गायिका स्मिता घिमिरेको निधन

ललितपुर । गायिका स्मिता घिमिरेको निधन भएको छ । ललितपुरको हरि–सिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारकाक्रममा सोमबार साँझ उहाँको निधनभएको हो । पछिल्लो पटक उहाँ बोनम्यारोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । सोमबार साँझ नै पशुपति आर्यघाटमा घिमिरेको अन्तिम संस्कार गरिएको छ ।

गायिका घिमिरेले थुप्रै नेपाली गीत गाउनुका साथै केही महिनाअगाडि आफ्नो उपन्यास ‘हराएको मुस्कान’समेत सार्वजनिक गर्नुभएको थियो । भूपू प्रधानमन्त्री मातृकाप्रसाद कोइराला तथा सविता अर्यालकी छोरी हुनुहुन्छ गायिका स्मिता घिमिरे । करिब दुई दशकअघि क्यान्सरबाट निधन हुनुभएकी आफ्नी आमाको नाममा खोलिएको सविता स्मृति ट्रष्टका लागि उहाँले आफ्नो पहिलो एल्बम ‘स्मि’ को बिक्रीबाट आएको ५० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।

उक्त ट्रष्टले अहिले पनि स्वास्थ्य क्षेत्रमा कार्य गरिरहेको छ । उहाँका ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्यभन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’, ‘के भो आजभोलि’ लगायत धेरै गीत लोकप्रिय रहेका छन् ।