अरू दिनभन्दा एक घण्टाअगाडि नै उँठेछुँ म । आज बिहान सुत्तापनि ढिलो निद्रा पर्नु र अहिले उठ्न पनि चाडै हुनुले जिउ फूर्तिलो भएको छैन । त्यसैले चाडै उठे पनि केहीकाल नचल्माई निद्रा खललका कारण पत्ता लाउने सोचमा निमग्न भएँ । सोच्दै जादा अन्ततः मेरो सुसुप्त चेतनाले यसको मूलकारण क्रिष्टिनाको स्पर्श भएको निचोड निकाल्यो । यो निचोडमा कल्पना गर्दै गर्दा कतै आज बेलुका क्रिष्टिना फर्केर आउने भएकाले उसको आगमनको प्रतीक्षामा तरङ्गित भएर मेरो निन्द्रामा खलल भएको त होइन ? यस्तै सोच भयो जसवाट म आफंैदेखि डराएँ !
रातको खाना बोकेर सधैं भन्दा पैतालीस मिनटअगाडि स्टोरमा पुगेँ आज । म अगाडि नै किन स्टोर आएँ थाहा छैन म आफैँलाई । म स्टोर पुग्नु र डेल्टनको गाडीको ब्रेक लाग्नु झण्डै सँगसँगै भएछ । मैले स्टोरभित्र पसेर खाना थन्काइसत्तानसक्दै बुढो डेल्टनभित्र पस्यो र मलाई देखेर अभिवादन गर्दै ‘तँ म भन्दा छिटो भइछस् आज !‘ भनेर मख्ख भयो । यो उसको मख्ख पराई अरू केही नभएर बुढो भनेर मैले उसलाई दिने सम्मानको प्रतिफल हो । बुढोको अभिवादनको प्रत्युत्तरमा मैले जिस्कँदै तेरो स्वागत गर्न छिटै आएको आज भनेर आत्मियता देखाएँ । दुवै हेराहेर गरेर हास्यौँ ।
पारालाइसिसले दाहिने खुट्टा राम्ररी चलाउन असमर्थ भएर लठ्ठीका सहाराले भित्र-बाहिर गर्ने ८२ वर्षीय डेल्टन गाडी हाँकेर दिनहुँजसो ग्यास स्टेशन आउने गर्दछ । हामीसँग एकादुई घण्टा आफ्नो इतिहासको बखान गर्छ । मन बहलाउन लोटो खेल्छ र जितेका दिन हामीलाई खुशी पार्न पाँच–दश डलर छर्केर सबैको मन जित्ने प्रयत्न गर्दछ । सायद भूतपूर्व सैनिक भएको नाताले होला बुढो रसिक भएर पनि अन्य बुढाहरूजस्तो अश्लील कुराभन्दा ज्ञानगुनका, देशकाल परिस्थितिका कुरालाई महत्व दिने गर्दछ हाम्रो बीचमा ।
यस स्टेशनमा आउने अरू ग्राहकभन्दा पृथक् यो बुढो एक प्रकारले हामी सबैको प्रिय र मान्य छ । बुढाको केही दिनको संगतमा उसमा निहीत विशेषता देखेर मैले ‘उसको सामीप्यताले खराब गर्दैन बरू केही कुरा सिकाउँदछ’ भन्ने निष्कर्ष निकालेँ र उसको संगत गर्न थालेँ ।
प्यरालाइसिसग्रस्त भए पनि डेल्टन जोशिलो देखिन्छ । मैले दुई-चार दिनको संगतमा नै के अनुभूत गरेँ भने ऊ अमेरिका विश्वको रखवाला हो भन्ने कुरामा कसैको खण्डन पटक्क सुन्न मान्दैन । हरेक दिनजसो ग्यास स्टेशनको भ्रमणमा आफ्ना भनाइको पुष्टिका लागि भियतनाम, इरान, कुवेत र अफगानिस्तान सबै युद्धमा अमेरिकी उपस्थितिको औचित्यताको बखान गर्दछ । यी युद्ध मानवाधिकार, प्रजातन्त्र र स्वतन्त्रताको संरक्षणको लडाइँ हुन् भन्ने गर्दछ ।
आज विश्वभर मानवका मौलिक हक र अधिकार संरक्षणका लागि हामी (अमेरिकीहरू) समस्त विश्वमै लडिरहेका छौँ र निर्दोषमै मृत्युवरणसमेत गरिरहेका छौँ, तर तिमीहरू यसलाई साम्राज्यवादको संज्ञा दिएर कृत’नता प्रकट गर्दछौं भनेर निरन्तर अर्ति दिनु उसको धर्म मान्दछ ।
हाम्रा देशका नेताले देशको नाम र राष्ट्रिय झण्डासमेत फेर्नुपर्छभन्दा बोल्न नसक्ने अवस्थामा पुगेका हामी नेपाली र मैले बुसको पोस्टर देखेँभन्दा झण्डै एक घण्टा राष्ट्र र राष्ट्रियताका बारेमा प्रवचन दिने अमेरिकीको राष्ट्रिय भावनाको तुलना कसरी गरौँ वा गर्न नै मिल्छ कि मिल्दैन ?
कुवेत, इराक, भियतनाम र अफगानिस्तानका युद्ध र ती युद्धको औचित्यता सावित गर्न ऊ हरदम तत्पर देखिन्छ र यसमा किञ्चित पछि पर्दैन । अन्ततः लामो प्रवचनपछि भनाइको सारांशमा हामी विश्वका सर्वश्रेष्ठ हौँ भन्ने अमेरिकी दम्भमा किञ्चित कमी आउन दिँदैन । बुढाका कतिपय कुराहरू दम्भयुक्त मानेर फिरोजहरू बेलाबेला प्रतिकार गरिदिन्छन् । त्यसबेला बुढो आफ्नो श्रेष्ठतालाई दिएको चुनौती सम्झन्छ र रन्किएर प्रतिवाद गर्दछ । जब उसले मुस्लिमप्रति अनुदार कुरा गर्न थाल्दछ आफूलाई पाच्य नभए पनि विनाप्रतिक्रिया म तटस्थ बस्ने प्रयत्न गर्दछु । खास गरेर आतङ्क र आतंकवादीका परिभाषामा बुढासँग यहाँँका कसैको विचार मिल्दैन । मुस्लिम भन्नेबित्तिकै आतंकवादको अर्को रूप हो भन्ने नाइल इलेभनपछि अमेरिकी मनमा पलाएको भ्रमले बुढो पनि ग्रसित छ । त्यसैले डेल्टन झगडा गरिरहन्छ फिरोजलगायत प्रायः यहाँँ आउने मुस्लिम समुदायका मानिससँग ।
एकदिन कुरैकुरामा उसले फिरोजलाई ‘तिमीहरू (अमेरिकी मुस्लिमहरू) स्वयं आतंककारी नभए पनि आतंकवादका प्रणेता त हौ नि ! अतः तिमीहरू राष्ट्रवादी अमेरिकीको संन्देहको घेराबाहिर हुन सक्दैनौ‘ भनेर थर्कायो । फिरोज तथा अर्को ग्यास स्टेशनबाट आएको उसको मुस्लिम साथीले पनि कडा प्रतिकार गरे तर बुढो साम्य भएन । तँ तँ ममको स्थिति आएपछि समाधानार्थ मैले बुढोलाई जिस्किएझैँ गरी भनेँ, ‘केही बर्ष पहिले हृवाइट हाउसअगाडि बुसलाई ‘विश्वको एक नम्बर आतंककारी’ भनेर लेखेको प्लेकार्ड र बुसको भव्य मुस्लिम आकृतिको फोटो मैले प्रत्यक्ष देखेको थिएँ । त्यो दृश्य सम्झँदा त फिरोजभन्दा बुस नै बढी आतंकवादी हुन् कि ? जस्तो लाग्छ बेलाबेला मलाई । मैले यतिभन्दासम्म ऊ चुप रहृयो । उसको मौनतालाई कमजोरी सम्झेर मैले फेरि ‘यसलाई सत्य मान्ने कि प्रतिकारको एउटा माध्यम मान्ने ?‘ के यति भनेथेँ ।
बुढाका आँखीभुइँ नाच्न थाले । रातो अनुहार पारेर बूढो झ्वाक्किँदै मतिर फर्किएर ‘तँलाई पनि त यदाकदा पाकिस्तानको हावाले भेट्छ नि !‘ भन्यो । त्यसपछि ‘त्यही त हो अमेरिकी स्वतन्त्रता ! जसको काँधमा चढेर त्यसैलाई मास्न तिमीहरू खोज्दै छौ । अमेरिकी दाना पानीमा बाँचेर अमेरिकाको नै विरोध गर्ने तिमीहरूजस्ताप्रति पनि नरम दृष्टिकोण राख्ने गर्दछौँ हामी‘ भनेर अमेरिकाको महत्व बुझायो । आधा घण्टाजति अमेरिकीहरूमा रहेको राष्ट्रवादी भावना र अमेरिकी झण्डाको बखानमा भाषण छाँट्नुका अलावा ‘बेन्जामिन फ्रेङ्कलिनका तेह्र आदर्शका (उपदेशका) जगमा अडेको अमेरिका हो कसैले डगमगाउन सक्तैन‘ भन्दै बर्बरायो । रिस शाान्त नभएसम्म धेरैबेरसम्म भित्र बाहिर गरिरहृयो । बुढो शान्त भएको दिन भए म फ्रङ्कलिनका तेह्र आदर्शका बारेमा विस्तृत कुरा गर्ने थिएँ तर बुढासँग धेरै छलफल गर्न उचित ठानिनँ आज ।
बुढो आवेशमा यसरी भित्र-बाहिर गरिरहँदा फिरोजले लामो सास फेर्दै मेरो कानैमा भन्यो, ‘धन्न अंकलजी ! तपाईंले बीचमा नबोल्नु भएको भए आज बूढो कतिबेरसम्म कुर्लने थियो ।‘ फिरोजले यसो भनेर उसका कुरा सुन्नासाथ मैले फुसफुसाउँदै भनेँ ‘फिरोज ! उसका कुरालाई तैँले कति गौण गरिस् गरिनस् त्यो आफ्नो ठाउँमा छ तर मेरो विचारमा उसले अमेरिकी नागरिकले बोल्नुपर्ने शतप्रतिशत सत्य बोलिरहेको छ । ऊ एउटा सच्चा सिपाही रहेछ आफ्ना देशको ।
उसले रसिया, युगास्लोभिया टुक्रिनुदेखि खालिस्तान आन्दोलनसम्मको यथार्थतालाई कसरी एक सासमा व्याख्या गर्यो र तालिवानले कसरी कठपुलतीजस्तो बनाइरहेको छ पाकिस्तान सरकारलाई भनेर नजानिँदो गरेर तँलाई व्यंग्य कसो । अझ तँलाई जानी नजानी तालिवानको चक्करमा छस् भनेर झस्काउन खोज्यो । आखिर यत्रो अमेरिकन महादेश हामीले एकत्रित गरेर बसेका छौँ र सबै राज्यले बराबर स्वतन्त्रताको अनुभूति गरेकाले हामी आपसमा कुनै कुनै कुरामा विमती राखेर पनि युनाइटेड अमेरिकाका बारेमा विवादरहित छौँ भन्यो र एकताको सन्देश शक्तिको प्रदर्शन एकै शब्दमा अभिव्यक्त गर्यो ।‘
मेरो भनाइको प्रतिउत्तरमा फिरोजले मलाई ‘वास्तवमा आतङ्कवादीको प्रणेता को हो ?‘ भनेर प्रश्न ग¥यो र फेरि मेरो उत्तरको प्रतीक्षा नै नगरी ‘अंकलजी ! यिनीहरू कुनै पनि चिजको आविष्कार आफैं गर्छन् । केही समयपछि त्यसको परीक्षण र विक्रीका लागि तेस्रो विश्वमा सर्वनाश गर्न (हिरोसीमा नागासाकीझैँ) आफैं तल्लिन हुन्छन्‘ भनेर विभिन्न बम, युद्ध, युद्धक आदिका उदाहरणसहित प्रतिकार गर्न खोज्यो । उसको यो प्रतिकारमा मैले होइन भन्न सकिन । मैले सुनिरहेँ । उसका भनाइमा जतिजति मैले सोच्न थाले आफ्नै संसारमा धुम्न पुगेँ । कल्पिन थालेँ ।
हाम्रा देशका नेताले देशको नाम र राष्ट्रिय झण्डासमेत फेर्नुपर्छ भन्दा बोल्न नसक्ने अवस्थामा पुगेका हामी नेपाली र मैले बुसको पोस्टर देखेँ भन्दा झण्डै एक घण्टा राष्ट्र र राष्ट्रियताका बारेमा प्रवचन दिने अमेरिकीको राष्ट्रिय भावनाको तुलना कसरी गरौँ वा गर्न नै मिल्छ कि मिल्दैन ? म आफैँसँग जिल्लिएँ । म द्विविधाग्रस्त भएँ । अन्ततः मनमनै हाम्रो राष्ट्रिय भावना क्षयीकरण हुने कारक तत्व के के होलान् ? भनी खोज्न थालेँ ।
बुढो भित्र-बाहिर गर्न छाडेको केही कालपछि मैले सोचेँ, ‘ऊ रिसाएर सदाझैँ गएँसम्म नभनी गएछ आज ।’ सधैँ इज्जत गरेर हामीहरूले बाहिर गाडीसम्म पुर्याइदिनुपर्ने बुढो एकाएक गएकोमा म केही खिन्न भएँ । सधैँ गाडीमा लगेर राखिदिन्छन् भन्ने आशाले हामीहरू अरु ग्राहकसँग व्यस्त हुँदासम्म कुनामा पर्खेर खाली भएपछि बिदा मागेरमात्र जाने मान्छे आज केही नभनी गएको अनुमान गरेर फिरोजलाई मैले ‘बेकारमा बुढासित तर्क-वितर्क गरिएछ‘ भनेँ । ‘यो कुराले कताकता ग्लानि महसुस भयो‘ भनेरसमेत सुनाएँ ।
हामी यसरी कुरा गर्दागर्दै बाहिर फुल सर्भिस आएकोले फिरोज कुदेर बाहिर निस्कियो । फुल सर्भिस गरी भित्र आएर हाँस्दै उसले भन्यो, ‘अंकलजी ! कहाँ जान्छ बुढो ! ऊ त बाहिर गाडीमा रेष्ट गरेर बसिरहेको छ ।‘ फिरोजका कुरा सुनेर मैले अन्दाज गर्दै भनेँ, ‘उसलाई कतै प्रेसर त बढेन ?‘ मेरो कुरामा फिरोजले सहमति जनाउँदै भन्यो, ‘हुनसक्छ, बरू तपाईं गएर ‘तँ ठिक छस् ?’ भनेर सोध्ने हो कि !‘ मैले उसलाई जिस्क्याउँदै भनेँ, ‘होइन तिमी जाऊ न ।‘ उसले मेरो भाका बुझेर ‘मलाई बुढाको त्यही लठ्ठीले गोदाउने विचार छ ?‘ भन्यो । उसको कुरा सुनेर म हाँस्दै बाहिर निस्किएँ ।
बाहिर निस्किएर हेरेँ, बुढो त स्टियरिङलाई सिरानी बनाएर आराम गरिरहेको छ । मैले छैवैमा गएर उसलाई सोधेँ ‘तिमीलाई ठिकै छ ?‘ बुढोले अलि अलि हाँस्दै ‘धेरैबेर उभिएछु एकछिन गोडालाई आराम दिएको मात्र हो, मलाई ठिक छ भन्यो ।‘ उसको यो भनाइ सुनेर म फर्कँदै गर्दा ‘मायालाग्दो पाराले आएर सोधेकोमा धन्यवाद !’ भनेर बुढो फुसफुसाएको मधुर आवाज मेरा कानमा गुञ्जियो ।
उसको त्यो आवाजमा म अलिकति भावुक भएँ र फर्केर बुढोतर्फ हेरेँ । उसका आँखाले मायालाग्दो पाराले मलाई पछ्याएको देखेर सोचेँ सायद यी आँखाले अहिले बुढाका छोरा, नाति र घरपरिवार खोजिरहेका होलान् । म केही नबोलीभित्र आएर फिरोजलाई सबै कुरा भनेर तुरून्त कुलर भर्न थालेँ । कुलर भर्दै गर्दा अमेरिकी समाजको नराम्रो पक्ष अर्थात् वृद्ध भएपछिको एक्लो जीवन व्यतीत गर्ने चलनप्रति चिन्तामग्न भएँ र कताकता आफँै असुरक्षित भएको सोच्न थालेँ ।
मैले बाहिर डेल्टनको अवस्था बुझेर चिन्तामग्न हुँदै कुलरहरू भरिसक्दा नसक्दै ऊ लौरो बजार्दै भित्र पस्यो र सरासर मेरो छेवैमा आयो । बुढो आएको देखेपछि मैले ऊसित आज राजनीतिक प्रसंगमा छलफल गर्ने विचार गरेँ । यो प्रसंग उठाउनुपूर्व पुनः सोधेँ, ‘अब ठीक भयो ?‘ उसले ‘अघिको भन्दा केही राम्रो भयो‘ भन्यो । मैले कुलर भरिसकेँ र उसलाई लिएर काउण्टर छेउमा पुगेँ । काउण्टरनजिक पुग्नेबित्तिकै फिरोजतिर हेर्दै बुढोले फेरि आफ्ना कुरा सु गर्यो ‘के तिमीहरूलाई थाहा छ ? अमेरिका कसरी कसले बनायो ? तिनीहरूकै पौरखमा आज तिमीहरू यसरी रजगज गरिरहेका छौ ।‘
उसको यो प्रश्न सुनेर मैले उत्तर सोच्दासोच्दै फिरोजले हाँस्दै रजिष्टारबाटै ठाडो उत्तर दियो, ‘हिटलरले !’ उसको यो उत्तर सुनेर बुढो स्तब्ध भयो । मलाई पनि भर्खर तंग्रिएर आएका बुढालाई किन जिस्काएको जस्तो लाग्यो, तर बुढो रन्कनुपूर्व तुरून्तै फिरोजले मोर्चा सम्हाल्दै भन्योे, ‘हिटलरले युद्ध नगरेको भए अमेरिकाले कहाँ पाउने थियो यत्रो प्रविधि, वैज्ञानिक र यहुदी (अर्थ) एकैपल्ट ।‘ फिरोजको यो कुरालाई बुढोले हो पनि भनेन र होइन पनि भनेन । मैले कुरा सच्याउँदै ‘अमेरिकाले त युद्धलाई अवसरमा रूपान्तरण गरिदियो र आफू विश्वको महाशक्ति राष्ट्र बन्न पुग्यो‘ भनेँ ।
मैले यसो भनेपछि बुढोले ‘अवसरको सदुपयोग त गरेकै हो किनकि युरोप, एशिया, अफ्रिका युद्धमा हुँदा हामी निर्माणमा थियाँै र निर्णायक अवस्थामा मात्र युद्धमा भाग लिएका थियौँ, तर मानिसले भन्ने गरेजस्तो अमेरिकाको समुच्चा विकास र निर्माण त त्योभन्दा धेरै पहिले भेन्डर विल्ट (रेल), रकफेलर (तेल), कार्नेगी (स्टिल) र जेपी मोर्गन (अर्थतन्त्र)ले सुरू गरिसकेका थिए‘ भनेर उनीहरूको बारेमा एउटा सानुसानु प्रवचन दियो र आधुनिक अमेरिकाका निर्माता यिनै हुन् भनेर सिद्ध गर्न खोज्यो । यसमा केही प्रतिक्रिया आउने छैन भन्ने डेल्टनको सोचाइविपरीत फिरोजले ‘तर युरोपियन त यो मान्न तत्पर छैनन् नि !‘ भनिदियो ।
फिरोजले यसोभन्दा मैले हो वा होइन केही भनिनँ किनकि यो कुरामा अमेरिकी नागरिक भएका नाताले मभन्दा ऊ नै विज्ञ छजस्तो लाग्यो मलाई, तर फिरोजको कुरामा झर्कंदै बुढाले भन्यो ‘युरोपियन के मान्छन् त ?’ फिरोजले पनि हाँस्दै ‘अमेरिकनहरूलाई चिठ्ठा जितेको बन्धु जसले खान लाउनसम्म पनि ढंगले जान्दैनन् भन्छन् होइन र ?’ उसले उल्टै प्रतिप्रश्न गर्यो । फिरोजका कुराले बुढाको मुख हेर्न लायकको रातो न पिरो भयो ।
डेल्टनले फिरोजतिर फर्कंदै पुनः भन्यो, ‘यही दम्भले सारा युरोपियन मुलुकका साम्राज्य ढलेर आज भिखमग्गा हुनुपरेको अवस्था सिर्जित भएको हो । अझै पनि यस्तो दम्भ गर्दै हिँडे र अमेरिकाले खुट्टा झिकिदियो भने भोलि एशियनहरूको सेवक बन्नुपर्नेछ युरोपियनले ।’ बुढाको कुरा सुनेर हामीले केही प्रतिक्रिया जाहेर गरेनौँ । हामीबीचमा एकछिन सन्नाटाको राज भयो ।
केही मिनेटपछि नै सिलसिला मिलाउँदै मैले अमेरिकाको राजनीतिको कुरा निकालेँ । कुरा गर्दै जाँदा आफूलाई स्वतन्त्रता र मानवअधिकारको पक्षधर मान्ने यो बुढोले हाम्रा सोचको विपरीत कुरा गरेर हामीलाई वास्तवमै चकित बनायो । महिलाप्रतिको विभेदताको कुरा गर्दै ‘हिलारी क्लिटनले अमेरिकी राष्ट्रपति पदको सशक्त र योग्य उम्मेदवार भए पनि किन चुनाव जितिनन् ? जबकि पहिलो चुनावदेखि नै एक प्रकारले विभिन्न मिडियामा हिलारीको एकछत्र वर्चस्वजस्तै थियो । यत्रतत्र हिलारी क्लिटनलाई भावी प्रथम महिला राष्ट्राध्यक्षको रूपमा प्रस्तुत गरेर मिडियाले सबैको मनमा हिलारीलाई स्थापित गरेका थिए ।
न्यूयोर्क टाइम्स, न्यूयोर्क पोष्ट, न्यूज डेलीलगायतका पत्रपत्रिका हरेक अंकमा उनको स्तुति हेरेर (पढेर) मात्र होइन राजनीतिमा चाख राख्ने हरेक अमेरिकीको व्यक्तिगत मनसाय बुझ्दा पनि हिलारी क्लिटन नै अमेरिकाको पहिलो महिला राष्ट्रपति हुन् भनेर निसंकोच भन्न सक्ने अवस्था सिर्जित थियो, तर किन जितिनन् ?’ फेरि प्रश्न दोहो¥याउँदै यसको कारण आफैँ बताउँदै बुढोले जुन व्याख्या ग¥यो त्यसले हामीलाई स्तब्ध बनायो ।
व्याख्याको सन्दर्भमा उसले भन्यो, ‘यो भारत, बंगलादेश, पाकिस्तान वा श्रीलंका होइन यो अमेरिका हो र यहाँँ अहिले नै यस देशले महिलाले राष्ट्राध्यक्ष पाउने समय आइसकेको छैन । तिमीहरू अमेरिकामा स्त्री जाति पूर्ण स्वतन्त्र छन् भन्ने जुन सोच राख्दछौ त्यो केवल एउटा भ्रम हो ।’ उसले यसो भन्दा म आज पनि ‘न स्त्री स्वातन्त्र मर्हति’ को वकालत पो गर्न थाल्यो भनेर फिस्स हासेँ, फिरोज जिल्लियो ।
एकछिनपछि उसको कुरामा विमती जनाउँदै फिरोजले प्रतिवादस्वरूप ‘यहाँँ स्त्री-पुरुषभन्दा पनि श्वेत-अश्वेतको अथवा रंगभेदको कुरो बढी होला, तसर्थ सेतो छालाले के कालालाई भोट हाल्ला त ?’ भन्यो । उसले आफैँतिर देखाउँदै भन्यो, ‘म क्लिटनलाई ओबामालाई भोट हालेँ । अब तँ आफैँ भन् मेरो छाला सेतो हो कि कालो ?’ उसले हाँस्दै फेरि भन्यो, ‘त्यसको उत्तर म आफँै दिन्छु, सायद हिलारीको ठाउँमा कुनै सेतो पुरूष प्रतिद्वन्द्व भएको भए म अवश्य उसैलाई भोट दिने थिएँ ।’
डेल्टनको यस्तो अप्रत्यासित कथनले मलाई एक प्रकारको कौतुहल उत्पन्न भयो र मैले उसलाई भनेँ, ‘तेरो कुराले त एकथरी अमेरिकनहरू अझै स्त्री स्वतन्त्रताको पक्षमा छैनन् भन्ने सन्देश सम्प्रेषण गरिरहेको छ, के यो सत्य हो त ?’ मेरो प्रश्नको उत्तरमा उसले भन्यो, ‘निःसन्देह अमेरिकामा रंगभेदभन्दा लिंगभेद बढी छ र यहाँँका ७० प्रतिशत पुरुष कहीँ न कहीँ केही न केही रूपमा स्त्री स्वतन्त्रताको विरोधमा छन्, तसर्थ यो सत्य हो कि अहिल्यै त्यो जमातले स्त्रीलाई शासकको रूपमा स्वीकार गर्दैन ।’
डेल्टनको यो कुरामा तत्क्षण मैले विश्वास गरिनँ र मनमनै सोचेँ ‘यो बयासी वर्षीय बुढो एक्काइसौँ शताब्दीको अमेरिकामा यस्ता कुरा किन गरिरहेको छ ? हिजोका इतिहास पढेर आजपर्यन्त यस्ता नकारात्मक सोच पालिरहेको छ ?’
नारी स्वतन्त्रताको प्रतिकूल र अनुदार कुरा गरेर डेल्टन हिँडेपछि जति जति डेल्टन टाढा हुँदै गयो उति-उति उसका कुराहरू मेरो मनमा चस्कन थाले । मैले सोचेँ, ‘के अमेरिकामा उसले भनेजस्तो रंगभेदभन्दा लिंगभेद बढी छ त ?’ मेरो मनले यो स्वीकार गरेन । अहँ अवश्य छैन बरू छ भने आन्तरिक घरेलु हिंसा बढी छ । जसको परिणाम प्रतिदिन घट्ने गर्दछन् विच्छेदका घटनाहरू र खुस्किरहेका छन् सामाजिक मर्यादा र संरचनाका चुकुलहरू ।
म आजसम्म घुमेका वा काम गरेका ठाउँहरू (फेयर फिल्ड, नर्थइष्ट डिसी, साउथ इष्ट डिसी, स्पिंग्रफिल्ड भर्जिनिया न्यूयोर्क होस् वा मेनदेखि कि वेष्टसम्म यही वा न्यूयोर्कदेखि सान्फ्रान्सिस्कोसम्म) यत्रतत्र मैले प्रायः लिंगभेदभन्दा रंगभेद र विभेदताको कालो बादल मडारिरहेको महसुस गरेको छु र यो बादल अमेरिकी मानसपटलमा अदृश्य रूपले लुकेको धब्बा हो भन्ने गरेको छु । साँच्चै भन्नुपर्दा अहिलेसम्म पनि यो मुलुकमा सेतो छाला र कालो छालाको बीचमा स्वामी र सेवकको भावना पूर्णतः हटेको छैन । निग्रो भनेर कानुनी रूपले भन्न नसके पनि सेतो छालाको अन्तरआत्माबाट यो शब्द खै कहाँ हटेको छ ? कालो छाला पनि कुण्ठा वा हीनताबोधले ग्रसित भएर नै होला साथी-साथीबीचमा एकापसमा जिस्किएरै किन नहोस् निग्रो, निगर अनि ब्ल्याकी शब्दबाट एक-अर्कालाई सम्बोधन गर्ने गरिरहेका छन् । जानी–नजानी यी शब्दहरूलाई अद्यावधि गरिरहेका छन् वा जीवन्तता दिइराखेकै छन् ।
मैले प्रायः लिंगभेदभन्दा रंगभेद र विभेदताको कालो बादल मडारिरहेको महसुस गरेको छु र यो बादल अमेरिकी मानसपटलमा अदृश्य रूपले लुकेको धब्बा हो भन्ने गरेको छु । साँच्चै भन्नुपर्दा अहिलेसम्म पनि यो मुलुकमा सेतो छाला र कालो छालाको बीचमा स्वामी र सेवकको भावना पूर्णतः हटेको छैन । निग्रो भनेर कानुनी रूपले भन्न नसके पनि सेतो छालाको अन्तरआत्माबाट यो शब्द खै कहाँ हटेको छ ?
मैले स्टोरहरूमा, बसहरूमा, मेट्रो ट्रेनहरूलगायत अन्य सार्वजनिक स्थलहरूमा कैयौँपल्ट सेतोलाई कालोले ससम्मान प्राथमिकता दिँदा वा बाटो छाडिदिँदा कताकता दास मनोवृत्तिका अवशेषका चिह्नहरूको आभास झल्केको समेत अनुभूत गरेको छु । मेरो देशमा छुवाछूतविरुद्ध पाँचतारेमा भाषण र अजीर्ण हुने गरी भोजन गरेर बाहिर निस्कँदा ‘जदौ ख्वामित !’ भनेको सुन्न लालायितहरूको जमातजस्तै यहाँँ पनि देखेको छु । अझै पनि दासताको नवीन संस्करण मौलाएको देखेको छु ठाउँ-ठाउँमा । कालो बसेको ठाउँमा वा सिटमा सेतोसँगै नबस्ने र सेतो बसेको एकैसिटमा कालो बस्न हिम्मत नगर्नेसम्मका हर्कत देखेको छु । अहिले डेल्टनले कति सजिलै भन्यो यहाँँ रंगभेद र जातिभेद छैन भनेर, तर यो भनाइलाई आत्मसात् गर्ने पक्षमा भने अहिले छैन म तथापि डेल्टनसँग विरोध गरेर मुखले केही व्यक्त गर्र्ने पक्षमा पनि जान भने अवश्य चाहन्न किनकि मैले अझै धेरै कुरा सिक्नु छ उसको सामीप्यतामा बसेर ।
उसको र मेरा भेट भएको दुई–चार दिनदेखि नै हामी एक अर्कालाई आदर देखाउँछौँ र आपसमा विचारको आदान–प्रदान गर्दछाँै । घरमा ऊ एक्लै बस्छ भन्ने थाहा पाएपछि मैले अझ उसलाई बढी काम दिन थालेको छु अर्थात् केही नयाँ समस्या वा अखबारका नबुझेका शब्द र वाक्यहरूको अर्थदेखि अमेरिका र युरोपको थप जानकारीसम्मका यावत कुराको गाँठो फुकाउन उसकै प्रतीक्षा गर्न थालेको छु । उसमा र ममा अघोषित एक प्रकारको अपनत्व बढिसकेको छ ।
मलाई राम्ररी अंग्रेजी आउँदैन अतः म खाँटी अमेरिकनले बोलेको केही मरीतरी बुझ्दछु र बाँकी त हाउभाउबाट अन्दाज गरेर काम चलाउने गर्दछु भनेर उसलाई म पटक–पटक भन्ने गर्दछु तर ऊ मलाई सधैँ सान्त्वना दिँदै एउटै कुरा भन्छ ‘भाषा त कुरा बुझ्ने माध्यम मात्र हो तैँले जसरी बुझे पनि के फरक पर्छ । म नै पनि कति स्पेनिस र अफ्रिकन अमेरिकनले बोलेको सबै कहाँ बुझ्दछु र ! मेरी बैनी क्यानडा बस्न थालेको २५ वर्ष भयो यदाकदा अमेरिकन सिरियल र फिल्म नबुझेर मलाई सोध्दै भन्छे म त अमेरिकन स्ल्यांग लंगेज बुझ्दै बुझ्दिनँ । यस्ता अरू पनि उदाहरण दिएर मलाई भाषा जान्दिनँ भन्ने हीनताबोधबाट विचलित हुनबाट बचाउँदछ ऊ पटक-पटक ।
डेल्टनसितको भेटघाट र सामीप्यताले नै मैले म्याक्सवेल, सी वेटजेआर, भर्जिनिया, वेट योलण्डा, कौलाज के.टी., ताना आदि न्यूयोर्कका प्रतिष्ठित कवि-कवियित्रीहरूसँग परिचय गर्न र उनीहरूसँगै दुई-चारवटा कवितागोष्ठीमा कविता वाचन गर्ने अवसर पाएकोले पनि म ऊसँग अझ बढी अनुगृहित छु र हुनुपर्दछ भन्ने मान्यता पनि राख्दछु, तर यदाकदा भने उसका अस्वाभाविक क्रियाकलापले मनमनै झस्कन्छु अनि सोच्छु, ‘अहिले हामीसित क्षणिक सामीप्यता जनाउन जे भने पनि जस्तो व्यवहार गरे पनि अमेरिकनहरू बेलाबेला संकीर्णता र रंगभेदका अनुयायी हुन् कि !’ यस कुराको प्रमाणस्वरूप यहाँँका अरु पाकिस्तानी र मुस्लिम समुदायप्रति बुढोले गरेको व्यवहारबाट बेलाबेला झस्कन म बाध्य हुन्छु । जसबाट म पटक-पटक तर्सी सकेकोछु ।
डेल्टन लगभग एकघण्टा अगाडि नै बिदा भए पनि म भने ऊसको सन्दर्भबाट विदा हुन सकिरहेको छैन । अहिले कि त ग्राहकसँग कि त डेल्टनका पछाडि कुदिरहेको मलाई एकाएक फिरोजले तपाईं पहिला खाना खाने कि म खाउँभन्दा तन्द्राबाट यथार्थमा आएको अनुभूत गर्दै हत्तनपत्त मैले उसलाई तिमी खाउँ भने । उसले खाना खान सुरु ग¥यो । म ग्राहकसँग कुरा गर्दै सामानको बिल बनाउँन थाले ।
म रजिष्टरमा व्यस्त भएकै बेला बिहान न्यूयोर्क गएकी क्रिष्टिना टुप्लुक्क आइपुगी । क्रिष्टिनालाई देख्ने वित्तिकै आज पहिलो पटक पृथक तरिकाले रोमाञ्जित भयो मेरो मन । धेरै दिनदेखि प्रतीक्षा गरिरहेको वस्तु प्राप्तगर्दा हुने खुशी छछल्किएको अनुभूति भयो मलाई एकाएक । तथापि मैले उसप्रति चासो राखेको ढाक्ने कोसिस गर्दै उसलाई हलो हायसम्म नगरी फटाफट ग्राहकहरूलाई बिदा गरेँ । स्टोरमा हामी तीनजनामात्र बाकी भएपछि क्रिष्टिनाले काउन्टरमा आएर भलाकुसारी गर्न थाली । आज म ऊसँग नगएकोमा गुनासो समेत गर्नभ्याई । मैले पनि जान चाहेर पनि सकिन भनेर चेपारो घसेँ । मेरो भनाईमा मख्ख परेर उसले अर्को हप्ता नृतिसहित कतै जाने प्रस्ताव राखी । मैले हुन्छ भनेँ र उसलाई खुशी पार्ने यत्न गरेँ । यसैबीच उसले मेरो फोन नम्बर मागेर मलाई डायल गरी । यो डायलको तात्पर्य मैले उसको फोन नम्बर सेभ गर्ने आशय ठानेर मैले हत्तपत्त सेभ गरेँ ।
म भरिसक्य हाम्रो संवाद र फोन नम्बर आदान प्रदान कर्म फिरोजले नसुनोस् र देखोस् भन्ने मनशायले विस्तारो बोलिरहेकोछु । क्रिष्टिना पनि मेरो नक्कल गरेर पुरानो प्रेमीकाझैँ विस्तारो बोलिरहेकी छ । हुनत यहाँ त्यस्तो गोप्यता पनि केही छैन तथापि यो गोप्यतामा प्रेमको झिल्को दुवैमा प्रोज्ज्वलित भइरहेको आभाष भइरहेको छ मलाई ।
हामी फुसफुसाएको मन नपरेझैँ तीनचार जना ग्राहक एकै पटक भित्र पसे । क्रिष्टिनाले कफीको पैसा दिई र काउन्टरबाट कफी टेवल तिर लागी । म ग्राहकको चाहना पूरा गर्न थालेँ । ग्राहकहरू निस्किनासाथ ऊ काउन्टरमा आई र अर्को हप्ता कता घुम्नजाने म निश्चित गरेर खवर गरौला भन्दै निस्किइ मैले हलका हात हल्लाएर बिदाइ गरेँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच