केही सम्भावना, केही अनुमान

धेरै दिनदेखि निर्वाचनको परिणाममा केन्द्रित सबैको ध्यान अब निर्वाचन परिणामतर्फबाट अन्यत्रै मोडिएको छ । केही छिटपुट ठाउँको मतगणाना अझै बाँकी छ तर जनताले अब त्यता ध्यान दिन छोडेका छन् । केही सिटको तलमाथिले खासै फरक नपर्ने देखेर त्यताबाट हटेर सबैको ध्यान अन्यत्र मोडिएको हो । अबको ध्यान भने सरकार कसले बनाउला र प्रधानमन्त्री को बन्ला भन्नेतर्फ मोडिएको छ । धेरैको चाहना युवाको नेतृत्व भइदिए हुथ्यो भन्ने छ तर सम्भाव्यता त्यस्तो छैन । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएका कारणले अब सम्भवतः सरकारको नेतृत्व गर्ने पहल नेपाली कांग्रेसले नै गर्ला तर नेपाली कांग्रेस पनि बहुमतमा भने छैन ।

गठबन्धनमा रहेका अरू पार्टीहरूको साथ र सहयोग भने उसले प्राप्त गर्ला तर थोरै सिटसंख्या ल्याएका दलहरूले सरकारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने हो भने आफ्नो पक्षमा धेरै मन्त्री वा राष्ट्रपतिको बार्गेनिङ गर्ने सोच बनाउने सम्भावना रहने देखिन्छ । माधवकुमार नेपालको दल एकीकृत समाजवादीले धेरै सिट ल्याएको छैन तर सरकार बनाउने सन्दर्भमा आफ्नो पार्टीको नेता झलनाथ खनालका लागि राष्ट्रपतिको पद बार्गेनिङ गर्ने सोच बनाएको देखिन्छ । जनतासँग गएर प्रत्यक्ष निर्वाचनमा पराजित भएको व्यक्तिका लागि यस्तो माग गर्नु त्यति सुहाउने कुरा होइन । संघीय संसद्मा नेपाली कांग्रेसको सदस्यसंख्या अरूको भन्दा बढी भएको छ ।

त्यस अर्थमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्छ नै तर यसका लागि गठबन्धनका अन्य दलहरूको प्रतिक्रिया आएको छैन । हालसम्म त अंकगणितीय लेखाजोखाका आधारमा नेपाली कांग्रेसले नै नेतृत्व गर्ला भन्ने अनुमानमात्रै हो । भोलि नेपाली कांग्रेसको भन्दा कम सिट जित्नेले समर्थन दिएनन् भने त नेपाली कांग्रेसले पनि सरकार बनाउन सक्दैन । ठूलो दल भए पनि विश्वासको मत त लिनैपर्छ । त्यसबेला नेपाली कांग्रेसले विश्वासको मत लिन नसक्ने अवस्था आयो भने कांग्रेसले तिनैका लागि छोडिदिएर तिनको नेतृत्वमा समर्थक पनि बन्नुपर्ने हुनसक्छ । हालको सम्भावना भने त्यस्तो होइन ।

नेपाली कांग्रेसको नेतृत्वमा हालका गठबन्धनमा रहेका दलहरूकै सहयोग र सहकार्यमा सरकार बन्छ भन्ने अनुमान गर्नु नै हालको सम्भाव्यता हो । जसरी संसद्मा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ र सरकार बनाउने सम्भावनामा अगाडि छ तर त्यसरी नै कसको नेतृत्वको सरकार बन्छ भनेरसमेत सबैको चासो त्यतैतिर छ । धेरैले युवाको नेतृत्व हुनुपर्छ भनिरहेका छन् । तर, संसद्मा आएका नेताहरूलाई तिनले समातेको पक्षका आधारमा युवाहरूको अंकगणितीय आधार कमजोर छ । मलाई जनताले स्वीकार गर्दैनन् भनेर आफ्नो पक्षको बहुमत भएका नेताले युवालाई छोडिदिने छैनन् । अरू दल र केही युवाहरूको चाहना त्यस्तो भएरमात्र युवाका पक्षमा संसदीय दलको नेता छनोट हुनका लागि संख्या पुग्न सक्दैन ।

अर्को दलको समर्थनले आफ्नो दलमा संसदीय नेता बन्न पाइने होइन । यस्तो अवस्थामा आगामी सरकार कसको र कस्तो बन्ला भनेर सबैले चासोका साथ हेर्नु स्वाभाविक छ तर यसका लागि अझै केही दिन प्रतीक्षा त गर्नै पर्ला । नयाँ पुस्ताले पुरानो पुस्ताको राजनीतिक व्यवहार वा प्रवृत्तिलाई मन नपराएको हुनसक्छ । यसैगरी पुरानो पुस्ताले अर्को निर्वाचनपछि आफूले फेरि नेतृत्व गर्न नपाइएला, त्यसैले यो नै आफ्ना लागि अन्तिम अवसर हो भन्ने ठानेर नयाँ पुस्तालाई छोड्नुको सट्टा आफ्नै नेतृत्वका लागि प्रयास गर्ने सोच बनाएको हुनसक्छ । वास्तवमा यी दुवै सोच एकांगी भए भने सरकार बनाउनका लागि सहजता प्राप्त हुँदैन । सहमति यसका लागि आवश्यक हुन्छ ।

केही राजनीतिक विश्लेषकहरूले त सरकार बनाउने यही तानातानका कारण नेपाली कांग्रेस पार्टी नै फुट्ला कि भन्ने चिन्तासमेत प्रकट गरेको छन् । यस अर्थमा सरकार निर्माणमा दुईवटा चुनौती प्रमुख रहेको देखिन आयो । पहिलो अरू दलसँगको सहकार्य कसरी गर्ने भन्ने हो । तिनले समर्थन गरेनन् भने सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेसले सरकार बनाउन नसक्ने अवस्था आउँन सक्छ । दोस्रो चाहिँ आफ्नै आन्तरिक कारणले संसदीय दलको नेता छनौटमै तनाव देखिने हो कि भन्ने हो । पार्टीले यी चुनौतीको सामना गर्दै आन्तरिक समस्याको व्यवस्थापनसमेत गरेर सरकार बनाउने पहल गर्नु र राजनीतिक क्षेत्रमा तनाव सिर्जना हुन नदिई सन्तुलन मिलाउनु अहिलेको आवश्यकता हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?