काठमाडौं । दुई किलो ६५४ ग्राम कोकिनसहित काठमाडौंबाट तीनजना विदेशी महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुईजना युगाण्डाका र एकजना भारतीय महिला छन् । उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी लागुऔषध ब्युरोले बिहीबार सार्वजनिक गरेको हो ।
लागुऔषध कोकिनको तस्करीमा संलग्न गिरोहले एचआइभी संक्रमित महिलालाई प्रयोग गरेर तस्करी गराउने गरेको खुलेको छ । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी), काठमाडौंंले करिब आठ करोड मूल्य बराबरको कोकिन तस्करीमा संलग्न तीन व्यक्तिलाई समात्दा एचआइभी संक्रमित महिलालाई प्रयोग गरेको भेटिएको हो । ब्युरोका एक अनुसन्धान अधिकृतका अनुसार, कतारबाट ल्याएको एक किलो २६० ग्राम कोकिनसहित गएको आइतबार युगाण्डाकी ४४ वर्षीया केभिना मुल्गाला पक्राउ परेकी थिइन् ।
विशेष सूचनाको आधारमा सिनामंगलमा फेला पारेर उनलाई पक्राउ गरिएको एसएसपी गोविन्द थपलियाले बताउनुभयो । उनी एचआइभी संक्रमित भएको खुलेको छ । शंका लागेर नेपाल प्रहरी अस्पतालमा लगेर जाँच गर्दा उनको पेटमा ९० वटा कोकिनको क्याप्सुल भेटिएको थपलियाले बताउनुभयो । उहाँका अनुसार केभिनाको पेटबाट एक किलो २६० ग्राम कोकिन बरामद भएको थियो । उनीबाट प्राप्त सूचनालाई पछ्याउँदै जाँदा प्रहरीले बुधबार युगाण्डाकै नागरिक लिलिएन सुसनलाई फेला पारेको थियो । उनले सुटकेसभित्र लुकाएर राखेको अवस्थामा एक किलो ३९४ ग्राम कोकिन बरामद गरिएको थियो ।
उनीहरूले ल्याउने कोकिन डेलिभरीको जिम्मा पाएकी भारतीय नागरिक ३३ वर्षीया देवा जना पाललाई पनि ब्युरोले समातेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बरामद कोकिन भारततर्फ जाने गरेको देखिएको एसएसपी थपलियाको भनाइ छ । दुई युगाण्डाका नागरिकको जिम्मा काठमाडौंसम्म मात्र ल्याउने थियो । यहाँबाट भारतसम्म लैजाने जिम्मा देवाले पाएकी थिइन् ।
लिलिएन सुसनले कोकिन ल्याएको भए पनि विमानस्थल प्रहरीबाट भने उनी उम्कन सफल भएकी थिइन् । केभिनाले उनको नाम लिएपछि प्रहरी उनी बसेको होटेलमै पुग्यो । उनको लगेज खोलेर हेर्दा भेटियो ‘स्निकर’ चक्लेट । कुनै ठूलै अवैध धन्दाको शंकामा पिछा गरेको प्रहरी टोली निराश भयो, जब कुनै शंकास्पद वस्तु वा सुराक भेटिएन ।
ती महिलाको अर्को लगेज खोलियो, त्यहाँ पनि भेटियो, उस्तै चक्लेट । ‘विदेशबाट पर्यटन भिसामा आएकी ती महिलाले किन यति धेरै परिमाणमा चक्लेट ल्याइन् ?’ प्रहरीलाई शंका भयो । चक्लेटको ठूलो प्याकेट खोल्दा ससाना चक्लेट निस्किए । प्लास्टिकको खोल खोलेर हेर्दा त्यो चक्लेट नभई कोकिन रहेछ । लिलियनको दुई वटा लगेजमा ६३ वटा प्लास्टिकले र्याप गरिएको कोकिनका क्याप्सुल प्रहरीले बरामद गरेको हो ।
भारतको नेक्ससबारे पनि अनुसन्धान गर्न त्यहाँको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) इण्डियालाई सूचना दिइएको प्रहरी स्रोत बताउँछ । नेपालमा पक्राउ परेका तीन जनाबारे थप अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका तीन जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । बरामद गरिएको कोकिनको अवैध बजार मूल्य सात करोड ९६ लाख रहेको एसएसपी थपलियाले जानकारी दिनुभयो ।
चार वर्षमा ४० किलो बरामद
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकले कोकिनको मुख्य ट्रान्जिट प्वाइन्ट नेपाल रहेको देखाएको छ । चालु आर्थिक वर्षमा मात्रै ब्युरोको टोलीले सात किलो कोकिन बरामद गरेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७९/२०८० मा ब्युरोको टोलीले १५ किलो बरामद गरेको थियो । त्यस्तै, २०७८/२०७९ र त्यस अघिको वर्षमा तीन किलो तथा आर्थिक वर्ष २०७६/२०७७ मा १५ किलो कोकिन बरामद भएको तथ्यांक ब्युरोसँग छ । ब्युरोका एसएसपी थपलियाका अनुसार कोकिन पेरु, कोलम्बिया, ब्राजिल, बोलिभिया, इथियोपिया हुँदै नेपाल आउने र नेपाल हुँदै भारतदेखि अन्य युरोपियन देशमा समेत जाने गरेको छ । त्यसरी बरामद भएको कोकिन कारोबारमा अफ्रिकी मूलका महिला प्रयोग भएको पाइएको छ ।
के हो कोकिन ?
कोकिन एक प्रकारको कडा खालको लागुऔषध हो । कोका विरुवाको पातलाई रासायनिक प्रशोधनबाट उत्पादन गरिने कोकिन महँगो लागुऔषधका रूपमा प्रयोग गर्ने प्रयोगकर्ताहरूले सेवन गर्ने गर्छन् । कोकिनको सेवनले मानिसमा अनावश्यक सक्रिय देखाउने र उत्तेजित गराउने काम गर्छ । कोकिन पेरु, कोलम्बिया, ब्राजिल, बोलिभिया, चिली र दक्षिण अमेरिकाको पहाडी र जंगल क्षेत्रमा अवैध रूपमा उत्पादन गरिन्छ । यसको मूल्य भारतीय बजारमा प्रतिग्राम तीन हजारदेखि पाँच हजार भारु पर्ने प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच