विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार नौ बुँदे स्मरण पत्र पठाउँदै ४८ घण्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिनुभएको छ । आफू नेतृत्वको सरकारले ल्याएको जनहितकारी कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले हालका मुख्यमन्त्रीविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आउनुभएको छ । आइतबार पुनः स्मरण पत्र पठाएर ती कार्यक्रमहरूलाई निरन्तरता नदिए पूर्वमुख्यमन्त्री कार्कीले प्रदेशसभा परिसरमा सरकारविरुद्ध अनशन थाल्ने चेतावनी दिनुभएको हो । मुख्यमन्त्रीलाई पठाएको स्मरण पत्रमा कार्कीले भन्नुभएको छ ‘मेरो नेतृत्वको सरकारले जनताले तिरेको राजस्व जनतालाई नै अर्पण गर्ने नीतिअनुसार जनकेन्द्रित बजेट ल्याएको हो । सरकारका विकास कार्यक्रम सिधै तल्लो तहका जनता र भुइँमान्छेसित पुग्नेगरी त्यस सरकारले बजेट प्रस्तुत गरेको थियो । त्यसैले प्रदेश सभाबाट सर्वसम्मतिले बजेट पारित हुन सकेको हो । तर, वर्तमान प्रदेश सरकारका तपाईं माननीय मुख्यमन्त्री हिक्मत कार्कीले ती सबै जनहितकारी कार्यक्रम कटौती गरेर जनविरोधी कृत्य गर्नुभएको छ ।’
पूर्वमुख्यमन्त्री कार्की नेतृत्वको सरकारले प्रदेशभरीका १० वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम सञ्चालन गरेको थियो । हालका मुख्यमन्त्री कार्कीले स्रोतले नधान्ने भन्दै उक्त कार्यक्रम कटौती गर्नुभएको छ । पूर्वमुख्यमन्त्री कार्कीले यो कार्यक्रम निरन्तर सञ्चालनको माग गर्नुभएको छ । ‘हामी नेताका छोराछोरीका लागि यो कार्यक्रम अर्थहीन होला तर गरिब जनताका बच्चाबच्चीका लागि यो सबैभन्दा सहयोगी कार्यक्रम थियो’, कार्कीले भनेका छन्, ‘अहिलेको सरकारले यही कार्यक्रम कटौती गरेर जनविरोधी हर्कत गरेको छ । ४८ घण्टाभित्र उक्त कार्यक्रम सञ्चालनको प्रतिबद्धता प्रकट नगरे सरकारविरुद्ध अनशन थाल्नेछु ।’
बजेटमा २५ लाख रुपैयाँभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी-मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति) डाक्टर, इञ्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति तथा जनावरमैत्री जंगल कार्यक्रम कटौती गरिएको पूर्वमुख्यमन्त्री कार्कीको आरोप छ ।
कार्कीले यसबारे प्रदेश सभाको रोष्ट्रमबाट पनि बोलिसकेको स्मरण गराउँदै अल्टिमेटमको बेवास्ता भएमा ४८ घण्टापछि विराटनगर महानगरपालिका देवकोटा चोकस्थित प्रदेश सभाको परिसरमा अनशन गर्ने निर्णयमा पुगेको बताउनुभएको छ । पूर्वमुख्यमन्त्री कार्कीले यसबारे प्रदेशस्थित नेपाली कांग्रेसको प्रदेश समिति र केन्द्रीय समितिलाई पनि पत्रमार्फत नै जानकारी गराउनुभएको छ । कोशीमा अहिले एमाले नेतृत्वमा सरकार छ । समर्थन प्रकट गरिसकेको सरकारमा केही दिनमै कांग्रेस सहभागी बन्दै छ । यद्यपि, मुख्यमन्त्री कार्कीविरुद्ध पूर्वमुख्यमन्त्री एवं कांग्रेस नेता कार्कीले अभियान नै सुरु गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच