ऋत र ग्रिनल्यान्ड सेमिफाइनलमा

काठमाडौं । ऋत एकेडेमी ‘ए’ र ग्रिनल्यान्ड ‘बी’ प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हार्ट मावि र कलेजको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ऋत ‘ए’ ले महामञ्जुश्रीलाई १०-८ ले पराजित गर्‍यो । ग्रिनल्यान्ड ‘बी’ ले न्यु जेनिथ ‘ए’ लाई ८-७ ले हरायो । मनमैजुस्थित आयोजकको कोर्टमा भइरहेको प्रतियोगितामा नवज्योति र न्यु जेनिथ ‘बी’ ले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

नवज्योतिले ऋत ‘बी’ लाई ७-४ तथा न्यु जेनिथ ‘बी’ ले लालीगुराँसलाई ८-७ ले पाखा लगाए । सेमिफाइनलमा नवज्योतिको भेट न्यु जेनिथ ‘बी’ सँग हुनेछ भने ऋत ‘ए’ ले ग्रिनल्यान्ड ‘बी’ को सामना गर्नेछ । प्रतियोगिताको एन्जल्स हार्ट कलेजका प्रिन्सिपल दिलबहादुर बुढाथोकीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

विजेताले १० हजार र उपविजेताले सात हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेता, उपविजेता र सहभागी टिमका खेलाडीलाई एन्जल्स हार्टमा छात्रवृत्तिको पनि व्यवस्था छ । नकआउट प्रतियोगितामा ६६ टिम सहभागी छन् ।