स्रष्टा विनोद दाहालको ‘अन्तरङ्ग’ चर्चा !

✍️ डा. नारायण चालिसे
कहिलेकाहीँ यसै सोच्न मन लाग्छ जीवनमा कतिजति मानिसले आफूलाई प्रत्यक्ष चिन्दछन् होला ? अनि कतिजना जति मानिसलाई आफूले पनि प्रत्यक्ष चिनिन्छ होला ? यो प्रश्न सामान्य पनि हो र केही विशेष पनि हो । विश्वको सात अरब जनसंख्यामा हाम्रो चिनजानको दायरा कति छ ? भन्ने कुराले हाम्रो जीवनको एकथरि मूल्याङ्कन त अवश्य हुन्छ । संसारका त्यस्ता सेलिब्रेटीहरू जसलाई हामीले चिन्दछौँ तर उनीहरूले हामीलाई चिन्दैनन् । आफूले चिन्नेभन्दा आफूलाई चिन्नेको सङ्ख्या बढ्दै गएपछि मानिस सेलिब्रेटी बन्छ । यसरी आफ्नोतर्फको चिनाइको आँकडा त केही लामो होला तर आफूलाई पनि चिन्ने व्यक्तिको सूची त्यति लामो हुँदैन । अनि लाग्छ के नै पो गरिएको छ र ?
हजार दुई हजार जनाले पनि आफूलाई नचिन्नेहरूले पनि आत्मरतिमा परेर आफूलाई ठूलै सेलिब्रेटी मान्ने गर्दछन् । खासमा चिनजान भनेकोे जसलाई आफूले चिनिन्छमात्र होइन जसले आफूलाई पनि चिन्दछ त्यो पनि हो । आफूलाई चिन्नुको अर्थ यहाँ आत्मज्ञानको कुरा होइन । परिचय मात्रैको कुरा हो । सर्वप्रथम आफ्ना कुलकुटुम्ब, नातागोता, सँगीसाथी, इष्टमित्र, वरपरका छरछिमेकी परिचित अनि मात्र आफ्नो व्यक्तित्वले आर्जेका चिन्नेजान्ने व्यक्तिहरू पर्दछन् । यसरी मूल्याङ्कन गर्ने हो भने मानिसभित्रको अहङ्कार पनि केही मत्थर हुँदो हो । सयसाठी जनाले चिन्दछन् तापनि फूर्तिफार्ती भने लाखौँको हुन्छ । त्यसपछि मानिस खासमा व्यक्तित्वले चिनिने प्रयास गर्दो हो ।

सर लेखको शब्द धरै भए अर्को यस पुस्तकमा विनोदजीले सामाजिक जीवनका केही महŒवपूर्ण व्यक्तिहरूसँग संवाद गर्नुभएको रहेछ तर मैले तीमध्ये धेरै व्यक्तिलाई चिनेकै रहेनछु । अर्थात् मेरो ज्ञानको दायराभन्दा बाहिर रहेछन् ती व्यक्ति र तिनको योगदान पनि । सायद ती धेरै व्यक्तिले मलाई पनि चिन्दैनन् ।

संसारमा कतिपय व्यक्तिहरूलाई हामीले चिन्नै पर्ने भएर पनि चिनेकाहुँदैनौँ । यसको मतलव हो हाम्रो ज्ञानको दायरा निकै साँघुरो छ । अर्को भाषामा भन्दा संसारमा जान्नु भनेको पनि व्यक्ति, वस्तु, जाति आदिका गुण, विशेषता, प्रवृत्ति, योगदान थाहा पाउनुमात्रै त हो । यति साधारण कुरा पनि असाधारण बनेर आउँछ । पानीको वैज्ञानिक नाम के हो ? धेरैलाई थाहा छैन । जसलाई थाहा छ तिनी वैज्ञानिक बने हामी बनेनौँ । आकाशका ग्रहउपग्रहहरूको नाम जान्नेहरू खगोलविद् बने हामी बनेनौँ । धर्तीको लम्बाइ, चौडाइ र गहिराइका विषयमा विचार राख्नेहरू भूगोलविद् बने हामी बनेनौँ ।

धर्तीका प्राणी जातिका विषयमा सबैले थाहा नपाएका कुरा थाहा पाउनेहरू प्राणीविज्ञ बने हामी बनेनौँ । कुरौटे सुकरातका विषयमा जान्नेहरू दार्शनिक बने हामी बननौँ । कालिदास, माघ, भास, भारवि, भरत, विश्वनाथ, जगन्नाथ, सम, पौड्याल, घिमिरे, कोइराला, शेली, किट्स, गेटे, हेगेल, माक्र्स जान्नेहरू विद्वान् बने हामी बनेनौँ । देवकोटाले आफ्ना कवितामार्फत् के कुरा भनेका छन् ? भन्नेकुरा देवकोटाका पुस्तक पढेर धारणा राख्नेहरू समालोचक बने हामीले पढेनौँ, जानेनौँ । हामी धेरै कुरा नजान्नाले धेरै कुरा बन्नबाट वञ्चित भयौँ । अर्थात् सरल भाषामा भन्दा केही गर्नेहरू थोरैधेरै चिनिए । नगर्नेहरू त्यति पनि भएनन् तर कहिलेकाहीँ केही गरिरहेकै व्यक्तिहरू पनि ओझेलमै रहन्छन् र तिनका प्रतिको न्यायिक अभियान जारी रहनुपर्छ ।

यति धेरै कुरा यहाँ किन गरिएको हो भने हिमालय टाइम्सका सम्पादक, साहित्यकार, पत्रकार, अन्वेषक मित्र विनोद दाहाल ‘वत्स’ जीले एउटा पुस्तक मेरो हातमा थमाइदिनुभयो र भन्नुभयो सरले यस पुस्तकका बारेमा केही लेखिदिनुभयो भने जाति मान्थेँ । विनोद दाहाल ‘वत्स’ सिर्जना जगत्का परिचित व्यक्ति हुनुहुन्छ । नेपाली साहित्यका विविध विधामा कलम चलाएका दाहाल एकजना द्रष्टा लेखक पनि हुनुहुन्छ । अन्तरङ्ग २०७९ यस्तै विमर्श कृति हो । सामाजिक जीवनका केही अग्रणी व्यक्तित्वहरूको विमर्शबाट तयार पारिएको यो कृति सामाजिक क्षेत्रमा महत्वपूर्ण कृति हुन सक्छ ।

विनोदजीसँग मेरो भौतिक भेट एकपटक मात्र भएको छ तर उहाँ र म हरेक साता हिमालय टाइम्समा जोडिन्छौँ । मैले लेख पठाउने उहाँलाई नै हो । भद्र, मिजासिला, शान्त र सरल स्वभावका उहाँ निरन्तर लेखिरहने साधनामा खटिइरहने व्यक्ति हुनुहुन्छ भन्ने कुरा भने उहाँका कृतिहरूले बताइरहेका छन् । उहाँका विविध, विधा र विषयका आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । अरू कति जनाका बारेमा लेख्दै आएको उहाँका कृतिका बारेमा किन नलेख्नु र ? पुस्तक ल्याएर त्यसभित्रको विषयवस्तुका बारेमा हेर्न थालेको मलाई केही असजिलो पर्‍यो ।

कुरा के थियो भने यस पुस्तकमा विनोदजीले सामाजिक जीवनका केही महत्वपूर्ण व्यक्तिहरूसँग संवाद गर्नुभएको रहेछ तर मैले तीमध्ये धेरै व्यक्तिलाई चिनेकै रहेनछु । अर्थात् मेरो ज्ञानको दायराभन्दा बाहिर रहेछन् ती व्यक्ति र तिनको योगदान पनि । सायद ती धेरै व्यक्तिले मलाई पनि चिन्दैनन् । यो कृति संवार्ता हो कि ? समालोचना हो कि ? जीवनवृत्त हो कि ? लेखकको अनुभूति हो कि ? के हो ? भन्ने खालको छ । विभिन्न व्यक्तिहरूका बारेमा लेखकीय विचारहरू आएका छन् तर तिनको स्रोत के हो ? भनेर खुलाइएको छैन ।

यस्तैमा लेखकको आत्मस्वीकृतिमा आँखा पुगे । लेखकका अनुसार ‘यो अन्तर्वार्ता नै हो तर यहाँबाट प्रश्नहरू जति हटाएर उहाँहरूले भनेका उत्तरहरूलाई मात्र मेरो आफ्नो विश्लेषणसहित पत्रिकामा छाप्नेगरेको थिएँ । यहाँ पनि मैले त्यसै गरेको छु । ..राष्ट्रिय स्तरमा चिनिएका भन्दा समाज र देशका लागि केही गरेका तर चिनिन नसकिरहेका मानिसहरू मेरो प्राथमिकतामा पर्नुभएको छ । यसो भन्दैमा मैले राष्ट्रिय स्तरका व्यक्तित्वहरूलाई समेटेको छैन भन्ने होइन । यहाँ समेटिएका व्यक्तित्वहरू विविध क्षेत्रका हुनुहुन्छ । राजनीतिज्ञ, समाजसेवी, साहित्यकार, चिकित्सक, व्यवसायी, प्रशासक, कूटनीतिज्ञ, पत्रकार सबैलाई नै यहाँ समेटेको छु (लेखक, पृ. ११) ।’

अर्थात् यी निबन्धात्मक रचनाहरू यसपूर्व पत्रिकामा प्रकाशित भएका रहेछन् यो तिनैको सङ्कलन रहेछ । लेखकका विचारको अन्तर्य भाव पनि समाजमा योगदान गरेर पनि सार्वजनिक रूपमा त्यति ख्यातिमा नआएका व्यक्तिहरू पनि यहाँ समेटिएका छन् भन्ने थाहा पाएपछि मलाई केही ढुक्क भयो । म मात्रै होइन अरू धेरैलाई पनि यहाँ समाविष्ट कतिपय व्यक्तिका विषयमा थाहा रहेनछ । अर्थात् आफूले नचिन्दैमा उसको योगदान थिएन वा कम थियो भन्ने अधिकार कसैलाई पनि हुँदैन । अनि मनमा कुरा उठे यति साँघुरो ज्ञानको परिधिमा छौँ हामी । फेरि पनि हामीभित्र केही हुँ भन्ने दम्भ पनि छ । वर्षमा देशभित्रै साहित्यका हजार दुई हजार पुस्तक छापिन्छन् सयजति पनि पढ्न सकिएको हुँदैन । अनि कसरी जान्नु र सबै कुरा ?

दुई नाउको यात्री दुवैमा सफल : अर्जुनदेव भट्ट, साहित्यकार ओमप्रसाद भट्टराई, हिँड्दाहिँड्दै कविता लेख्ने कवि : कलानिधि, सद्विचार राख्ने र सत्कार्यको चाहना राख्ने सत्पात्र : षडानन्द, स्वतन्त्र लेखमा रमाइरहनुभएका साहित्यकार : खेमनाथ दाहाल, कीर्तिमानै कीर्तिमानभित्र : डा. डीआर उपाध्याय, ताराबहादुर कुँवर : सडकदेखि महलसम्म, साहित्यकार जर्नेल : तेजप्रकाश बानियाँ, अपराहृनमा घर फर्किएका साहित्यकार : दुर्गा भमरकोटे, धनविक्रमसिंह : प्रशासनदेखि लेखनसम्म, विविध व्यक्तित्वका धनी : पुरुषोत्तम दाहाल, स्वाभिमानी शिक्षासेवी : पुष्पमान अमात्य, अग्रणी समाजसेवी : प्रतापराज वन्त, माधवप्रसाद रेग्मी : आयोगका अधिकृतदेखि अध्यक्षसम्म, बालक बनेर बालसाहित्य रचना गर्ने : रञ्जुश्री पराजुली, स्वाभिमानी इन्जिनियर : लेखनाथ पोखरेल, नेपाली साहित्यका अविश्रान्त यात्री : वियोगी बुढाथोकी, बालसाहित्य सर्जक : डा.विष्णु केसी, कुशल प्रशासक : शम्भु कोइराला, अमरताको चाहना राख्ने स्रष्टा : सुरेन्द्र महर्जन, सच्चा हरिभक्त : हरिभक्त सिग्देल गरी जम्मा एक्काइसवटा रचना यस सङ्ग्रहमा सङ्कलित रहेका छन् ।

एकएक पदावलीमा प्रवृत्तिगत परिचयसहितका हरेक शीर्षकमा सम्बन्धित व्यक्तिका बारेको समीक्षा नै गरिएका यी शीर्षकहरूले नै यहाँ समाविष्ट व्यक्तित्वहरूको परिचय दिएका छन् । लेखकले माथि भनेजस्तै विविध क्षेत्रका व्यक्तित्वहरूसँग अन्तरङ्ग कुराकानी गरिएको छ र ती कुराकानीलाई आफ्नो विश्लेषकीय धारणासहित विस्तृतमा चिनाउने काम यी निबन्धात्मक रचनाहरूमा गरिएको छ । लेखकले भनेझैँ अवश्य पनि समाजका कतिपय त्यस्ता व्यक्तिहरू जो चुपचाप काम गरिरहेका छन् । उनीहरूलाई नामको, दामको वा अन्य कुनै प्रकारको परिचयको भोक छैन, रहर छैन वा प्रचार हुन सकेको छैन ।

देशका कुनाकाप्चामा जन्मिएका स्वाभिमानी नेपालीहरूबाट देश निर्माणको यज्ञमा आफ्नो योगदान गर्ने अभियान निरन्तर छ र विनोद दाहालजस्ता नीरक्षीर विवेकी स्रष्टाहरूबाट तिनका बारेमा प्रकाश पार्ने काम पनि जारी छ । भोलिका दिनमा यसको पनि आवश्यक मूल्याङ्कन हुन सकोस् भन्ने कामना गर्दछु ।

तिनलाई हामीले समाजका सामु नल्याउने हो भने ती योगदान हराएर जानेछन् । इतिहासप्रति अन्याय हुनेछ हामी कृतघ्न हुनेछौँ जो नहोस् भन्ने लेखकको धारणा पाइन्छ । कोही दूरदराज गाउँमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेर रमाएका छन् । कोही शहरमै पनि साँघुरो कोठाको चारदिवारीमा हराएका छन्, तिनको अमूल्य योगदानको फल समाजले पाएको छ । तर, त्यो गुनको बदला समाजले उसलाई केही दिन सकेको छैन । वा हुन सक्छ कसैलाई अघ्घोरै परिचयको रहर छ तर कसैले उसलाई फर्केर हेर्नसम्म समय पाएको छैन । तिनलाई पनि समाजका सामु ल्याउनु हामी जस्तै कलम चल्ने, विचार सल्बलाउने र योगदानले लाभान्वित हुनेको कर्तव्य होइन र ? हो स्रष्टा विनोद दाहालको चेष्टा त्यहाँ पुगेको छ ।

समाज र जीवनमा कसले कति योगदान गर्‍यो ? त्यसको कुनै परिसीमा पनि छैन तर के यसो भनेर तिनलाई बिर्सिनु हाम्रो अवज्ञा होइन र ? मैले यहाँ ती सबै स्वनामधन्य व्यक्तित्वहरूका बारेमा भनेर पुग्दैन । जे भन्नुपर्ने हो लेखकले आफ्नो पुस्तकमा भनेका छन् । त्यसको निम्ति पुस्तक पढ्नैपर्छ । यति कुरा अवश्य हो यहाँ हामीले पनि ती व्यक्तिका विषयमा नामसम्म जान्ने अधिकार राख्नै पर्छ । यहाँ सङ्कलित केही स्रष्टा, द्रष्टा र अभियन्तालाई हामी धेरैले चिनेकै हौँला । जसलाई मैले अलि धेरै चिनेको छु तिनका बारेमा केही बढी भनुँला तर जसलाई मैले पनि यसअघि चिनेको थिइन तीप्रति मैले पनि धेरै भन्न नसकुँला यहीँ पनि थोरै धेरै अन्याय होला ।

तसर्थ ती सबै अभियन्ताहरूप्रति मेरो समान आस्था र श्रद्धा छ । यद्यपि देशले हामीले सोचेजस्तो गति लिन सकेको छैन । तर, देशका कुनाकाप्चामा जन्मिएका स्वाभिमानी नेपालीहरूबाट देश निर्माणको यज्ञमा आफ्नो योगदान गर्ने अभियान निरन्तर छ र विनोद दाहालजस्ता नीरक्षीर विवेकी स्रष्टाहरूबाट तिनका बारेमा प्रकाश पार्ने काम पनि जारी छ । भोलिका दिनमा यसको पनि आवश्यक मूल्याङ्कन हुन सकोस् भन्ने कामना गर्दछु । स्रष्टा एवं द्रष्टा विनोद दाहालको ‘अन्तरङ्ग’ विमर्श स्रष्टा परिचयको सानै भए पनि सत्प्रयास हो भन्ने मलाई लागेको छ ।