपाललाई पहिरो र बाढीजस्ता जलजन्य प्रकोपको जोखिमको दृष्टिकोणबाट तीसांै स्थानमा राखिएको छ । काठमाडौं उपत्यकालगायत नेपालको पहाडी र हिमाली भाग तथा भूकम्पीय प्रभावका दृष्टिबाट प्रथम जोखिमपूर्ण स्थानमा रहेको छ । नेपालको सम्पूर्ण भू–भाग भूकम्प जाने सम्भावित क्षेत्रभित्र पर्दछ भने मध्यभूभाग अति जोखिम क्षेत्रभित्र पर्दछ । जलवायु परिवर्तनको कारणले नेपालमा नियमित रूपमा वर्षा हुँदैन । कहिले भारी वर्षा कहिले अनावृष्टि हुने खतरा छ भने कमजोर र भिरालो धरातलीय कारणबाट भूक्षय भई नेपालको अधिकांश तराई भू–भागमा बाढीपहिरोले सताउने गरेको छ भने अर्कोतर्फ वनजंगलको विनाश, प्रकृतिक स्रोतहरू, पानी, ढुंगा, बालुवा आदिको अनियन्त्रित दोहन तथा अव्यवस्थित बसोवासले धेरै विपद् निम्त्याएको अवस्था छ ।
यसले राष्ट्रको अर्बाैं आर्थिक धनराशी खेर गएको छ । उदाहरणका लागि आश्विन १२ गते परेको अविरल वर्षाका कारण अर्बाैं आर्थिक क्षति तथा लाखौं मान्छे प्रभावित भई केहीको ज्यानसमेत गएको छ । सो सन्दर्भमा जति विपद् पूर्वतयारीको योजना भए पनि कागजमा मात्र सीमित भएको व्यापक जनगुनासो छ ।
आगजनीतर्फ विशेषगरी तराईमा गर्मीको मौसममा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्ने भएकाले ग्रामीण बस्तीमा आगलागी ठूलो समस्याको रूपमा रहेका छ भने जाडो महिनामा शीतलहरको उच्च जोखिम रेहेको छ । नेपालमा यस्ता विपद्सँग जुध्नसक्ने क्षमताको विकास र पूर्वतयारी जस्ता कार्यमा सारभूत रूपमा ठोस कार्य अझै हुनसकेको छैन । नेपालको भूधरातलीय स्वरूप अनुसार विपद्को दृष्टिकोणले अति सम्वेदनशील क्षेत्र मानिन्छ । यहाँ प्राकृतिक एवं मानवीय दुवै कारणले ठूलाठूला विपद्का घटना भई त्यसबाट मानवीय क्षति, भौतिक सम्पतिको विनाश तथा वातावरणीय ह्रास भइरहेको अवस्था छ । नेपालमा प्रकोप बाढी आउनुमा मानवीय र प्राकृतिक कारण नै प्रमुख रूपमा छन् ।
भूवनोट, जलवायु परिवर्तनको असरले जथाभावी बाढीपहिरो आउने, कतै सुख्खा अनावृष्टि पनि भएको उदाहरण छ भने चट्यांगबाट पनि मानिसको मृत्यु भएको अवस्था छ । वनविनाश, अव्यवस्थित बसोवास, जनचेतनाको कमी, नदीमाथिको दोहन, जथाभावी चरिचरणले गर्दा विभिन्न विपद् आएको, त्यसबाट प्रशस्त धनमालको क्षति भएको छ । सो निराकरणका लागि विपद्का प्रतिकार्य तथा पूर्वतयारी योजना निर्माणमा सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, सरोकारवाला तथा साझेदार संस्थाका दायित्व रहन्छ । ऐनअनुसार सबै निकायमा रहेको विपद् व्यवस्थापन समितिले प्रभावित क्षेत्रमा प्रभावकारी योजना तयार गरी कार्यान्वयन गरी उद्धार र राहतको व्यवस्था मिलाउनु अति आवश्यक छ ।
विपद्का समयमा प्रभावित तथा पीडित समुदायलाई उपलब्ध गराउन मानवीय सहयोगका विभिन्न क्षेत्र रहेका हुन्छन् । पीडितहरूलाई जीवनयापनका आधारभूत आवश्यकताका पूर्ति गर्न, खाद्यान्न, आवास, खानेपानी, सरसफाइ तथा स्वास्थ्य प्रबद्र्धन, सुरक्षाजस्ता विषयमा विशेषज्ञता हासिल गरेका समूहहरूले आफ्नै क्षेत्रहरूका जिम्मेवारी लिँदा मानवीय सहयोगका कार्य व्यवस्थित हुन आवश्यक छ । विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्था, आसपासका गाउँपालिका, नगरपालिका र जिल्लामा कार्यरत अन्य संघसंस्थाका उपस्थितिले विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । एम्बुलेन्स, यातायातका साधन, खानेपानी व्यवस्थापन, पर्याप्त मात्रामा स्वास्थ्यकर्मी, तालिम प्राप्त स्वयंसेवक, खाद्यान्न आदि जस्ता स्रोतहरूको पहिचान र सूचीकरण गरी ती वस्तु तथा सेवाहरूका सम्बन्धमा नगरपालिका÷गाउँपालिकाभित्र आवश्यक क्षमता विश्लेषण गर्नु समग्र विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्दछ ।
स्थानीयस्तरमा विपद् व्यवस्थापनको कार्य सञ्चालनको नेतृत्वदायी जिम्मेवारी स्थानीयस्तरमा नगरपालिका÷गाउँपालिकामा रहेका हुन्छन् । यसले गाउँ तथा नगरभित्र सम्पूर्ण विपदप्रति कार्य योजना सञ्चालन गर्दछ । विपद् व्यवस्थापन कार्यलाई सहज बनाउन नेपाल सरकारले केन्द्र र प्रदेश तहमा कार्य गर्ने गरी राहत सहयोग, क्षतिपूति व्यवस्थापन लगायत विषयमा दिग्दर्शन जारी गरेको पाइन्छ तैपनि आवश्यकता अनुसार प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रसका आ–आफ्नै दिग्दर्शन र कार्ययोजना अनुसार विपद् व्यवस्थापनमा खटिन्छन् तर तीनको संयोजन र उचित किसिमको समन्वयन भई प्रभावकारी कार्यान्वयनमा कठिनाइ भएको पाइन्छ ।
जलवायु परिवर्तनका कारण चरम जलवायु घटनाका क्षेत्रीय र सामयिक ढाँचाहरू परिवर्तन हुनसक्ने सम्भावना छ । हालैका वर्षहरूमा मनसुनी वर्षाको ढाँचा परिवर्तन भई मनसुन समाप्त हुन ढिलो हुँदा सक्रिय मनसुनको अवधि लम्बिन गएको संकेत पाइएको छ ।
प्राकृतिक प्रकोपको कारण वातावरण सुहाउँदो विकास नहुनु जस्तै, नदी अतिक्रमण, सार्वजनिक जग्गा, बाटो, पाटीपौवा, ढल, कुवा आदि अतिक्रमण । विकासको नाममा जथाभावी निर्माण कार्यले डोजर बढी मात्रामा प्रयोग भएको छ । शहरी भवनसंहिताको पालना नगरी घर बनेका छन्, जथाभावी सडक खनेर वातावरण बिगारेको स्थिति छ । त्यसैगरी जथाभावी चरनले जमिनलाई मरुभूमिमा परिणत गर्दछ । चरनले नयाँ बिरुवा नष्ट गर्दछ र जमिनलाई नांगो बनाएको छ । समग्रमा वातावरणमैत्री विकास भइरहेको स्थिति छैन । पालुवाहरू नसप्रिकन मर्छन् र वातावरणमा ह्रास आउँछ । पानीको स्रोत कम हुँदै जथाभावी चरनले विनाश ल्याएको छ । जसले देशमा आर्थिक मन्दी ल्याएको छ ।
प्रकोपको समस्या समाधान गर्न स्थानीय निकायले आफ्नो क्षेत्रमा वनजंगलको संरक्षणमा विशेष ध्यान दिई व्यवस्थित रूपले नदीबाट उचित मात्रामा गिट्टी बालुवा निकाल्ने तथा कृषि/वन सम्बन्धमा संयुक्त परियोजना सञ्चालन गर्दै बढीभन्दा बढी मात्रामा वृक्षरोपण तथा संरक्षणको कार्य गर्नुपर्दछ । खोलानाला नियन्त्रण गर्ने, उचित स्थानमा बस्ती बसाउने, विकास निर्माणका योजना वातावरणमैत्री बनाउनुपर्छ । विपदको प्रभावन्यून गर्न विपद्का लागि पूर्वतयारी गर्ने समुदायलाई प्रकोप वहन गर्न सक्षम बनाउने तथा हरेक वडामा विपद् व्यवस्थापन योजना बनाउन आवश्यक देखिन्छ । अति आवश्यक सेवालाई चुस्त बनाउँदै विपद्को बारेमा शिक्षा दिने र लिने, क्षमता वृद्धि गर्ने, स्रोतसाधन परिचालन गरी विपद् व्यवस्थापनका कार्य व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्दछ । स्थानीय निकायले प्रकोप आउनुअघिको अवस्था, भइरहेको अवस्था र त्यसपछिको पुनः स्थापनाको कार्यलाई व्यवस्थित रूपले सञ्चालन गर्नुपर्दछ ।
जलवायु परिवर्तनका कारण चरम जलवायु घटनाका क्षेत्रीय र सामयिक ढाँचा परिवर्तन हुनसक्ने सम्भावना छ । हालैका वर्षहरूमा मनसुनी वर्षाको ढाँचा परिवर्तन भई मनसुन समाप्त हुन ढिलो हुँदा सक्रिय मनसुनको अवधि लम्बिन गएको संकेत पाइएको छ । उच्च र तीव्रतर चरम वर्षाको क्षेत्रीय प्रवृत्ति वार्षिक वा मनसुनी वर्षाको प्रवृत्तिभन्दा धेरै फरक हुन्छ । तराई र चुरे क्षेत्र जहाँ अपेक्षाकृत वार्षिक वर्षा र पानी पर्ने दिन कम हुन्छ, उच्च र तीव्रतर चरम वर्षाको चपेटामा नेपालका धेरै ठाउँ परेका छन् । विपद् प्रकोप र संकट उन्मुखताको संयुक्त परिणाम हो । सबैभन्दा जोखिम समूहमा कम आय भएका, गरिब परिवार, सीमान्तकृत र बहिष्कृत समुदाय, महिला, बालबालिका, वृद्ध र अपांग व्यक्तिहरू पर्दछन् ।
विपद् जोखिम सामाजिक, आर्थिक र राजनीतिक ढाँचा र उनीहरूबीचको अन्तरसम्बन्धमा निर्भर गर्दछ । विपद्का आयाम गतिशील छन् । विपदमा प्रत्यक्ष रूपमा देखापर्ने अवस्थावा सम्मुखता र संकटउन्मुखता घटाएर तथा उत्थानशीलता अभिवृद्धि गरेर विपद् जोखिम न्यूनीकरण गर्ने प्रयास हुनु पर्दछ । साँच्चैभन्दा पौसदेखि भाद्रसम्म आगलागी, चट्याङ तथा हावाहुरी, असारदेखि असोजसम्म बाढी, पहिरो, डुबान र मंसिरदेखि माघसम्म शीतलहर, चैत्र, वैशाख, जेठ लु लाग्ने जस्ता विपद् देखापर्ने हुन्छ । विपद्का प्रकृति अनुसार प्रभावकारी रूपमा पूर्वतयारी गर्ने हो भने मानवीय र भौतिक क्षति कम गरी जनगुनासो सम्बोधन गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच