मेरा पिताजीले लगाउने एउटा हरियो रङको पुरानो ब्लेजर कोट थियो । घरको मझेरीको मूल खाँबोमा धुवाँ भरिने ठाउँमा झुण्ड्याउने भएकाले र धेरै लामो समयसम्म नधोइने गरेकाले त्यो कोट रङ नछुट्टिने गरी ध्वाँसे बनेको थियो । अरू कोटहरू पनि थिए तैपनि कतै बाहिर जानु पर्यो भने पिताजीले त्यही कोट रोज्नुहुन्थ्यो र भन्नुहुन्थ्यो यो कोटले व्यक्तित्वलाई बढाउँछ आफू हुनुको बोध गराउँछ । पिताजी आफू हुनु भनेर के कुरालाई भन्नुहुन्थ्यो मलाई थाहा थिएन । सभासमारोहमा जाँदा होस् वा पूजापाठमा जाँदा होस् ब्लेजर कोट पिताजीको रोजाइमा परेकै हुन्थ्यो । र, त्यो कोट लगाएपछि खोइ कसरी हो एक प्रकारको रबाफ आएको जस्तो देखिनुहुन्थ्यो पिताजी ।
लाग्थ्यो जुन दिन पिताजी कोट लगाउनुहुन्थ्यो उहाँको अनुहारमा रबाफका छिर्काछिर्की देखा पर्न थाल्थे वा हामीलाई त्यस्तो लागेको पनि हुनसक्छ तर यति कुरा त्यतिखेरै पनि म बुझ्ने भइसकेको थिएँ । पिताजीलाई शास्त्रका विषयमा त्यस क्षेत्रमा आफू जान्ने नै छु भन्ने घमण्ड थियो । प्रायः कोट लगाएर हिँडेको दिन पिताजी कुनै शास्त्रीय विषयको चर्चामा हुने गर्नुहुन्थ्यो अनि मलाई पिताजीको कोट, उहाँको आफूभित्र केही छ भन्ने अहम्बोधका बीचमा पनि सम्बन्ध छ भन्ने लाग्थ्यो । पिताजीले कोट लगाएको दिन नै यस्तै चर्चा बढी हुन्छन् । हो न हो पिताजीको होइन यो कोटका कारणले हो भन्ने परेकाले पिताजीजस्तै बन्ने मेरो रहरसँग कोट लाउने रहर पनि जोडिन थाल्यो ।
मलाई सानैदेखि कोटको रहर त थियो तर कोटको जोहो गर्ने र पिताजीले झैँ कोटको मान राख्ने कहिले बन्न सकिएला भन्ने धोको मनमा थियो । धेरै पछिमात्र मैले कोट त लगाएँ तर मैले त्यसबाट रबाफ लिन जानिन कि सकिन मलाई कोटले त्यस्तै प्रकारको व्यक्तित्व उठाए जस्तो लागेन तापनि कोट लागाएपछिको ममा केही अन्तर अवश्य भएकै पाउँथे । मानिस बन्न के कति कुरा आवश्यक पर्छ ? अनि असल मानिस हुन के कुरा चाहिएला ? भनेर सोधियो भने अलि अनौठो लाग्न सक्छ ।
मानिसका परिभाषाहरू धेरै हुनसक्छन् र जे जति परिभाषाहरू भए मानिसका ती सबै अपूरा छन् तर असल मानिस भनियो भने कुरा केही सजिलो होला । मानिस अपरिभाषेय प्राणी नै त होइन तर मानिस बारेका सबै परिभाषाहरू समयानुसार परिवर्तन भइरहन सक्ने देखिन्छ ।
मानिसका परिभाषाहरू धेरै हुनसक्छन् र यो पनि हुन सक्छ जे जति परिभाषाहरू भए मानिसका ती सबै अपूरा छन् तर असल मानिस भनियो भने कुरा केही सजिलो होला । मानिस अपरिभाषेय प्राणी नै त होइन तर मानिस बारेका सबै परिभाषाहरू समयानुसार परिवर्तन भइरहन सक्ने देखिन्छ । बरू मानिसले अरू धेरै विषयका परिभाषा बनाउन सक्छ । अहिलेलाई मानिस भनेको चेतनाले चल्ने भएकाले प्राणीहरूमा विशेष प्राणी हो भन्ने परिभाषालाई मानिलिऊँ र केही बहस गरौँ ।
मानिसको श्रेष्ठता मापनको आधार के हुन सक्ला ? अनि उत्तरहरू आउलान् यो बुद्धि भएको प्राणी हो । यसले अरू प्राणीहरूलाई परिचालन गर्ने क्षमता राख्छ । अनि विवेक, हृदय, मन, दया, माया, करुणा, स्नेह, सेवा, सद्भाव, कोमलता, कठोरता, आदि पनि मानिसकै गुण र विशेषताभित्र पर्ने कुराहरू हुन् । यस्तै गर्दागर्दै धेरै कुराहरू मानिसको स्वरूप र आकृतिसँग जोडिन आइपुग्छन् । परिधानले पनि मानिसको व्यक्तित्व बढाउँछ । त्यसैले पहिरन पनि मानिसको पहिचानको आधार हुन सक्छ भन्ने कुराहरू पनि थपिन थाल्छन् । एकातिर भित्री गुणका कुरा अर्कोतिर बाहिरी आकर्षणका कुरा जोडिएर आजको मानिस बन्छ । यी धेरै कुराहरूले मानिस बन्छ भन्ने थाहा भएपछि हामीलाई लाग्न सक्छ रूप र गुण मिलेको मानिस असल प्राणीको नाम पो रहेछ ।
यसैबीचमा एक जना मित्रले मलाई खबर्दारी गर्नुभयो मानिस हुन सबैभन्दा बढी चाहिने विषय भनेको उसभित्रको अहम् बोध हो । सबै कुरा भएर पनि अहम्को चेतना छैन भने त्यो मानिस पूर्ण भएको मानिँदैन । अहम् भन्ने बित्तिकै मलाई डर लाग्छ । अहम् एकातिर चेतनाबोध हो भने अर्कोतिर अहङ्कारको ध्वाँसो पनि हो । ध्वाँसो किन भनियो भने ध्वाँसे रङ त्यति राम्रो देखिँदैन र प्रायः काम लाग्दैन । जसरी एउटा भाँडाको पछाडि लागेर ध्वाँसोले भाँडाको आकृति बिगारेको हुन्छ त्यसरी नै मानिस नामको आकृतिमा अहङ्कार नामको ध्वाँसो लाग्यो भने त्यसले मानिसलाई नै सिध्याइदिन्छ ।
मैले ठूला ठूला भनिएका मानिसहरूलाई यही अहम्को अँध्यारोमा भासिएको देखेको छु । यस्तो अहम् जसले मानिसलाई सिध्याउँछ त्यही कुरा कसरी मानिसको गुण हुनसक्ला र ? त्यसपछि सुरु हुन्छन् अहम्का प्रकार र परिणतिका कुराहरू । हो अहम्ले मानिस रित्तिएको छ साथै अहम्ले मानिस उभिएको पनि छ । अहम्ले अहङ्कारको रूप लिएपछिको अवस्था दयालाग्दो हुन्छ त्यो मैले देखेको मानिसको एउटा रूप हो ।
मैले धेरै ठाउँ भन्ने गरेको छु ज्ञान र अहङ्कार सँगै बस्ने कुरा होइनन् । हामीलाई यदाकदा लाग्छ यति धेरै विद्वान् मानिस छ अलि अलि अहङ्कार त भइहाल्छ नि ¤ अर्थात् मानिससँग ज्ञान र अहङ्कार हुनुपर्ने कुरा हुन् । मलाई त लाग्छ अहङ्कारको मृत्युपछि नै मानिस विद्वान् बन्न सक्ने हो । यदि अहङ्कार पनि छ र कसैले उसलाई विद्वान् भनेको छ भने त्यो विरोधाभास हो । जति नै विद्वान्जस्तो देखिए पनि अहङ्कारी व्यक्ति विद्वान् होइन । जसलाई अहङ्कारले सिध्याउँछ भन्ने ज्ञान छैन त्यो कसरी ज्ञानी हुन सक्ला र ? अरू सबै उचित भए पनि अहङ्कार नामको विषादी रहँदासम्म त्यस मानिसबाट ज्ञानले अपमान सहिरहनु परेको हुन्छ ।
विरोधी चरित्रको बास हुँदोरहेछ ठाउँ ठाउँ । ज्ञानको विकार पनि हो अहङ्कार सायद त्यसैले केही ज्ञानी भनिएकाहरू अहङ्कारी पनि देखिएका छन् । एउटा सिक्काका दुई पाटा भएर आउने ज्ञान र अहङ्कारको भेद पर्गेल्न नसक्दा र व्यवहार गर्न नजान्दा कतिपय ज्ञानीहरू हौं भन्नेहरू अहङ्कारी भएर आएको देखिन्छ । ज्ञानमा अहङ्कार रहँदै रहँदैन यदि उसले ज्ञानको सिद्धि प्राप्त गरेको छ भने । अहङ्कारविनाको मानिस ईश्वरको प्रतिनिधि हुनसक्छ । सायद मानिसलाई ईश्वरको दर्जा दिनु नपरोस् भनेर विधाताले ज्ञानसँग अहङ्कार मिसाएर पठाएको हुनसक्छ । तपस्यासँग अप्सराहरू पठाउने देवताहरूको पुरानै चलन हो ।
मेरा पिताजीको ध्वाँसेकोट धेरै समय नधोइएकाले जति अँध्यारो लाग्थ्यो त्यसभन्दा धेरै आजका सुघ्घरिला मानिसले लगाएका कोट चारित्रिक रूपले धेरै ध्वाँसे भइसकेका छन् । आजका चरित्रहीन यी धेरै अहङ्कारी कोटको रङ पनि ध्वाँसे छन् ।
कतैकतै त अहङ्कारीमात्रैले पनि आफूलाई ज्ञानी हुँ भनेर दम्भ गरेको देखिन्छ । यस्तै कतिपय घटनाहरूले मलाई कता कता लाग्न थालेको थियो कोट लाउने मानिस पनि एक प्रकारले अहङ्कारी नै हुन् । किनभने धेरैजसो कोट लगाएका मानिसहरू अलि भिन्दै र कता कता अहङ्कारी हुन् कि जस्ता लागिरहन्थ्यो । कोट खानदानी हैसियतको पहिरन भएर पनि होला खानदानीहरूमा धेरथोर अहङ्कार हुनुलाई स्वाभाविक मान्नुपर्छ होला ।
तर जब मैले पनि कोट लगाएँ अनि मलाई लाग्यो अहङ्कार कोटमा बस्ने चरित्र नभएर मानिमा बस्ने दुर्गुण रहेछ । त्यसपछि कोटबाट मानिसमा सरेको त्यो दुर्गुणको असर अनुभव गर्न थालेको हुँ । बेलाबेलामा त्यस्ता अहङ्कारीहरूसँग जम्काभेट भइहन्छ । मैले प्रधानमन्त्री वा मन्त्री भएर खैरो कोट लगाएका अहङ्कारीहरूले देशको भविष्यलाई नै दाउमा राखेको देखेको छु । प्रोफेसरको कोटमा अहङ्कारी बनेकाहरूले विद्यार्थीहरूलाई नै अँध्यारो गुफातिर धकेलेको देखेको छु । कालो कोट लाएर वकिल बनेकाहरूले मुलुकको न्याय व्यवस्थालाई नै धुलीसात गरेको देखेको छु । पत्रकारको कोटलगाएर सूचना र सञ्चारको आदर्शलाई निमिट्यान्न पारेको दखेको छु ।
व्यवसायीको कोट लगाएर अर्थतन्त्रको ढाड खुस्काएका व्यापारी देखेको छु । मित्रको वैजनी कोट लगाएर मित्रताको न्यानोलाई रित्याएको देखेको छु । प्रेमीको गुलाबी कोट लगाएर प्रेमको उपहास गरेको देखेको छु । यसरी नै धेरैतिर कोटको अहङ्कारले साम्राज्य गरेको यो विसम समयमा मैले घरको मझेरीको मूल खाँबोमा झुण्डिइरहने र पिताजीको शरीरमा परेपछि रबाफ देखाउने ब्लेजरको ध्वाँसे कोट सम्झिइरहेको छु । किन किन मलाई अहङ्कारको रङ ध्वाँसे हुन्छ होला भन्ने लागेको छ । कालो धुवाँको मुस्लो मडारिएर रङ्गिएको मेरा पिताजीको कोट ध्वासै रङको हुनु र अहङ्कारीको चरित्र पनि कता कता त्यस्तै ध्वाँसे जस्तो लाग्नु मेरो अहङ्कारसम्बन्धी नयाँ भाष्य पनि होला ।
कतैतिर काम नलाग्ने भएपछि ध्वाँसे कोटले मानिसको व्यक्तित्व समाप्त गर्ने जिम्मा लिएको हुनसक्छ भन्ने मेरो प्रारम्भिक बुझाइ हो । हुन त विभिन्न रङका कोटभित्र पनि चरित्र त उस्तै ध्वाँसे नै रहेको पाइएको छ । जसले कोटको मात्र होइन मानिसको चरित्रको रङ पनि ध्वाँसे नै हो कि भन्ने पनि लागेको छ । जहाँ जहाँ अहङ्कारले चरित्रलाई आक्रमण गरेर आफूजस्तै पारेको छ त्यो चरित्र त ध्वाँसे नै छ ।
मेरा पिताजीको ध्वाँसेकोट धेरै समय नधोइएकाले जति अँध्यारो लाग्थ्यो त्यसभन्दा धेरै आजका सुघ्घरिला मानिसले लगाएका कोट चारित्रिक रूपले धेरै ध्वाँसे भइसकेका छन् । आजका चरित्रहीन यी धेरै अहङ्कारी कोटको रङ पनि ध्वाँसे छन् । जसरी मेरा पिताजीको सादगीमा पसेर ब्लेजर कोटले कता कता अँध्यारो छर्ने काम गथ्र्यो त्यसरी नै आजका लब्धप्रतिष्ठितहरूका शरीरमा सजिएका ती ध्वाँसे कोटहरूले देशकै चरित्र हत्या गर्ने काम गरेकाले यी अहङ्कारका ध्वाँसे कोट फुकालेर फाल्ने अभियानमा हामी अब लाग्नै पर्छ । पिताजी हुनुहन्न मलाई पनि लागेको छ पिताजीको त्यो अहङ्कार बाँड्ने ध्वाँसे कोट सधैँका निम्ति विसर्जन गरिदिऊँ र घरको सौन्दर्य थप गरूँ ।
ब्वाँसेहरूलाइ ध्वाँसे काेट भए सुहाउँथ्याे कि ? मननीय सिर्जना ।
आजका ध्वाँसे अहंकारीहरुले पढुन्, अति उत्कृष्ट मननीय