✍️ प्रा.डा.तीर्थप्रसाद मिश्र
नेपाली साहित्य, शैक्षिक इतिहासका र प्राध्यापन क्षेत्रका सफल व्यक्तित्व कुलप्रसाद कोइरालाको नवीनतम कृति ‘आफ्नो बाटो : आफ्नै पाइला’ रुचिपूर्वक पढिएका पुस्तकमध्ये एक हो । यो पुस्तक पढ्दा तुलसी दिवसको कविता हेर्दाहेर्दै बाटो नै मोडिएपछि खुब याद आयो किनकि पढ्ने धित नमर्दै पुस्तक नै सकिएछ । विसं २०४६ सालदेखि दुःखसुखका मित्र डाक्टर कुलप्रसादलाई मैले किमार्थ पढ्न सकेको रहेनछु, किताबले पढायो । यो लेखकको आत्मवृत्तान्त हो, लेखकै संघर्षको कथा हो । आरोह अवरोहको कथा हो भने तत्कालीन नेपालको विविध पक्षको ऐना पनि हो । यस कृतिले नेपालको आत्माकथा लेखन विधाको आयामलाई फराकिलो बनाएको छ । श्रुति परम्परा ह्रास हुँदै गएको वर्तमान सन्दर्भमा आफ्ना अनुभूतिहरू भविष्यका सन्ततिलाई उपहार दिएकोमा लेखकको सराहना गर्दछु ।
पुस्तक प्रकाशन हुनु आफैंमा सुखद् पक्ष हो । यसमा पनि स्वकथात्मक शैलीमा तयार आत्मकथाको स्थान र पहिचान पृथक् हुने गर्दछ । समाज, समय र सम्बन्धित लेखकसँग पाठकलाई जोड्ने कार्य आत्मकथाले गर्दछ । पन्ध्रौं शताब्दीमा स्पेनी लेखक लेनोर लोपेज डी कर्जेवाले लेखेकी आफ्नो संस्मरणलाई नै आत्मवृत्तान्तको पहिलो कृति भन्ने गरिएको छ । मुगल शासक बाबरले पनि आफ्नो आत्मकथा लेखाएका थिए । विश्वमा साहित्यकार, वैज्ञानिक, धार्मिक नेता, सामाजिक अभियन्ता, राजनेता, दार्शनिक, सैनिक तथा सरकारी सेवामा रहेका अधिकारी जस्ता विविध क्षेत्रका व्यक्तिले सेवा निवृत्त भएपछि आफ्नो संस्मरण प्रकाशित गरेका अनेकन दृष्टान्त छन् ।
आत्मकथा/आत्मवृत्तान्त/आत्मसंस्मरण पाठकहरूका लागि असल खुराकमात्र होइन इतिहासका भरपर्दा स्रोत पनि हुन् ।
जनकपुरको ज्ञानकुपकामा पढ्दा पढ्दै राजनीतिको चाखले गर्दा नेपाली कांग्रेससँग नजिक बनायो जुन सम्बन्ध आजसम्म अविच्छिन्न छ र उनको निष्ठा आस्था र विश्वासमा कहिल्यै विचलन आउन पाएन । आफ्नो बाटो : आफ्नै पाइलाले यसै भन्छ ।
आत्मवृत्तान्तहरूमा प्रवाहित सूचनाका आधारमा कतिपय ऐतिहासिक तथ्य उद्घाटित हुन्छन् भने तत्कालीन समाजका विविध पक्षमा प्रकाश पारिएको हुन्छ, जुन भावी पुस्ताका लागि खजाना हुन्छन् । पाश्चात्य देशमा आत्मकथालेखनको कार्य निकै फष्टाएको देखिन्छ तापनि नेपालमा भने आफ्नो अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्न श्रुतिलाई नै सर्वाधिक प्राथमिकता दिँदा आत्मवृत्तान्त लेखनमा त्यति जागर चलाएको देखिन्न । पृथ्वीनारायण शाहको उपदेश नेपालको श्रुतिपरम्पराको एक उत्तम नमुना हो । जुन उनले भनेका कुरा श्रुतिको माध्यमले भाका सर्दै जाँदा कसैले टिपोट गरेको दस्तावेज हो ।
उनले आफ्नो कुरा आफ्ना भाइभारदारलाई सुनाएको टिपोटलाई नै कालान्तरमा दिव्य उपदेशको नाम दिएको हो । १९औं शताब्दीबाट नेपालीहरूले पनि आत्मवृत्तान्त प्रकाशन गर्ने कार्य प्रारम्भ गरेका थिए । चिरञ्जीवी पौडेल, राममणि आदि, सागरमणि आदि, बालकृष्ण सम, भीमबहादुर पाण्डे, टुकराज मिश्रलगायतका संस्मरण त तत्कालीन नेपालको ऐना नै हुन् ।
विसं २०५० को दशकपछि राजनीतिज्ञ, प्रशासक, सुरक्षाकर्मी, प्राध्यापक, न्यायाधीश, साहित्यकार एवं सामाजिक अभियन्ताका संस्मरण प्रकाशित हुने कार्यमा उत्साह आएको छ । हालसालैको कुरा गर्ने हो भने प्रत्येक महिना एक-दुई यस्ता संस्मरणात्मक कृति सार्वजनिक हुने गरेका छन् । यसै पृष्ठभूमि र परिवेशमा प्रा.डा.कुलप्रसाद कोइरालाको आफ्नो बाटो : आफ्नै पाइला संस्मरणले आफ्नो उपस्थिति जनाएको छ । विभिन्न ४७ उपशीर्षक र २३८ पृष्ठको आयाममा विस्तारित यस कृतिमा अमेरिका भ्रमणका केही तस्वीर र प्राध्यापक पुरुषोत्तम दाहालको भूमिका छ । प्राध्यापक दाहालको भूमिकामा कृतिको विशेषता र लेखकीय इमान्दारिता जस्ता विषयमा गरिएका टिप्पणी रोचक छन् । जसको कारणबाट पनि पाठकलाई पुस्तक पढ्न उत्सुकता जागेको छ ।
लेखकले आफ्नो जन्मदेखि (स्मरण भएदेखि) २०७६ सम्मका विविध मोडका प्रसङ्ग, सुखदुःख, संघर्ष, सम्झौता, उपलब्धि तथा गर्न हुने र नहुने दुवै प्रकारका कार्यहरू स्मरण गरेका छन् । विसं २०१२ साल जेठ २० गते पूर्व-३ ओखलढुंगामा एक शिक्षित परिवारमा लेखकको जन्म भएको थियो । राणाकालमा पूर्वएकदेखि-४ सम्म क्रमशः चौतारा, रामेछाप, ओखलढुंगा र भोजपुरलाई र पश्चिममा एकदेखि चारसम्म क्रमशः नुवाकोट, गोरखा, बन्दीपुर र पोखरा भन्ने गरिन्थ्यो । हिजोसम्म आफ्नो जिल्लाबाहिर हुनेले आफ्नो ठेगाना नम्बर भनेर बुझाउने गरेका इतिहासका कुरा पनि यस प्रसंगमा स्मरण गरिएको छ । नेपालको बसाइँ सराइको क्रम हेर्ने हो भने उत्तर र दक्षिणतिरबाट आएका बासिन्दा पश्चिमबाट क्रमशः पूर्वतर्फ बढ्दै गएका र औलो उन्मूलनपछि सबैको बसाइँ सराइ दक्षिणतर्फ अग्रसर भएको देखिन्छ ।
यसै क्रममा ओखलढुंगाबाट सिन्धुली हुँदै कोइरालाजीका पिता, पिताजीसँगै बसाइँ सर्दै उदयपुर पुगे । यी स्थानको अनुभवको प्रस्तुति रोचक छ, सुगुरको मासु र मदिरा सेवनका प्रसंगबाट तत्कालीन नेपाली समाजको परिवेश बुझिन्छ । नेपालको समाजमा ब्राहृमणहरूमा शिक्षित हुनुपर्छ पढ्नुपर्छ भन्ने चेत थियो । साथै विद्यार्जन गर्न दुःख गर्नुपर्छ भन्ने मान्यता थियो । भोजन, आभास तथा अध्ययन निःशुल्क हुने हुँदा संस्कृत शिक्षाप्रति ठूलो आकर्षण थियो । भारतका बनारस, हरिद्वार जस्ता स्थानमा अध्ययन गर्न जाने वटुकको संख्या धेरै थियो, जुन अद्यापि छँदै छ । कालन्तरमा यस्ता शिक्षालय पूर्वमा पिण्डेश्वर, जनकपुरमा ज्ञानकूप मटिहानी र काठमाडौंमा तीनधारा पाठशाला थिए । यी शिक्षालयमा अध्ययन गर्नेहरू नै नेपालको राजनीति प्रशासन एवं शैक्षिक क्षेत्रमा विशिष्ट स्थान प्राप्त गर्न सफल भए । यिनै मध्येका एक हुन गए, हाम्रा कुलप्रसाद कोइराला पनि ।
जनकपुरको ज्ञानकुपकामा पढ्दा पढ्दै राजनीतिको चाखले गर्दा नेपाली कांग्रेससँग नजिक बनायो जुन सम्बन्ध आजसम्म अविच्छिन्न छ र उनको निष्ठा आस्था र विश्वासमा कहिल्यै विचलन आउन पाएन । आफ्नो बाटो : आफ्नै पाइलाले यसै भन्छ । आसाम पुगेको, रेलमा पैसा र टिकट चोरी भएको, जेल चलान भएको तथा कोइराला थर भएको कारण पाएको राहतको स्मरण रोचक छ । नेपालीहरू रेलको यात्रामा पकेट मारिएका ठगिएका अनेकौं घटना छन् । हालसाल नेपालीहरूको रेल यात्रामा पकेट मारिएका घटना विरलै छन्, यसको कारण हो, नेपालीमा आएको चेत । भारतबाट नेपाल जानुपर्ने बाध्यता हटेको छ । पकेटमारहरूले पनि उपयुक्त अवसर पाउन छाडेका छन् ।
जनकपुरमा पढाइसँगै राजनीतिलाई सँगसँगै लिएर हिँडेका लेखकलाई ज्ञानकूपमा अनेक हण्डर खानुप¥यो । उनी पुलिस प्रशासनको निगरानी र नजरमा परे । जनकपुरधाम स्थित ज्ञान जसले कुलप्रसाद जस्ता अनेकौं मेधावी छात्र र राजनीतिज्ञ उत्पादन गर्न सक्षम भयो । पछि २०३० सालमा मटिहानीको याज्ञवाल्क्य क्याम्पससँग गाभिन पुग्यो । सरोज कोइराला र केशव कोइरालाको हत्या भएको, याज्ञवाल्क्य क्याम्पसको पढाइ र तत्कालीन शिक्षा पद्धति तथा गुरुहरूको आनीबानी जस्ता विषयमा पनि आत्मकथाले उचित स्थान पाएको छ । मटिहानीमा स्नातक तह उत्तीर्ण गरेपछि स्नातकोत्तर तह पढ्न काठमाडौं पुगेका लेखकले कीर्तिपुरमा नेपालीमा स्नातकोत्तर र बाल्मिकीमा इतिहास पुराणमा आचार्यको पढाइ सँगसँगै लगे ।
लेखक राविसे (राष्ट्रिय विकास सेवा)को क्रममा सल्यान पुगेको र त्यहाँ पञ्चायत विरोधी कार्य गर्दा सास्ती खेपेको चर्चा सविस्तार गरिएको छ । राष्ट्रिय शिक्षा पद्धतिको सर्वाधिक तथा एकमात्र प्रशंसनीय व्यवस्था थियो, राष्ट्रिय विकास सेवा । यस कार्यक्रमबाट नेपालका दूरदराजमा सबै विषयका शिक्षकको आवश्यकता पूरा भएको थियो भने स्थानीय विकासका काम पनि प्रशस्त भएका थिए । तर, पञ्चायतका मठाधीशहरूले यी विकासे मास्टर व्यवस्थाविरोधी भएको ठानेर कार्यक्रम नै स्थगन गरे, जुन कालन्तरमा खारेज नै भयो । यो खारेज हुनु नेपालको स्थानीय विकासका लागि घातक कदम हुन गयो । राजनीतिक स्वार्थले राष्ट्रिय स्वार्थभन्दा बढी प्राथमिकता पायो ।
नेपालीमा एमए गरेपछि त्रिभुवन विश्वविद्यालय सेवामा प्रवेश गरी सहायक प्राध्यापकका रूपमा रामस्वरूप रामसागर क्याम्पस जनकपुर पुगेका लेखकले नेपाली कांग्रेससँग सन्निकट प्राध्यापक संघमा आफ्नो महत्वपूर्ण उपस्थिति जनाए । पढाउँदा पढाउँदै विवाह गर्न पनि भ्याए । वैवाहिक जीवन अपेक्षित रूपमा उत्साहप्रद तथा खुशी हुन नसकेको संकेत लेखकले विभिन्न स्थानमा गरेका छन् । तर, केकति कारणले हो ? त्यस विषयमा खुल्न चाहेका छैनन् । अन्य प्रसंगमा यथार्थपरक चित्रण पाइए तापनि यस प्रसंगमा लेखकले कन्जुस्याई गरेको देखिन्छ । आफ्ना दुई पुत्रको पौरखमा भने लेखकले गौरव गरेका छन् ।
विसं २०४६ को आन्दोलनपछि विसं २०४६ सालको आन्दोलनमा लेखकले भोगेको जेलजीवनको स्मरण रोचक छ । जेलमा अरूले सास्ती पाउँदा आफूलाई किन पिटेनन् भन्ने कौतूहल अहिलेसम्म उनलाई लागेको छ । विसं २०४६ सालको आन्दोलन भएपछि विश्वविद्यालयमा उनको खातिरदारी बढेको र गोर्खा क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्ति पाएको प्रसंग आएको छ । गोर्खा क्याम्पसको तत्कालीन विषय, परिस्थिति, शैक्षिक वातावरण अनुकूल थिएन । विसं २०४६ को आन्दोलनमा उत्साहजनक उपलब्धि प्राप्त भए तापनि शैक्षिक क्षेत्रमा भने पहिरो गएको दृष्टान्त पाइन्छ । उनले गोर्खा क्याम्पसमा राजीनामा दिई रत्नराज्य क्याम्पस काठमाडौँमा पढाउन सुरु गरेको देखिन्छ ।
सहायक प्राध्यापकमा सेवामा प्रवेश गरेपछि पदोन्नति हुँदै प्राध्यापक कहिले भएको, विद्यावारिधि कहिले गरेको, प्राध्यापक हुँदा शैक्षिक गतिविधि २०४६ पूर्व र पछिको प्राध्यापक संघको भूमिका जस्ता विषयमा किन चर्चा भएन ? भन्ने जिज्ञासा पाठकलाई उत्पन्न हुन्छ । गोर्खा क्याम्पसको क्याम्पस प्रमुखबाट राजीनामा दिएपछि एकैचोटि २०७२ सालमा ‘म कुलपति बनाइएँ’ भन्ने प्रसंग आउँछ यसबीचमा उनको प्राज्ञिक गतिविधि, विषय के थियो कस्ता कस्ता घटनाहरूको साक्षी बस्नुपर्ने अवस्था सिर्जना भयो आदि उल्लेख नहुँदा सिनेमा हेर्दा रिल काटिएको अनुभव हुन्छ ।
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिको चार वर्षे कार्यकालको समयको चर्चा विस्तृत रूपमा गरिएको छ । यसबाट सो समयमा शिक्षा क्षेत्रमा देखा परेको अनावश्यक राजनीतिकरण बुझ्न सकिन्छ । यो रोगले यद्यपि निरन्तरता पाउँदै जाँदा देशको शैक्षिक वातावरणमा प्रतिकूल असर परी उच्च अध्ययनका लागि विदेश जानेको संख्या अत्यधिक वृद्धि भएको छ । राजनीतिक आस्थाकै कारण कुलपति एवं प्रधानमन्त्रीले नै क्यानाडाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन विमानस्थल पुगेपछि उपकुलपतिलाई जान नदिएको र यस विषयमा पत्रकार सम्मेलन गर्नुपरेको पढ्दा जो कोहीलाई पनि सुपाच्य हुन सक्दैन । उपकुलपतिलाई काम गर्न नदिने परिस्थितिको सिर्जना गर्न पार्टीका हैसियतवालाकै भूमिका रहेको प्रसंग कृतिमा व्याख्या गरिएको छ । उपकुलपतिको अवधि सकिएपछि अमेरिका भ्रमण गरेको स्मरणबाट पुस्तक टुंगिएको छ ।
आफ्नो बाटो : आफ्नै पाइला शीर्षक किन राखियो भन्ने पाठकका मनमा कौतुहल जाग्छ जुन स्वाभाविक पनि देखिन्छ तर पुस्तक पढिसकेपछि शीर्षकको सार्थकता प्रष्ट हुन्छ । किनकि उनले जिन्दगीको दिशा निर्देश गर्ने बाटो आफैंले तय गरेका थिए । पढ्ने, लेख्ने, जागिर खाने, राजनीति गर्ने, विवाह गर्ने आदि आफ्नै इच्छाबाट सम्पन्न भएका कर्म थिए । संस्कृत अनि नेपालीमा स्नातकोत्तर आफ्नै चाहना, आफ्नै चाहनाले प्राध्यापन पेसा रोजेको र नेपाली कांग्रेससँग सन्निकट बनाउने माध्यम पनि उनी स्वयं थिए ।
लोकले लेखकलाई प्राध्यापक डाक्टर भनेर चिन्दछ । अनेकौं कृति पनि प्रकाशन भएका छन् । तर, त्यतातर्फ स्मरणको पाइला किन चालिएन ? यी पनि आफ्नै पाइला थिए । वर्तमान कांग्रेसी राजनीतिबाट उत्साहित नदेखिएका डाक्टर साहेबले कांग्रेसलाई अब लिनुपर्ने बाटोका विषयमा सुझाउनुपर्ने थियो ।
कृति पढ्दा उनको जीवन जन्मेदेखि हालसम्म संघर्ष नै संघर्षको इतिवृत्त जस्तो लाग्दछ । पढ्न संघर्ष, जागिर खान सङ्घर्ष, घरपरिवारसँग संघर्ष, राजनीतिमा संघर्ष, जताततै संघर्ष तर यही संघर्षले कुलप्रसादलाई कुलप्रसाद बनाएको देखिन्छ । आफ्नो पहिचान कायम गराउन सकेको देखिन्छ । कुलप्रसाद साथीभाइका लागि भए तर साथीभाइ कुलप्रसादका लागि भए भएनन् ? त्यसको छनक पनि पुस्तकमा पाइँदैन । तर, जिन्दगीका हरेक मोडमा उनलाई छिर्के हान्ने धेरै देखिए, घर परिवारदेखि राजनीति र उपकुलपति हुँदासम्म । आफ्नो अर्जुन दृष्टिबाट कहिल्यै विचलित नहुने व्यक्तित्वका रूपमा लेखकलाई पाठकले पाउँछन् ।
बालककालदेखि हालसम्म आफूलाई चित्त दुखाएका, प्रत्यक्ष र परोक्ष रूपमा व्यवधान खडा गरेका व्यक्तिहरूको नामै उल्लेख गर्नुले लेखकीय साहसमात्र होइन आत्मवृत्तान्तको मर्मलाई पनि समातेको देखिन्छ । पुस्तकमा उखान टुक्काको प्रयोगबाट कतिपय अवस्थामा व्यङ्ग्य गरिएको छ भने कतिपय कुरा उदांगो बनाइएको छ । साथै कतिपय प्रसंग त डोकाले छोपेका पनि छन् । जे होस् उखान विधामा नै विद्यावारिधि गरेका हुन् भन्ने तथ्य लेखकले साबित गरेका छन् ।
लोकले लेखकलाई प्राध्यापक डाक्टर भनेर चिन्दछ । अनेकौं कृति पनि प्रकाशन भएका छन् । तर, त्यतातर्फ स्मरणको पाइला किन चालिएन ? यी पनि आफ्नै पाइला थिए । वर्तमान कांग्रेसी राजनीतिबाट उत्साहित नदेखिएका डाक्टर साहेबले कांग्रेसलाई अब लिनुपर्ने बाटोका विषयमा सुझाउनुपर्ने थियो । पुस्तकमा कतिपय प्रसंग सूत्रका रूपमा उल्लेख गरिएको छ भने कतिपय विस्तारपूर्वक वर्णन गरिएको छ । संस्कृत विश्वविद्यालय र अमेरिकाको भ्रमण विषयमा धेरै पृष्ठ खर्चिएको देखिन्छ । तत्कालीन ग्रामीण समाज पठनपाठन, रहनसहन जस्ता सामाजिक पक्षको स्मरण गरिएको भए पाठकले अझै असल खुराक पाउने थिए । पुस्तकको अन्तिममा दिएका तस्बिरहरू किन अमेरिका यात्राका मात्र भए ? बाल्यकालदेखि उपकुलपति हुँदासम्मका केही प्रतिनिधि तस्वीर राखिएको भए सुनमा सुगन्ध हुने थियो ।
नेपालमा विगत तीन दशकदेखि आत्मवृत्तान्त लेखनमा बाढी आएको छ । कतिले आफैंले, कतिले खेताला लगाएर पनि आत्मवृत्तान्तका कृति लेखेलेखाएका छन् । कतिले आफ्नो गुणानुवर्णन र विगतमा आफूले गरेका कार्यहरूलाई बढाइचढाइ गरेका छन् । कतिपयले जुन थालमा भात खायो त्यही थाललाई रछ्यान पनि बनाएका छन् । कतिले त आफूलाई अब्बल देखाउने कसरत पनि गरेका छन् । तर ती गुण प्रस्तुत कृतिमा छैनन् । आफ्नो प्रशंसा र गरेका कार्यहरूको बढाइचढाइ गरिएको छैन । यो कृतिको विशिष्ट पक्ष हो ।
लेखकले जुन मनसाय र उद्देश्यले आत्मवृत्तान्त लेखेका हुन्छन्, पाठकको पनि त्यही अवधारणा हुँदैन । पाठकका आ-आफ्नै दृष्टिकोण हुन्छ, कृतिप्रति । मलाईँ पनि यो पुस्तक सरसर्ती पढ्दा कुतकुती लागेकाले यो आलेख तयार भयो । सेवानिवृत्त जीवनलाई सार्थक रूपले उपयोग र उपभोग गरी अनेकौं कृति प्रकाशन गरिरहेका प्रा.डा.कोइरालाले यस्तो पठनीय कृति उपहार दिएकामा धन्यवादका पात्र छन् । उनको लेखनीले निरन्तरता पाइरहोस् । हार्दिक शुभकामना ।
हाल एलिकेन्ट सिटी मेरिल्याण्ड,
संयुक्त राज्य अमेरिका ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच