
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपन आज(मंगलबार)देखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ । ७२ होलको चार दिने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । उपाधिको लागि ३२ प्रोफेसनल र आठ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत गर्नेछन । सहभागी गल्फरहरू मध्ये सुवाश तामाङको लागि भने यो प्रतियोगिता विशेष रहनेछ । उहाँले यो टुर धेरै पटक खेल्नुभएको छ । प्रोहरूलाई माथ दिएर उपाधि पनि जित्नुभएको छ । तर, प्रोफेसनल खेलाडी भएपछि नेपालमा उहाँले खेल्न लागेको यो पहिलो पटक हो ।
भारतीय गल्फ टुरमा प्रोफेसनल प्रतियोगिताहरू भने उहाँले खेलिसक्नुभएको छ । यो पटक उहाँ प्रमुख दाबेदारको रूपमा रहनुभएको छ । नेपालका उहाँ सर्वाधिक सफल एमेच्योर गल्फर हुनुहुन्छ र उहाँको घरेलु टुरमा प्रोफेसनल करियरको सुरूवात आजदेखि हुँदैछ । उहाँलाई एमेच्योर गल्फर सदभाव आचार्यले कडा चुनौती दिने संभावना छ । सदभावले यो सिजन दुई उपाधि जितिसक्नुभएको छ ।
प्रो भुवन नगरकोटी, दिनेश प्रजापति, रवि खड्का, सञ्जय लामा, जयराम श्रेष्ठ लगायतका प्रोहरू वलिया दाबेदारको रूपमा रहनुभएको छ । नेपाल नम्बर एक प्रो शुक्रबहादुर राईले चोटको कारण यो प्रतियोगिता पनि गुमाउनुभएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख तीन हजार पाँच सय रहेको छ । विजेताले एक लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन ।
चार दिने प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागू हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन । टप २१ मा पर्ने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन । एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन ।
प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनको लागि कोर्सलाई रोमाञ्चक बनाइएको छ । कोर्ससँग अभ्यस्त हुन गल्फरहरूले तयारी गरिरहेको छन । पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो प्रतियोगितामा राम्रो स्कोर निस्किने र प्रतियोगिता प्रतिस्पर्धामक हुने विश्वाश रहेको बताउनुभयो । पछिल्लो समय गल्फको स्तर बढेको र निरन्तर प्रायोजन गरेकोमा उहाँले प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच