
काठमाडौं । चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्ने दुर्भावनापूर्ण प्रयास गरेको आरोप लगाउनुभएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै डा. केसीले गत फागुन २८ मा प्रतिनिधि सभामा रास्वपा सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठद्वारा दिइएको अभिव्यक्तिलाई राजनीतिक पूर्वाग्रहका साथ आएको र उहाँको प्रतिष्ठामाथि आक्रमण गरेको टिप्पणी गर्नुभयो । डा. केसीले भन्नुभयो, ‘साबिक मनमैजु गाविस वडा नं ९, हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो र मेरो परिवारका नाममा छन् र कित्ता नं ६३ सार्वजनिक जग्गा हो । मलाई सरकारी जग्गा एक कित्ता पनि चाहिँदैन ।’ उहाँले थप्नुभयो, ‘संसद्मा मेरो चरित्रहत्या गर्ने उद्देश्यले उठाइएको यस मुद्दाले मलाई गहिरो दुःख दिएको छ ।’ उहाँले संसद्को उक्त अभिव्यक्तिले आफ्नो राजनीतिक चरित्रमा गम्भीर हानि पुर्याएको भन्दै कानुनी उपचारको प्रक्रिया अपनाउने चेतावनी दिनुभएको छ । डा. केसीले आधार र प्रमाणबिना कपोलकल्पित र भ्रमपूर्ण प्रश्न संसद्मा उठाउनु अस्वीकार्य भएको स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पनि यस प्रकारको अभिव्यक्तिलाई आलोचना गर्दै, स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय नगरी व्यक्तिगत चरित्रहत्या र मानहानि गर्ने खालको मुद्दा संसद्मा उठाउनु गलत भएको बताउनुभयो । उहाँले सार्वजनिक जग्गा संरक्षणका लागि तारकेश्वर नगरपालिका सधैँ सक्रिय रहेको जानकारी दिँदै, ‘राजनीतिक पूर्वाग्रहका आधारमा जनतालाई भ्रमित गर्ने कार्य जनप्रतिनिधिद्वारा भइरहेको छ,’ भन्नुभयो ।
नगरप्रमुख महर्जनले संघीय र प्रदेश सांसदहरूलाई सार्वजनिक जग्गा मिचिएको स्थानहरूको नापजाँच गर्न र वास्तविकता पत्ता लगाउन आहृवान गर्नुभयो । उहाँले संसद्मा भूगोलसँग सम्बन्धित अव्यवस्थित र भ्रमपूर्ण तथ्यलाई प्रस्तुत गर्नु गलत भएको विचार व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सम्माननीय क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेकपा एमालेका सम्माननीय नेता लब बस्नेत, कांग्रेसका सम्माननीय नेता इन्द्रमान महर्जन, तारकेश्वर वडा नं १० का सम्माननीय वडा अध्यक्ष कुमार राई लगायतका प्रतिष्ठित नेताहरूले लालपुर्जाले स्पष्ट गरेको विषयमा संसद्मा उठाइएको बहसलाई अस्वीकृत गर्दै संसद्को गरिमा घटेको बताएका छन् ।
कसरी निम्तियो विवाद ?
बुधबारको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९, लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएपछि यो विषय सतहमा आएको हो । बैठकमा बोल्दै खनालले तारकेश्वर–९, लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाउनुभएको थियो । तर, उहाँले कांग्रेसका कुन नेताले हडपेको भन्ने चाहिँ खुलाउनुभएन । ‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर-९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२/६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ,’ उहाँले भन्नुभएको थियो ।
रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले पनि उक्त जग्गाको बारेमा अनुसन्धान गर्न माग गर्नुभएको थियो । सांसदहरूको यस्तो आरोपपछि कांग्रेस नेताहरूले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिनसमेत संसद्को ध्यानाकर्षण गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच