
श्रीबाबु कार्की
नेपाली राजनीतिमा एक विशिष्ट विद्वान् थिए-प्रदीप गिरि । समकालीन राजनीतिमा सर्वाधिक बौद्धिक, लोकप्रिय र शालीन व्यक्तित्वका रूपमा छवि निर्माण गरेका प्रदीप गिरिसँग राजनीति, कूटनीति, अर्थशास्त्र, साहित्य, दर्शन इत्यादि समाजका अनेकौं क्षेत्रको गहिरो ज्ञान र मीमांसा गर्ने खुवी थियोे । सामान्य आँखाबाट हेर्दा मानिसको जीवन, प्रकृतिको सामान्य प्रक्रियाबाट प्राप्त हुने कुरा हो जस्तो देखिन्छ । हजारौं वर्षदेखि सृष्टिको यो क्रम नित्य-निरन्तर चलिरहेको छ । यस धरामा अर्बौं मानिसहरू आए/गए ।
मानिस जन्मनु र मृत्युवरण गर्नु एक हिसाबले प्राकृतिक कुरा हो । जीवन त जन्म र मृत्युबीचको समयावधि मात्रै हो । झट्ट हेर्दा-मानिसहरूको अस्तित्व प्रायः जीवन कालमा मात्रै देखिन्छ । मृत्युपछि त्यो खास अर्थ हुँदैन । पारिवारिक रूपले आआफ्नो संस्कार अनुसार केही समय स्मृति गरिन्छ । त्यसपछि हरेक मानिसको अस्तित्वमात्रै नभएर स्मृति पनि समाप्त हुन्छ । मानिसको जन्म पनि एक किसिमको आमजीवहरूझैँ क्षणभङ्गुर नै हो । जीवन कालमै तेरो-मेरो, तँलाई-मलाई अनि तँ-तँ, म-म गर्ने रहेछ/हुने रहेछ । तर, कतिपय मानिस मृत्युपर्यन्त पनि लामै समयसम्म बाँचिरहेका हुन्छन् । उनीहरूको जीवनको सार्थकता पुस्तान्तरण भइरहेको हुन्छ । त्यस्तै एक गौरवीलो जीवन बाँचेका आदर्श पात्र थिए-प्रदीप गिरि ।
प्रदीप गिरि अनेकौं ज्ञान-विज्ञानका खुला विश्वविद्यालय हुन् । आस्था हुन् । दर्शन हुन् । ज्ञान-विज्ञान हुन् । निष्ठा हुन् । नैतिकता हुन् । नीति हुन् । संस्कार संस्कृत र समाजको चैतन्निक सौन्दर्य हुन् । शालीन सादगी र सभ्य जीवन व्यतीत गरेका अनुकरणीय व्यक्तित्व हुन् ।
प्रदीप गिरि-हरेक मनमा बाँचेका छन् । मस्तिष्कमा बाँचेका छन् । विचारमा बाँचेका छन् । दर्शनमा बाँचेका छन् । सत्यनिष्ठा, त्यागमा बाँचेका छन् । आदर्श अनि ज्ञानमा बाँचेका छन् । उनले जीवन कालमै सयौं जीवनबाट प्राप्त गर्न नसकिने संसारिक ज्ञान-विज्ञान, विचार, दर्शन, कला, संस्कृति, सभ्यता र सौन्दर्य नजिकबाट बुझे । दिव्य जीवनबोध गरे । आत्माश्लाघा र अहम् त्यगेर सरल र सादगी जीवन-मार्ग रोजे । स्वार्थ, पदलोलुपता र व्यक्तिगत पाखण्ड त्यागेर निष्ठा अनि आदर्श जीवनको उच्चारोहण गरे ।
प्रदीप गिरि अनेकौं ज्ञान-विज्ञानका खुला विश्वविद्यालय हुन् । आस्था हुन् । दर्शन हुन् । ज्ञान-विज्ञान हुन् । निष्ठा हुन् । नैतिकता हुन् । नीति हुन् । संस्कार संस्कृत र समाजको चैतन्निक सौन्दर्य हुन् । शालीन सादगी र सभ्य जीवन व्यतीत गरेका अनुकरणीय व्यक्तित्व हुन् । मानवीयताका अनेकौं आयामबाट आँखा लगाउँदा-कर्मयोगी र प्रेरणाका स्रोत हुन् । अध्ययनलाई नै जीवनको एक हिस्सा बनाएका उनीसँग अदभूत र विलक्षण प्रतिभा थियोे । तीक्ष्ण चेतनाका यशस्वी व्यक्तित्व प्रदीप गिरि पदीय भागदौडमा कहिल्यै देखिनु भएन ।
कहिले दार्शनिक, कहिले राजनीति र कहिले फिरङ्गीको जीवन बाँचेका उहाँभित्र हरेक विषयका कुशाग्र वैचारिकी भएको विद्वान् हुनुहुन्थ्यो । आज हामी कतिपय मानिसलाई विद्वान् भन्छौं तर उनीहरूसँग विद्वताको ‘व’ समेत हुन्न । विद्वान् हुनु सजिलो छैन । यो संसारलाई नजीकबाट चिन्न सक्नुपर्छ । गहन र गहिराइ बुझ्नुपर्छ । वास्तविक विद्वान् हुनुहुन्थ्यो प्रदीप गिरि ।
प्रदीप गिरि सदनमा प्रकाण्ड विद्वान् कहलाउँनु हुन्थ्यो । श्लील भाषामा अनेकौं दर्शन, ज्ञान-विज्ञान र मिथकहरूको उदाहरण दिँदै हरेक विषयलाई सरलीकरण गरिदिनुहुन्थ्यो । उहाँले सदनमा बोल्नुभएको शब्द-शब्दको गहन अर्थ हुन्थ्यो । सदनको गरिमा र गौरव बढ्थ्यो । उहाँको सदनमा उपस्तिथि हरेक कोणले साझा व्यक्तित्वको रूपमा भएको महसुस राजनीतिज्ञहरूको थियोे । उहाँको कुनै विषयमा पनि पक्षधरता थिएन । सधैँ आदर्श विचार र मार्गदर्शक नेतृत्वको परिकल्पना गर्ने गिरिमामय अनि मस्तिष्कीय ऊर्जा अलौकिक थियोे । हरेक परिवर्तनमा क्रान्ति अकाट्य छ । क्रान्तिविना समाजको रूपान्तरण सम्भावना छैन । परिवर्तनको जननी नै ‘क्रान्ति’ हो । यद्यपि क्रान्ति हतियार हिंसाबाट होइन, अहिंसात्मक हुनुपर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो ।
प्रदीप गिरि-आफ्नो सिद्धान्तमा सधैँ अडिग रहनुहुन्थ्यो । अविचलित रहनुहुन्थ्यो । २०७९ भदौ ४ गते रात्रि ९.३० बजे काठमाडौंको मेडिसिटी हस्पिटलमा उहाँले आफ्नो जीवनको लय बदल्नुभयो । पचहत्तर वर्षको उमेर व्यतीत गरेर महाप्रस्थानको यात्रा रोज्नुभयो । आज हामीसँग प्रदीप गिरि त हुनुहुन्न तर उहाँले जीवन कालमा छोडेर जानुभएको जीवनदर्शन, विचार, त्याग, निष्ठा, समर्पण र सादगीपनको शिक्षा बाँकी छ । हामीले उहाँबाट सिक्ने यिनै कुरा हुन् ।
समाजवादी चिन्तक प्रदीप गिरिको भर्खरैमात्र ‘मैले चिने-जाने–बुझेका प्रदीप गिरि-२०८०’ स्मृतिसङ्ग्रह बजारमा आएको छ । हार्डकभर र नर्मलकभर दुवैमा प्रकाशित यो पुस्तकलाई प्रदीप गिरिलाई चिन्ने महत्वपूर्ण दस्तावेजका रूपमा लिन सकिन्छ । ‘प्रदीप गिरि मेमोरियल ट्रष्ट’ ले प्रकाशित गरेको यो पुस्तकमा गिरिकी जीवनसँगीनी भारती सिलवाल गिरि प्रधानसम्पादक रहनुभएको छ । प्रसिद्ध कवि तथा सम्पादक विमल भौकाजी तथा कपिल लोहनी कार्यकारी सम्पादकको भूमिकामा रहनुभएको छ ।
पुस्तक ४०० भन्दा बढी पेजमा विस्तारित छ । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाको तीन खण्ड रहेको यस पुस्तकभित्र तीनवटै भाषाका लेखहरू पढ्न सकिन्छ । गिरिपत्नी श्रीमती भारती सिलवाल गिरिको लामो प्राक्थनबाट प्रारम्भ भएको यो पुस्तकमा गिरिको जीवनी, सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति सम्माननीय डा.रामवरण यादवको शुभकामना रहेका छन् भने नेपाली राजनीति र प्रदीप गिरिलाई नजिकबाट चिन्ने ३१५ जना महत्वपूर्ण व्यक्तिहरूद्वारा प्रदीप गिरिमाथि लेखिएका स्मृतिचित्रहरू समेटिएको छ ।
कार्यकारी सम्पादक विमल भौकाजीले पुस्तकभित्र आफ्नो लेखको अन्तिम परिच्छेदमा लेख्नुभएको छ-‘प्रशासनिक पदबाट रिटायर्ड भइसकेपछि भनिने जस्तो- ‘पूर्व’ वा ‘भूतपूर्व’ को सम्बोधनबाट प्रदीप दाइ जीवनभर मुक्त रहनुभयो । आज, उहाँको चोला उठिसकेपश्चात् साँच्चै नियतिले उहाँलाई यसरी परिचित गरायो कि यो सम्पूर्ण मानव-सभ्यताको इतिहासमा नै उहाँ ‘अभूतपूर्व’ बन्नुभयो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच