भ्रष्टाचारको कहालीलाग्दो चित्र

यस पटक पनि ट्रान्परेन्सी इन्टरनेसनलले नेपालको भ्रष्टाचारको कहालीलाग्दो अवस्था देखाएको छ । गत विगत वर्षमा पनि नेपालको अवस्था यस्तै हुनेगरेको थियो । यस वर्ष पनि सुधार हुनुको सट्टा अझै अवस्था बिग्रिएर गएको देखाइएको छ । नेपाली राजनीति र भ्रष्टाचार एकअर्काका पूरक जस्तै बनेर अगाडि बढिरहेका छन् । नेपालको सन्दर्भमा भ्रष्टाचार गर्नुलाई गौरवका रूपमा लिने गरेको जस्तो देखिन्छ । भ्रष्टाचार गरेर मुद्दामामिला खेपिरहेकाहरू समाजमा अपमानित भएको जस्तो देखिँदैन । यस्तै अभियोगमा केही नेताहरूले जेलजीवन पनि भोगे तर तिनीहरूले पनि त्यस्तो हिनता भाव देखाएनन् । हवाई चपल लगाउनेहरू महल, पजेरो प्राडोका मालिक भए भन्ने भनाइले नेपाली राजनीतिमा मानक भनाइ जसरी नै मान्यता र चर्चा पायो । तिनीहरूमध्ये केही त राजनीतिमा पुनः फर्किए तर विभिन्न कारणले अगाडि आउन भने सकेनन् ।

जोगी हुन राजनीति गरेको हो र ? भन्ने भनाइ पनि त्यस्तैबाट आएको हो र यस भनाइले पनि नेपाली राजनीतिक बजारमा निकै चर्चा पायो । तर, ती विचराहरू प्रतिनिधिमात्र बने भ्रष्टाचार त सबैबाट भएकै छ । यदि कोही नेता भ्रष्टाचारबाट अछुतो छन् भने ती अपवाद पात्रमात्र हन् । नेपालमा राजनीति गर्नेहरू प्रायः कुनै न कुनै रूपमा भ्रष्टाचारमा संलग्न हुने गरेको पाइन्छ । सिधासाधा भोलाभाला व्यक्ति अब नेपाली राजनीतिमा अयोग्य सावित हुन पुगेका छन् । प्रजातन्त्र आएको केही वर्षसम्म त्याग समर्पण र इमानदारीले पनि स्थान पाएको थियो । विस्तारै राजनीतिज्ञका यस्ता योग्यता विस्थापित बन्दै गए र तिनको ठाउँ पैसा, डन प्रवृत्ति र नेताहरूको नातासम्बन्ध जस्ता योग्यता (?) ले लिन पुग्यो ।

आजका दिनसम्म आइपुग्दा अब करोडौं पैसा खर्च नगरी निर्वाचनमा जाने कल्पना हरायो र विजयी बन्ने सम्भावना पनि हरायो । राजनीतिमा इमानदारी हुँदैन भन्ने देखिन पुग्यो । त्यस्तो अवस्था नेताहरूकै कारणबाट सिर्जना भएको हो । को मानिस कुन ठाउँमा योग्य छ त्यसलाई त्यहाँ लादा राम्रो काम हुन्छ देशको विकास हुन्छ भन्ने सोच्न छोडियो कुन काम गर्दा कमाइ हुन्छ । कोसँग मिल्दा बढी कमिसन पाइन्छ भन्नेतिर मात्र नेताहरूको ध्यान जाने गरेको छ । लाख करोड, उनीहरूका लागि सामान्य हुन् अर्ब र खरबको मोलमोलाई हुनेगर्छ । केही नेताहरूका यस्ता बार्गेनिङका रेकर्डहरू त सार्वजनिक नै भएका थिए । तर, आजकाल यस्ता कुरालाई त संसदीय चरित्र नै हुन् भनेर प्रमाणित गर्ने प्रयास हुनेगरेको छ ।

कतिपय नेताहरू स्वदेशका साथै विदेशका विभिन्न कम्पनीमा शेयर हालेको र स्विजरल्याण्ड बैंकमा पैसा राखेको चर्चा भएकै हो । गरिब देशका गरिब जनताले तिरेको करको पैसाबाट यसरी नेताहरूको ब्रहृमलुट हुने गरेका कारण यो भ्रष्टाचारमात्र होइन महाभ्रष्टाचार हो भन्नुपर्ने बाध्यतामा हामी छौँ । यो ज्यादै नै दुःखद् अवस्था हो । भरखरै निर्वाचन सम्पन्न भएको छ । यस निर्वाचनमा पनि पैसाको खोलो बगेको छैन भन्न सकिँदैन । केही नताहरूकै मुखबाट पनि यस्ता कुरा ओकलिएका छन् । पहिले त टिकट पाउन नै ठूलो परिमाणमा पैसा खर्च गर्नुपर्ने र टिकट पाइसकेपछि निर्वाचन जित्नका लागि त अझै ठूलो परिमाणमा पैसा खर्च गर्नुपर्ने आवश्यकता देखिँदै आएको छ ।

यो परिस्थिति विस्तारै बढ्दै गएर अहिलेको अवस्थामा आइपुगेको हो र भोलिका दिनहरूमा त यसले यस्तै प्रश्रय पाइरहने हो भने अझै बढेर जाने कुरा निर्विवाद छ । त्यसरी हेर्दा भोलि आउने परिस्थिति र अवस्था त अझै भयानक नहोला भन्ने छैन । निजामतीतिर त्यस्तै छ अन्य जुन क्षेत्र हेर्‍यो सबैतिर यस्तै छ । पैसा खर्च गरेर गएका राजनीतिज्ञहरू त्यहाँ पुगेपछि र सावा ब्याज नै असुल्नेतर्फ लाग्छन् नै । अनि देश विकास र जनताको सेवाजस्ता कुरा छायाँमा पर्ने नै भए । यस कारण भ्रष्टाचार नियन्त्रण गर्न कडा कानुन र कानुनको कार्यान्वयनमा कडाइ यसलाई कम गर्ने माध्यम बन्न सक्छ । निराकरणकै अपेक्षा भने अहिलै कल्पना नगर्र्दा उचित हुन्छ, यो सम्भव पनि छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?