
काठमाडौं । उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि सुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । विगत एक सातादेखि न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा भइरहेको मुद्दाको सुनुवाइ बिहीबार सकिएको र आज (शुक्रबार) निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो । जिल्ला अदालत काठमाडौंले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले आज निर्णय सुनाउने भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दायर भएको थियो । जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको तर्फबाट बिहीबार जवाफी बहस सकिएसँगै सुनुवाइ सकिएको हो ।
बुधबार सरकारी पक्षबाट सरकारी वकिलहरूले बहस सकेका थिए । बिहीबार नै फैसला सुनाउने बताइए पनि जवाफी बहस सक्न समय लागेका कारण शुक्रबार फैसला सुनाइने उच्च अदालत पाटनका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूको हकमा जिल्लाकै थुनछेक आदेशलाई सदर गर्ने वा आदेश खारेज गर्ने भन्ने निर्णय सुनाउनेछ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौँ रकम उठाएर ठगी गरेको प्रकरणमा पूर्व-उपप्रधानमन्त्री र पूर्वगृहमन्त्री सहितका व्यक्ति प्रतिवादी छन् । नेकपा एमालेका नेता तथा पूर्व-उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । काठमाडौं जिल्ला अदालतले गत असार १ गते सुनाएको थुनछेक आदेशविरुद्ध उनीहरूले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच