
काठमाडौं । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनको परिणामबाट नेकपा माओवादी केन्द्र उत्साही बनेको छ । नेपाली कांग्रेस र नेकपा एमाले सत्ता साझेदारीपछि विपक्षी कित्तामा हुत्तिएको माओवादी सरकार कमजोर पार्ने प्रयासमा केन्द्रित रहेको थियो । विपक्षीमा पुगेपछि माओवादी संगठन निर्माणमा लाग्नुका साथै आन्तरिक छलफलमा केन्द्रित रहृयो । कहिले कांग्रेस त कहिले एमालेलाई प्रयोग गरेर निरन्तर सरकारको नेतृत्व गर्न सफल भएको थियो । सत्ताविमुख भएसँगै राजनीतिक वृत्तमा माओवादी अब सकिएको विश्लेषण हुन थालेको थियो । तर, स्थानीय तह निर्वाचनमा अप्रत्याशित नतिजा ल्याएसँगै माओवादी पंक्तिमा उत्साह छाएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले जितेर रिक्त रहेका स्थानभन्दा उपचुनावमा सिट बढाएसँगै माओवादी पंक्तिमा व्यापक उत्साह छाएको हो । माओवादी नेताहरूका अभिव्यक्ति विजेताको रूपमा सार्वजनिक हुन थालेका छन् ।
मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ ढंगको जनविद्रोहका लागि आफू अगाडि बढेको दाबी गर्नुभएको छ । माओवादी केन्द्रको गणतन्त्र सेनानी कोषले बुधबार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विद्रोहका लागि जनयुद्ध लडेका शक्तिलाई समेत एकजुट हुन आग्रह गर्दै भन्नुभयो, ‘मैले प्रतिनिधि सभाबाट फेरि विद्रोह सुरु गरिसकेँ । षड्यन्त्रकारीहरूले जालझेल गरेर आफ्ना शक्ति अगाडि बढाएका छन् । जनयुद्धमा जस्तै फेरि जनताको तागत देखाउने बेला आयो ।
क्रान्तिकारी योद्धाहरूलाई संगठित गर्ने, सबै क्रान्तिकारी पार्टीहरूलाई एकजुट गर्ने सडकमा विशाल शक्ति ल्याएर षड्यन्त्रकारीहरूलाई परास्त गर्न म जनयुद्ध लडेका पार्टी र योद्धाहरूलाई अपिल गर्छु ।’ माओवादी जनयुद्ध जस्तो व्यवस्थित विद्रोह इतिहासमै नभएको दाबी गर्दै अध्यक्ष प्रचण्डले दलाल नोकरशाह, पुँजीपति, बिचौलिया जस्ता जनयुद्धलाई अपमानित र अवमूल्यन गर्नेविरुद्ध लाग्न फेरि एकपटक लड्नुपर्ने बेला आएको जिकिर गर्नुभयो । जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘उतिबेला हामीले भनेका थियौँ, अब देश गणतन्त्रमा त जान्छ जान्छ तर यसलाई प्रतिक्रियावादीहरूले आफूले चाहेजस्तो बनाउन खोज्नेछन्, हामी हामीले चाहेजस्तो बनाउन खोज्नेछौँ, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्नसक्छ । त्यो बिन्दु अब नजिक आएको छ ।’ अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन हुने उहाँको भनाइ छ ।
रातो मान्छे भएर उभिन तयार छु : पूर्व-उपराष्ट्रपति पुन
पूर्व-उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र र संविधान माओवादी आन्दोलनको जगमा मात्रै सम्भव भएको दाबी गर्नुभएको छ । काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व–उपराष्ट्रपति पुनले माओवादी आन्दोलनकै कारणले देशमा गणतन्त्र आएको दाबी गर्नुभयो । उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गणतन्त्रको नायकको संज्ञा दिँदै भन्नुभयो, ‘यो देशमा माओवादी आन्दोलन र माओवादी, जनमुक्ति सेना नभएको भए यो देशमा गणतन्त्र एउटा कल्पना मात्रै हुन्थ्यो । यो समयमा हामीले गणतन्त्र प्राप्त गर्न सक्दैनथ्यौँ । कसैले मानोस् वा नमानोस्, इतिहासले मानिसकेको छ । टुटफुटको इतिहासलाई फेरि जोड्दै नयाँ पार्टी निर्माण गर्दै अघि बढ्न पूर्व–उपराष्ट्रपति पुनले आग्रहसमेत गर्नुभयो । गणतन्त्रको रक्षाको लागि प्रचण्डकै नेतृत्वमा गोलबद्ध हुनुको विकल्प नभएको जिकिर गर्दै पुनले भन्नुभयो, ‘अहिलेसम्म उपलब्धि उल्ट्याउन खोज्नेहरूका विरुद्ध आगो भएर लड्न तयार छु । प्रतिक्रियावादीहरूले समावेशी, समानुपातिक, संघीयतालाई दायाँबायाँ गर्न खोजे रातो मान्छे भएर उभिन तयार छु ।’
माओवादीका नेताहरूलाई झुटा आरोप लगाउने प्रयास हुनसक्छ : उपमहासचिव शर्मा
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीलाई विधि, पद्धतिसंगत ढंगले अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ । विधिसंगत ढंगले पार्टीलाई अगाडि नबढाए अहिलेसम्मको उपलब्धि रक्षा गर्न नसक्ने जिकिर गर्दै उपमहासचिव शर्माले भन्नुभयो, ‘आज परिस्थिति बदलिएको छ, युद्धको अर्को रूप सुशासन र समृद्धि हो । संगठनको रूप आमजनता हो । आज हामीले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्न जरुरी छ । हामीले पार्टीलाई विधि, पद्धतिसंगत ढंगले अगाडि बढाउन सकेनौँ भने इतिहासका महान् अभियानको रक्षा गर्न सक्दैनौँ । धेरै खालका हमला र आक्रमणहरू छन्, ती सबैलाई हिजो युद्ध मोर्चामा परास्त गर्दै अगाडि बढेको कारणले आज पनि झुटा आरोप, माओवादीका नेतालाई, मलाई पनि लगाउने प्रयास हुनसक्छ । ती सबैलाई परास्त गर्ने हिम्मत आज पनि छ ।’ प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध नहुने दाबी गर्दै शर्माले भन्नुभयो, ‘प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन । गणतन्त्र ल्याउनका लागि सम्पूर्ण श्रेय प्रचण्डलाई दिन चाहन्छु ।’ जनयुद्धका धेरै कथाहरू र धेरै सत्यहरू उजागर गर्न बाँकी रहेको उहाँको भनाइ छ ।
प्रचण्डलाई गणतन्त्र नायक सम्मान
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । बुधबार गणतन्त्र सेनानी कोषले प्रचण्डलाई सम्मान गरेको हो । देशबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न १० वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधान सभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपु¥याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ । कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरूलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो । कोषले जनमुक्ति सेनाका डेपुटी कमाण्डरहरू नन्दकिशोर पुन ‘पासाङ’, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’ र चक्रपाणि खनाल ‘बलदेव’लाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ । यस्तै, कोषले बागमतीका १३ जिल्लाबाट एक–एकजना र संस्कृतिकर्मीलाई पनि सम्मान गरेको छ । बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशव्यापी बनाउँदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिनुभएको छ ।
नारायणकाजी श्रेष्ठ अचानक चीन भ्रमणमा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जानुभएको छ । नेपाल-चीनबीच बिआरआईमा सम्झौता भएपछि उपाध्यक्ष श्रेष्ठ अचानक चीन जानुभएको हो । स्रोतका अनुसार श्रेष्ठ तत्कालै चीन जाने कुनै कार्यक्रम थिएन । उहाँ चीनका लागि उडिसकेपछि मात्र बाहिर सार्वजनिक भएको छ । चीनको संघाईमा हुने भनिएको एउटा गोष्ठीमा भाग लिन श्रेष्ठ चीन जानुभएको बताइएको छ । उपाध्यक्ष श्रेष्ठले यसअघि परराष्ट्रमन्त्री भएको बेला बिआरआई कार्यान्वयनका लागि निकै प्रयास गर्नुभएको थियो । नेकपा (एस)का वरिष्ठ नेता झलनाथ खनाल र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पनि चीन भ्रमणमा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच