बोक्रा मान्छे, खोक्रा दिवस !

✍️ बद्रीप्रसाद दाहाल

म पाँच वर्षको भएलगत्तै नाना थरी दिवस, उत्सव, महोत्सवहरूमा चर्को नारा घन्काउँदै लर्को लाग्दै झन्डाकै बर्को ओडेर हिँडेको मान्छे । कहिले चक्लेट चुसेर, कहिले गीत-कविता गाएर, वादविवाद, वक्तृत्व तथा दोहोरीमा भा’नभा कुरा छादेर, कहिले खेलकुदमा उफ्रनु र दौडनु गरेर उत्कृष्ट, प्रथम, द्वितीय, तृतीय, सान्त्वना भइटोपली पुुरस्कारले अबिर धसी नगदजिन्सी पनि हातलागी गरेको मनुवा ! गधापच्चीस काटेपछि भने दिवसका तौलहरू तौलिन थालेँ । धार्मिक, आर्थिक, राजनीतिक, काव्यिक, पार्विक, स्वास्थ्य, ऐतिहासिक, सामाजिक, सांस्कृतिक, कृषि, प्रेमदिवस, टोपी, छन्द, बाल, युवा, वृद्ध, जलवायुु, वातावरण आदि अनगिन्ती दिवसहरूको मर्म र यसका चर्म छाम्न थालेँ !
प्रायः दिवसहरू हामीकहाँ केवलकोरा औपचारिक, अशुुद्ध कर्मकाण्डका झारा तिराइजस्ता, बोक्रा र खोक्रा तमासा बन्नपुुग्दा भने दिक्कै लागेर आउँछ बा ! यसलाई केवल हात्तीको देखाउने दाँत बनाए भनेर सञ्जालहरूमा तीव्र प्रतिक्रिया आएको आयै पनि छ । गत भदौ २९ गते नेपालमा ५८औं बालदिवस केन्द्र, प्रदेश, स्थानीय सरकार बालक्लव र गैरसरकारी संघसंस्थाले विविध कार्यक्रमसाथ भव्य रूपमा मनाएको कुरा आमसञ्चारका सञ्जालहरूमा व्यापक प्रचारप्रसार भएका समाचार पढ्न हेर्न पाइयो ।

बालमनोविज्ञानको अतल गहिराइमा पुुगेर डुुबुुल्किन सक्ने सामथ्र्यका शिक्षकहरू शिक्षालयमा हुनुुपर्छ । कुुटेर, तथानाम गाली गरेर, जीउभरि सुुम्ला उठ्ने गरी छडी हानेर वा ट्वाइलेटमा थुनेर अनि बालबालिकामाथि अनावश्यक यौनिक हर्कत गर्ने शिक्षक नामधारी नरपिचाश दण्डको कठघरामा उभ्याउनुपर्छ ।

यस वर्षको नारा पनि आकर्षक र चम्किलो रहेछ- ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ अर्थात् बालमैत्री समाज निर्माण गर्न स्वयं हरेक परिवार बालबालिकाहरूका लालनपालन, पठनपाठन, मनोरञ्जन तथा खेलकुद आदिमा संवेदनशील हुनुु जरुरी छ । त्यसैगरी जनसंप्रभुतालाई स्वीकार गरेको लोकतान्त्रिक सरकार बालबालिकाको शिक्षा, स्वास्थ्य र यावत् पक्षमा गम्भीर भई उत्तरदायित्व निर्वाह गर्नसक्ने सक्षम बन्नुपर्दछ । यसबाट यो कुरा ठम्याउन सकिन्छ कि अझैसम्म पनि यो देशमा बालबालिकाहरूलाई स्वयं परिवारका मूलीले राम्ररी जिम्मा लिन नसकेको र नेपाल लोकतान्त्रिक युुगमा प्रवेश गरे पनि यहाँको सरकार उत्तरदायित्व लिन अनुदार भएको झझल्कोको आभास मिल्छ ।

जब परिवार नै आफ्ना नवसन्ततिहरूको लालनपालन, अध्ययन अध्यापन, संरक्षण र सुरक्षाबाट बेखबर बन्छ र सरकार आफ्नो देशका नवकर्णधारको उत्तरदायित्व लिन चुक्छ भने त्यहाँ परिवार तथा सरकार क्रमिक रूपले क्षयीकरणको दिशामा गएको त होइन ? भन्ने झझल्को त दिँदैन र ? यो भयावह एवं गम्भीर प्रश्न टड्कारो हुन्छ । संरक्षक र जिम्मालिने स्रोतहरू नै ओत दिन छोडे भने सृष्टिचक्रमा संकट नआउला भन्न सकिन्छ र ?

बालबालिकामाथि बढ्दो हिंसा, हत्या, अपहरण, यौनिक दूराचार, बलात्कार, उनीहरूको श्रमको शोषण, उनीहरूका अंगउपांगहरूका बिक्रीवितरण, धार्मिक अन्धविश्वासको जडतामा बालनर बलि दिने जस्ता कुकृत्य मौलाउँदा कतै मानव समाज जंगली एवं पाषाण युुगतिरको कालो प्वालतिर त भासिँदै छैन ? यी कलंकित भयावह प्रश्नले मानव हृदय अवश्य पोल्नुु पर्दछ । नेपाललगायत विश्वका १९२ देशहरूले सं.रा.सं.को बालअधिकार महासन्धि पास गरेको छ । जसलाई नेपालले पनि २०४७ भदौ २९ गते अनुमोदन गरेर सही ठेलिसकेको छ । २०३१ भदौ ४ गतेदेखि नेपालमा बालदिवस मनाउन लागेको र ३०२१ देखि नै बालबालिकाको कल्याण र हितको लागि संगठित अभियान चलाएको इतिहास पढ्न पाइन्छ ।

त्यसैले त सन् १९९० सेप्टेम्बर १४ जुनमा बालअधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते नेपालले बालदिवस मनाउँदै आएको छ । १८ वर्षभन्दा मुनिका बाबालिकाको संख्या नेपालमा एक करोड बीस लाखको हारहारीमा छ । भनिन्छ बालबालिकामा लगानी गर्नु भनेको मानवपुँजीमा लगानी गर्नु हो तर कथनी र करनीमा समरूपता नहुँदा अझै पनि बालबालिकाको जीवन सन्तोषप्रद हुन सकेको छैन । युएनडिपीको मानव विकास प्रतिवेदनमा एसियाका ५८ राष्ट्रमध्ये नेपाल तेस्रो अति गरिब देशमा पर्दछ । नेपालमा पचास हजार जति गैरसरकारी झन्नै चारसय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू कार्यरत छन् ।

यी धेरै संस्थाले बालअधिकारको क्षेत्रमा काम गरेको भनिए पनि उपलब्धि न्यूनै देखिन्छ । त्यसै भएर त यी संघसंस्थालाई निश्चित व्यक्तिहरूको हरियो डलर जम्मा गर्ने लैनो भैंसी बनेको चर्को आरोप र आलोचना छ । नेपालमा २०४८ को बाल ऐनले उनीहरूलाई बालश्रमिकको रूपमा काम गर्न प्रतिबन्ध लगाएको छ । नेपालमा हाल १८ लाख बालश्रमिक छन् भन्ने आकडा छ । १४ देखि १६ वर्षसम्मका बालश्रमिकले ६ घण्टामात्र काम गर्न पाउँछन् तर नेपालको ऐन ‘ठूलालाई चैन, सानालाई ऐन’, नेपालको कानुन दैवले जानुन् भन्ने कहावत तथ्य भइरहेको छ ।

निश्चय नै यो दुुःखद् परिस्थिति हुनुमा परिवार र सरकार जिम्मेदार तथा उत्तरदायित्व निर्वाह गर्न उदासीन बनेको देखिन्छ । जसलाई यस वर्षको बालदिवसको नाराले भित्रैसम्म घोचेर परिवार तथा सरकारलाई सचेत बनाएको छ । अन्तर्राष्ट्रिय श्रमसंगठनको तथ्यांकमा विश्वभर ५ देखि १७ उमेर समूहका १५ करोड २० लाख बालश्रमिक छन् । त्यसमध्ये चौहत्तर मिलियन बालबालिका जोखिमपूर्ण क्षेत्रमा काम गर्दै आइरहेका छन् । नेपालमा पनि जोखिमयुक्त काम गर्ने बालश्रमिकको संख्या पचहत्तर हजारभन्दा माथि छ । नेपालको लगभग तीन करोड जनसंख्यामा आधाजसो कम उचाइ भएको समतल भूूभागमा बस्दछन् भने त्रिचालीस प्रतिशत पहाडमा र सात प्रतिशत हिमाली भेगमा बसोवास गरेको तथ्यांकले बताउँछन् ।

कतिपय विज्ञहरूको भनाइ छ लगानी भन्ने बित्तिकै हामीहरू आर्थिक क्षेत्रतिर मात्र ध्यान केन्द्रित गर्दछौँ । वास्तवमा सामाजिक क्षेत्रको लगानीले देशको आर्थिक, शैक्षिक, सांस्कृतिक, नैतिक र बहुुपक्षमा ठूलो भूमिका निर्वाह गर्दछ । बालबालिकाको नैतिक शिक्षामा लगानी गर्ने हो भने उनीहरूमा घर, परिवार, समाज र देशप्रतिको उत्तरदायित्व बोध गराउन सहज हुनेछ । देशको उज्ज्वल आगामिता आजका बालबालिका भएकाले उनीहरूमा लगानी गर्नु भनेको भावी वैज्ञानिक, डक्टर, इन्जिनियर, साहित्यकार, दार्शनिक, नायक, अभिनेता सिर्जना गर्नुु हो ।

बालबालिकामाथि बढ्दो हिंसा, हत्या, अपहरण, यौनिक दुराचार, बलात्कार, उनीहरूको श्रमको शोषण, उनीहरूका अंगउपांगहरूका बिक्रीवितरण, धार्मिक अन्धविश्वासको जडतामा बालनरवलि दिनेजस्ता कुकृत्य मौलाउँदा कतै मानव समाज जंगली एवं पाषाण युुगतिरको कालो प्वालतिर त भासिँदै छैन ?

नेपालमा नियम, कानुुन, ऐन, नीतिहरू त बनेका छन् तर तिनीहरूले व्यावहारिक पोशाक लाउन भने हिच्किचाएको देख्दा जनता निराश छन् । बालतस्करले बालबालिकाको हुर्मत लिँदा पनि सरकारले मौनता साध्ने, कानुुनी उपचार गर्दा न्याय नमिल्ने, जो अगुवा उही फटाहा बनेर भावी नेपालका नक्षत्रहरूमा ग्रहण बन्ने चेष्टा निश्चय नै देशका लागि कलंक र भविष्य अन्धकारतिर पुुर्‍याउनु हो ।

बालमनोविज्ञानको अतल गहिराइमा पुुगेर डुुबुुल्किन सक्ने सामथ्र्यका शिक्षकहरू शिक्षालयमा हुनुुपर्छ । कुुटेर, तथानाम गाली गरेर, जीउभरि सुुम्ला उठ्ने गरी छडी हानेर वा ट्वाइलेटमा थुनेर अनि बालबालिकामाथि अनावश्यक यौनिक हर्कत गर्ने शिक्षक नामधारी नरपिचाश दण्डको कठघरामा उभ्याउनुपर्छ । बालमैत्री कक्षाकोठा, आधुनिक शैक्षिक सामग्री, पाठ्यक्रम र पाठ्यपुस्तक बालअधिकारको जगेर्ना गर्ने पक्ष हुन् । बाबालिकालाई गरिएको खाजाव्यवस्थामा स्कुलस्टाफसमेत अंशियार बन्ने विकृति हट्नुुपर्छ ।

गतिशील शिक्षक, जिज्ञासुु विद्यार्थी, सचेत र सन्तुुष्ट अभिभावक, पारदर्शी स्कुल प्रशासन, दूूरदृष्टि भएको व्यवस्थापन आज हरेक शिक्षालयको अपरिहार्य उदात्त तत्व हुन् । दिवस र उत्सव त्यतिखेर पोटिलो तथा गुुदी भएको ठहरिन्छ जतिखेर बालबालिका सम्बन्धी नीति, ऐन, नियम, कानुर र अभिभावकत्व ग्रहण गर्नेहरू विवेकले चल्न सक्छन् । होइन भने हाम्रो दिवस र उत्सव मनाइ केवल खोक्रो, छोक्रो र बोक्रोमात्र बन्दछ । होसियार परिवार, खबरदार सरकार, शिक्षक, प्र.अ. तथा समाजका विज्ञ र बुज्रुक महानुुभावहरू ! कतै हामी बोक्रा मान्छे भएर खोक्रा दिवस त मनाइरहेका छैनौँ ? पर्यवेक्षणको जरुरी छ । समाप्तम् ।