साफ यु २० : बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो

काठमाडौं । लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै साविक विजेता भारत यु २० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ । भारत हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण बनेको थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमका गुर्किरात सिंहले निर्णायक गोल गरे । माल्दिभ्सले खेलको अन्तिम मिनेटसम्म भारतलाई रोके पनि गुरकिरतले ९०औं मिनेटमा निर्णायक गोल गरे ।

यस्तै, इन्जुरी समयमा पार्थिव सुन्दर गोगोईले रातो कार्ड पाउँदै बाहिरिएपछि भारत १० खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै भारतले उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गर्‍यो । यसअघि भएको पहिलो खेलमा नेपालसँग १-१ को बराबरीमा रोकिए पनि बंगलादेशले फाइनलको टिकट काटेको थियो ।

जितसँगै दोस्रो स्थानको भारतले चार खेलबाट ९ अंक जोड्यो । यस्तै, शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्दा तेस्रो स्थानको नेपालले ७ अंक बटुल्यो । यस अघि नै माल्दिभ्स र श्रीलंका भने उपाधी दौडबाट बाहिरिएका थिए ।

साफ यू-१७ च्याम्पियनसिपमा नेपाल ‘बी’ समूहमा

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार यू-१७ साफको समूह विभाजन सार्वजनिक गरेको हो । नेपाल समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । नेपालले यू-१७ साफका लागि खेलाडी छनोट गरिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्तसमेत गरिसकेको छ ।