केही दशकदेखि धानको प्रबद्र्धनका लागि राष्ट्रिय धान दिवस मनाउने गरिँदै आएको छ । रोपाइँको समय र विशेषगरी असार महिनालाई मध्य समय मानेर परम्परागत रूपमा असार पन्ध्रलाई नेपाली सामाजले दहीचिउरा खाने पर्वका रूपमा मनाउँदै आएकाले सोही दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरिँदै आएको भए पनि कोदो चाहिँ हाम्रो समाजमा उपेक्षित र अबहेलित हुँदै आएको थियो । नेपालमा कोदाको निकै राम्रो उत्पादन हुनेगर्छ तर यसलाई उपेक्षा र हेलाको दृष्टिकोणले हेर्ने गरिन्छ । नेपाली कृषि वैज्ञानिकहरूले धानका अनेकौं जात उन्मोचन गरी विभिन्न ठाउँमा लगाउनका लागि सिफरिश गर्ने गर्छन् ।
धानका अनेकौं जात विकास गरी ललितपुरको खुमलटारस्थित हजारौं रोपनीमा फैलिएको कृषि अनुसन्धान परिषद्बाट यस्ता जात विकसित गरी त्यो जात हावापानी तापक्रम निर्धारण गरेर नेपालको कुन ठाउँमा त्यस्तो हावापानी तापक्रम भएको ठाउँ छ त्यहाँका लागि त्यस्तो बिउ सिफरिश गर्ने गरिन्छ । विकसित गर्दै आएका अन्नका जातहरूमा धान नै पहिलो नम्बरमा पर्छ भने त्यसपछि मकै र गहुँहरूमा पनि नयाँ जात विकसित गर्ने गरिएको छ । विभिन्न खालका तरकारी र आलुमा पनि अनुसन्धान गरी तिनको जात विकसित गरी सिफारिश गर्ने गरिन्छ तर समाजमा हेला हुँँदै आएको कोदो, फापर लोप हुँदै गएका कागुनो, करु, जुनेलोलगायत अन्नहरूलाई राज्यले समेत हेला गर्दै आएको छ ।
कोदाका लागि धानको जस्तो दिवस मनाउने र अभियानका साथ यसको अभिवृद्धिको प्रयास गर्ने गरिएको छैन तर अब भने यसतर्फ चासो बढाइएको छ । नेपालका पहाडी गाउँघरहरूमा अधिकांश मानिस कोदोमै निर्भर हुने गरेका छन् तर कोदो गरिबहरूले खाने खानाका रूपमा चित्रण हुँदै आएकाले कोदो खानेहरूले आफूले कोदो खाएको कुरा निर्धक्क बताउन सक्दैनन् । पहाडी गाउँघरका पुगीसरी आएका परिवारहरूले आफूले उत्पादन गरेको कोदो अरूलाई बेचेर आफू भने चामल नै खाने गर्छन् । हली खेतालाहरूलाई खान दिने र ज्यालाका रूपमा लाने दिने काममा कोदो प्रयोग गरिन्छ । निश्चित जात विशेषका मानिसहरूले कोदोबाट स्थानीय रक्सीको उत्पादन गरी आय आर्जन गर्दै आएका छन् तर यसका पनि बद्नियत राखेर मिसावट गर्ने गरेकाले प्रहरीको निगरानी हुने गर्छ र प्रहरीले समातेर नष्ट गरिदिने गर्दै आएको छ ।
पछिल्ला वर्षमा शहरी क्षेत्रमा बस्नेहरूले पनि कोदाको महत्व बुझ्दै आएका छन् । कोदो स्वास्थ्यकर खाने कुरा भएको पुष्टि हुँदै आएपछि यसको उपयोग बढ्दै गएको छ । सुगर, प्रेसरलगायत जुनसुकै प्रकारका दीर्घ रोगीहरूले पनि यसको सेवन गर्न मिल्ने भएका कारण यसको माग दिनप्रतिदिन बढिरहेको छ । यसको प्रचारप्रसार पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । राजधानी काठमाडौंमा पनि हालका दिनमा उपलब्ध हुन थाल्नुको कारण यही हो । कोदाको पनि विभिन्न स्थानीय जातहरू छन् । ठूलो कोदो, च्याल्थे कोदो, पाङ्दुर कोदो, दाँदे कोदो तथा स्थानीयहरूले ज्वाइँ कोदो भनेर चिन्ने गरेको सेतो कोदोहरू चलनचल्तीमा छन् तर सरकारले यसको जात विकसित र सिफारिश गरेको छैन ।
धान, गहुँ, मकै आलुलगायत बारेमा अध्ययन गरेका विज्ञहरू छन् तर कोदाका विज्ञहरू नभएर नै यसको अभिवृद्धिमा सरकारले प्राथमिकता दिएको छैन । धान, मकै, गहुँहरूको विकासका लागि अभियान चलाइन्छ र तिनको उत्पादनका लागि पकेट क्षेत्र भनेर निश्चित ठाउँहरू तोकिन्छन् तर कोदाका लागि यसतर्फ ध्यान पु¥याएको पाइँदैन । कोदामा शरीरलाई आवश्यक पर्ने आइरन, प्रोटिनलगायत तत्वहरू पर्याप्त मात्रामा पाइन्छन् । बिरामीलाई तंग्रिनका लागि गाउँघरमा यसको बाक्लो खोले बनाएर पियाउने गरिन्छ । यो प्रचलन अहिले सहर बजारतिर पनि बढ्दै गएको छ । परम्परागत रूपमा कुअन्न भनिने कोदो फापरहरू हाल सुअन्नमा परिणत हुँदै गएका छन् ।
कोदोखेती गर्न धानका तुलनामा ज्यादै सजिलो छ । धानलाई जस्तो पानी लगाउनु पर्दैन । रूखो, सुख्खा, चिम्टिया माटो भएका पाखाबारीमा पनि कोदो राम्ररी फल्छ । रोप्ने बेलामा धानलाई जति मिहिनेत गर्नुपर्दैन । कोदाको बिउ हतपत मर्दैन । माटो पल्टाएर ढल्काएर रोपिदिएपछि आख्लाबाट समेत जरा हालेर तुरुन्तै सर्छ र छिट्टै उठिहाल्छ । पानी लगाइरहनु पर्दैन । रोपेपछि एकपटक झार उखेलेर गोडिदिएपछि अरू केही गर्नुपर्दैन । धानमा जसरी रोग र कीराहरूको प्रकोप कोदामा लाग्दैन । एकातिर मानव स्वास्थ्यका लागि उपयोगी अर्कातिर खेती गर्न सजिलो भएकाले कोदाको प्रवद्र्धन गर्नुपर्ने आवश्यक छ ।
हालका दिनहरूमा त कोदाबाट पनि केकलगायत अनेकौं आधुनिक खानेकुरा बन्ने गरेका छन् तर यिनमा आधुनिक अखाद्य पदार्थहरू मिसाएर सेतो बनाउने गरिन्छ जुन उचित होइन । यसको मौलिक रङलाई कायम रहनै दिएर परम्परागत ढिँडो, रोटी, पुवाहरू खाँदा इज्जत जान्छ भन्ने सोच्नुहुँदैन र यसमा भएको पौष्टिक तत्व काय रहन्छ । स्वास्थ्यमा हानी पुग्दैन । यसर्थ देशको पहाडी भू-भागमा सजिलै फल्ने, सहज रूपमा खेती गर्न सकिने कोदोखेतीतर्फ राष्ट्रको ध्यान जानु आवश्यक छ र यसका जातहरू विकास गर्नेतर्फ सोच्नु उचित हुन्छ । यसका लागि किसानहरूलाई प्रोत्साहित गर्न आवश्यक छ । यसो गर्न सकेकाखण्डमा खाद्यान्नमा बढ्दै गएको हाम्रो परनिर्भरता कम गर्न सकिन्छ र हाम्रो कोदोलाई निर्यात गर्नसमेत सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच