
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो १७औँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कमिटी गठन गर्नासाथ नयाँ कार्यसमितिका विभिन्न पदमा आकांक्षीले आ-आफ्नो चाहना व्यक्त तथा उम्मेदवारी घोषणा गर्न थालेका छन् । यही पंक्तिमा ‘अनेसास चुनाव र मेरो अभिमत’ शीषर्कमा आफ्ना भनाइ राख्दै अनेसास केन्द्रीय कार्यसमितिकी महासचिव, अनेसास ट्रष्टी, साहित्यकार एवं गीतकार विमला निरौलाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । एक दर्जनजति कृति पाठकमाझ ल्याउनुभएकी विमलाका केही गीत श्रोता/दर्शकमाझ छन् । अनेसाससँग सन् २००७ भन्दा अघिदेखि आबद्ध भई २०१० देखि च्याप्टर तथा केन्द्रका विभिन्न तहमा रहँदै हाल केन्द्रको महासचिवजस्तो जिम्मेवारपूर्ण पदमा रही कुशल कार्यसम्पादन गरिरहनुभएकी विमलाका कार्यले तारिफ बटुलिरहँदा उहाँले यतिबेला अध्यक्ष पदका लागि आफूलाई प्रस्तुत गर्नुभएको छ । अनेसासको अध्यक्ष पद एक सामूहिक नेतृत्वको हिस्सा भए पनि आफ्ना केही ‘मिसन र भिजन’साथ यस गरिमामय संस्थाको नेतृत्वका लागि आफूलाई तयार गर्नुभएकी विमला निरौलासँग हिमालय टाइम्स दैनिकका लागि कृष्ण भुसालले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यहाँको हालै बालकविता संग्रह ‘यात्रामा देश’ पाठकमाझ आएको छ, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
‘यात्रामा देश’ परदेशमा रहेका बालबालिकालाई नेपाली भाषाका शब्दहरू सिकून्, नेपालका केही ऐतिहासिक तथा पर्यटकीयस्थलका बारेमा न्यूनतम् जानून् र ती स्थानलाई केही रूपमा आफ्नो भनेर जोडिइराखून् भन्ने उद्देश्यले तयार पारिएको थियो । अग्रज भाषा तथा साहित्यका र बालसाहित्यका अग्रज विद्वान्हरू, समालोचक तथा अग्रज साहित्यकार साथै अहिले विदेशमा बसिरहनुभएका लक्षित साना-साना भाइबहिनीहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया, सुझाव, प्रेमभावले हौसला, खुसी, सिक्ने अवसर र जिम्मेवारी बोध गराएको छ । समग्रमा अहिलेसम्म विभिन्न मञ्चमा पाएका प्रतिक्रियाबाट उत्साहित छु र प्रवासमा बसेका साना-साना नानीहरूलाई नेपाली भाषा, साहित्य, संस्कृति, नेपालको परिचयसँग नजिक राख्न अझै धेरै काम गर्नुपर्नेछ र यसरी पनि गर्न सकिने रहेछ भन्ने पनि अनुभव गरेँ ।
साहित्यमा कहिलेदेखि हुनुहुन्छ ?
स्कुलमा ७–८ कक्षामा पढ्दा वासुदेव मुनालले चलाउनुभएको बाल कार्यक्रममा भाग लिन जानका लागि साना-साना कविता लेखेकी थिएँ र पछि मधुपर्क, गरिमाजस्ता साहित्यिक पत्रिकाहरूमा कहिलेकाहीँ एक-दुईवटा कविता लेखेकी थिएँ । सन् २००७ मा अनेसासबाट तीनवटा बालसाहित्यका पुस्तकहरू प्रकाशित भएका छन् ।
यहाँका हालसम्म कति कृति पाठकमाझ आएका छन् ?
अहिलेसम्म मेरा १२ वटा पुस्तक प्रकाशित छन् । जसमध्ये धेरैजसो अनेसासले प्रकाशन गरेको छ भने अरू पुस्तकहरू साझा प्रकाशन, रत्न पुस्तक, रुम टु रिड र रेवा स्मृित प्रतिष्ठानबाट प्रकाशित भएका छन् । त्यो बाहेक मैले केही गीत पनि लेखेकी छु, जसमध्ये एउटा गीति संग्रहसहित १६ वटा गीत रेकर्ड भएका छन् । शिलाबहादुर मोक्तान दाइको संगीतमा कुन्ती मोक्तान, अञ्जु पन्त, रचना रिमाललगायतले गाउनुभएको छ, जो युट्युबमा विमला निरौलाको नाममा भेटिन्छन् ।
अनेसासको अध्यक्ष झट्ट हेर्दा कार्यकारीजस्तो सुनिए पनि यो एक सामूहिक नेतृत्वको हिस्सा हो अथवा भनौँ अनेसासले अधिकांश सर्वसम्मत निर्णय लिनुपर्छ । त्यसैगरी यसको ‘भिजन र मिसन’ विधानमा नै निर्दिष्ट छन् र त्यसलाई हामीले समयानुकूल परिमार्जन गर्न सकिन्छ । म एक अध्यक्षको उम्मेदवार हुनुले मेरा केही प्राथमिकता छन् । मेरा प्राथमिकता कुनै नौला विषय होइनन् । लामो समयदेखि अनेसासले आफ्नो योजनाका रूपमा छलफल गरिरहे पनि संगठित रूप दिन नसकेर नदेखिएका हुन् ।
यहाँले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभयो नि ?
हजुर, म सन् २००७ देखि जोडिएँ र २०१० देखि च्याप्टरका विभिन्न जिम्मेवारीमा थिएँ, त्यस समयमा केन्द्र तथा बोर्ड अफ ट्रष्टीको महत्वपूर्ण जिम्मेवारी लिएर काम गरेकी थिएँ । जसमध्ये तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन तथा विदेशमा रहेका बालबालिकाका लागि सञ्चालन गर्न सकिने नेपाली भाषा कक्षासम्बन्धी कार्यपत्र थियो । यसै गरेर पछिल्लो दुई कार्यकाल क्रमशः सचिव र महासचिवको जिम्मेवारी लिएर काम गरँे र गरिरहेकी छु । नेपाली प्रचलनमा १२ वर्षलाई एक युग भनिन्छ, यसरी हेर्दा म अनेसासको भाषा र साहित्यको गतिविधिमा लागेको झण्डै दुई दशक भइसकेछ । संस्थाको नेतृत्वको जिम्मेवारी लिनु पदमात्र होइन । यसका लागि यथेष्ट समय, मिहिनेत र साधन जोड्न सक्नुपर्छ । यसका निमित्त प्रशस्त ऊर्जा चाहिन्छ । त्यसैले मैले अझै अर्को दुई वर्ष अनेसासको सेवामा सक्रियरूपमा लगाउने उद्देश्य राखेर अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेकी हुँ । म यो अवधिमा सार्थक काम गर्न चाहन्छु ।
अनेसासमा लामो समयदेखि हुनुहुन्छ, वर्तमानमा यस संस्थाका समस्या के-कस्ता रहेको पाउनुहुन्छ ?
असाध्यै राम्रो प्रश्न गरिदिनुभयो । म यसलाई अनेसासका समस्या नभनेर प्रवासमा नेपाली भाषा र साहित्यका चुनौतीका रूपमा लिनुपर्छ भन्ने ठान्छु । यो नेपाली हुनुको आफ्नो परिचय, अपनत्वसँग जोडिएको विषय हो । प्रवासमा नेपाली भाषा, साहित्य र कलाको जगेर्नामा अनेसासले मियोका रूपमा काम गर्नुपर्छ । कर, रहर, अवसर वा परिवर्तन जे भनौँ, नेपालीहरू स्थायी बसोबासका लागि विदेशिने क्रम बढ्दो छ । जहाँ बसोबास गर्यो, त्यहीँको भाषा नै मुख्य कामकाज, बोली र नानीहरूले सिक्ने माध्यम बन्न थाल्छ । यसरी क्रमशः नेपाली भाषी हामी हाम्रो मातृभाषाको सम्पर्कबाट क्रमशः टाढा हुँदै छौँ । पहिलो त त्यो परदेशका नानीहरूलाई नेपाली लिपि, शब्द र साहित्यसँग जोड्नु ठूलो चुनौती छ ।
त्यसै गरेर विदेशी भूमिमा बसेर लेख्ने सर्जकहरूलाई सिर्जनाका पूर्वाधार, सन्दर्भ सामग्री, प्रकाशन, वितरणका चुनौतीहरू छन् । विदेशमा बसेर लेख्न वा नेपाली साहित्य पढ्न चाहने नेपाली भाषी वा अरू भाषा बोल्ने साहित्य अनुरागीमाझ नेपाली साहित्यकारहरूका सिर्जनाको पहुँच बढाउन उत्तिकै चुनौतीपूर्ण छ ।
त्यो बाहेक, सीमित स्रोत-साधनबाट र स्वयंसेवक सदस्यबाट चलेको संस्थाको संस्थागत विकास तथा विस्तार पनि चलिरहेको छ तर यसलाई अझै व्यवस्थित गर्न चुनौतीपूर्ण छ । हामीले हाम्रा आजीवन सदस्यहरूलाई चाहेजस्तो सजिलै सूचित गर्न, सम्पर्कमा बस्न र आएका सुझावलाई व्यवस्थित कार्यान्वयन गर्न कठिनाइ परिरहेको छ । जे-जति भइरहेको छ, त्यो हामी सम्पूर्ण आजीवन सदस्य, विभिन्न च्याप्टर, त्यहाँको कार्यसमिति, केन्द्रीय कार्यसमिति, बोर्ड अफ ट्रष्टी र ट्रष्टी र अन्य नियमित दाताको अमूल्य सहयोगबाट सम्भव भएको छ । तर, यो पर्याप्त छैन, हामीले नयाँ र विस्तृत स्रोतको संकलन तथा थप विभिन्न क्षेत्रका विज्ञ स्वयंसेवकज्यूको सहयोग जुटाउन आवश्यक छ ।
महासचिव हुँदा यहाँले गरेका कार्यले प्रशंसा बटुल्न सफल भएको पाइन्छ, त्यसैले हौसिएर अध्यक्षका लागि उम्मेदवारी दिनुभएको हो ?
राम्रो काम गरेर प्रशंसा बटुल्न सकेको रहेछु भने म आफूलाई धन्य ठान्नेछु । तर, म यसरी भनौँ, यो प्रशंसाको लहडमा लिइएको निर्णय होइन । संयोगबस म अमेरिका बस्न आएको पहिलो हप्तामै अनेसास डिसी च्याप्टरले मलाई सदस्यमा मनोनयन गर्यो र म २०१० देखि लगातार अनेसासको जिम्मेवारीमा थिएँ । र, मैले त्यो समयदेखि नै अनेसासको केन्द्रीय कार्यसमिति तथा बोर्ड अफ ट्रष्टीका गतिविधि, कार्यक्रम तथा पहलहरूमा के-कस्तो सहयोग गर्न सक्छु भनेर सक्रियरूपमा योगदान गरेकी छु ।
२०२०-२०२२ केन्द्रीय कार्यसमितिको सचिव र २०२२-२०२४ महासचिवको जिम्मेवारी लिएर काम गरेँ । र, मैले पदमा रहँदा वा नरहँदा उत्तिकै जिम्मेवार भएर काम गरिरहेकी छु । मैले यी कुनै पनि काम भोलि अध्यक्ष हुनुपर्छ भनेर होइन, नेपाली भाषा, साहित्य कलालाई माया गरेर गरेकी थिएँ । मेरो क्षेत्र पनि बालसाहित्य र मेरो प्राथमिकतामा सधैं ती साना-साना भाइबहिनीहरू थिए । तिनीहरूलाई नेपाली भाषासँग जोडी राख्ने, नेपाली साहित्यमा जोड्ने, नेपाली बोल्न-लेख्न प्रेरित गर्ने काममा म कहिल्यै रोकिएकी छैन । हजुरहरूले जानकारी राख्नुभएको होला, अनेसासले नियमित बालतारा भन्ने कार्यक्रम चलायो । र, अहिले हामीले ‘प्रवासी बाल सिर्जना’ भनेर परदेशमा बसेका साना नानीहरूका सिर्जना संकलन गरेर प्रकाशन गरेका छौँ, मैले नै त्यसको सञ्चालन र सम्पादन गरेकी छु ।
जहाँसम्म अनेसासको अध्यक्ष पदको उम्मेदवारीको कुरा छ, त्यो त मेरो लामो अनुभव, इमानदारी, मिहिनेत, मेरा नेपाली भाषा साहित्य र अनेसासलाई माया गर्ने अग्रज साहित्यकारज्यूहरू, हजुरहरूजस्तै नेपाली भाषा, साहित्यमा कलम चलाउने नेपाली भाषा, साहित्य, कला, अनेसासलाई माया गर्ने पत्रकारज्यूहरूबाट प्राप्त हौसला र संसारभरि रहनुभएका हाम्रा आधार, आजीवन तथा ट्रष्टी सदस्यहरूको मप्रतिको विश्वास, अनि ‘तपाईंले नगरे कसले ?’, ‘अहिले नगरे कहिले ?’ भन्ने विश्वास र हौसलाले यो उम्मेदवारीसम्म पुर्याएको छ । मेरो वर्तमान कार्यसमितिमा मलाई सबैले विश्वास र सहयोग गर्नुहुन्छ, सबैको सहयोग पनि छ, ‘म यो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न सक्छु’ भन्ने आत्मविश्वास छ । साथै यसमा अनेसास, नेपाली भाषा, साहित्य, कलालाई माया गर्नुहुने सबै विज्ञहरूको मार्गनिर्देशन र अन्य संघसंस्थासँग समन्वय गरेर एक समूहका रूपमा काम गर्नेछौँ, हामी सबै मिलेर यो लक्ष्य प्राप्त गर्न सक्नेमा विश्वस्त छु । यस अवसरमा म पुनश्च, अनेसासका आजीवन सदस्य र ट्रष्टी सदस्य साथै विगत तथा वर्तमानका सबै च्याप्टर, केन्द्रीय कार्यसमिति तथा बोर्ड अफ ट्रष्टी तथा सल्लाहकारज्यूहरूलाई मेरो उम्मेदवारीमा सहयोग गरेर मलाई अनेसासमा आगामी अध्यक्षका रूपमा सेवा गर्ने अवसर दिनुहुन अनुरोध गर्दछु ।
यहाँले अध्यक्ष पदका लागि के-कस्ता कार्य योजना अघि सार्नुभएको छ अर्थात् यहाँको ‘भिजन र मिसन’ के हो ?
अनेसासको अध्यक्ष झट्ट हेर्दा कार्यकारीजस्तो सुनिए पनि यो एक सामूहिक नेतृत्वको हिस्सा हो अथवा भनौँ अनेसासले अधिकांश सर्वसम्मत निर्णय लिनुपर्छ । त्यसैगरी यसको ‘भिजन र मिसन’ विधानमा नै निर्दिष्ट छन्, त्यसलाई हामीले समयानुकूल परिमार्जन गर्न सकिन्छ । म एक अध्यक्षको उम्मेदवार हुनुले मेरा केही प्राथमिकता छन् । मेरा प्राथमिकता कुनै नौला विषय होइनन् । लामो समयदेखि अनेसासले आफ्नो योजनाका रूपमा छलफल गरिरहे पनि संगठित रूप दिन नसकेर नदेखिएका हुन् । म आफ्ना प्राथमिकताको पूर्ण विवरण यहाँहरूसमक्ष राख्नेछु । तर, अनेसास र अनेसासको अध्यक्ष आफ्नो कार्यसमिति, बोर्ड अफ ट्रष्टी, च्याप्टर तथा सम्पूर्ण आजीवन सदस्यको भाषा बोल्न र भावना प्रतिनिधित्व गर्न सक्षम हुनुपर्छ । त्यसै गरेर भाषा तथा प्रविधि विज्ञ तथा अग्रज साहित्यकार पनि यो अभियानका पथप्रदर्शक हुनुहुन्छ । नेपाली भाषा, साहित्य र कलाको संरक्षण, विकास र विस्तार गर्न केही बाधक हुनुहुँदैन । यी गतिशील हुन्छन् । मैले मेरो प्राथमिकतालाई यहाँ छोटकरीमा राख्नुपर्दा यसरी भनौँ, परदेशका नयाँ पुस्तालाई भाषा, साहित्य र कलासँग जोड्ने, परदेशमा रहेका सर्जकहरूको सिर्जना प्रकाशनमा संगठित सहयोग पुर्याउने, स्रोतको सीमाभित्र रहेर उत्कृष्ट नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद र प्रकाशनका लागि संगठित पहल गर्ने, अनेसासको विद्युतीय पुस्तकालय, युट्युब च्यानल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने, स्रोत पहिचान गर्ने र सञ्चालनको पहल गर्ने, विभिन्न संसारभर रहेका अनेसासका च्याप्टरहरूलाई थप आत्मनिर्भर, स्वायत्त बनाउने, आर्थिक पारदर्शिता बढाउने, प्रविधिको प्रयोग गरेर सूचना, सम्पर्क र संगठनको शुद्धीकरण गर्न स्वयंसेवक विज्ञहरूको पहिचान र परिचालन गर्ने, विगतका विभिन्न तहले सुरु गरेका गतिविधिलाई पुनर्मूल्यांकन, नियमितता दिने र अनेसासमा नेतृत्व विकासको कार्यक्रम ल्याउने, स्थानीय तहमा सञ्चालन भइरहेका नेपाली भाषा पाठशालासँग समन्वय गर्ने र प्रयोग हुने पाठ्यपुस्तकमा एकरूपता ल्याउन छलफल कार्यक्रम ल्याउने । यसै गरेर नयाँ तथा पुराना सर्जकलाई यथेष्ट हौसलाका लागि थप पुरस्कार, सम्मान कार्यक्रमलाई नियमितता र विस्तार गर्न स्रोतको पहिचान गर्ने । यो लगत धेरै लामो हुनसक्छ । हामीले गर्नसक्ने कार्यहरूमात्र आफ्नो प्राथमिकतामा राख्ने कोसिस गरेकी छु । अनेसासले गर्नुपर्ने र गर्नसक्ने कामहरू धेरै छन् तर स्रोतहरूको सीमितताले गर्दा विगतमा पनि चाहेको जति काम हुन सकिरहेको थिएन । नयाँ कार्यसमितिले दिगो स्रोतको पहिचान र व्यवस्थापनमा जोड दिनेछ र यसका निमित्त म अहिले नै नेपाली भाषा, साहित्य र कला तथा अनेसासको यो अभियानमा चासो राख्ने, माया गर्ने सबैमा उचित सल्लाह र सहयोगका लागि हार्दिक अनुरोध पनि गर्दछु ।
अग्रिम बधाई तथा शुभकामना ।