नेताहरूमा बदलिँदो धार्मिक आस्था

हिमालय टाइम्स
Read Time = 8 mins

हालका दिनहरूमा धर्मविरोधी अभियानबाट राजनीतिको शिखरमा पुगेका केही नेताहरूमा धर्म तथा अध्यात्मप्रति आस्था पैदा भइरहेको देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का हालका केही संलग्नताहरूले यस्तो देखाइरहेको छ । प्रचण्ड हालै पश्चिम नेपालको खप्तड महोत्सव उद्घाटन गर्न गएर उक्त क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक तथा आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने धारणा राखेर फर्किनुभयो । हुनसक्छ यो उहाँको औपचारिक कार्यक्रम भएकाले यो अभिव्यक्ति आउनु स्वाभाविक थियो, आवश्यक पनि हो तर उहाँहरू धर्मलाई अफिम हो भन्ने मान्यताबाट घस्रिँदै आउनुभएको राजनीतिक पार्टीको सदस्य भएकाले सत्तामा वर्तमान अवस्थामा यी भनाइ नौलो लाग्नु स्वभाविक हो । अझै भन्ने हो भने त उहाँहरू धार्मिक विचारबाट प्रेरित हुने हो भने पार्टी कारबाहीमा पक्का पर्नुहुन्थ्यो ।

अवस्था फरक छ, एक प्रकारको राजनीतिक अभियानबाट माथि पुगिसक्नु भएको छ र सत्तामा रहँदा सबै धार्मिक आस्थाको सम्मान गर्नुपर्छ भनेर हो वा आफ्नो उमेरका कारण पैदा हुने धार्मिक आस्थाका आधारमा हो ? हाल उहाँ धर्मप्रति उदार बन्दै जानुभएको जस्तो देखिएको छ । हालै भारत भ्रमणमा त उहाँले रामनामी गुतेर धार्मिक मठमा गई पूजार्चनामा संलग्नता जनाई रुद्राक्षसमेत अर्पण गर्नुुभयो । खप्तडमा प्रकट भएको सो विचार त धार्मिक, आध्यात्मिकमात्र होइन पर्यटकीयसमेत हो । सिद्धान्त र व्यवहारमा भिन्नता कम्युनिष्ट पार्टीका सदस्यहरूले आजमात्र होइन सत्तामा पुग्नासाथ विगतदेखि नै देखाउँदै आउनुभएको थियो ।

एकताका सबैभन्दा ठूलो क्रन्तिकारी नेकपा माले मानिन्थ्यो । माले र माक्र्सवादीको एकताबाट बनेको एमाले सत्तामा पुग्नासाथ उक्त पार्टीका सदस्य मोदनाथ प्रश्रित मन्त्री बन्न पुग्नुभएको थियो । उहाँ सबैभन्दा ठूलो क्रान्तिकारी मानिनुहुन्थ्यो । ‘देवासुर संग्राम’ लेखेर उहाँ पञ्चायतकालमा जेल पनि बस्नुभएको थियो । उक्त पुस्तकमा उहाँले देवताहरूलाई गाली गर्नुका साथै दानवहरूको पक्षमा वकालत गर्नुभएको थियो तर मन्त्री बन्नासाथ उहाँ विभिन्न धार्मिक अनुष्ठानहरूमा संलग्नता जनाउँदै हिँड्नुभयो । पछिल्लो समयमा नेकपा एमालेका नेता खड्गप्रसाद शर्मा ओलीले पनि यस्तै विभिन्न धार्मिक अभिव्यक्तिहरू दिनुभयो र आफू पनि संलग्न हुनुभयो । आराध्यदेव पशुपतिनाथको दर्शन तथा पूजार्चना गर्नुभयो । त्यहाँ सुनको जलहरी बनाउने घोषणा पनि गर्नुभयो । त्यसभित्रको गुड रहस्य के थियो त्यो उहाँ र उहाँको समूहलाई थाहा हुने कुरा हो तर हाल त्यो बहसको विषय बनेर सतहमा आएको छ ।

उहाँको प्रधानमन्त्रित्व कालमा पर्सा, ठोरी र चितवन क्षेत्रहरू चर्चामा आइरहे । अयोध्या नेपालमै पर्छ भन्ने अभिव्यक्ति आयो र त्यसले व्यापक चर्चा पायो । ती ठाउँहरूमा केही संरक्षण संबद्र्धनका काम पनि भए । धर्म भनेको धारण गर्ने कुरा हो, जसले जे धारण गर्‍यो त्यही धर्म हो तर कुनै न कुनै धार्मिक आस्थाबाट सबै डोहोरिइरहेका हुन्छन् भन्ने कुरा धर्मविरोधी राजनीतिक पार्टीका अग्रणीहरूले केही वर्षयता देखाउनुभएको व्यवहार र दिनुभएको अभिव्यक्तिबाट प्रष्ट हुन्छ । झापामा हत्याहिंसाबाट राजनीतिमा संलग्नता जनाउनु भएका चर्चित नेता मोहनचन्द्र अधिकारी पनि पछिल्लो चरणमा कोटिहोम र महायज्ञहरूमा संलग्न हुनुभयो र रामनामी गुतेर हिँड्नु भयो ।

एक दशकभन्दा लामो समय सशस्त्र विद्रोमा संलग्न भएर हिंसाको राजनीतिमा जोडिनुभएका धेरै नेता तथा कार्यकर्ता हाल कोही राजनीतिमा संलग्न हुनुहुन्छ र कोही राजनीतिबाट पलायन हुनुहुन्छ । तर, उहाँहरू आफ्ना परम्परागत धार्मिक, सांस्कृतिक कार्यमा भने संलग्न हुँदै आइरहनुभएको देखिन्छ । यो उहाँहरूको गलत कार्य हो भन्ने होइन तर पहिले धर्मविरोधी अभियान चाहिँ गलत थियो भन्ने हो । अहिले धार्मिक आध्यात्मिक परिधिभित्र आउनुभएको चाहिँ उचित हो भन्न सकिन्छ । यसैगरी हाल प्रधानमन्त्रीलगायत सत्तासीनबाट आएका अभिव्यक्ति पनि यस्तै भावनाको प्रतिबिम्बन हो । धार्मिकमात्र होइन हाम्रा खप्तडलगायत विभिन्न ठाउँलाई पर्यटकीय दृष्टिकोणबाट समेत विकसित बनाउन सकिन्छ । त्यसो गर्ने हो भने धर्मविरोधी समेत त्यस्ता ठाउँमा पुग्छन् र सबै धर्मका मानिस एकै ठाउँमा उभिन आइपुग्छन् । ती ठाउँ सबैका साझा बन्न सक्छन् ।

खप्तडमात्र होइन पाथीभरा, हलेसी, दूधकुण्ड, जालिम पोखरी, भीमेश्वर, कालिञ्चोक माई, सतासी धाम, चतारा, विष्णुपादुका, जनकपुर, बारा, देवघाट, रुरु, रिडी, मुक्तिनाथ, स्वर्गद्वारीलगायत विभिन्न ठाउँ धार्मिक पर्यटकीय दृष्टिले विकसित बन्न सक्नेछन् । यो सकारात्मक कुरा हो । त्यसकारण उहाँहरूकै शब्दमा ‘काम्रेड’ भनेर सम्बोधन गरिने विभिन्न कम्युनिष्ट पार्टीमा आबद्ध नेता तथा कार्यकर्तालाई सनातन धर्ममा लागेका कारण दपेटेर पाखा लगाउनुको सट्टा यसलाई सकारात्मक रूपमा लिएर सनातन धर्मको संबद्र्धनमा एकता कायम गर्नु बुद्धिमत्तापूर्ण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?