मोफसलका दर्शकसँग ‘महापुरूष’

Read Time = 5 mins

काठमाडौं । यही कात्तिक ११ गतेबाट देशभरका सिनेमाघरमा आएको चलचित्र ‘महापुरुष’ टिम मोफसलका दर्शक भेटन निस्किएको छ । कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली पश्चिमका सहर पुगेर प्रतिक्रिया लिनुभएको छ । बुधबार नेपालगञ्जमा दर्शक भेटेर प्रतिक्रिया लिएको टिम दाङ, बुटवल हुँदै चितवनसम्म पुग्नेछ । ‘हामीले बुधबार नेपालगञ्जका दर्शकसँग भेटघाट गरेका छौं । यसपछि दाङ, बुटवलहुँदै चितवनका दर्शकलाई भेटेर काठमाडौं फर्किने तयारी छ,’ कार्यकारी निर्माता बानियाँले भन्नुभयो । यसअगाडीको आफ्ना चलचित्र ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’ र ‘जात्रै जात्रा’भन्दा राम्रो ‘वर्ड अफ माउथ’ दर्शकमार्फत् पाएको उहाँको भनाइ छ ।

निर्देशक भट्टराई पनि दर्शकको प्रतिक्रिया निकै सकारात्मक रहेको बताउनुहुन्छ । ‘हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थिएँ । हल भिजिटमा पाएको प्रतिक्रियाले झनै हौसला मिलेको छ । यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुति हो,’ निर्देशक भट्टराईले भन्नुभयो ।
चलचित्रले बालकदेखि वृद्धसम्मका दर्शकलाई हलसम्म तान्न सफल भएको छ । टिमले १६ गते साँझ र १७ गते दाङ, १७ गते दिउँसो बुटवल र १८ गते नारायणगढको दर्शकसँग भेटघाट गर्दै काठमाडौं फर्किनेछन् । पूर्वनिर्धारित कार्यक्रमको कारण संयुक्तराज्य अमेरिकामा रहनुभएका अभिनेता हरिवंश आचार्यले आफ्नो मन भने नेपालमै रहेको बताउनुभएको छ । उहाँले भिडियो सन्देश पठाउँदै भन्नुभएको छ, ‘पूर्वनिर्धारित कार्यक्रमले गर्दा अमेरिकामा छु । यद्यपि म त्यहीँ नेपालमा रहेर दर्शकसँग प्रतिक्रिया लिन चाहन्थे । तपाईंहरूले दिनुभएको प्रतिक्रियाले हामीलाई झनै हौसला मिलेको छ ।’

एक्लोपनको कथा देखाइएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा रहनुभएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एलक पुरुषसँगै एक्लोपनकथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुनुहुन्छ भने निर्माता दिपेश खत्री रहनुभएको छ ।

चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा चलचित्रमा डेब्यु गर्नुभएको छ । चलचित्रको पाश्र्व ध्वनिमा रोहित शाक्य/शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?